परोपकारी प्रतिस्पर्धा

बाबुरामले दिनभरी ढुङ्गा बोकेको अनि प्रचण्डले गलले खन्दा अग्नी सापकोटाले माटो निकालेको समाचारहरु संचार माध्यममा छाउँदा नेपालमा पनि परोपकारको प्रतिस्पर्धै सुरु भएको प्रष्टै देखिन्छ । भूकम्पले ल्याएको एउटा सकारात्मक परिवर्तनको रुपमा यो परोपकारी प्रतिस्पर्धालाई पनि लिन सकिन्छ । सुरुमा सबै हताहत भएपनि पछिका दिनमा राहतमा अघि सरेका अनि उद्धारमा लागेकाहरुको तस्वीरले सामाजिक सञ्जालका भित्तो कहिल्यै खाली भएन । यसका बारेमा अनेकानेक टिका टिप्पणीहरु पनि सुरु भए । सानो सहयोग गरेर बढि प्रचार गरेको भन्ने कुराहरु पनि आए । तर यसको सकारात्मक पक्ष के भइदियो भने यसले सबैमाथि एकखाले नैतिक दबाब पारिदियो । सबैले आफूलाई ‘मैले के गरेँ ?’ भनेर सोध्ने मौका पाए । र त्यही प्रश्नको उत्तरको खोजीमा धेरैले परोपकारमा समय पनि खर्चे ।
यसरी परोपकारमा लाग्ने राजनीतिक दलहरुमा नेकपा एमाले र नेपाली कांग्रेस पनि थियो । एमाले सम्बद्ध युवासंघ पनि अहिले मैदानमा खटिएको छ । ‘आफ्नो गाउँ आफै बनाउँ’ भन्दै उनीहरु प्रभावित जिल्लाहरुमा खटिएका हुन् । त्यस्तै कांग्रेसका युवा नेता गगन थापा नुवाकोटमा ४० टहरा बनाएर फर्केको समाचार पनि सामाजिक सञ्जालहरुमा बाँडिएकै हो । त्यस्तै कांग्रेस सम्बद्ध नेवि संघ र तरुण दल पनि अघि सरेकै छन् । देशमा नयाँ परिवर्तन ल्याउनका लागी र जिम्मेवारीपूर्ण राजनीतिक संस्कारको थालनी गर्नका लागी केहि जोशीला युवाहरुले स्थापना गरेको विवेकशील नेपाली दलले सुरुवात गरेको दलगत परोपकारमा पछि आएर सबैले धेरथोर सहभागीता जनाए । राजनीतिको ‘र’ पनि सुन्न नचाहने हाम्रो युवा पुस्ताका नेपालीहरुले विवेकशील नेपाली दलको भने बडो प्रशंशा गरे । रात दिन केहि नभनेर अनि कुनै राजनीतिक पूर्वाग्रह नराखी राहतमा खटिएका यी दलका कार्यकर्ताका काम निकै नै सराहनीय थियो । त्यसैले पनि यो दलका लागी नैतिक र भौतिक समर्थनको कुनै पनि कमी रहेन । स्वयंसेवीहरुलाई परिचालन गर्ने देखि लिएर विदेश स्थित नेपालीहरुको सहयोग रकमको जिम्मेवारीपूर्ण ढङ्गले पिडित समक्ष पु¥याउने जिम्मा पनि यसै दलले पायो ।
मानिसले सरकार भन्दा पनि बढि यो दललाई विश्वास गर्नुले लोकतन्त्रको सार्थकतामा नै प्रश्नचिन्ह खडा गरेको थियो । लोकतन्त्रमा जनादेश प्रदर्शन गर्ने मौका भनेको मतदान हो । मतदान मार्फत नै जनताले आफ्नो विश्वास लागेका राजनीतिक दललाई सत्ता समक्ष पु¥याउँछन् । त्यसमा भाग लिए पनि सफलता प्राप्त गर्न नसकेको विवेकशील नेपाली दललाई चुनावमा भारी मत ल्याएर आफैले निर्वाचित गराएका दलहरु वा दलका प्रतिनिधिहरु भन्दा बढि विश्वास गरिनु पक्कै पनि लोकतन्त्रको असफलताको संकेत गर्दथ्यो । सायद जनताले अझै पनि मतदानको महत्व बुझ्न सकेका छैनन् । नभए मन नपरेकै नेताहरु मतदानमा भारी मत ल्याएर जित्ने थिएनन् । या जितिसकेका नेताहरुको यथोचित इज्जत र विश्वास गरिन्थ्यो । चुनावमा केहि बेइमानीका कुरा पनि आउलान तर सबै भोट फर्जी हुन् भन्ने आँट पनि त कसैमा छैन । त्यसैले जनभावना देखाउने बेला भनेको मतदान हो । त्यसमा मनपरेका लाई भोट दिएर र मन परेका छैनन भने आफै मैदानमा उत्रेर समेत विकल्प खडा गर्न सकिन्छ । फेसबुकका भित्ताहरुमा मनलागी लेखेर अराजकता बढाउनुको कुनै तुक छैन । यसलाई भूकम्पले सिकाएको पाठकै रुपमा पनि हेर्न सकिन्छ । यो कुरामाथि नै ध्यान दियो भनेपनि आगामी निर्वाचनमा विवेकशील नेपालीदलले महा विपत्तिका बेलाको खटनको उचित पुरस्कार पाउने छ ।
राजनीतिक परिवर्तनका लागी ठूलो विद्रोह नै गर्नु पर्छ या बन्दुकै बोक्नु पर्छ भन्ने पुरानो खोक्रो मान्यता दिल्लीमा भएको राजनीतिक उथलपुथलले नै खारेज गरि सकेको छ । सत्तामा भएको भारतीय जनता पार्टीलाई तीन सिटमा समेटेर अर्वीन्द केजरीवालको ‘आम आदमी पार्टीले’ ६७ को भारी बहुमत ल्याउनुले नेपालमा पनि नयाँ शक्तिको विकल्पका बारेमा चर्चा चुल्याएको थियो । विवेकशील नेपाली दलले आफूलाई विकल्प भएको भनेर समेत उभ्याएको थियो । रविन्द्र मिश्रहरु जो आफ्नो सक्रिय जागिरे जीवनको उत्तरार्धमा पुगेका छन्, नयाँ शक्तिको उदयले आफूजस्ता सामाजिक रुपमा सक्रिय भएकाहरुले स्थान पाउने आशा गर्दाहुन् । स्थापित राजनीतिक दलमा प्रवेश पाउनु नयाँ दल दर्ता गरेर मतदानमा भाग लिनु जति सजिलो छैन । जनताले मतदानको महत्व नबुझे सम्म राजनीतिक नेतृत्वमा खासै ठूलो अन्तर आउने बाला छैन । आँखिर राजनीतिक नेतृत्वले जनआकांक्षा विपरित रहेर धेरै बेर टिक्नै सक्दैन । नभए राजतन्त्र नै रहि रहँदो हो ।
परोपकारमा राजनीतिक प्रतिस्पर्धा एक महत्वपूर्ण परिवर्तनको संकेत भएपनि व्यक्तिगत र संस्थागत प्रतिस्पर्धामा समेत त्यस्तै प्रतिस्पर्धा देखियो । सामान्य अवस्थामा ‘हेल्प नेपाल’का परोपकारी कामका समाचारहरु मात्रै देखिने सामाजिक सञ्जालमा यसपालीको प्रतिस्पर्धाले ‘हेल्प नेपाल’का कामहरु निकै दिन सम्म ओझेलमा पारिदियो । मह जोडीलाई समेत अघि सारेर गरिएको राहतका कामहरु पनि निजी तहमा गरिएका राहतका कामहरु बीच कतै हराए । निकै दिनपछि खोजी गरेर हेर्दा बल्ल ती समाचारहरु पाएको थिए । यसले पनि परोपकारी हातहरु बढेको पक्कै संकेत गर्दथ्यो । रविन्द्र मिश्रको ‘खान पुगोस्, दिन पुगोस्’ भन्ने आशीष अहिले आएर नेपाली समाजलाई लागेको जस्तो भान भयो । जेनतेन खान पुगेका तर दिन नपुगेका वा दिने आँट नभएका म जस्ताले समेत यो प्रतिस्पर्धामा हिस्सा लियौँ । मेरो हैसियत भन्दा पनि दरिद्र मानसिकताले मलाई परोपकार वा दान कार्य बाट छेकेको भान भयो । सायद म जस्ता अरु पनि थिए होलान् ।
परोपकारी प्रतिस्पर्धामा हिमाल, पहाड र तराई एक भए । तराईका बासिन्दाले राहत संकलन गरेर पहाड र हिमाल पठाए । भूकम्पबाट अति प्राभवित १४ जिल्ला बाहेककाले भूकम्प प्रभावित जिल्लाका लागी भनेर सक्दो राहत संकलन गरेर सहयोग गरे । यसबेला भौगोलिक र जातीयताका कुराहरु कसैले हेरेनन् । सबैले ‘परोपकार परमोधर्म’ (परोपकार नै सबैभन्दा माथिल्लो धर्म हो । ) भन्ने कथनलाई आत्मसात गरेको देखियो । यस महा बिपत्तिले एक किसिमले नेपाली नेपाली बीचको विभेदलाई अन्त गर्न साह्रै ठूलो मद्दत ग¥यो । यो एकताको भावना सँधै यस्तै भइदियो भने सायद देशले छिट्टै ठूलो फड्को मार्नेछ ।
सँधै कलाकारिताकै साँघुरो घेरामा बाँधिएर रहने र सामाजिक दायित्वमा उति न उत्रेका कलाकारहरुलाई पनि यस पालिको महा बिपत्तिले उनीहरुको सामाजिक दायित्व सम्झाइ दियो । हलिउडमा एमा वाट्सन (हेरी पोर्टरकी हर्मोइनी) जस्ता कलाकारहरु सानै उमेर देखि नै संयुक्त राज्य संगठनको सद्भावना राजदुतका रुपमा सामाजिक दायित्व निभाउनका लागी अग्रसर हुन्छन् । सेलेना गोमेज (गाइका) समेत नेपालमा आइ बालबालिकाहरुमाझ बसेर सहयोग गरेको खबरहरु पनि सबैले पढेकै कुरा हो । परको कुरा किन गर्नु, छिमेकी मुलुकमै सलमान खानले ‘बिइङ्ग ह्युमन’ नामक संस्था चलाएर एवं आमिर खानले ‘सत्य मेव जयते’ कार्यक्रम मार्फत समाजका लागी उदाहरणीय काम गरेको सबैले थाहा पाएकै छन् । यसपाली नेपाली कलाकारले पनि सो किसिमको भूमिका निभाउन पछि परेनन् । जितु नेपाल(मुन्द्रे) होस् या सिताराम कट्टेल (धुर्मुस) अहिले विभिन्न कार्यक्रममा गएर पिडितहरुलाई आफू सक्दो सहयोगमा जुटेका छन् । चलचित्रका कलाकारहरुले पनि विभिन्न चलचित्रको नाम दिएर अस्थाइ टहराहरु पिडितहरुलाई हस्तान्तरण गरेका छन् । प्राय यस्ता काममा मह जोडी मात्रै अघि सर्ने गरेको पुरानो परिदृश्य बदलिएको छ । कलाकार कलाकारमा पनि कसले कति योगदान दियो भनेर प्रतिस्पर्धा सुरु भएको छ ।
व्यक्तिगत रुपमा आफू सक्दो सहयोग गर्नेको पनि कमी देखिएन । ठूलाठूला व्यापारीहरु देखि लिएर स्कुले विद्यार्थीहरु समेत सहयोग जुटाउन लागेको देख्दा देशमा विकास सम्भव छ भन्ने कुरामा शंका गर्ने ठाउँ नै देखेन । हो सँधै सहि भएर मात्रै नहुने रहेछ भन्ने चाहिँ लाग्यो । सहि मानिसहरुले जब सम्म केहि गर्दैनन् तब सम्म परिवर्तन असम्भव छ । तर सबैले आफूसक्दो सहयोग एक अर्कालाई जुटाए भने देखासिखी गरेरै भएपनि त्यो एक संस्कारमा बदलिन्छ । यो भावना र यो संस्कारलाई पछि सम्म पनि जोगाएर राख्न सक्यो भने पक्कै पनि हामी सबैले आफ्नै जीवनकालमा परिवर्तित नेपाल देख्न पाउने छाँै ।
यति हुँदा हुँदै पनि केहि बदमासी गर्नेहरुको समाचारहरु पनि आइ रहे । सत प्रतिशत असल मान्छे सायदै कहिँ होलान् । या कुनै पनि मान्छे सत प्रतिशत चोखो सायदै कहिँ भेटिएला । मानिसले जीवनमा असल र खराब काम गर्छ । उसका कामहरु सामान्यीकरण गरेर उसलाई परिभाषित गरिनु भन्दा ऊसले असल गरेका बेला उसको प्रशंशा गरिदिने र उसले खराब गर्दा खबरदारी गर्ने गरेमा मानिसहरुलाई सँधै सहि बाटोमा ल्याउन सहज हुन्थ्यो । हामीले बाल्यकालमा पढेका रत्नाकरका कथालाई यसबेला भुल्नु हुँदैन । मान्छे लुट्ने डाँकुले पनि सहि मार्ग निर्देशन पायो भने एक बाल्मिकी जस्तो ऋषिमा आफूलाई परिणत गर्न सक्दछ भन्ने कुरालाई भुल्नु हुँदैन । त्यस्तै हिरण्य कश्यपु जस्ता राक्षसको रगत भएर पनि भगवानमा आस्था राख्ने प्रल्हादका कथाहरुले दिएको सन्देशलाई हामीले भुल्न हुँदैन ।
नेताहरुले गरेका कामको टिका टिप्पणी गर्नेहरु समेत कम थिएनन् । पचासौँ हजार तलब लिने नेताहरुले ज्यामी काम गरोस् भन्नु एक दमै महंगा ज्यामीको अपेक्षा गर्नु हो । उनीहरुको काम नीति निर्माताको तहमा रहेर काम गर्ने हो । दशौँ वर्ष देखि थाति रहेको संविधान निर्माणको मुद्दामा केहि गर्नु अहिलेको टड्कारो आवश्यकता हो । यो महाबिपत्तिले श्रृजना गरिदिएको नयाँ परिवेशलाई आत्मसात गर्दै विवादित विषयहरु टुङ्गयाउन सकियो भने सायद उनीहरुको भूमिकाको उचित प्रयोग गरिएको मानिएला । यदि त्यसो हुन सक्यो भने नवनिर्माण या पुनः निर्माणको यो चरण अझै सहज भएर जानेछ । तर होइन दुई दिन ज्यामी लागेर तेश्रो दिन देखि फेरी  विभाजित नै भएर बसे भने त्यसले सायद राष्ट्रलाई अझै अनिश्चित काल सम्मका लागी अनिर्णयको बन्दी बनाएर लैजाला । सरकार परिवर्तनको सवालमा भइरहेका टिप्पणीहरुकै सन्दर्भमा पनि के भनिहाल्न मन लाग्यो भने, दुई तिहाइले मात्रै नेपालको समस्या समाधान गर्न सक्ने भए अहिले सम्म संविधान जारी भइ सक्थ्यो । त्यसैले यो जुन सहमतिको बहाना मिलेको छ त्यसलाई भजाउन दिउँ र सकेसम्म खबरदारीको माहोल बनाइ राखाँै । यसले पक्कै पनि देशमा निकास ल्याउने छ । अहिले त नेताहरुलाई दबाब दिन पनि सजिलो छ । उनीहरुको सामाजिक सञ्जालमा उपस्थितिले उनीहरुका बारेमा हुने गरेका हरेक चर्चा परिचर्चा उनीहरुसँग पु¥याउँछ । रामशरण महतको आदेशमा राहतको सामग्रीमा हिनामिना भएको समाचार ट्वीटरमा एकजानाले पोष्ट गर्ने वित्तिकै उनले सफाइमा जवाफ फर्काइ हाले । हो यसरी उनीहरुलाई गोडा चिप्लिएका बेलामा ठाउँकाठाउँ समाउन सकेमा मात्रै हामीले आफ्नो भूमिका सहि निभाएको सावित हुनेछ । हाइन भने निराशा बाँड्ने र सहि गलत हरेक कुराको खालि बिरोध मात्रै गर्नुले कसैको भलो गर्दैन ।
फेरी प्रतिस्पर्धाकै कुरामा भन्नु पर्दा, यो क्रम जारी रहनु पर्दछ । तरुनीले मुख चुच्याएर सामाजिक सञ्जालमा प्रशंशा बटुल्नका लागी गरेका तस्वीरबाजी भन्दा राहतका लागी पिडितलाई एकै पोका चाउचाउ पनि दिइ भने म त्यो राहतको कामको सराहना गर्छु । उसको एकपोका चाउचाउको तस्वीरले अरुलाई दश पोका चाउचाउ बाँड्न प्रेरित गर्छ । त्यो नराम्रो हुँदै होइन । प्रतिस्पर्धा हाम्रो समाजमा पहिले देखि नै थियो । सामाजिक चाड पर्व मनाउँदा हुने तडक भडकको प्रतिस्पर्धा छाडेर सामाजिक काममा योगदान दिने प्रतिस्पर्धा यदि समाजमा देखिन्छ भने यो एक दमै राम्रो कुरा हो । बरु विस्तारै मिलेर काम गर्ने संस्कारको पनि थालनी गर्नु पर्छ । अरुलाई नराम्रो बनाएर आफू राम्रो हुने भन्दा पनि अरुको कामको सराहना गर्दै आफू समेत दत्तचित्त भएर काम गरेर प्रशंसा बटुल्नु समाजको लागी हितकर होला । अब नेता, कर्मचारी, कलाकार, पत्रकार, विद्यार्थी, आदि सबैले आफ्नो समयको केहि समय सामाजिक कामका लागी छुट्याउने गर्नु पर्छ । विकसित देशहरु नेताहरुले बनाएर बनेका होइनन् । सबै जनताहरुकै अग्रसरतामा बनेका हुन् । हामी पनि हाम्रो देश त्यसरी नै बनाउन तर्फ लागौँ । जय देश !

Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला