सपनाहरु बाँचेको दिन

  भू–मध्यसागरसम्मको यात्रा –४






क्षितिजमा लाली पोतिएको थियो । म आँखाले भ्याउञ्जेल सागरका लहरहरु र त्यसको पल्लो छेउमा लागेको बादलको पर्खाल चिर्दै माथि उक्लँदै गरेको घाम हेरिरहेको थएँ । बादलका कारण सिनेमामा देखाए जस्तै पानीबाट निक्लँदो घाम हेर्ने मेरो चाह पुरा नभएपनि म त्यहाँ जीवनले दिएको अनेपेक्षित मौकामा रमाउन खोज्दै थिएँ । कुनै दिन यसरी सागर किनारामा सूर्योदयको प्रतीक्षा गर्दै बसौँला भन्ने सोचेकै थिएन । बाच्नु मात्रै पर्दो रहेछ, जीवनमा नियतीले लुकाएर राखेको अनेकानेक खुशीका पलहरुको कुनै कमी नहुने रहेछ ।





विहानीको हावाले मनमा ताजापन थप्दै थियो । किनारासँग जिस्किने छालहरुमा गोडा चोपलेर बस्दा बेलाबेला पानी माथि सम्म आइपुग्थ्यो । म कपडा भिज्ला भन्ने डरले बेलाबेला उठथेँ । जाडोले बिहानै पानीमा पस्ने आँट गर्न दिएन । त्यसैले गोडामात्रै चोपेर भएपनि स्पर्श कायम राखेर आँखाले भ्याउञ्जेल हेरिरहेको थिएँ । भोलिलाई सम्झना पनि त थुपार्नु थियो । हातगोडा दरा छउञ्जेल सम्झना बटुल्ने र यी गल्न थाल्दा ति बटुलेका सम्झनाका पाता पल्टाएर रमाउन न हो जीवन । म पछिका दिनलाई सुखद सम्झना पनि मनग्गेहोस भन्ने चाहन्थे । परपर केही मानिसहरु डुङ्गा चलाइरहेका थिए ।
कोठामा फर्कदा ऊ हातमुख धोएर नास्ता खाने तयारीमा थियो । म उसलाई देख्ने बित्तिकै हाँसे । उसको मुहारमा थुप्रै प्रश्नहरु थिए । मैले सूर्योदयका लागि समुद्रतट गएको कुरा खोलेँ । अघिल्लो साँझ नै मैले उसलाई प्रस्ताब गरेको थिएँ । ऊ अबेर रातसम्म बाहिरफेर गरिरहेकाले विहानै उठ्ने पक्षमा थिएन । त्यसैले म एक्लै आफ्नो अभिष्ट पुरा गर्न हस्याङ्गफस्याङ्ग गर्दै हिँडेको थिएँ । बफे नास्ता रहेछ, अघाउञ्जेल खायौँ । खाँदै गर्दा दिनभरिको घुम्ने योजना पनि बन्यो । ऊ धेरै हिँड्ने पक्षमा थिएन । उसको प्रस्ताब नजिकका केही पुराना गिर्जाघर, बाटाघाटा र समुद्र तट घुम्ने थियो । म सकेजति सबै घुम्ने पक्षमा थिएँ । मलाई लाग्थ्यो भोलि यस्तो मौका सायदै आउला । जीन्दगीले अवसर दिएका बेला भरपुर फाइदा किन नलिनु ?
मलाई इतिहास मनपर्छ । पुराना कुराहरु जान्न र अवलोकन साह्रै रमाइलो लाग्छ । त्यसैले हामी बार्सेलोनाका मध्ययूगीन सभ्यता सम्हालेर राखेका पुराना गल्लीहरु चाहर्न थाल्यौँ । रोमन साम्रज्यले यूरोप ढाकेका
बेलाका भवनहरु र अन्य संरचनाहरु हेदौ त्यो यूगमा पनि कति धेरै विकास भएको रहेछ भन्ने कुराले मन रोमाञ्चित बनाउँथ्यो । हामी विना कुनै पथप्रदर्शक अघि बढि रहेका थिर्यौँ । त्यसैले हामीले देखेका कुराहरुको इतिहास भनी दिने कोहि थिएन । त्यहाँ लेखिएका विवरणहरु पनि प्राय स्प्यानीस भाषामा लेखिएका थिए । हामी त्यस्ता स्मारक र पुराना भवनको कला कौशल हेरेरै रमाइ रहेका थियौँ । त्यसैक्रममा देखिएको एक मध्ययूगीन पुरानो किल्ला अघिको घोडसवार सैनिकको सालिकले टुँडीखेलका राणा प्रधानमन्त्रीहरुको सालिकको सम्झना गराएको थियो ।


हुन त म धर्म प्रति त्यति आस्था राख्ने मान्छे होइन । तर मन्दिर–मस्जीद सबैमा पस्ने गर्छु । त्यहाँ ईश्वर नभेटिए पनि ईश्वरप्रतिको मानिसहरुको युगौँ देखिको आस्ता भेटिने गर्छ । त्यस्तै केही उद्देश्यले हामी बार्सेलोनाको एक पुरानो गिर्जाघरहरु  मध्ये पर्ने क्लाउस्ट्रे डे ला काटेड्रल भित्र पस्यौँ । गिर्जाघर हेर्न आउनेहरुको ठूलो भीड थियो । गिर्जाघर निकै ठूलो थियो । त्यसका विभिन्न भागमा यिशुका पुराना पुराना मुर्ती र तस्वीरहरु थिए । बीचमा एक रोमनका पालाको सभाकक्ष पनि थियो । भित्र जान अनुमति थिएन । तस्वीर लिन पनि मनाही थियो । म चाहीँ पछिल्तिरबाट गएर भएपनि तस्बिर खिची थाहा गरेँ । नाइ भन्ने वित्तिकै किन हो किन मनमा अर्कै उत्साह थपिन्छ । गिर्जाघरमा हेर्नका लागि थुप्रै चीजहरु थिए ।  हामी सकेजति हेर्ने र बुझ्ने प्रयास गर्दै बाहिर निस्कियौँ । निस्किदा एक महिलालाई स्वयं सेवकले बाहिरै रोके । उनको तिघ्रामा नजर गयो । छोटा पहिरन लाएकी हुनाल होला भन्ने अड्कल काटेँ । ईश्वरलाई त के फरक पर्दो हो, पापी मन भएका मान्छेहरुका नियम हुन् ।

गिर्जाघर परिसरलाई छोडेर हामी यसो बजार भाग डुल्न लाग्यौँ । अघिल्लो दिन आउँदा देखेको आर्क डे ट्रम्फमा पुग्दा त्यहाँ अघिल्लो दिनका पालहरु सबै निकालिँदै थिए । मेला लागेको रहेछ । आज सकिएछ । हिजो अन्तिम दिन सामुन्नेबाट हिँड्यौँ तर हेर्न भ्याएनौँ । अलि खल्लो लाग्यो । केही तस्वीरहरु लिएर मैले अघि बढ्ने प्रस्ताब राखेँ । उसलाई बढि हिँड्न मन थिएन । त्यसैले फर्कन चाहन्थ्यो । म उसलाई त्यही राखेर आफू जति भ्याइन्छ हेरेर आउँछु भनि अघि हिँडे ।
कुनै गन्तब्य थिएन । मात्र घुम्नु थियो । बाटाघाटा चहार्नु थियो । घरहरु हेर्नु थियो । केही अघि पुगेपछि हाटबजारका खुद्रा पसलहरु जस्तै लाग्ने थुप्रै पसल भएको एक भवन देखियो । भवन केही अग्लो र सार्वजनिक आवतजावतका लागि खुल्ला गरिएकोले म त्यसमाथि चढेँ । मलाई उचाइ बाट वार्सेलोना आँखाले भ्याउञ्जेल हेर्नु थियो । केही बेर त्यसै पसलहरु चहारेँ । माथिल्लो तल्लामा रेस्तराँ पनि रहेछ । म भने खाइरहेका तर्फ पिठी फर्काएर वरिपरी हेर्नमा मस्त भए ।
फर्केर आउँदा ऊ अघिको ठाउँमा थिएन । क्यामेरा उसको हातमा छोडेर गएको थिएँ । यतै कतै फोटो लिँदै होला भनी एकछिन खोजेँ । घाम केहि छिप्पिँदै गएकाले मानिसहरु घाम ताप्नका लागि आर्क डे ट्रम्पको वरपरका बेन्चहरुमा बसेका देखिन्थे । केही बुढाहरु हुल बनाएर तास खेलि रहेका पनि भेटिए । ऊ छेउमै बसेको थियो । आउन अलि ढिलो भएकोले रिसाएको होला सोचेको ऊ हाँस्यो । के गरि बसेको भन्दा मुखले अघिल्तिरको बेन्च देखायो । केही तरुनीहरु बसेका थिए । हातको क्यामेरा थुतेर तस्वीरहरु हेरेँ । उसले लिएको एउटै तस्वीर थियोः आफू अघि बस्ने बेन्चमा बसेका केटीहरुको तस्वीर । एकछिन फेरी हाँसो ठट्टा अनि लोग्ने मान्छेका कुराहरु भए ।
घाम छिप्पिइ सकेकाले यसो टहलपहल गर्दै समुद्र तट जाने भयौँ । बाटामा भेटिएका सबै चिजहरुको तस्वीर लिँदै हिँड्यौँ । बाटामा फेरी घोडसवार सैनिकको सालिक फेला प¥यो । सालिकसँगै टुँडीखेलका चारकुनाका सालिकहरुको सम्झना आयो । राणाहरुले आफ्ना लागि मात्रै भनेर गरेको भएपनि विद्यालय, कलेज, अस्पताल, आदि स्थापना गर्ने देखि लिएर सती प्रथा उन्मुलन लगायतका थुप्रै सराहनीय काम गरेकै हुन् । टुडिखेलका सालिक पनि यूरोप भ्रमणको प्रभाबवाट नेपालमा थालिएको अंग्रेजी शिक्षा जस्तै हो कि भनने अड्कल काटेँ । बिजेताहरुको इतिहास हुन्छ भन्छन् । हालको इतिहासले उनीहरुलाई खलनायक बनाएको छ । अचेल उनीहरुले सत्ता जोगाउन गरेका थिचोमिचोलाई मात्रै बढि प्राथमिकता दिइन्छ । सत्ताले शक्ति र शक्तिले आशक्ति अनि त्यो आशक्तिले अनेक कुकृत्य गर्न लाउने न हो । हालका सत्तासीनहरु पनि सत्ता जोगाउने यत्नमा त कहाँ पछि परेका छन् र ? दिल्ली कलकत्ता धाएर हुन्छ या सभासद किनबेच गरेर हुन्छ, चुनाबमा गुण्डाहरु लाएर बुथ कब्जा गरेर हुन्छ वा उमेदवारलाई नै सिलटिम्मुर ख्वाएर हुन्छ आफ्नो सत्ता जोगाउन कहिँ पछि परेका छैनन् । त्यसभन्दा बढि गर्नलाई अहिलेको अन्तर्राष्ट्रिय परिवेसले नै दिँदैन । यस्तै यस्तै विचारहरु मनमा खेलाउँदै समुद्रतट तर्फ हाम्रा पाइला लम्की रहे ।

विहान क्षितीजमा देखिएको बादलले मनमा केही डर पैदा गरेको थियो । सेप्टेम्बरको अन्त तिर हुनाले मौसम चिसिन थालिसकेको थियो । बादलले आकाश ढाके समुद्री तटको अनुभव नमजा हुन सक्थ्यो । हामी तटमा पुग्दा मानिसहरुको हुल टन्न थियो । घाम छेक्न बनाइएका ठूला छाताहरु र वरपरका अर्धनग्न शरीरहरुले तट ढाकेको थियो । अझ पर देखिने गाढा निलो पानीले मनमा अर्कै तरंग पैदा ग¥यो । जतिजति सागरसँगको सामीप्यता बढ्दै गयो उतिउति सागरका लहरहरु प्रष्टिँदै गए । ती लहरहरुसँगै मनमा पनि अनेकौँ लहरहरु थपिँदै गए । आँखाले भ्याउञ्जेल पानी अनि त्यसलाई छोप्ने उस्तै रंगको आकास देख्दा मनले कल्पित चित्र साकार भए जस्तै लाग्यो । विहान पनि यस्तै भइदिएको भए सागरमा सूर्योदयको अनुपम दृश्य समेत देख्न पाइने थियो । मैले आफ्ना गोडाका चाल रोक्न सकीन दौडदै नजिक पुगेँ ।
“जाउँ हिँड पानीमा !” मैले सहर्ष प्रस्ताव राखेँ ।
“नाइ म ट नजाने । टिमी जाऊ ।” उसले हाँस्दै प्रस्ताब टा¥यो ।
समुद्र किनारामा आएर पानीमा जान अनकनाउनु मेरो मगजले बुझ्न सकेन । अनेक तर्क गरेर उसलाई मनाउन खोजेँ । ऊ मानेन । कारण पनि खुलाएन । मैले उसलाई कपडाहरु जिम्मा लाएर आफू पानीमा कुदेँ । सानो बच्चालाई नुहाउँदा आँत्तिएझै गरि पानीमा भित्रभित्र पसेँ । पौडी खेल्न उति आउँदैन । फेरी समुद्र जस्तो कुरा । रमाउँदै गहिराइमा पुगेँभने अर्को विजोग हुने त्यसैले गोडाले गहिराइ नापेर खुट्टा टेक्दा घाँटि बाहिर आउन  ठाउँसम्ममा पौडन थालेँ । पौडदा मुखमा नुनीलो पानी पस्यो । समुद्रको पानी नुनीलो हुन्छ भन्थे हो रैछ !
वरिपरी थुप्रै मानिसहरु थिए । विदा मनाउन अनेक देशबाट आएका मानिसहरु । सबै मज्जाले पौडेको देखेर आफैलाई धिक्कारेँ । अरु परपरसम्म पौडेर गएको हेरेर रमाइ रहेँ । किनारामा ऊ हाँस्दै फोटो लिइरहेको थियो । क्यामेरा कहिले मतिर त कहिले अर्धनग्न तरुनी तिर घुमाउँदै थियो । पानीबाट निक्लेर ऊ भएतिर गएँ । उसलाई आफ्नो रोमाञ्च सुनाएर पानीमा जान हौस्याएँ । ऊ मानेन ।
“उः ट्याँ हेरन ! क्या च्वाँकच्वाँक खैरेनीहरु छ ।” ऊ हाँसो थाम्दै चिउँडाले इशारा गर्दै देखाउन थाल्यो ।
“मुला, तिम्लाई त बस् केटी भए पुग्यो है !” उसले देखाए तर्फ स्वचालित रुपमा टाउको बटार्दै भनेँ ।
“कोइ ट झन् क्यै नलाका पनि छन् ।” उस्तै हाँसो हास्दै थप्यो ।
“खै काँ ?” ऊ हेरिरातिर झट्ट फर्केर हेरेँ ।
“ओइ टेसरी नहेर न !” रिसाएझैँ उसले भन्यो । फेरी लोग्ने मान्छेका कुरा सुरु भए ।
हाम्रा छेउछाउमा प्राय जोडीहरु बसेका थिए । भित्री मात्रै लगाएका तरुनीको कुनै कमी थिएन । ठाउँठाउँमा माथिल्लो सबै फुकालेर बालुवामा घोप्टो परेका तरुनीहरु पनि थिए । कति तरुनीहरु त्यसै पानीमा पसि रहेका थिए । हामी सकेसम्म छोटो समयका लागि हेर्न कोसिस गरिरहेका थियौँ । यूरोपका जर्मनी, फ्रान्स र स्वीट्जरल्याण्ड लगायतका देशहरुमा त स्वतन्त्र शरीर संस्कृति (Free Body Culture) अन्तर्गत नग्नतालाई प्राकृतिक रुप भनी हेर्ने गरिन्छ । पहिलो पटक जर्मनीमा स्वीमिङ्ग पुलमा जाँदा पुरुषहरुको स्नान गृहमा सबै नाङ्गै नुहाइरहेका देख्दा म अक्क न बक्क परेको थिएँ । सँगै गएको रसियन सेरगे सामरेले पछि स्वतन्त्र शरीर संस्कृतिका बारेमा बताउँदा उदेक मान्दै सुनेको थिएँ  । यूरोपमा नाङ्गै नुहाइने समुद्री तटहरु पनि छन् । अफू नगएकाले अर्धनग्नहरु पनि हेर्ने विषय बन्न गए । पश्चिम निकै उघ्रिइसकेको छ । हुन त पूर्व पनि पहिलेको जस्तो छपक्कै छोपेको छैन । महेन्द्र पुलिस क्लब अनि किर्तिपुरका पौडीपोखरीहरुमा तरुनीहरु पैले पनि देखेकै हो । विस्तारै पूर्व पनि पश्चिमलाई पछ्याउँदैछ । समयको कुरा हो । एक दिन सायद पूर्व र पश्चिम खाली नामको मात्रै पूर्व र पश्चिम रहनेछन् ।
उसले ती अर्धनग्न जलपरीहरुको फोटो लिने षडयन्त्र सुनायो । मैले ती भएतिर पानीमा जाने र उसले मेरो फोटो लिएको बाहानामा तिनको फाटो उतार्ने । काम अलि खतरापूर्ण थियो । कुरा बिग्रिए दुबैका बंगारा झर्न सक्थे । तैपनि जोखिम मोल्न लायक काम थियो । म पानीमा गएँ । अनि ऊ तर्फ ङिच्च हाँस्दै फोटो खिच्ने संकेत गरेँ । उसले वरपर चारैतिर क्यामेरा घुमायो । भयो भन्ने संकेत पाएपछि म एकछिन फेरी पानीमा रमाएँ ।
किनारामा पुगेर झट्ट क्यामेरा हेरेँ । उसले खिचेका तस्वीर मलई चित्त बुझेनन् । लेख्ने मान्छे देखेका कुरा अरुलाई पनि देखाउन मन लाग्छ । सके शब्दबाट नसके तस्वीरबाट । त्यसैले एउटा पायकपर्दो तस्वीर लिन आफै तम्सिऐँ । मौकाले एक भरखरकी तरुनी पानीमा पसी । ऊ पानीबाट निस्किँदा उसको तस्वीर लिनलाई तयार भएँ । एकछिनको प्रतिक्षापछि आई । मैले तस्वीर पनि उतारेँ । सायद चालपाइछे । तस्वीरमा हेर्दा उसले हात मुहार तिर पु¥याएकी थिइ । उसको तस्वीर ठूलो पारेर हेरेँ । नग्नता र अश्लीलता बेग्लाबेग्ले हुन जस्तो लाग्यो । उसको त्यो तस्वीर उत्तेजक थिएन । सिनेमामा अर्धनग्न नायिकाको तस्वीर हेर्दा तरंगित हुने मन त्यो कलकलाउँदी उमेरकी किशोरीको अर्धनग्न तस्वीरले तरंगित भएन ।





....क्रमशः 
भू–मध्यसागरसम्मको यात्रा –१
भू–मध्यसागरसम्मको यात्रा –२
भू–मध्यसागरसम्मको यात्रा –३

भू-मध्यसागरसम्मको यात्रा–६

Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला