ब्रह्मशमशेरकाे "नेपालकाे महाभूकम्प १९९०": भूकम्पकाे इतिहास
नेपालको २०७२ सालको वैशाख १२ गतेको भूकम्प विस्तारै विस्मृतिमा धकेलिँदै गर्दा बुढापाकाको उमेरको नापोको रुपमा परिचित ९० सालको भूकम्प अर्थात वि.सं. १९९० माघ २ गते गएको भूकम्प सम्बन्धी ब्रह्मशमसेरले लेखेको किताब पढ्ने मौका जु¥यो । पछिल्लो महाभूकम्प पछि मात्रै खोजीमा भएको यो पुस्तक विद्यालयको पाठ्यक्रममा समावेश हुनुपर्ने गुणको भए पनि विलुप्त अवस्थामा थियो र अझै पनि धेरैले यस पुस्तकका बारेमा थाहा पाएका छैनन् । नेपाली इतिहाँसको बारेमा जानकारी गराउने यस्ता पुस्तकको चर्चा एक पटक फेरि बल्झियोस् र धेरै भन्दा धेरै पाठकले यी पुस्तकबाट हाम्रो विगत जानुन अनि आफूलाई भविष्यका निम्ति तयार गरुन भनेर यो पुस्तक पढ्दाका आफ्नो अनुभव लेख्न मन लाग्यो ।
यत्तिकै नभएपनि यस्तै विपत्ति ठिक सय वर्ष अगाडि नेपालले भोगेको थियो । उस बखतमा पनि हजारौँ घर नाश हुन गई धेरै दिनसम्म साराले छाउनी र अरु यताउतिको मैदानमा बस्नुपरेको थियो । त्यस बेलामा बिग्रेको सहर, बस्तीको जीर्णोद्धार गरी फेरि जस्ताको त्यस्तै गराए झैँ अहिले हामी सबैले हिम्मत नहारी उत्साह बढाई भएको नोक्सान चाँडो मेट्ने उपायमा तन, मन, धन लगाउनुपर्छ । –१९९०, माघ २२ गतेको जुद्धशम्शेरको सम्बोधनपुस्तकमा भूकम्प आए देखि तत्कालको राहतका लागी अन्न, पानी र इन्धनको व्यवस्थापन देखि लिएर समाजमा व्याप्त हुने दुश्प्रचारको रोकथामका लागी सरकारको सजगता पढ्दा ०७२ सालमा त्यसको अभाव देखिएको हो कि भन्ने लाग्यो । १८९० सालको भूकम्प पश्चात ५÷७ वर्षमा शहर उस्तै फर्किएको सन्दर्भ झिकेर ढाढस दिने कुरा देखि लिएर राज्यमा भएको श्रोत साधनको अधिक भन्दा अधिक परिचालन गरेर पुनः निर्माणमा जुटेको प्रसंगहरु पढ्दै गर्दा नेपालको पुनः निर्माणको सुस्त गती देखेर अलि निराशा पनि छायो । जनताको बढि अधिकार भएको व्यवस्थामा झन् चाँडो हुनुपर्नेमा झन् ढिलो हुनु अलि उदेक लाग्दो नै हो ।
यो सब जनप्रतिनीधिहरु जनताको प्रतिनीधित्व कम र आफ्ना स्वार्थको प्रतिनीधित्व बढि गर्न थाल्दाको परिणाम हुनुपर्छ । पुनः निर्माणको प्रकृया अझैसम्म नटुङ्गिनु र त्यसको अवस्थाको बारेमा संचार माध्यममा समेत खबरदारी नहुनुले कहिले काहिँ व्यवस्था नै खराब आएछ कि भन्ने हुन्छ । राणाहरुले रैतीलाई पनि आफ्नै सम्पत्ती ठान्थे र तिनको अवस्थाको पनि चाँसो लिन्थे । अहिलेका जनता अधिकार सम्पन्न छन् । चुनावका बेला बाहेक अन्य अवस्थामा नेताहरुका लागी खासै उपयोगी छैनन् । त्यसैले पनि उनीहरुको पीडा नेताहरुको चाँसोको विषय नभएको हुनुपर्छ । नभए पुनःनिर्माणको लागी गठन भएको प्राधिकरण पार्टीका कार्यकर्ता भर्तीको थलो बनाएने र सत्ता परिवर्तन पिच्छे मान्छे फेर्ने काम नेताहरुबाट हुँदैन थियो होला ।
पुस्तकमा भूकम्प अघि र पछिका तस्वीरहरु समेत समावेश गरिएका छन् । टुँडिखेलमा जमिन भासिएको, घण्टाघर र धरहरा भत्किएको, भक्तपुरको भैरवमन्दिर लगायतका तस्वीरहरु पुस्तकमा छन् । त्यस्तै पुस्तकमा भूकम्प र त्यससँग जोडिएका विभिन्न किंबदन्तिहरु समेत उल्लेख गरिएको छ । पुस्तकमा लेखक स्वयंले नेपाली समाजको भूकम्प बुझ्ने चेष्टा उतारेका छन् । अन्य कारणहरु जे जस्तो भनिए पनि वैज्ञानिक कारण पृथ्वीको सतह मुनीको ठूला पत्थरका पाताको हलचलले भूकम्प आउने कुरामा लेखक पनि विश्वस्त छन् ।
भूकम्पको खबर थाहा हुनासाथ विदेशबाट नेपाल सरकारमा सहानुभूतिको वर्ष हुन थाल्यो । बेलायतलगायत अरु देशबाट समेत सहानुभूतिको वर्षा हुन थाल्यो । बेलायतलगायत अरु देशबाट समेत सहानुभूति आयो । हिन्दुस्थानका बडा पुरुषहरुमध्ये कवि रविन्द्रनाथ ठाकुर, पं मदनमोहन मालवीयहरुबाट सहानुभूतिको तार आयो । इन्डियन मेडिकल सोसाइटी र मारवाडी रिलिफ सोसाइटीले ‘सहायाता दरकार परे समर्पण गर्दछौँ’ भनी तार पठाए, तर सबैलाई धन्यवाद र कृतज्ञता जनाई जवाफ गयो । मारवाडी रिलिफ सोसाइटीलाई तल लेखिएको उत्तर गयो ।
“तारको निम्ति धन्यवाद । अहिले सहायताको दरकार छैन ।”
भूकम्म पछिको पुनःनिर्माणका लागी सहयोग जुटाउने कुरा यसबेला जसरी गरियो उतिबेला त्यसको ठीक विपरीत देखियो । ०७२ सालको भूकम्पमा देश विदेशमा भएका नेपालीले विभिन्न सहयोग संकलनको काम गरे । नेपालीहरुबाट सहयोग लिने काम त उसबेला पनि भयो तर विदेशीका अघि सहयोग माग्ने काम भने पटक्के भएन । अरु त अरु दिन्छौँ भनेको सहयोग समेत अस्वीकार गरियो । सायद त्यतिबेलाका शासकको लागी अरुका अघि हात फैलाउनु आत्म गौरवमा ठेस लाग्ने कुरा थियो । त्यसैले व्यक्तिगत चन्दाहरु दिन पछि परेनन् । सरकारी ढुकुटीकाट सहुलियत ऋणहरु खुला गरे । तर विदेशीका अघि हात फैलाएनन् । दाताहरुको सूचिमा तुलसीमेहर श्रेष्ठले मोरु ५ दिएको र बाझाङ्गी राजा जय पृथ्वीबहादुर सिंहले ६०० दिएको कुरा पनि समावेश छ । तर ०७२ सालको भूकम्प पश्चातको अवस्था विलकुलै फरल देखियो । तात्कालीन अर्थमन्त्रीले विदेशीहरुबाट धेरै ऋण तथा अनुदान जुटाएकैमा विश्वको अब्बल अर्थमन्त्रीको पुरस्कार थाप्न पाए । समय पनि कति फेरिएको ?
पुस्तक पढ्दै जाँदा भूकम्म नेपालको लागी या भनौ उपत्यकाका लागी नौलो विषय थिएन । त्यही नरहोस भन्नाकै लागी पनि यो पुस्तक लेखिएको थियो । बारम्बार भूकम्म आइ रहने खतरा भएकाले र यसखाले भूकम्पले घरहरुमा पार्ने असरका कारण भूकम्प प्रतिरोधी घर निर्माणको नेपाली प्रकृया पनि पुस्तकमा उल्लेख गरिएको छ । एक किसिमले यो नेपाली घरनिर्माण कलाको जानकारी भएको पुस्तक पनि हो ।
पुस्तकमा भूकम्पबाट सँधै प्रभावित हुने क्षेत्रको किटान समेत गरिएको छ । सायद त्यो कुरा जनमानसबाट नहराएको भए पछिल्लो भूकम्पको क्षेती कम हुन सक्थ्यो । त्यसैगरी नेपालमा १३१०, १३१६, १४६४, १७३७, १८६६, १८८०, १८९० र १८९१ मा गएका भूकम्पको धेरथोर विवरण र त्यसको प्रकोपको धेरथोर चर्चा पुस्तकमा समावेश छ ।
९० सालको भूकम्पमा ३८५० पुरुष ४६६९ महिला गरी जम्मा ८५१९ जनाको ज्यान गएको र घरबास, देवालय र पाटीपौवा गरेर २,०७,७४० संरचनामा नोक्सान पुगेको विवरण छ । नेपालमा भारतको भन्दा हजार जाना बढिले ज्यान गुमाएको उल्लेख छ । क्षेती लगभग ०७२ सालको जस्तै छ । तर पनि प्रविधीको अभावका बेलामा वैदेशिक सहयोग विना नै त्यो बेलाको समाज अहिलेको भन्दा चाँडै तंग्रिएको छ । धरहरा चाँडै ठडिएको छ । अनेक बहानामा खण्डहर बनेर रहेको छैन । सायद हालको पुस्ताले र अब आउने पुस्ताले पनि इतिहासको यो पाठहरु नछुटाइकन पढ्नु पर्छ । त्यसैले पनि यो पाठक प्रतिकृया नलेखी बस्न सकेन । आशा छ यसले धेरै भन्दा धेरैको पुस्तक प्रतिको जिज्ञासा बढाउने छ ।
Comments
Post a Comment