अन्तर्घातिलाई कारवाही कि दोस सार्ने बाटो ?

साभारः राताेपाटी

अहिले कैलालीमा कांग्रेसका अन्तर्घातीलाई कारवाही गर्ने लहड चलेको छ । चुनावका बेला पुराना अन्तर्घातीलाई ‘सात खुन माफ’ गरेर चुनावमा लाग्न आह्वान गर्ने देउवा समक्ष उनकी पत्नीको उमेद्वारी प्रति असन्तुष्ट रहेका पुष्करनाथ ओझा लगायतका पार्टी कार्यकर्ताको सूची नै तयार पारेर बुझाइएको छ । कैलालीमा आर्जु देउवा हार्नुको पछाडि पार्टिकै अन्तर्घात भनेर धेरैले अथ्र्याएका थिए । हुन त यो राजनीतिक दलहरुमा चलिआएको चलन नै हो । जित्नेले जनताले भोट दिए र  विश्वास गरे भन्ने अनि हार्नेले अन्तर्घातले हारे भनेर भन्ने प्रवृत्ति नयाँ होइन ।  अन्तर्घातको आरोप लगाउने क्रममा खास गरी डोटी क्षेत्रको भोट आर्जुको लागी नआएको र त्यसो हुनुमा निवर्तमान सांसद ओझा कारक रहेको भनेर अनलाईन खबरले समाचार समेत लेखेको थियो । नभन्दै अहिले आएको सूचीमा ओझाको नाम पहिलो नम्बरमा राखिनुले ती खबरहरुमा केहि हद सम्म सत्यता भएको तर्फ संकेत गर्दछ ।

आर्जू राणाको उमेद्वारी नै पहिले त विवादास्पद बनेको थियो । उनी स्थानीय नहुनुलाई सबैले विरोधको प्रमुख एजेण्डा बनाएका थिए । सुदूरपश्चिमको प्रतिनीधित्व पनि सुदूरका स्थानीयले नै पाउनु भन्ने तर्क आफैमा सुदूरबासीका लागी जायज तर्क थियो । त्यसमाथि विपक्षी पार्टिहरुले समेत ‘टुरिस्ट उमेद्वार’को टाँचा लगाएपछि त्यसले झन् समस्या खडा गरेको थियो । पार्टी भित्रको विरोध त आफ्नै ठाउँमा थियो पार्टि बाहिरकाले पनि आगोमा घिउ थप्ने काम गरेपछि राणाले कैलालीमा घर किनेको समाचार छापाहरुमा आएको थियो । ऋण गरेर किनेको र बयाना बुझाइ सकिएको भनिएको घर पास भए नभएको खबर अझै आएको छैन । चुनावमा पराजय भइसकेपछि त्यो न विपक्षी दलले उठाइ रहनु जरुरी सम्झे न दलभित्रकैले यसबारेमा केहि बाहिर ल्याउन जरुरी ठाने । जे होस् आर्जु राणाले आफूलाई रैथाने बनाउने भरपुर प्रयास गरिन् । जित्नका लागी गरिएको उनको प्रयास असफल भएपछि दोषी खोज्ने क्रममा अन्र्घाती भन्ने शब्दाबली फेरी दोहोरियो र पुष्करनाथ ओझा त्यो आरोप लाग्नेहरु मध्येमा पहिला भए ।

पुष्करनाथ ओझा डोटेली पृष्ठभूमीका कैलालीका बासिन्दा हुन् । आर्जु देउवा उठेको चुनाव क्षेत्रमा उनी पहिले विजयी भइसकेका व्यक्ति हुन् । उनले पहिले शेरबहादुर देउवाको लागी ठाउँ बनाए र पछि आर्जु राणाका लागी ठाउँ बनाउन पनि उनैले बलिको बोको बन्नु प¥यो । देउबा सम्म ठीकै थियो तर अहिले देउवा पत्नी भोली देउवाको अन्य नाता गोताका मान्छेका लागी भनेर स्थानीयको भाग खोसिँदै जाला भन्नेमा ओझा सहित त्यहाँका अन्य कांग्रेसीहरु पनि चिन्तित थिए । यति सम्म कि कोइराला खेमाका मानिने क्षितीज भण्डारीले त बागी उमेद्वारी नै दर्ता गराएका थिए । पछि लेनदेन भएर उनले उमेद्वारी फिर्ता लिएको भन्ने हल्ला चले पनि भण्डारी स्वयंले भने पार्टीमाथि आइ परेको बामगठबन्धनको चुनौतीका लागी उमेद्वारी फिर्ता लिएको भन्ने आशयको अभिव्यक्ति दिएका थिए । जे होस् राणाको उभेद्वारीले कांग्रेस भित्रै असन्तुष्टि ल्याएको कुरा छताछुल्लै थियो । आफ्नो भाग खोसिएपछि ओझा असन्तुष्ट भएनन् होला भन्न सकिँदैन ।

देउवा जुन परिवेशबाट माथि उठे र देशको प्रधानमन्त्री जस्तो पदमा थोरै अवधिका लागी भए पनि ४–४ पटक पुगे, उनको सफलता र योग्यता त्यतिबेला सबैका लागी आदरणीय हुनेथियो जतिबेला उनले आफूले हिँडेको बाटो आफ्नै खाले पृष्ठभूमीबाट आउने अरुका लागी सुगम बनाइ दिन सक्थे । परिवारवादका कारणले सभापतिको पदमा पुग्न कोइराला परिवारका प्रमुख दावेदारहरुको अवसान नै कुर्नुपर्ने नियती भोगेकाले फेरी त्यस्तै चरित्र देखाउनुले आम बुझाइलाई अप्ठेरो पार्छ । कोइराला परिवार इतरबाट आएका देउवाले त्यो मेलो मिलाउनु सक्नुपथ्र्यो ता कि भोली उनकै जस्तो पृष्ठभूमिबाट आएको व्यक्तिले पार्टी सभापति पदमा पुग्नका लागी पार्टी नै फुटाल्ने सम्मको बिकल्प रोज्नु नपरोस् । त्यसका लागी उमेरको हदबन्दी तोकेर हुन्छ या एउटा स्थानीय तहबाट जनमत र कार्यक्षमताका आधारमा क्रमिक पदोन्नतीको व्यवस्था गरेर हुन्छ, एउटा व्यवस्थित बाटो हुनुपथ्र्यो । हिजोका दिनमा उनको चुनाव क्षेत्रमा उनलाई पाखा लगाएर केन्द्रबाट अर्को उमेद्वार खडा गरिएको भए उनले के गर्थे भन्ने पनि सोच्नु पर्छ । पुष्करनाथ ओझा जस्ता कार्यकर्ताले कहिले पालो पाउने ? कहिले उनी जस्ता कार्यकर्ताहरु पार्टी सभापति सम्म पुग्ने ? भन्ने जस्ता प्रश्नहरुको उत्तर पनि उनले दिन सक्नु पर्छ । उमेद्वार छनौटको प्रकृयालाई राणाकालको ठाडो आदेश जस्तो नबनाई स्थानीय सकृय कार्यकर्ताको मतदानबाट टुङ्गयाउने र त्यसरी चुनिएकोलाई सबैले साथ दिनुपर्ने परिपाटी बसालेको भए अन्तर्घातका कुराहरु हुँदैन थिए होलान् ।




अन्तर्घातीको सूचीमा रहेकाहरुसँग बुझ्ने क्रममा उनीहरुले बेग्लै सूचना देखाए । सूची तयार पार्नेहरु मध्येकै एकले स्थानीय चुनाबका बेला कांगे्रसको तात्कालिन उमेद्वार नृप ओडलाई भोट नहाल्न भन्दै हिँडि रहेका थिए । त्यस्तै अर्का स्थानीय तहमा निर्वाचित कार्यकर्ताले केन्द्रका लागी गरिएको चुनावका क्रममा वामगठबन्धनका उमेद्वारको लागी भोट माग्दै हिँडिरहेका थिए । नारदमुनि रानालाई आफ्नो जातको भएकाले भोट हाल्नुपर्ने भन्दै प्रचारमा लागेकाहरु पनि थिए । क्षेत्रीय स्तरका उच्च तहका कार्यकर्ताले चुनाब लगत्तै कार किन्नु लगायतका कुराले चुनाब प्रचारका क्रममा आर्थिक हिनामिना गरेको तर्फ संकेत गर्छ । चुनाबमा जित सुनिश्चित भएको भनेर चुनाब प्रचार पनि नगरी चुनाव प्रचारको पैसा पचाउनेको नाम सूची तयार पार्ने मध्यमा पर्नु विडम्बनाको कुरा भनेर अर्का सूचीमा परेकाले व्यक्त गरे ।

अर्का शुत्रका अनुसार आर्जुलाई बोलाउनको कारण नै स्थानीय रुपमा स्थापित हुँदै गइ रहेका पुष्करनाथ ओझालाई सिध्याउनका लागी थियो । आर्जुलाई बोलाएर हराएर फेरी ओझालाई नै सम्पूर्ण दोष दिएर अहिले आर्जुबाटै ओझालाई कारवाही गराउन खोजी रहेका छन् । सौताका रीसले लोग्नेका कानमा .... भने जस्तै स्थानीय कार्यकर्ताको आपसी रीस र चुनाब प्रचारमा लापरवाही गरेर आर्थिक अनियमितता गर्नु नै चुनाबमा हारको कारण हो भन्नेहरु पनि छन् । अन्य चुनाब क्षेत्रमा हारेकोमा केहि वास्ता नहुने आर्जु राणाकै चुनाव क्षेत्रको हारको लागी यो सब गरिनुले यो सब कारवाही नभएर आर्जुको अहं मात्रै भएको तर्क धेरैले गरिरहेका छन् ।

यी र यस्ता खेलहरु तबसम्म चलिरहन्छन् जबसम्म सर्वमान्य सिद्धान्तका आधारमा उमेद्वार छनौटलाई व्यवस्थापित गरिँदैन । देउवा आफै एक जमानाका वागी भएकाले पनि यस किसिमको असन्तुष्टिलाई राम्ररी बुझेको र आत्मसाथ गरेको हुनुपर्ने हो । आँखिर कांग्रेसको इतिहासमा सबैभन्दा ठूला ‘अन्तर्घाती’ (कम से कम कोइराला परिवारका लागी, संस्थापन पक्ष भन्नु कांग्रेस संस्थापनाको सिद्धान्त परिवारवादमा आधारित थियो र कांग्रेस भनेकै कोइराला हुन् भनेर मान्नु हुन्छ) त देउवा नै हुन् जसले कांग्रेसको दुई फ्याक लगाए ।

यो सब लेखिरहँदै गर्दा आर्जु राणा कम्जोर उमेद्वार थिइन् या उनी अयोग्य थिइन् भन्न खोजेको चाहिँ पक्कै होइन । प्राज्ञिक हिसाबले होस तथा विभिन्न गैससका नाममा उनले सुदूरपश्चिमका लागी (विशेष गरी डडेल्धुराका लागी) गरेको कामका हिसाबमा उनी आफ्ना प्रतिस्पर्धी भन्दा निकै अघि थिइन् । देउवा पत्नी भएका कारणले देउवासँगका गुनासोको भार पनि उनले भोग्नु परेको हुन सक्छ । सरकार प्रमुख रहेका बेला गरेका अलोकपृय कदमहरुको अपजसको भाग उनले पनि लिन परेको हुनसक्छ । नत्र उनी अयोग्य थिइनन् । समस्या भनेको कांग्रेस भित्रको फूट र बिपक्षीको जुट थियो । त्यसलाई मलजल गर्ने काम उनको उमेद्वारी छनौट प्रकृयाले ग¥यो । यदि देउवाले उनलाई राजनीतिमा ल्याउनै चाहेको हो भने उनलाई डडेल्धुराको आफ्नो चुनाव क्षेत्र दिए हुन्छ र आफूले विश्राम लिए हुन्छ । महत्वाकांक्षी कार्यकर्ताहरुले उनको अवसानको कामना गरिरहने परिस्थिति बनाउनुको सट्टा हालसम्मको प्रधानमन्त्रीत्वमा गरेका कामलाई आफ्नो उपलब्द्धि मान्दै आफ्नातिर सोझिएका औँलाहरुको जवाफ भावी पुस्ताका लागी छोडेर जानेतर्फ लागे हुन्छ ।

आफ्ना कमी कम्जोरी आत्मसात गर्न नसक्ने र आफुबाट भएका भूलहरुलाई साहस पूर्वक स्वीकार्न नसक्नेले पानी माथि ओभानो हुनका लागी तयार पारेको सूचीका लागी तयार पर्नेहरुलाई बरु उनीहरुको भूमिकाका बारेमा प्रश्न गर्न जरुरी छ । सूचीका आधारहरु के थिए र ती आधारहरु देख्दा देख्दै चुनाब अघि नै किन सजगता अपनाइएन भन्ने कुराको जानकारी दिन लगाउनु पर्छ । नत्र सूचीलाई आफ्ना पुराना हिसाब मिलान गर्ने उपायको रुपमा लिन थालियो भने भविष्यका लागी यसले नराम्रो संस्कारको थालनी गर्छ जो सम्पूर्ण पार्टीकै लागी हानीकारक हुन जानेछ ।

Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला