सेतो धर्ती–अमर न्युपाने
सेतो धरती by Amar NyaupaneMy rating: 2 of 5 stars
सेतो धर्ती अमर न्यौपानेको एक उत्कृष्ट कृति भनेर चिनिन्छ । न्यौपानेले एकल महिलाको गर्भ देखि मृत्यु प्रतिक्षाको घडिसम्मको कथानकलाई उपन्यासको रुप दिएका छन् । देवघाटमा आफूले भेटेकी एक वृद्धासँगको सामान्य कुराकानीका क्रममा उनको मनमा यो उपन्यासको जन्भ भएको छ । ती वृद्धाका जीवनका महत्वपूर्ण घटनालाई उपन्यासकी ‘म’ पात्र ताराको जीवनको साँचो बनाएर बाँकी कथा र उपकथाहरु बनाइएको छ । देवघाटमा बसेर ३० दिनको अनुसन्धान पछि उपन्यासले यो रुप पाएको छ ।
उपन्यास पढ्दा एउटा जीवन पढियोः दुःख, निराशा र कुण्ठाले भरिएको जीवन । विहेको नाममा केटाकेटीको खेल भन्दा बढ्ता केही नजानेकी ताराको सात वर्षको वाल्यावस्थामा झुक्याएर विहे गरिइन्छ । नौ वर्षमा पति वितेपछि उनको जीवनको रंग खोसिन्छ । उनलाई पतिको अनुहार समेत सम्झना हुँदैन तर लुगा, गहना र कपालको मायाले बढि भकानिन्छिन् । उनको यो भोगाइबाट बचाउन उनका आमाबाले पनि केहि गर्न सक्दैनन् । त्यसपछि विस्तारै किशोरावस्था आउँछ, बैंस आउँछ, प्रौढावस्था आउँछ र वृद्ध भएर मृत्यु पर्खने अवस्था सम्म उनी पुग्छिन् । त्यसक्रममा उपन्यासमा अनेकन पात्रहरु आउँछन् र उनका सम्भावित नियती भोग्छन् । मधुमायाले उनको जस्तै सासुको बुहार्तन खप्नु पर्छ । एकल हुनुका बाबजुद पार्वतीले विवाह पूर्व र विवाह पश्चात निसंकोज जीवन जिउँछे । यमुनाले उनले सुर्ताएको पतिको प्रेम पाउँछे । उनको बाल सखा गोविन्दले पत्नी, सन्तान र धनसम्पत्तीको सुखभोग गर्छन । तर अन्तमा सबैको भेट देवघाटमै हुन्छ । सबै जना यहीँ नै मृत्यु प्रतीक्षाका लागी पुग्छन् । उपन्यासमा मुलतः १९९० साल देखि २०६८ सालसम्मको समयावधीलाई समावेश गरिएको छ ।
मलाई उपन्यासको मनपरेको पक्ष भनेको वाल्यावस्थामा ताराले गरेका सम्वाद र उसका मनमा खेलेका कुराहरु छन् । सुरुका १०० पाना उनको एकल जीवनको पृष्ठभूमीका लागी प्रयोग भएको छ । त्यहाँ सम्मको कुराहरु एकदमै मनछुने छन् । त्यसपछि उनले भोगेका दुःखहरु प्रति पनि सहानुभुती पलाउँछ । सासुले गाग्रामा सिक्का हालेको अनि चुलामा सियो घुसारेको प्रसंगहरु एकदमै मर्मस्पर्शी छन् । वेलावेलामा धर्ममाथि प्रश्न पनि उठाइएको छ । एक प्रसंङ्गमा सिताले सतीत्वका कारण अग्नी परीक्षा उत्तीर्ण गरेकोमा सती प्रथाका क्रममा जलेका नारीहरु जसमध्ये कतिपय वालविधवा पनि थिए, ती सबै चरित्रहीन थिए त भनेर प्रश्न उठाइएको छ । लेखकले उपन्यासमा वालविधवाहरु आजीवन एक्लो र रंगहीन जीवन बाँच्नु पर्ने तर पुरुषहरु मज्जाले पुनर्विवाह र बहुविवाह गर्न पाउनुले महिलाप्रति हाम्रो समाज कति पक्षपाती छ भनेर पनि देखाउन सफल भएका छन् । ईन्दिरा गान्धीको प्रसंगले सँगैको भारत कति अगाडि बढि सकेको र हामी अझै कति पिछडिएको भन्ने कुराको सफल तुलना गर्न भ्याएका छन् । हाल आएर एकल महिला राष्ट्रपति भएकी भएपनि उनको भ्रमण पश्चात जनकपुरमा मन्दिर परिसर पखालीएको प्रसंङ्गले आधा सताब्दी अघि एकलमहिलालाई कत्तिको बर्जित र हेलाँ गरिन्थ्यो भन्ने अनुमान गर्न गाह्रो हुँदैन ।
अर्कोतर्फ उपन्यासमा भएका मनोवाद जस्ता लाग्ने गन्थन मन्थनका कुराहरु मलाई मन परेन । कुनै घटना भइसकेपछि त्यसको बारेमा ‘म’ पात्रको अनुभुतिको लम्बेतान उल्लेखले किताबलाई मोटो बनाएको हो कि भन्ने पनि लाग्यो । बेलाबेला पट्यार लागेर बिरामहरु पनि लिएँ । पात्रहरुलाई बेलाबेला अनायासै ल्याउने र फेरी गायब गर्ने तरिका पनि उति मन परेन । पवित्रा, यमुना र गोविन्दको आउने जाने क्रम मनलागी तवरले गरिएको जस्तो लाग्यो । ‘म’ पात्रकी सानो भाइ एकाएक आश्रममा आउँछन् र त्यसै बिलाउँछन् । सानो भाइले कुकुर्नीको दुध खाएको प्रशंग अनि विरामी पर्दा ‘म’ पात्रले आफै स्तनपान गराएको कुरा पनि अलि अमिल्दो लाग्यो । पछि सौतेनी आमाको पहिलो सन्तानमा जेठो भाइको अनुहार मिलाएको पनि त्यति चित्त बुझेन । उपकथा पनि एकै स्वादका छन् ।
हुन त उपन्यास भनेको कल्पनामा आधारित हुन्छ । यो समाचार र कुनै घटनाको प्रतिवेदन जस्तो सत्यपरक हुनु जरुरी हुँदैन । लेखनको लागी पनि निकै मिहिनेत लाग्छ । ३७३ पाना पढ्नै त त्यत्रो धौधौ भयो भने लेख्न र सम्पादन गर्न झन् कति कठीन भयो होला । त्यहि हो, उपन्यासका प्रत्येक शब्दहरु लेख्ने वा नलेख्ने भन्ने कुरामा लेखक सम्पूर्ण रुपले स्वतन्त्र हुन्छ । तिनै शब्दको सहि संयोजन गरेर उसले एक मिठो कल्पना पनि सिर्जना गर्न सक्छ । यो उपन्यास केही पातलो भएको भए सायद अझै घतलाग्दो हुन्थ्यो कि भन्ने चाहिँ लाग्यो । कथाको आलम्बन शीर्षकमा ६ पाना मै पनि त त्यही कथा सकिएको छ । त्यत्ति नै पढ्नका लागी ३७३ पानाहरु अलि बढि भए कि ?
View all my reviews

Comments
Post a Comment