ह्वाइ आइ एम अ हिन्दुः शशी थरुर



शशी थरुरको इष्ट इन्डिया कम्पनीले भारतमा गरेको अत्याचारको कथा बोकेको पुस्तकको चर्चासँगै उनको लेखन प्रतिको अभिरुचि बढेको हो । चर्चिलले विश्वयुद्ध ताका भारतमा ४३ लाख बंगालीलाई भोकमरीमा पारेर मर्न बाध्य पारेको प्रसंगसँगसँगै अंग्रेजहरुले कसरी भारतको स्वास्थ्य, शिक्षा, पूर्वाधार र अर्थतन्त्रलाई जर्जर बनाएर भारतलाई अविकसित राष्ट्रको नमुनाका रुपमा छोडेर गए भन्ने कुरा सो पुस्तक मार्फत उनले पहिलो पटक मूलधारका सञ्चार माध्यममा बहसको विषय बनाउन सफल भए । आफूलाई सभ्य भनेर चिनाउने पश्चिमा समाजको मुकुण्डो उघार्न र अपनिवेशकालका क्रममा गरिएका अन्याय र अत्याचारका कथाहरुलाई सबैका सामू ल्याउन उनको सो पुस्तकले ठूलो भूमिका प्रदान गरेको छ । त्यही पुस्तकको चर्चा मात्रले पश्चिमा समाज प्रतिको मेरो व्यक्तिगत धारणमा समेत ठूलो परिवर्तन ल्याएको थियो । यति सम्म कि पछिल्लो शैक्षिक सत्रका आतंकवादको अर्थशास्त्र र श्रम–अर्थशास्त्रका परिक्षामा समेत मेले मेरो असहमतीहरु पोखेको थिएँ ।



सेप्टेम्बर ११ ले मानिसको राजनीतिक आस्थामा परिवर्तन ल्याएको निश्कर्ष सहितको पत्र प्रतिको धारणा उल्लेख गर्न भनि सोधिएको प्रश्नमा मैले सो धारणामा आएको परिवर्तन आतंकवादले नभइ संचार माध्यमको पूर्वाग्रही सूचना प्रवाहका कारण भएको हो भनेर अथ्र्याएको थिएँ । कारण हाल जर्मनि र पश्चिमा जगतमा गोराले जति मान्छे मारे पनि त्यसलाई मानसिक समस्याको कारण भएको भनेर गोरालाई चोख्याइन्छ भने गैह्र गोराहरुको अपराधलाई सामान्यीकरण गरेर उनीहरुको धर्म र वर्णका सबैले ग्लानी महशुस गर्नुपर्ने अवस्थाको सृजना गरिन्छ । तथ्यांक हेर्ने हो भने जर्मनीमा आतंककारी हमलाबाट मारिनेको संख्या लगभग शून्य छ । तर त्यहि देशमा चरम सुखका लागी आफ्नो हात जगन्नाथ गर्दा वर्षमा १०० जनाले ज्यान गुमाउँछन् । र पनि इस्लामिक आतंकवादलाई यहाँका संचार माध्यमले ठूलो विषय बनाउँछ ।



त्यस्तै एसेमोग्लुले विकासको कारणको रुपमा संस्थागत विकासलाई मानेका छन् । तर संस्थागत विकासको आधार गोराहरुले कुन ठाउँमा कतिसम्म बसे भन्ने कुरालाई मानिएको छ । लामो समय बसेको ठाउँमा सम्पति माथिको अधिकार बलियो गरेर स्थापित गरिएकाले त्यहाँको विकास सम्भव भएको र अन्य ठाउँमा त्यसो हुन नसकेको भन्ने तर्क छ । तर विकास सम्पत्ति माथिको अधिकारका कारण मात्रै भएको हैन भन्ने कुरा त उपनिवेश कालमा एशिया र अफ्रिकाका देश र जनसंख्यालाई पश्चिमा राष्ट्रहरुले कसरी शोषण गरे भन्ने कुराबाटै प्रमाणित हुन्छ । पश्चिमा मुलुकहरु लुटेरा थिए । जहाँ तिनीहरुले आफ्ना जातीलाई बसाए त्यहाँ लुटको धन थुपारे । उनीहरु त्यस्ता ठाउँमा मात्रै बसे जुन ठाउँहरु श्रोत साधन र भौगोलिकताका कारण पायक पर्दो थियो । यही कुरा मैले उत्तरमा समेत समावेश गरेँ । त्यो जोखिम मोलेकैले मैले थोरै अंकमा चित्त बुझाउनु परेको थियो ।
यति सम्म प्रभाव पार्ने लेखकले हिन्दु धर्म र त्यससँग गाँसिएको हिन्दु राष्ट्रवादका विषयमा लेखेको पुस्तकले पनि मेरो धर्मको बुझाइलाई केहि न केहि पक्कै असर गर्ला भनेर यो पुस्तक पढ्ने मन बनाएको थिएँ । थरुरले पुस्तकमा हिन्दु धर्मका जातीय छुवाछुत, सती प्रथा, दाइजो प्रथा, रजस्वला भएका बेलामा महिलामाथि गरिने अन्याय लगायतका तमाम कुरीति र कुपरम्पराका बाबजुद यस धर्मका केहि सकारात्मक पाटाहरु पनि छन् भनेर उल्लेख गरेका छन् ।

वास्तवमा हिन्दु भनेको सिन्धु वा इन्दु नदी पारिका मानिसहरु बुझिन्थ्यो । तर अहिले इन्दु वा सिन्धु इस्लाम धर्म भएको देश पाकिस्तानमा छ, र यो कुरामा कसैले भुल गर्नु हुँदैन कि हिन्दु शब्द विदेशीहरुले भारतीयहरुलाई आत्म–परिभाषित गर्नका लागी नदिए सम्म कुनै पनि भारतीय भाषामा थिएन ।
हिन्दु धर्मले ईश्वरीय सत्ता मान्ने देखि लिएर ईश्वरको अस्तित्वका बारेमा यसै भन्न नसकिने भन्ने विचार राख्नेहरु र अवतारलाई मान्ने देखि लिएर जातलाई मान्ने सम्मका विविध विचारलाई समेटेको छ । यी मध्ये कुनै पनि धारणा हिन्दु हुनका लागी बाध्यकारी छैन । 

पुस्तक तीन खण्डमा विभाजित छ । पहिलो खण्डमा लेखकले आफ्नो हिन्दुधर्मको बुझाई र आफूले कसरी अपनाएको छु भन्ने कुरालाई उल्लेख गरेका छन् । यसमा उनले बेद र पुराणका कुरा श्रुती र स्मृतिका कुराहरुलाई उल्लेख गरेका छन् । यसैमा मूर्तिपूजा सम्बन्धिको धारणाहरु समेत व्यक्त गरेका छन् । इस्लाम र इसाइ धर्ममा जस्तै हिन्दुधर्मका ग्रन्थमा पनि निराकार ईश्वरको परिकल्पना गरिएको कुरालाई सप्रमाण उल्लेख गरेका छन् । त्यसका अलावा भारतममा भएको इस्लामिक आक्रमण र अंग्रेज शासनका क्रममा कसरी भक्ति परम्परा मौलायो भन्ने सम्बन्धमा पनि उनले लेखेका छन् । उनले बुद्ध धर्म र जैन धर्मलाई हिन्दु धर्मको संसोधित रुप मान्दै नास्तिक मानिएका चर्वाकहरुलाई पनि हिन्दुहरु नै भएको भनेर बताएका छन् । त्यस्तै हिन्दुहरुले विस्तार हुने क्रममा आफू सामू आएको सबै प्रककृति पुजकहरुलाई पनि आफूमै समावेश गरेर हिन्दु धर्मको स्वरुप नै परिवर्तित परिवेश अनुसार फरक बनाउँदै लगेको कुरा उल्लेख गरेका छन् । नेपालमा दशैंमा जमरा लाउनु अनि तिहारमा देउसी भैलो खेल्नु किराती संस्कृति अपनाउनुको प्रममाण भएको भनेर इमानसिं चेमजोङ्गले भनेको कुराले पनि थरुरकै तर्कमा बल पु¥याउँछ ।

‘तिम्रा लागी बाटो छोड्नलाई को हौ र तिमी ?’ ती दलितले ऋषिलाई सोधे । ‘के मेरो भित्रको आत्मा तिम्रो आत्मा भन्दा फरक छ र ?’ आदि संकराचार्य ती दलितमा भएको अद्वैत ज्ञानबाट प्रभावित भए र ती चण्डालका अघि दण्डवत प्रणाम गर्दै उसलाई आफ्नो गुरु बनाए । 

विश्वकै सबै भन्दा बढि महिला दर्शनार्थ आउने मन्दिर त्रिभुवननाथपुरम, केरलाको चेन्गानुरमा रहेको हरेक महिना रजश्वला बार्नका लागी ३ दिन बन्द हुने मन्दिर, सन् १८९० मा गणेश भगवान प्रतिको आस्थाका कारण प्लेग विरुद्धको अंग्रेजको अभियानलाई सहयोग नगरेको प्रसंग, सन् १९९५ मा गणेशले दुध खाएको हल्ला, जीवनका चार चरण ब्रह्मचर्य–गृहस्थ–वानप्रस्थ(वन पस्ने)– सन्यास देखि धर्म, कर्म, काम र मोक्ष जस्ता जीवनका चार पुरुषार्थका कुरा, इश्लामिक आक्रमण पश्चात यौन वर्जित भएको कुरा, मदिराको धार्मिक प्रयोजन, गर्गी, मैत्रेयी, वेदविशभरा, घोषा र अपला आदिको प्रसंग, दक्षीण भारतमा मलयालमहरुले महावली ( नेपालमा बलीराजा वा चेमजोङ्गले लेखेको बलिहाङ)को पृथ्वी भ्रमणको उत्सबका रुपमा मनाइने ओनम कै अघिल्लो दिन उत्तर भारतमा मनाइने वामन पुजाको प्रसंग, सन् २०१५÷१६ मा भ्याटिकन (२७४ मिलियन डलर) भन्दा बढि बजेट भएको तिरुपती बालाजी (३९२ मिलयन डलर)को प्रसंग, श्रृगवेदमा पछि गएर जातीप्रथालाई घुसाइएको भनेर दलित नेता भिमराव अम्वेडकरले दिएको चुनौतीको कुरा, आदि धेरै रोचकप्रसंगहरुले यो पहिलो भागमा स्थान पाएका छन् ।
एकम् सत विप्र वहुदा वदन्ती अर्थात ईश्वर एक भएपनि साधुहरुले त्यसलाई धेरै नामबाट पुकार्छन् ।
समग्रमा भन्नु पर्दा हिन्दु धर्म उदारवादी र प्रजातान्त्रिक धर्मको रुपमा उनले प्रस्तुत गरेका छन् । साथै हिन्दुधर्मले आजको रुपमा आउन पार गरेका घुम्तिहरुका बारेमा धेरथोर उल्लेख गरेका छन् । हिन्दु धर्मसम्बन्धि ज्ञान बढाउनका लागी यो अंश एकदमै उपयोगी हुन सक्छ ।

ऋगवेदले गुरुत्वले व्रह्माण्ड धानेको कुरा न्युटनको टाउकामा स्याउ खस्नु भन्दा २४ सताब्दि अघि नै पक्का गरेको हो । ईशा पूर्व ४०० ताका लेखिएको सूर्य सिद्धान्तमा ग्रहण र ग्रहको प्रवेश पत्ता लगाउने विधि समावेश छ । आर्याभट्ट पहिलो व्यक्ति थिए जसले ई.सं. ४९९ मा पृथ्वीले आफ्नो कक्षमा गर्ने दैनिक घुमाईका कारण सूर्य उदय र अस्त हुने कुराको व्याख्या गरेका थिए । उनले वर्षमा ३६५ दिन, ६ घण्टा, १२ मिनेट र ३० सेकेण्ड हुन्छ भनेर सम्म हिसाब लगाएका थिए । शून्यको परिकल्पना पहिलो पटक गर्ने पनि भारतीय नै हो । शून्य अर्थात खालिपन, शून्यता को बुझाई जो हिन्दु र बौद्ध दर्शनको अभिन्न अंग हो, पश्चिमा जगतमा छँदै थिएन । ई.पू. ८०० देखि ५०० का बीचमा रचना गरिएको सुल्व शुत्रमा पाइथागोरसको जन्म भन्दा धेरै अघि नै पाइथागोरस साध्य को व्याख्या पाइनुका साथसाथै २ को मूल (स्क्वायर रुट) दशमलब (डेसिमल) पछिको पाँच स्थान सम्म पत्ता लगाउने विधि पनि समावेश छ । पश्चिमाहरुले सोच्न भन्दा निकै पहिले केरलाका गणितज्ञ (म्याथमेटिसियन) नीलकण्ठले पाइ (वृत्तको परिधिलाई व्यासले भाग गर्दा आउने संख्या, π) को अपरिमेयता (इरास्नालेटि)को बारेमा लामै व्याख्या लेखेका छन् ।
हामीले हाम्रा पूर्खाको उपलब्द्धिमा गर्व गर्नुपर्छ तर तिनैमा गौरव गाथाहरुमै अल्झिरहनुको सट्टा त्यसबाट प्रेरित मात्रै हुनेबाटो अपनाउनु पर्छ ।

दोश्रो खण्डमा उनले हिन्दु धर्मको राजनीतिक प्रयोगका सन्दर्भमा लेखेका छन् । सावरकर, गोल्वाकर देखि विवेकानन्दका कुरा यसै अंशमा समावेश छ । यसै अंशलाई उनले भारतीय जनता पार्टी र भारतीय प्रधानमन्त्री मोदिको धार्मका नाममा गरेको राजनीतिको भण्डाफोर गर्ने काम गरेका छन् । राष्ट्रिय स्वयंसेवक संघ जसका सदस्य नाथुराम गोडसेले गान्धीलाई मुसलमानहरुलाई देशमा बस्न दिएको कारण मारेका थिए, जसले सन् १९९२ मा बाबरी मस्जिद तोड्नेकाममा समेत अग्रता लिएको र जसका सदस्य अहिले पनि बेलाबेला गौरक्षक, एन्टि रोमियो स्क्वाड, लगायतका अनेक नामले आतंक फैलाई रहेका छन्, थरुरले त्यसको घोर निन्दा गर्दै त्यस्तो हिन्दुत्व सहि हिन्दुत्व नभएको भनेर लेखेका छन् । पद्यमावती चलचित्रको विरोधमा भएको अनावश्यक झमेलालाई पनि उनले धर्मको राजनीतिसँग जोडेर उल्लेख गरेका छन् । गौहत्याको विषयमा हिन्दु धर्म भित्रैका दलितहरुले विगतमा गौमास खाने गरेको प्रसंग उल्लेख गर्दै गौहत्या गैह्र हिन्दु नभएको भन्ने धारण व्यक्त गरेका छन् । त्यस्तै वेदमा समेत गौमास वर्जित नभएको कुरा उल्लेख भएको भनी लेखेका छन् ।

सानो भन्दा सानो हात्तिको टाउको पनि ठूलो भन्दा ठूलो मान्छेको गर्दनमा राख्न सकिन्छ भन्ने तर्कले नै सामान्य चेतलाई नकार्छ तर यो कुरा शाब्दिक अर्थ मात्रै बुझ्ने हिन्दुत्ववादीहरुलाई लागेको छैन ।  

हिन्दु धर्मको नाममा अनेक गलत भ्रमहरु छर्कने र विभेद बढाउने कुराका प्रति थरुरले खरो लेखेका छन् । अहिले मोदीको मन्त्रीमण्डलमा रहेका मन्त्रीहरु महाभारतकालमै इन्टर्नेटको आविष्कार भएको थियो संजयले इन्टर्नेटकै प्रयोग गरेर महाभारतको प्रत्यक्ष प्रसारण धृतराष्ट्रका लागी गरेका थिए भन्ने जस्ता हावादारी तर्कहरु गर्न लागेको परिप्रेक्षमा धर्मको महिमा गान गर्ने होडमा सामान्य बौद्धिकता समेत नत्याग्न थरुरले आह्वान गरेका छन् । मुसलमान र इसाइ विरोधी धारणाहरु प्रबल भइरहेको सन्दर्भमा उनले भारतीय मुसलमानहरु फरक आस्थाका भए पनि भारतीय नै हुन् र तिनीहरु प्रतिको असहिष्णु व्यवहार सहि हैन भन्दै गर्दा ईसाइकरण रोक्नका लागी हिन्दुहरुले दीन दुःखीलाई आर्थिक सहायता दिने देखि लिएर जातपात जस्तो कुरीती हटाउन तर्फ ध्यान दिनु राम्रो हुने तर्क राखेका छन् ।

हिन्दु योद्धा र नायक मानिएका शिवाजी विरुद्धको लडाइमा औरंगजेबको सेनाको नेतृत्व जयपुरका हिन्दु राजा जयसिंहले गरे जस्तै हकिम खान सुर नामका मुसलमान सैनिक अधिकृत भएका अर्का हिन्दु नायक (महा)राणा प्रताप विरुद्धको लडाइमा अक्बरको सेनाको नेतृत्व हिन्दु सेनापति मानसिंहले गरेका थिए ।

अन्तिम भागमा उनले हिन्दू अतिवादीबाट हिन्दु धर्मको नाममा भइरहेका कुराहरुको विरोध गर्दै त्यसलाई सहि दिशा दिने र सहिष्णु समाजको निर्माण गर्ने कुराहरु उल्लेख गरेका छन् ।



तथ्यगत त्रुटिहरुका सन्दर्भमा भन्नु पर्दा पेहलु खानलाई अप्रिल १, २०१७ मा अतिवादीहरुले कुटीकुटी मारेको र उसको पिडालाई भिडियो बनाएर खिचेको भन्ने प्रसंगका बारेमा खोज गर्दा पहेलु खानको मृत्यु कुटपिटकै कारण भएपनि अप्रिल ३ गते अस्पतालमा भएको थियो । त्यस्तै बौद्ध र जैन धर्म हिन्दु धर्मकै परिस्किृत रुप भएको र हिन्दुहरुले सहज रुपमा स्वीकार गरेको भन्ने सन्दर्भमा पनि ओशोले त्यो गलत भएको भनेर उल्लेख गरेका छन् । ओशोको तर्क अनुसार त ऋगवेदमा जैन धर्मका प्रथम तिर्थङ्करको उल्लेख हुनुले जैन धर्म सम्भवतः हिन्दु धर्म भन्दा पनि अघिको हुनसक्ने भन्ने छ । पहिलो तिर्थङ्कर ऐतिहाँसिक व्यक्तित्व भने होइनन् । त्यस्तै हिन्दु धर्मलाई पुरानो भएकोमा गर्व गर्नु गलत भएको भन्ने ओशोको तर्क छ । पुरानो त मुर्खता पनि हो । पुरानो हुनु गौरवको कुरा होइन । जति पुरानो त्यति नै गए गुज्रेको हुन्छ भन्ने ओशोले तर्क गरेका छन् । त्यस्तै हिन्दुहरुले बुद्ध भिक्षुहरुलाई जिउँदै जलाएर मारेको र बोध गयाको मन्दिर समेत हिन्दु पुजारीको कब्जामा रहेको आदि कुराहरु ओशोले व्यक्त गरेका छन् ।

समग्रमा पुस्तकले हिन्दु धर्मलाई धेरै हदसम्म चोख्याउने प्रयास गरेको छ । बाबा राम रहिम प्रतिको आस्थालाई समेत एक किसिमले किन सहि थियो भनेर पुष्टि गर्न खोजे जस्तै लाग्छ । राम रहिमले गलत गरेकै भएपनि संलग्नताको अनुभव गरेका या एउटा कुनै महान अभियानको अनुभव गरेका युवाहरुले रामरहिमको गिरफ्तारी नरुचाएको विषयमा समेत उनले अलि नरम भएरै पेश आएका छन् । भारतीय कांग्रेसबाट राजनीति गरिरहेका थरुरको उद्देश्य पुस्तक मार्फत उनको पार्टीसँग धर्म निरपेक्षताको सिद्धान्त र मुसलमानहरु प्रति गान्धीको पालादेखि नै नरम भएकोमा रुष्ट भएका भारतीयहरुको मन जित्ने हो कि भन्ने भान हुन्छ । राजनीतिक उद्देश्य जे भएपनि उनले प्राय कुराहरु सप्रमाण उल्लेख गरेका छन् । फेरी पुस्तकको मूल मर्म सहिष्णु समाजको निर्माण र हिन्दु आत्मसम्मानको अभिवृद्धि भएकाले पठनीय अवश्यै छ । यो पनि एक संग्रह गरेर राख्नु पर्ने पुस्तकहरु मध्ये पर्छ ।


  • कृपया पढिसकेपछि प्रतिकृया  दिन नबिर्सिनुहाेला । साथै किताबकाे कथाहरू पछ्याइरहनका लागी मेराे फेसबुक पेज पनि मनपराइदिनु हाेला ।

Comments

Post a Comment

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला