योगमायाः द वाइल्ड वाइल्ड इस्ट




योगमायाका बारेमा मैले पहिलो पटक पढ्न पाएको भनेको करीव १६ महिना अघि कुमार नगरकोटीको फोसिलमा हो । फोसिल मैले पढेको नगरकोटीको पहिलो पुस्तक भएकोले योगमाया काल्पिनिक पात्र हुन् या वास्तविक भन्ने नै थाहा थिएन । त्यसको लगत्तै योगमायाका विषयमा अन्य चर्चाहरु पनि हुन थाले । करीब १ वर्ष अघि पढेको नयनराज पाण्डेको घामकिरीमा पनि योगमायाको चर्चा थियो । तिनै फुटकर प्रसंगहरुले नै यो पुस्तकसम्म तानेको थियो ।




यो पुस्तक योगमायाका बारेमा अध्ययन गर्ने पहिलो विदेशी वौद्धिक तथा Heir to a Silent Song: Two Rebel Women of Nepal किताब लेख्ने बार्बरा निम्री अजिज र पारिजातको प्रसंगसँगै सुरु भएको छ । पारिजातले निम्रीलाई योगवाणी उल्था गर्नमा सहयोग गर्ने सहमती जनाएबाट पुस्तकको ‘आरम्भ’ भाग सकिएको छ । तयसपछि सुरु भएको ‘ठूलीहजुर’ भागमा योगमायाका बारेमा सम्पूर्ण कथा समेटिएको छ ।




कक्षा १० को अनिवार्य अंग्रेजीको पाठ्यक्रममा समावेश भइसकेको भएपनि (?!) यो पुस्तक प्रकाशनपूर्व योगमायाका बारेमा आंशिक रुपमा मात्रै अध्ययन भएको र विभिन्न खाले मतहरु प्रकाशमा आएका थिए । यो पुस्तकले निकै अनुसन्धान र स्थलगत भ्रमणहरु पश्चात योगमायाको फरक जीवन संगालेको छ । उनको पहिलो विवाह र त्यहाँबाट बुहार्तन खप्न नसकेर माइत आएको त्यसपछिको दोश्रो विवाह र आसाम निर्वासन, नेपाल फिर्ती र सन्त जीवन सँगसँगै उनले समाज परिवर्तनमा खेलेको भूमिकाहरु पनि समावेश गरिएको छ । कवि मात्रै या समाज सुधारका लागी आवाज उठाउने महिला मात्रै या साधवी मात्रै नभएर योगमायालाई नी ती सबैको मेल बनेर पुस्तकमार्फत प्रस्तुत गरिएको छ । योगमायाका साथसाथै उनकी छोरी नैनकला निरौला, गंगादेवी न्यौपाने अर्थात सानीहजुर र उनकी छोरी दुखुना, प्रेमनारायण भण्डारी लगायतको भूमिका पनि पुस्तकमा समावेश छ ।


भित्तोमा किलो ठोक्न बरु मान्छे एकछिन सोच्छ– सग्लो भित्ता बिग्रेला कि भनी । मान्छेको मनमा बचनको किलो ठोक्न निमेष भर नसोच्ने मान्छेको जात ।




पुस्तकमा मायादेवी न्यौपानेका नामले जन्मेकी योगमायाको सानैमा धोद्लेका कोइरालासँगको विवाह, बुहार्तन खप्न नसकेर घर छोडेर माइती हिँडेको, घरमै पनि अप्ठ्यारो भएपछि कँडेलसँग दोश्रो विवाह गरेर आसाममा बसेको, दोश्रो वैधव्य पछि तेश्रो विवाहबाट नैनकलालाई छोरीका रुपमा पाएको, तेश्रो पति पनि वितेपछि फर्केर नेपाल आएको, सत्संग थालनी गरेर समाज सुधारका काम गर्दै धर्म राज्यको माग प्रति सुनुवाइ नभएपछि अग्नी दाहको प्रयास गरेको र त्यसमा समेत अवरोध भएपछि वि.सं. १९९८ असार हरिबोधिनी एकादशीका दिन ६६ जनाको साथमा सामुहिक जलसमाधी लिएको सम्मको विभिन्न प्रसंगहरु विस्तारमा समावेश गरिएको छ । 

‘अनि के बाहुन मर्दा मात्र हो जलाउने ? बाहुनी मर्दा पनि बाहुनलाई जलाउँछन् त?’ 

योगमायामा योगमायाको व्यक्तिगत जीवनका परिघटनाहरुका साथसाथै समाजमा भइरहेको परिवर्तन र तिप्रतीको उनको प्रयासहरु पनि समावेश गरिएको छ । सती प्रथासँग सम्बन्धित थुप्रै कुराहरु पनि पुस्तकमा (पृ.१५७– १७८) आएका छन् । विशेष गरी सती ढुङ्गाको प्रसंग, जंगबहादुर, बीरशमशेर हुँदै चन्द्र शमसेरको पालामा सति जाने नियममा संसोधन हुँदै अन्तमा वि.सं. १९७९ मा सती जान नपाउने व्यवस्था लागु भएको प्रसंग पुस्तकमा उल्लेख छ । त्यसका साथसाथै दासप्रथा उन्मोलनका कुराहरु र उन्मोलन भइ सक्दा पनि काखको सन्तान सहित कमारा कमारी विक्रि भएका कागजहरुको प्रसंग विशेष मन छुन्छन् । जंगबहादुरको दास किनबेचको कानुन र मुल्य तोकेको प्रसंगले हाम्रो समाजमा पनि गोराहरुले कालालाई किनबेच गरे जस्तै थियो भन्ने थाहा हुन्छ । वि.सं. १९९७ माघ १० गेत शुक्रराजलाई टेकु पचलीको खरीको बोट, धर्मभक्तलाई माघ १२ सिफलको बकैनाको रुखमा र त्यसको पनि २ दिन पछि गंगालाल र दशरथ चन्दलाई विश्णुमती छेउको शोभा भगवती लगेर छातीमा गोली ठोकेर मारेको प्रसंग पनि पुस्तकमा अटेको छ । त्यसै क्रममा आजीवन कारावास पाउने गणेशमान सिंह, टंकप्रसाद आचार्य लगायतको प्र्रसंगका साथसाथै १२ वर्ष कैद पाउने चित्रबहादुर केसीको प्रसंग पनि उल्लेख छ । यी चित्रबहादुर केसी जनमोर्चाका चित्रबहादुर नै हुन् त भनि मैले ट्वीटरमा लेखिकालाई गरेको प्रश्नमा उत्तर भने पाएन । प्रश्न यथावतै छँदै छ । 

अधर्मको नाश होस् ।

धर्मराज्यको स्थापना होस् !
यी त भए पुस्तकमा भएका कुराहरु । पुस्तकको भाषा र कथा बुनाई पनि राम्रो छ । त्यो समयको झल्को देखाउने केहि प्रशंगहरु पनि चलाखी पूर्ण तरिकाले पुस्तकमा समावेश छ । योगमाया लिन जाँदा कपडा धुन तातो पानीमा खरानी हालेर धुने गरेको प्रसंगले त्यो समयमा लुगा धुने साबुनको विकल्पको इतिहास खोल्छ । श्रीमतीलाई ‘तिमी’ भन्ने सहमती हुँदाको महिलाहरुबीचको कुराकानीहरुले पती पत्नीको सम्बन्धको पुराना अवस्था सम्झाउँछ । त्यस्तै पारिजातसँगको भेटको प्रसंगमा स्याल कराउने जंगल र शौच विधीको प्रसंगले काठमाडौँको पहिलेको जीवनशैली र विकासको अवस्थामा प्रकाश पार्छ । यी पुराना कुराहरु पढ्दै गर्दा हामी हाम्रा सामु भएका उपलब्द्धिलाई कहाँसम्म अवमुल्यन गरिरहेका हुन्छौँ भन्ने पनि लाग्छ । समग्रमा पुस्तक एक महत्वपूर्ण दस्ताबेज नै बनेको छ । 


पुस्तकमा केहि कम्जोरी अवश्यै छन् । कतिपय कम्जोरी कम्जोरी नै हुन् भने कतिपय चाहिँ व्यक्तिको स्वादमा भरपर्ने कुराहरु हुन् । मोटा पुस्तक देखि तर्सने मेरा लागी पुस्तकको मोटाई नै अनावश्यक जस्तो लाग्यो । त्यसैले पनि पुस्तक प्रकाशन भए लगत्तै हात लागेको भए पनि पढ्न समय लाग्यो र पढेपछि पुस्तक प्रतिकृया लेख्न पनि समय लाग्यो । सायद यसलाई अलि सानो र खँदिलो बनाउन सकिन्थ्यो । योगमाया जुद्धशमशेरसँग भेट्न जाँदाको प्रसंग पढ्दा उपन्यासको चरमको भाव पाठकमा आउँछ तर त्यो फेरी सेलाउँछ र अन्तिम पानामा फेरी त्यस्तै तर अलि कम मात्राको चरमको अनुभुती हुन्छ । सो पुस्तकमा एक चरम भन्दा पनि बहु चरम भएको जस्तो भान हुन्छ ।





मितीहरुमा केहि कम्जोरी छन् कि जस्तो लाग्यो । सुजित मैनालीले कृष्ण धारावासीको झोलाको बारेमा टिप्पणी गर्ने क्रममा चन्द्रशमशेरले वि.सं. १९७७ असार २५ गते सती प्रथाको उन्मोलन गरेको भन्ने उल्लेख गरेका थिए । योगमायामा वि.सं. १७७९ भनेर उल्लेख छ । योगमायाको जन्मको मिती यकिन छैन । जल समाधीको मिती १९९८ असार हरीशयनी एकादशी भनिएको छ र ६६ जना साथमा गएको भन्ने छ । सती प्रथा उन्मुलनमा विशेष सकृय भनिएको नारी समिती जो सन् १९१८ मा स्थापित भएको थियो त्यसका बारेमा पनि खास चर्चा थिएन । योगमायाका बारेमा अन्य जानकारी बटुल्ने क्रममा माइकल हटसम्म पनि पुगेको थिएँ । उनकै लेक्चरमा योगमायाका सन्दर्भमा वैकल्पिक इतिहासहरु पनि सुनियो । त्यसैमा जन्म मिती बारेको सन् १८६० या सन् १९६८ बीच अन्योलता भए जस्तै र जलसमाधीका बेलाको उमेरको अन्योल (७१ वर्ष या ८१ वर्ष) बाहेक अन्य महत्वपूर्ण मितीहरु पनि उल्लेख गरेका छन् । उनको अनुसार जल समाधीको मिती जुलाई १४, सन् १९४१ (वि.सं. १९९८, असार ३१, सोमबार) रहेको छ । योगमायामा ठ्याक्कै मिती तोकिएको छैन ।  लेखिका ती वास्तविक ठाउँमा आफै गएकी र त्यहाँको भिडियो समेत पस्किएकी छिन् तर पाठकका लागी बुझ्नका लागी पुस्तकमै केहि महत्वपूर्ण तस्वीरहरु पनि समावेश भएको भए सुनमा गन्धक हुने थियो । अन्य केहि ठाउँमा नकोट्याए पनि हुने खालका गल्तीहरु छन् जसको यहाँ चर्चा गरिरहनु जरुरी छैन । पठन सुखद रहोस् । अस्तु ! 




नाेटः 
१. सोनेमे सुहागा को उल्था सुनमा सुगन्ध मानिन्छ तर सुहागा गन्धक (सल्फर) मिसिएको रसायन हो । त्यसले सुनका दुषित कुराहरु हटाउन र सुनमा चमक दिन मद्दत गर्छ । हेर्ने कथाकाे एक अध्यायमा सुहागा मिसाएर सुन सुद्ध गर्ने नेपाली विधीकाे बारेमा हेर्दै गर्दा झट्ट सम्झना अाएकाे थियाे । त्यसैले सुनमा सुहागा नहुनु विजय कुमारे सुनमा सुगन्ध नभए पनि सुनको गुण कम हुँदैन भन्ने सँग मिल्दैन । 

२. रमाइला ठाउँहरूमा जाँदा पुस्तकहरू साथै िलने र तिनकाे पनि तस्वीर खिच्ने नयाँ रूचि अनुरूप याेगमायाका दुर्इ तस्वीर ग्रिसकाे एथेन्समा खिचिएका हुन् । 

३. याेगमाया पढ्दा अर्काे मनमा घुमेकाे कुरा भनेकाे अाेशाेकाे अमेरिका स्थित रजनीशपुरमका सन्दर्भमा नेटफ्लिक्सले तयार पारेकाे वाइल्ड वाइल्ड कन्ट्री हाे । खासमा याेगमायाले पनि अाफ्नै सत्संगकाे थलाे बनाएकी थिइन् । त्यही हाे अाेशाेकाे जत्ति खुला भने थिएन । जातपात रहित र नयाँ विचार भएकाहरूकाे जमघट भने अवश्यै थियाे । मनमनै कुनै दिन याेगमायाका बारेमा पिन त्यस्तै वृत्तचित्र हेर्न पार्इएला र भन्ने प्रश्न पनि मनमा छँदै थियाे । 


अन्य श्राेतः



बार्बारा निम्री अजिजद्वारा लिखित पुस्तकः
https://www.amazon.com/Heir-Silent-Song-Rebel-Women/dp/B001KXWYFA


http://smithsonianapa.org/bookdragon/heir-to-a-silent-song-two-rebel-women-of-nepal-by-barbara-nimri-aziz/



Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला