जंगबहादुरका पालाको मध्यपहाडी लोकमार्ग

ओली प्रधानमन्त्री भएका बेला रेल, तेल र हवाइ विजुली लगायत धेरै महत्वाकांक्षी योजनाहरु बाहिर आए । पहिले पहिले सबैले उपहास गरेपनि पछि आएर सबैले केहि आशा जगाए । भै पो हाल्छ कि भन्नेमा सबै परे । त्यसको कारण के थियो भने ओलीका योजना चन्द्रमामा घर बसाल्ने खालका योजना नै थिएनन् । कुनै जमानामा गरि सकिएका र सम्भव देखिएका तर त्यसै छोडिएका सपनाहरुलाई नै उनले व्युँताएका थिए । चाहे त्यो नेपालको निजी पानी जहाजका सवालमा होस चाहे हावाबाट विजुली निकाल्ने कुरा होस्, सबै सबै एक जमानामा गरि सकिएका कामहरु नै थिए । सामाजिक सञ्जालका टपर्टुइयाँहरुका अनर्गल टिप्पणी पश्चात ओलीले सबैलाई ती पुराना योजनाहरु भएका र कुनै नौलो प्रयास नभएको भनेर समेत जानकारी गराए । विभिन्न पत्रपत्रिकामा पनि त्यस सम्बन्धी लेखहरु छापिए । उनले भनेका कुराहरु सहि साँचो भए नभएका सम्बन्धमा धेरै खोजीनिती भए । त्यसपछि उनको हाइहाइ सुरु भयो ।
ओलीको हाइहाइ विपक्षी राजनीतिक दललाई पच्ने त कुरै थिएन । उनकै दल भित्र पनि उनको रवैया मन पराइएन । पार्टीको बढ्दो प्रतिष्ठा भन्दा कसैले आफूलाई ‘जस नदिएको’मा बढि चित्त दुखाइ गर्न थाले । आँखिरमा आफ्नै बीँड भएको बन्चरोले ओलीको जरो काटियो । ओली सरकार बाहिरियो । ओली एकाएक भहाभारतका अभिमन्यु बनाइए र सभा उनको अवसान मुक दर्शक भएर हेरिरह्यो । निरिह जनता सामाजिक सञ्जालमा आफ्ना असन्तुष्टिहरु ओकल्ने बाहेक अरु केहि गर्न नसक्ने स्थितिमा रहे ।
ओली के गएका थिए उनीसँगै उनले व्युँताएका सपनाहरु पनि सति गए । निजगढ विमानस्थल र फास्ट ट्रयाकका लागी एकाएक देशमा बजेटको अभाव हुन थाल्यो । देशमा दक्ष जनसक्ती पनि कमी हुन थाल्यो । देशका कुनै पनि ठूला योजना बनाउनका लागी देश असक्षम हुन थाल्यो । सुन्छु फास्ट ट्रयाक बनाउन सक्छु भनेर सञ्चार माध्यममा छाएका सचिवलाई पनि नेपाल ट्रस्टमा गएर जाकियो रे !
यसै परिवर्तनका बीच खुलामञ्चबाट भारत विरोधी चर्का भाषण गर्नेहरुको पनि एकाएक मोदीसँग ‘क्यामेस्ट्री’ मिल्न थाल्यो । फिर्ता बोलाइएका राजदुत पनि पुनःवहाली गरिए । कुनै जमानामा उनका कट्टर विरोधी रहेकाहरु पनि एकाएक कम्युनिष्टहरु घेराबन्दीमा परेर समाप्त हुने खतरामा रहेकाले उनको लाजमर्दो किसिमले चाकडी गर्न थाले । यहाँ सम्म कि उनलाई नोबेल शान्ती पुरस्कारका लागी समेत सिफारिस गरिन थालियो । उनका सन्तानले तेश्रो विवाह गर्दा पनि दुनियाँले केहि फुलो पार्न सकेन । चौथो गर्दा पनि केहि हुने थिएन तर कानुन बमोजिम पहिलेको श्रीमतीलाई पारपाचुके नदिइ अर्की भित्र्याउनु गलत हो । बोलिदिने को ?
यस्तै यस्तै निराशाका बीच मेरा हातमा ‘जंगबहादुरको बेलायती कापी’ प¥यो । वि.सं. २०२० सालतिर रानी जगदम्बाको बम्बे भण्डार सफा गर्ने सिलसिलामा कमल दिक्षितका हातमा परेको जंगबहादुरको वेलायती कपीलाई आधार मानेर २०६२ को दशैँ अंक देखि ‘हिमाल’खबरपत्रिकामा ‘इतिहासमा’ स्तम्भ अन्तर्गत केहि लेखहरु आए । हाल आएर त्यहि कपीलाई पुस्तकाकार दिइएको छ । मोलिक लेखनलाई कमल दिक्षितले थप व्याख्या गरेर पठनीय बनाएका छन् । त्यसैमा पूर्व–पश्चिम पहाडी लोकमार्गको १७० वर्ष अघिको खाका भेटियो । खासमा जंगबहादुरको शासनकाल १९०३ बाट चलेको मानिन्छ । उनले टिपाएको यो कापीको श्रोत अझै पुरानो हुन सक्छ ।

पुस्तकमा भनिए अनुसार जंगबहादुरकै पालामा काठमाडौँ बाटा बैतीको झुलाघाट हुँदै बद्री केदार जाने बाटो थियो । त्यहाँ सम्म पुग्न विभिन्न ठाउँमा बास बस्नु पर्दथ्यो । ४२ ठाउँमा बास बसेर कुल २०४ कोस पार गरिसकेपछि बैतडीको झुलाघाट पुगिन्थ्यो । हरिद्वार देखि त त्यसै बेला पनि बस र ट्रेनको व्यवस्था थियो रे । त्यसै गरी पूर्वतर्फको सिमाना पुग्न १११ कोस पार गर्नु पर्दथ्यो । पूर्वको सिमानालाई पुस्तकमा ‘सिवाना तरफ जंगल’ भनेर उल्लेख गरिएको छ । पुस्तकमा नक्शाङ्कन नै गरेर यी बाटाहरु देखाइएका छन् ।




पश्चिमी सिमाना जानका लागी बस्नुपर्ने बासहरु सबै आधुनिक नक्सामा नभेटिए पनि यिनको खोजी निती गरिने हो भने हाम्रो ऐतिहाँसिक पहाडी मार्ग फेला पर्न सक्छ । मोहन मैनालीको ‘मान्ठा डराएको युग’ पढ्दै गर्दा बाजुराका भक्तबहादुरले दुई दिनमा अछामको साँफेबगर र त्यहाँबाट थप तीन दिनमा बैतडीको गोठालापानी सम्मको यात्रा तय गरेको प्रसंङ्ग उल्लेख छ । त्यसपछि उनी बैतडीको झुलाघाट हुँदै भारत प्रवेश गरेका छन् । भक्तबहादुरका बाबु रामलाल दमाइलाई २०५९ कात्तिक १२ गते सेनाले माओवादी भएको आरोपमा मारेको थियो । घरभित्र साथीभाइसँग तास खेलिरहेको अवस्थामा उनका छ साथीसँगै उनलाई पनि सेनाले एकै घान बनाएको थियो । अदमरे रामलाललाई गाउँलेले आधा घण्टा तलको घरसम्म पु¥याएका थिए । १९ घण्टा सम्मको संघर्षबाट थाकेर रामलालले सास छाडेका थिए । रेडियो नेपालले सोहि हत्यलाई आतंककारी मारिएको समाचार बनाएर फुकेको थियो । पुस्तकमा रामलाल माओवादी थिए त भनी गरेको प्रश्नका उत्तरको रुपमा ‘कहाँ हुनु रौँ फुलिसकेका मान्छे’ भनेर दिइएको उत्तरलाई बढो मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ । भक्तबहादुर त्यसपछिका दिनमा परिवार पाल्ने बाटो खोज्न भारत पस्ने क्रममा खर्चका अभावले पैदल नै सिमाना काटेका छन् ।
भक्तबहादुरको नालीबेली खोल्न किन पनि आवश्यक लाग्यो भने उनलाई भारत पलायन हुन बाध्य पार्ने सेना र माओवादी पक्षका दुबै जिम्मेवार पक्ष अहिले सत्तामा छन् । दुबैलाई देशका ठूला योजना देशभित्रै बन्ने कुरामा शंका छ । भक्तबहादुरको प्रशंगले नेता द्वयलाई लाज लागेरपनि मध्य–पहाडी लोकमार्गको निर्माणमा गति आइपोहाल्छ कि !

जे होस् यो पुरै बाटो नभएपनि यसको धेरै अंश ग्रामीण भेगमा अहिले पनि या निकै पछि सम्म पनि प्रयोगमा आइ रहेका थुप्रै उदाहरण भेट्न सकिन्छ । हामीले नै पनि पहिले पहिले भारत पस्ता पैदल हिँडेर गएको किस्साहरु सुन्दै हुर्किएका हौँ । अझ कैलालीका जंगलमा पुराना रेलका पट्रीहरु र कोइलाहरु फेला परेका कुराहरु पनि सुन्नमा आउँथे । सिमाना सम्मको रेल त हामी साना छँदासम्म छँदै थियो । पछि निकुञ्जका वन्यजन्तुलाई असर प¥यो भनेर बन्द भयो । अहिले एक थरीले त्यही नाकालाई सुक्खा बन्दरगाहका रुपमा सञ्चालन गर्ने मागपत्र पेश गरेका छन् र नोबेल शान्ती पुरस्कारमा मनोनित गरिनुपर्ने बुद्धि भएका हाम्रा प्रमले सामान्य अध्ययन नै नगरी त्यसका लागी पहल गर्ने आश्वासन दिएका छन् ।
मैनालीकै पुस्तकमा कालीकोट जान बाजुराको कोल्टी झरेर हिँडेर गएको प्रसंगहरु छ । जनयुद्धका बेलामापनि पत्रकार, सेना र माओवादीले धेरै बाटाहरु हिँडेरै पार गरेका होलान् । ती सबैलाई एक ठाउँमा ल्याउने हो भने देशलाई सडक सञ्जालले राम्ररी बाँध्नका लागी खासै गाह्रो पर्ने देखिँदैन । 
‘१९४२ मा जङ्गबहादुरका शाखा सन्तानलाई निमूल पारी शासनका हर्ता कर्ता बन्न पुगेका वीरशम्शेर र चन्द्र शम्शेरले जङ्गबहादुरलाई इतिहासको खलपात्रका रुपमा स्थापित गर्न विशेष कसरत गरेको इतिहासले देखाउँछ ।’ भन्दै जंगबहादुरको पक्षमा यो पुस्तक उभिएको छ । कैलाली, कञ्चनपुर, बाँके र बर्दिया लाई नेपालमा फर्काउने उनलाई बहादुर शाह पछिको देशको सिमा बढाउने शासकका रुपमा ‘जंगबहादुरको बेलायती कापी’का भुमिकामा उल्लेख गरिएको छ । सोही पुस्तकमा १८४६ देखि १८४८ सम्मको भोट युद्धका क्रममा बहादुर शाहले गरेको खर्च समेतको विवरणको लगायतका अन्य ऐतिहासिक सामग्रीहरु समावेश गरिएको छ । वर्तमान देखि आजित भएकाहरुका लागी यो पुस्तकले धेरै हौसला जगाउन सक्छ ।
इतिहास शक्तिले कोरिने हो । जंगबहादुर पछि शक्तिमा आएकाले उनलाई खलपात्र बनाए । प्रजातन्त्र, राजतन्त्र, बहुदल, सबैसबैलाई अहिलेका शक्तिमा आएकाले खलपात्र बनाए । आफू शक्तिमा आउँदा पनि अघिल्लो पटक केहि गर्न नसक्दा यिनी आफै पनि खलपात्रका रुपमा चित्रित भइसकेका छन् । जनयुद्धका क्रममा मारिएका सम्पूर्णको जिम्मा एकथरीले यिनका थाप्लामा राखिदिएको छ । परोक्ष रुपमा त्यो सहि भएपनि रामलाल दमाई जस्ता निर्दोसको रगतले सेना र त्यतिबेलाका सत्ताधारीको कमिज समेत रंगिएको छ । मौकाले यसपाली फेरी शक्तिमा (दुबै पक्ष) आएका छन् । दक्षिणको भक्ति र सत्ता एवं सन्तान प्रतिको आशक्तिबाट माथि उठेर जनयुद्धका मिलिसियालाई दिएको सुन्दर नेपालको बाचा एक पटक छातिमा हात राखेर सम्झेछन् भने यिनले पनि आफूलाई इतिहासको नायक सावित गर्ने छन् । नत्र भने यिनको सम्पूर्ण क्रान्ती र जीवनको इतिहास रछ्यानमा मिल्काइनेछ ।

Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

सुधीर शर्माकाे प्रयोगशाला

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी