किताबकाे कथाः नयनराज पाण्डेकाे उलार

Ular (उलार)Ular by Nayan Raj Pandey

My rating: 3 of 5 stars


म उलार (थारुहरुले उल्लार भन्छन्) शब्दसँग सानै देखि परिचित थिएँ । सानामा विद्यालयबाट फर्कने क्रममा कहिलेकाहिँ बाटामा लडिया (बयलगाडा) भेटिन्थे । हामी लडिया चढ्ने रहरले त्यसका पछिल्तिर झुण्डिन्थ्यौँ । लडिया खाली भएको बेला र चालक असल परेको बेला मात्र बस्न पाउँथ्यौँ । अनि भरिएको बेलामा या धेरैजाना चढ्न खोज्दा ‘उल्लार हुइहे’(उल्लार हुन्छ) भनेर लडिया चालकले हप्काउँथ्यो । लडियाको पछिल्तिर बढि भार हुँदा अघिल्तिरको भाग उचालिन्थ्यो र त्यस्तै परे गोरुहरु झुण्डिन पुग्थे । अनाहकमा गोरुकालागी बोझ बढाउन चालक चाहन्नथे । त्यसैले उलार जाने भएपनि नजाने भएपनि कतिपयले ‘उल्लार हुइहे’ भनेर धपाउँथे । लडिया चालकको हातमा एउटा चाबुक हुन्थ्यो । सिमेन्टका कट्टा(बोरा) च्यातेर बनाएको डोरीलाई एकछेउ लट्ठीमा बाँधी अर्को छेउमा गाँठो पारिएको हुन्थ्यो । कहिले काहिँ भनेको नमान्दा तर्साउनको लागी लडिया चालकले पहियामा हिर्काउँथे । ‘स्वाँट्ट ...’, आवाज मात्रैले पनि सातो लिन्थ्यो । गोरु या राँगालाई हानेको दृष्यको सम्झना र आवाज मिसिँदा मन एकदम आतंकित हुन्थ्यो । कहिले भने गोरुको पुच्छर मुन्तिर लट्ठी कोचेर लडिया द्रुत गतिमा अघि बढाउँथे ।
लडियाहरुसँग अभ्यस्त भएको भएपनि टाँगासँग उस्तो बलियो साइनो छैन । टाँगा प्राय महेन्द्रनगरमा(कञ्चनपुर जिल्ला) भारतीयहरुले चलाउँछन् । टाँगाहरु विशेष गरी बनबासा–महेन्द्रनगर जोड्ने बाटामा बढि चल्छन् । ती टाँगामा धेरै नेपालीहरु लुटिने र हेपिने गर्छन । कहिले काहिँ धनगढीका बजारमा पनि टाँगा गुड्दा मान्छेहरु खुब चाख लिएर हेर्थे । टाँगा जस्तै तर गोरु या राँगाले तान्ने लडिया (बयल गाडा) भने धनगढी र आसपासका गाउँमा धेरै प्रयोगमा आउँथ्यो । अचेल ट्रयाक्टरले तिनलाई विस्थापित गर्दैछन् ।
‘लू’मा इलैया, करिम, नुसरत, टुटे पण्डित लगायतकाको कथा पढेदेखि नयनराज पाण्डेलाई मैले मनपर्ने नेपाली लेखकको सूचीमा अग्रस्थानमा राखेको थिएँ । कैलालीमा जीवनका १८ वर्ष गुजारेकाले नेपालगञ्ज(बाँके)को कथा प्रति ‘लू’ पढ्दा नै एक प्रकारको आपनत्व महसुस गरेको थिएँ । त्यसैबेला देखि पाठकहरुको सिफारिस अनुसार पाण्डेका अन्य पुस्तकहरु पढ्ने निधो गरेको थिएँ । त्यसैले यसपाली नेपालबाट मगाएरै भएपनि ‘उलार’ पढियो । आएका पुस्तक मध्ये सबै भन्दा सानो भएकोले पनि पहिले ‘उलार’ नै पढेर सकेँ ।
साझाको निलो बसबाट ओर्लिएको मधेसीलाई चिया पसलेले दूध उम्लेर पोखिएको झोकमा पुल्चोक इजार मुन्तिर छ भनेर देखाउँदा घटनाका प्रत्यक्ष दर्शी तथा उपन्यासका लेखकको मन उलार हुन्छ । त्यसै मानसिक उलारले यो लघु उपन्यास लेख्ने प्रेरणा दिन्छ ।
उपन्यासमा टाँगा चालक प्रेमललवाको गरी खाने मेसो टाँगा उलार हुँदा उसका जीवनमै उलार जान्छ । त्यसै उलारले उसलाई राजधानी पु¥याउँछ, अनेक हण्डर खुवाउँछ र दोश्रो पटक विस्थापित बनाउँछ । प्रेमललवाको नेताहरुप्रतिको वफादारिता अनि नेताहरुले उनीहरुमाथि गरेको ठट्टा पढ्दा राजनीतिको जाँतोमा गरीवहरु कसरी पिल्सिएका छन् भनेर बुझ्न सकिन्छ । हरेक सानातिना कामका लागी राजधानी आउनुपर्ने बाध्यताले मोफसलका गरीबहरुलाई कतिसम्म मार्कामा पारेको छ भन्ने तर्फ पनि उपन्यासले प्रकास पारेको छ । प्रेमललवालाई काठमाडौँ जान सहयोग गर्ने नगरबधु(वेश्या) द्रौपदी र प्रेमललवाको प्रेमले समाजका नियमहरुलाई चुनौति दिएको छ । कथाभरी संघर्ष र दुःख भएपनि अन्त्य÷सपनामा एउटा आशामा गएर कथा टुङ्गिएको छ । उपन्यासका पात्रका चरित्रहरु परिवर्तनशील छन् । केही नैतिक रुपमा एकदमै तल खसेका पात्रहरु पनि छन् ।
उपन्यासको आकार सानो भएकाले धेरै उपकथाहरु अटाएका छैनन् । उपन्यासको लागी श्यामलले लेखेको भूमिका र लेखक स्वयंको बीस वर्षे विशेषांकका लागी लेखिएको कुराहरुलाई नजोड्ने हो भने उपन्यास ६८ पानाको छ । ‘लू’ नपढेकाले उलार पढेर ‘लू’ पढ्दा बढि मजा आउँछ । नत्र ‘लू’ पढेपछि लेखकप्रतिको अपेक्षा नै यति माथि पुग्छ कि अन्य कृतिले त्यसलाई भेट्नै सक्दैन । उलार पढ्दा तराईंका धेरै कुराहरु बुझिन्छ र त्यसले ‘लू’ बुझ्न समेत मद्दत गर्छ ।
नेपालगञ्जका धेरै ठाउँहरुको नाम त पढियो तर ती कता पर्छन भन्ने नक्सा कहिल्यै कोर्न सकिएन । उपन्यासमा एक पानामा कथाको भूगोल पनि कोरिएको भए सबै पाठकका लागी सजिलो हुन्थ्यो होला । केही मधेसका ठेट शब्दहरुको अर्थ समेत खोलिएको भए मधेससँग खासै नजिकको नाता नभएका अन्य समुदायका पाठकका लागी समेत बुझ्न सजिलो हुन्थ्यो । ‘लू’ र ‘उलार’ दुबैमा हिन्दु–मुस्लिम दंगाका प्रसंगहरु छन् । नेपालको इतिहाँसमा इराकमा बाह्र जना नेपाली मारिएको समयमा बाहेक अन्य समयमा कहिं कतै त्यस्तो दंगा भएको याद छैन । त्यसबेला पनि मुसलमानहरुमाथि एकतर्फी आक्रमण भएको थियो । त्यसैले नेपाली समाजको कथामा धार्मिक दंगा समेटिनु कत्तिको उचित छ भन्ने प्रश्न उपन्यासले जन्माउँछ ।
यी सामान्य कमीका बाबजुद उपन्यास पठनीय छ । उपन्यासमा मध्यपश्चिमको तराईको कथा समेटिनुले पाठकलाई नयाँ स्वाद त दिन्छ नै साथसाथै यसले मधेस र नेपालको अन्य समुदाय जोड्ने पुलको काम समेत गर्छ । उपन्यास पढिसकेपछि मधेसका पात्रहरुसँग एक किसिमको भावनात्मक सामिप्यता बढ्छ । सानो आकारको भएकोले पढ्न खासै समय लाग्दैन । पाण्डेको लेखनी राम्रो लाग्नुको पछि उनी घटना पस्कन्छन् र त्यसप्रति दुःख मनाउ गर्ने या खुशी हुने जिम्मा पाठकमा छोड्छन् । उलारमा पनि त्यसले निरन्तरता पाएको छ ।




View all my reviews

Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

सुधीर शर्माकाे प्रयोगशाला

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी