परदेशमा स्वदेशी

भू–मध्यसागरसम्मको यात्रा –३

“ट्यो ट केटी पाएपछि म ट्यस्टै हो । जट्टि टाइम पनि बिटाइडिन्छु ।”
“अँ अनि भोक पनि लाग्दैन होला ।”
“अब खाने नि । यस्लाई पनि लगेर जाने ।” साथमा हिँडी रहेकीलाई चिउँडाले इशारा गर्दै उसले भन्यो । मैले अलि रिसाए जस्तो गरि हेरेँ । फेरि हाँसे ङिच्च दाँत देखाएर ।

उसमा बेग्लै उमंग थियो । खुशी थियो, हाँस्दै थियो । कोठाबाट बल गरेरे बाहिर ल्याएको मान्छे जस्तै लाग्थेन । अघिकी केटी साथमै थिइ । हामी बेलाबेला अंग्रेजी र बेलाबेला नेपालीमा कुरा गर्दैथ्यौँ । दुबै जना मिलेर मलाई बेलिबिस्तार सुनाए । ब्राजिलबाट आएकी रहिछ । यूरोपयात्रा बार्सेलोनामा सकाएर घर जाने तयारी गर्दै रहिछ । समुद्रकी पारखी भएकीले फुटबलको पारखी उसको प्रेमीलाई रंगशालामा छोडेर आफू चाहिँ समुद्र किनारामा आएकी रहिछ । ब्राजिलियनका बारेमा एक भनाइ छ । त्यहाँका केटाहरु फुटबलर र केटीहरु बेस्या हुन्छन् रे !
मैले उनीहरु कुरा गरिरहेकै मौका पारेर केही फलफुल र पाउरोटीहरु किनेर ल्याएको थिए । उसलाई जानकारी गराएँ । उसले रुचि देखाएन । त्यस्ता खानेकुराले उसको पेट नभर्ने हुँदा गतिलो खानेकुराको खोजी गर्नुपर्ने भयो । फेरी केटी साथमा भएपछि त्यस्ता कुराले के चित्त बुझ्थ्यो ?

ऊ रेस्तराँको खोजीमा लाग्यो । अलि बजेटमा हुने रेस्तराँ देखेपछि ऊ त्यसैमा पस्यो । म दुबैको पछिपछि थिएँ । रेस्तराँ मालिक भारतीय मुलको थियो । महिला देख्ने बित्तिकै ऊ पनि आवश्यक्ता भन्दा बढि आत्मियता देखाउन थाल्यो । उसले दुबैका लागि पेयपदार्थ माग्यो । मेरा लागि पनि सोध्यो । मैले पर्दैन भनेँ । ‘खाना नि ?’ उसले सोध्यो । मैले गोजी छामे अनि भोक छैन भनेँ । म बाहिर आएँ ।

केही छिनमा दुबै हातमा पेय र पिज्जा बोकेर बाहिरिए । म अलि ठुस्स परेको थिएँ । सायद मेरो आरिस अझै मरेको थिएन । केटी उसका मुस्कानले हामी दुई बीचमा केही सहजता ल्याउने प्रयास गरिरहेकी थिई । त्यसको असर नि हुँदै थियो । म बिस्तारै खुल्दै थिएँ ।

हामी खानका लागि भनेर सडक छेउको बगैचा जस्तै लाग्ने ठाउँमा पस्यौँ । केही रुखहरु अनि किनारमा बस्नका लागि खुट्किला जस्ता बनाइएका थिए । हामी त्यसैमा बस्यौँ । अगाडि जहाजहरु थन्क्याएर राखिएको थियो । छेउमा बजार जस्तै लागेको थियोः उही चर्खा र रोटेपिङ्गहरुको बजार । आज खै के भएछ पर आकाशमा निकै आतिसबाजीहरु हुँदै थिए । हामी रमाउँदै हेर्न थाल्यौँ । अलि पर भएकोले राम्ररी देखिँदै थिएन । जहाजहरुले गर्दा छेकिएको थियो । फेरी पर सम्म जाने आँट पनि थिएन । घाँटि तानेर त्यहिँबाट हेरी भ्यायौँ । केही तस्बीरहरु क्यामेरामा कैद ग¥यौँ । अरु मानिसहरु पनि फोटो लिइरहेका थिए । केटीले उनीहरुलाई हाम्रो फोटो लिन आग्रह गरी । मैले पनि मेरो क्यामेरा अघि सारे । बार्सेलोनाको प्रथम साँझको चिनो ।

“चर्खा खेल्न जाने ?” उसले केटीको आग्रह बोल्यो । अघि त्यसैबाटो गुज्रिदा उसले केही भनेको थिएन ।
“नाइ ।”मैले प्रस्ताब अस्वीकृत गरेँ । “अब कोठामा जाउँ ।”
“एकछिन रोक न ! उसले खेलौँ भन्डैछे । बरु म टिर्छु ।” उसले मेरो मन छामे जस्तो लाग्यो । म हाँसे ।

विकल्प धेरै थिए । केटीले सबैभन्दा उरन्ठ्याउलो छानि । अग्लो खम्बा र त्यसमा एक ढिकिच्याउँ जस्तै बनाइएको । फरक यत्ति कि त्यो ढिकिच्याउँ ३६० को कोणमा टेबल–पंखा घुमे जस्तै घुम्थ्यो । बसेका मानिसहरुको चिच्याहट प्रस्टै सुनिन्थ्यो । बस्दा के होला भन्ने सोच्दा पनि जिउ जिरिङ्ग हुने ।

उसले सबैको तिर्दै थियो । केटीले मानिन । उसले दुई जनाको तिरी । मैले दुई युरो त हो भनि आफ्नो भाग आफै तिरेँ । मनमनै मलाई पनि खेल्ने रहर थियो । आँट नपुगेर मात्रै पछि सरेको थिएँ । एक छेउमा दुईजाना बस्न मिल्थ्यो । एकपटकमा जम्मा चार जना खेल्न सक्थे । उनीहरु जोडी परेर सँगै बसे । म एक्लै परेँ ।
सीटमा बसेपछि अगाडि बार लाग्नु पर्ने लागेन । मैले पहरेदारलाई भनेपछि बल्ल आएर मिलाई दियो । मिल्यो कि मिलेन मलाई पक्का भएन । डर झन् बढ्यो । पहिलो फन्कामा केहि भएन । उचाइमा पुग्दा अन्धकारमै भएपनि समुद्रतर्फ आँखा डुलाएँ । झिलिमिली सहर हेरेँ । एकै छिनमा मुनितिर झरेँ । जब गति बढ्यो तब बसेको सीट पनि घुम्दो रहेछ भन्ने पत्तो भयो । तल आउँदा टाउको भुइँतिर र खुट्टा माथि भयो । शीरमा लाएको टोपिले शीरको साथ छोड्न खोज्यो । एक हात टोपिमा गयो, अर्को हातले बार समाएँ । त्यसैबेला अघि त्यो बार नलागेको सम्झनाले झन् सातो लग्यो । एकछिन त बाँच्दिन कि सोचेँ । धन्न बाँचे !

तल झरेर हामी सबै एकैठाउँ भयौँ । सबै खुशी थियौँ । नौलो अनुभबले मलाई पनि सबै विर्साएको थियो । त्यसका लागि म दुबै प्रति आभार थिएँ । निकै अबेर भइसकेको थियो । ऊ पनि आफ्नो बाटो लाग्ने कुरा गर्न थाली । नाइ भन्ने हामीसँग आधार थिएन । जाँदा अँगालो हालेर गाला जोडी अनि हाँस्दै हात हल्लाउँदै बिदा भइ । फेरी हाम्रो कुरा सुरु भयोः लोग्नेमान्छेका कुरा ।

कोठा पस्नु अघि एक नजिकैको पसलमा पुग्यौँ । हामी दुई जना मात्रै नेपाली भएकोले कसले पो बुझ्ला र भन्दै चर्को स्वरमै वार्तालाप गरिरहेका थियौँ । त्यत्तिकैमा अर्को नेपाली आवाज थपियो । हामी अविश्वास गर्दै पछि पर्कियौँ । आत्मीय हाँसोको साथ कोही हामी तिर हेरिरहेको थियो । किन हो किन परदेशमा नेपाली भनेपछि साह्रै माया लाग्दो रहेछ । उसँग भलाकुसारी भए । उसँगै एकजना अर्को साथी पनि रहेछ । बेलायती सीमा संस्थाले बेलायतका नक्कली कलेजहरु बन्द गर्दा हजारौँ विद्यार्थीहरुको बिचल्ली भएको थियो । ती विद्यार्थीहरुमा नेपाली विद्यार्थीहरु पनि पर्दथे । त्यहाँ ठगिएका विद्यार्थीहरुमध्ये कति नेपाल फर्किए भने ऊ र ऊ जस्ता कतिपय अन्य विद्यार्थीहरु आसपासका देशमा पसे । घरबाट ऋण गरेर बाहिर आयो अनि हात लाग्यो शून्य गरेर कसलाई स्वदेश फर्कने मन हुन्छ र ? उनीहरु पनि त्यही सोचेर यहाँ अलिझएका रहेछन् । केही वर्ष अझै दुःख गर्ने भन्थे ।

“कहिले त घरको माया लाग्छ । घर पुगेका साथीभाइसँग कुरा ग¥यो , ‘तिमीहरुले सहि कदम उठायौ । हामी त त्यस्तै हो ।’ भन्छन् । देशको हालत हेर्दा साँच्ची जस्तै पनि लाग्छ । अनि मन भाँडिएर आउँछ ।” उसले भन्यो ।
उबाट केही घुम्नै पर्ने ठाउँहरुको नाम लियौँ । हामी त्यहाँको मेलाको अन्तिम दिन पुगेका रहेछौँ । त्यसैले अलिकति भएपनि रमाइलो गर्न पायौँ । “आतिसबाजी पनि सायद त्यसै कारणले गरिएको थियो । अथवा बार्सेलोनाको फुटबल समुहले कुनै खेल जितेको पनि हुन सक्छ । प्राय गर्छन् ।” उसले थप्यो ।

जाँदाजाँदै भोलि समुद्री तटमा नाङ्गा तरुनी भेटिने सम्भावना पनि सुनायो । हामी भित्रको बैँस भोलिका लागि आँतुर भयो ।


होटेलमा पुग्दा बैठकमा कोही टिभि हेरिरहेका थिए कोही गिटार बजाइ रहेका थिए । हामी पनि एक छिन थकाइ मार्न बस्यौँ । नजिकै एक युवती पनि थिइ । उसको नजर त्यतै पुगि हाल्यो । अनि कुरा सरु भए । डोमिनिक रिपब्लिकबाट पढ्नका लागि भनी बार्सेलोना पुगेकी रहिछ । कोठा नपाएकाले केही दिन यतै बस्ने योजनामा रहिछ । हामीले हामी घुम्न आएका भनि सुनायौँ । देशका बारेमा कुरा भए । संस्कार र संस्कृतिका कुराहरु भए । कुराहरु हुँदै थिए । मलाई निद्रा लाग्न थाल्यो ।
“सुत्न जाने हैन ?” मैले सोधेँ ।
“टिमी जाऊ । म एकछिनमा आउँछु ।” हाँस्दै भन्यो । ...क्रमशः

Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला