सगरमाथाको गहिराइ नाप्दाः कविताको कथा
जुन काँधमा कुनै दिन न बसेरमेरो खुट्टा हल्लाउँदामैले थाहा पाएको थिएँयदि सधैभरि मसँग मेरो बुबाको काँध हुने भएम सधै भरि गाउँभरिकै सबै भन्दा अग्लो मान्छे हुने थिएँ
बुकाहोलिकमा सगरमाथाको गहिराइ माथिको छुद्र टिप्पणी पढे पश्चात यो पुस्तक पढ्ने लालसा अझै बढेको थियो । कारण त्यस अघि नै पनि नवराज पराजुलीका कविताहरु यूट्युबमा हेरेको थिएँ । अरु भन्दा पनि बुबाका लागी लेखिएको कविताले मुटु हल्लाएको थियो । यो सबैको यस्तै हुन्छ भन्ने छैन । अवस्थाले पनि फरक पार्छ । रातदिन आमाबा सँगै रहनेलाई त्यसले खासै असर पार्दैन होला । बरु बाबाको खप्कीका कारण अझ बढि बेमतलबको हुनसक्छ । तर परिवारबाट सात समुद्र पारी सपना पछ्याइ रहेकाहरुका लागी यस्ता कविताले निकै हल्लाउँछ । आफ्ना सपनाहरु समेट्न नपाउँदै हातबाट समय कसिँदै गरेको मुट्ठीको बालुवा जसरी फुस्किँदै गर्दा बुढा बाबुप्रतिको कर्तव्य र उनले आफ्ना लागी गरेको संघर्ष अझै बुझिँदै गइन्छ । जीवन त्यति सहज त रहेनछ भन्ने भान हुँदै जान्छ । सपनाहरु त्यति सहजै प्राप्त हुँदा रहेनछन् भन्ने बुझिँदै जान्छ । बा प्रतिका गुनासाहरु सबै निरर्थक बनेर जान्छ कारण आफूले बाको जत्ति पनि गर्न सकिएको हुँदैन । हो त्यसैले बुकाहोलिक्सको त्यो टिप्पणी छुद्र लागेको हो ।
बुबा कविता सुन्दा कसको हो भन्ने नै थाहा थिएन । माधवप्रसाद घिमिरेका अघि सुनाएको कविता आफैले पनि आफ्ना बालाई सुनाउन पाए कस्तो हुँदो हो भन्ने लागेको थियो । बलबान छाप खैनी नखाए पनि बाले उत्तिकै बल देखाएर परिवारको बोझ उठाएकै थिए । साला एक सन्तान पनि ‘महँगो’ लागेर निसन्तान रहने मन भइरहेको बेला पाँच सन्तानको जिम्मेबारी उठाएकै थिए । त्यसैले पनि त्यो कविताले मन रुझाएको थियो । सगरमाथाको गहिराइ पढ्दै गर्दा त्यस्ता थुप्रै क्षणहरु आए ।
सपना जित्न हिँडेको मविपनासँग हारेँ र घर फर्किएँ । हाँस्ने ठाउँ खोज्न घर छोडेको म रुने ठाउँ खोज्दै घर फर्किएँ ।
खासमा ६ वर्षको जर्मनीको बसाइका बाबजुद पनि यहाँको राजधानी बर्लिन पसेको थिएन । कसरी जु¥यो लेखौँ भने अर्को कथा बन्छ तर त्यो भ्रमणका क्रममा सगरमाथाको गहिराइ कसरी हात लाग्यो त्यो सम्म चाहिँ लेखौँ होला । बाहिर बसेर नेपाली किताब पढ्नेहरुबीच पुस्तक आदान–प्रदान सहज बनाउन र पुस्तक प्रतिक्रियाहरु प्रकाशित गर्नका लागी बनेको फेसबुक समूहमा नगरकोटीको पहिलो पुस्तक कसैसँग छ भनि सोद्धा बर्लिन बस्ने प्रकाश शर्माले मैले नपढेका उनका अन्य कृति आफूसँग भएको भनि बताएका थिए । हो तिनैसँग मौका मिलेको बेला भेटौँ र पुस्तक पनि हात पारौँ भनेर सम्पर्क गरेको थिएँ । कोठामा पुग्दा सगरमाथाको गहिराइ पनि भेटियो । कविताको पुस्तक हुँदा चाँडै पढेर फर्काउने धेयका साथ उठाएँ । तर विश्वास गर्नुस्, पढ्न थाले देखि छोड्न मनै लागेन । हतारमा पढेर सक्ने पुस्तक नै होइन जस्तो लाग्यो । नभए बर्लिन बसाइ सहज बनाइदिने ममता दिदीले पुस्तक पढ्ने त्यत्रो रहर गर्दा पनि कविताका अंशहरु मात्रै उनलाई सुनाएर पुस्तक आफ्नै लागी राख्ने थिएन ।
मेरो लागि पाउनु भनेको तिमी पाउनु थियो कोही कतै आउनु भनेकोतिमी आउनु थियो केही नपाए जस्तै भयो, कोही नआएजस्तै भयो जो आयो उसलाई पाउँदा, केही नपाए जस्तै भयो “नपाएको माया ठूलो” भन्दै आए सबैले आफूले‘नि त्यही झुट दोहो¥याए जस्तै भयोयसपाली यस्तै भयो ।’
सगरमाथाका गहिराइको एकदमै सबल पक्ष भनेको प्राय सबै नेपालीलाई अभ्यस्त लाग्ने सरल शब्दमा सशक्त विम्बहरुको प्रयोग हो जस्तो लाग्छ । अन्त्यानुप्रास मिलेका शब्दहरुको खेले पनि कविताको पठन र श्रवण दुबै मजाको बनाउँछ । त्यस बाहेक कविता मिठा लाग्ने भनेको आफूले आफूलाई कवितामा पाउँदा न हो । सगरमाथाको गहिराइका कविताहरुमा आफूलाई धेरै पटक भेटियो । सायद त्यसैले पनि यो पुस्तक अति प्रीय लाग्यो ।
मलाई र यति कुराचाहिँबाको कानैको छेउमा गएर भन्देऊः ‘भर्खरै रजस्वला भएकी तिम्री छोरीछाउगोठ हैन, मन्दिर गएकी छे देउतासँग एउटा अनौठो वरदान माग्नः हे लोग्ने मान्छेका देउता !यो संसारका सारा नारीको रजस्वला आजैबाटसधैंका लागी बन्द होस् ।’
पराजुलीका कवितामा समाज परिवर्तनका कुराहरु पनि मनग्गे छन् । ब्रह्माजीको रजस्वला पढ्दा त्यस्तै लाग्यो । सुदूरपश्चिमको छाउपडी होस् या उपत्यकाको गुफा पसाउने परम्परा होस्, महिनावारीसँग जोडिएका थुप्रै कुसंस्कारहरुका कारण नेपाली महिलाहरुले पाएको दुःख कवितामा समेट्न खोजिएको छ । त्यति मात्रै नभएर परम्परागत सोचलाई चुनौति दिँदै समाजको घेरा तोडेर विद्रोह गर्ने घोष समेत कवितामा व्यक्त छ । यिनै घोषहरुले न हो समाजलाई नयाँ दिशा दिने । यिनै घोषले न हो समाजलाई फरक सोच्न बाध्य बनाउने ।
यो चौध वर्षमासबै रामहरु जङ्गलबाट घर फर्किए तर हाम्रो दशरथअझै फर्कनुभएन । घर नफर्कने सबै बाबुहरु आतङ्ककारी हुँदैनन् ।
मेरो पुस्ताले जनयुद्धको मार पनि खेप्यो । शरीर कुशल रहे पनि मन क्षतविक्षत सबैको भयो । हिंसाका समाचार सुनेरै हामी हुर्कियौँ । बमले क्षत विक्षत शरीर र गोलीले छेडिएका टाउकाहरु देखेर हाम्रो किशोरावस्ता गुज्रियो । जनयुद्ध सकिएको भनेको दशक बढि भइसक्दा पनि बेपत्ता पारिएकाहरुको मरे बाँचेको खबर उनका आफन्तलेपाएका छैनन् । सरकारले बेपत्ता पारेका ८२४ जनाको नाम इन्सेक नेपालको वेवसाइटमा अझै हेर्न सकिन्छ । त्यस्तै गैह्र राज्य पक्षले बेपत्ता पारको १०८ जनाको विवरण पनि उस्तै छ । राज्यले मारेका ७,९०५ र माओवादीद्वारा मारिएका ५,०४९ जनाको हिसाब त गरि साध्य छैन । बुज्रुक र उपबुज्रुकहरु जनयुद्धमा १७,००० को गलत आँकडा गाइ रहन्छन् र सम्पूर्ण दोष एमाओवादीमा सार्छन् । एमाओवादी निर्दोष भन्ने होइन सरकार पनि दोषी चाहिँ भनेको हो । पराजुलीले कवितामा त्यस्तै भोगाइहरु पढ्न पाउँदा मन नबहुलाउनै कुरै भएन ।
म तिहारमा हातको बन्दुक र लट्ठीबाट पसिना चुहाउँदैसडकको वरिपरि घेरा लाउँछु, अनि मेरा तीनैवटी दिदीमेरो फोटोको वरिपरि घेरा लगाउँछन् । अरुको कुरा छोड म मन्दिर बाहिर बसेर मन्दिर भित्रका इश्वरको सुरक्षा गर्छु ।
प्रहरीको सन्दर्भमा लेखिएको कविता पढ्दै गर्दा कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको १०० दिन पुरा भएको छ । उहिले उहिले चलचित्रका १०० दिन मनाइन्थे भने अहिले दण्डहीनताका १०० दिनहरु मनाइँदैछन् । हुन त यो पनि चलचित्र नै हो । तर यो चलचित्रमा नायक छैनन् । खलनायक मात्रै छन् । नायक मानिएका पनि खलनायककै सहयोगी सिद्ध भएका छन् ।
सबै प्रहरी उस्तै नहोलान्, तर यस्ता घटनाको सत्य तथ्य बाहिर नआउनु र अन्य प्रहरी पनि मुकदर्शक हुनुले मन खल्लो हुने । अनि प्रहरीका बारेमा लेखिएका कविता पनि मजाक जस्तै लाग्ने गर्छ ।
एउटा गुनासो भने रह्यो । च्याउ कविता । च्याउ कविता किन किन मलाई अलि पिछडिएको सोचले भरिएको जस्तो लाग्यो । हुन सक्छ म गलत छु । तर मलाई कसैको जीवनको सफलता र असफलताको नापो विवाह हो भन्ने लाग्दै लाग्दैन । विशेष गरी अहिलेको युगमा जब २७ वर्ष लामो विवाह पनि टुटिरहेका छन् । वर्ष दुई वर्षमै पनि टुटिरहेका छन् । त्यो युगमा पनि विवाह नै कुनै नारिको जीवनको सफलताको मापक होला या होस् भनेर मैले चिताउनै सकेन । फेरी नारी सौन्दर्य शारीरिक मात्रै हुन्छ भन्ने पनि लाग्दैन । एउटा आकर्षण जुनसुकै नारीमा पनि हुन्छ । कम से कम मलाई हरेक नारी आकर्षक लाग्छन् ।
त्यतिखेर जिन्दगी खेर गएझैं लाग्छजतिजतिजतिजतिजतीज नजिकै आउँछर गाउँभरिका दिदीबहिनीहरु माइत आउँछन्, अनि छड्के तिलहरी लगाएर गाउँछन्ः‘तीजको रहर आयो बरिलैतीजको रहर आयो बरिलै===’
विवाह नहुने सबै असुन्दर नै हुन्छन् भन्ने पनि लाग्दैन । अति सुन्दरहरु पनि अविवाहित देखेको छु । प्रेमा शाह र अमृता पृतमहरुले उहिल्यै विवाहको खिल्ली उडाएको पढेपछि झन् नारीका लागी विवाह त्यति होइन जति पुरुषले ठानेको हुनसक्छ जस्तै लाग्यो । समाजको दबाब एक ठाउँमा छ । तर सबै समाजको दबाबको अघि झुक्छन् भन्ने पनि त छैन । त्यसैले यी पानाहरु च्यात्यो भने संग्रहलाई उति फरक पर्छ जस्तो लाग्दैन ।
च्याउ बाहेकका थुप्रै कविताहरुले मन खुशी बनाइ रहे । कविताका किताब धेरै पढेको त छैन, तर पढेका मध्येको एउटा अब्बल किताब सगरमाथाको गहिराइ हो । यो पढ्ने मात्रै होइन बरु संग्रह गरेरै राख्ने किताब हो । सायद एउटा व्यक्तिगत प्रति म पनि राख्छु होला । माथि उल्लेख गरिएको बाहेक सगरमाथाको गहिराइ, मैझारो, सतीदेवीको गाण्डिव, हेब्बी बड्डे, दाजुभाइ, खोया, लोकसेवा आयोग लगायतका कविताले पनि मन निकै खलबलाए । कविताहरु साँच्चै अब्बल लागे । यो वर्षको र अहिले सम्मै पढेको उत्कृष्ट कविताहरुको संगालो लाग्यो सगरमाथाको गहिराइ । सायद अन्यलाई पनि त्यस्तै लाग्छ होला । पठन सुखद रहोस् Û
Comments
Post a Comment