सकस– जगदीश घिमिरे
"मैले पन्ध्र सय वर्षअघिका राजपाठ त्यागेर जोगी भएका कवि राजा भार्तृहरिको त्यो श्लोक सम्झें, जसमा उनी भन्छन्– राजनीति र वेश्या उस्तै बहुरुपी हुन्छन् ।"
मलाई जगदीश घिमिरेको अन्तर्मनको यात्रा पढेदेखि उनको लेखनीमा विशेष रुची बढेको हो । व्राह्मण परिवारमा जन्मेकाले सानै देखि संस्कृत प्रति केहि लगाव थियो । जमाना अनुसार अंग्रेजीमा शिक्षा हाँसिल गरिए पनि अनिवार्य संस्कृतका कक्षामा र घरमा भएका धार्मिक ग्रन्धमा भएका एकआध संस्कृतका श्लोकहरु कण्ठ गरेर कुराकानीका क्रममा सन्दर्भवस उल्लेख गर्न पाउँदा साह्रै गौरवान्वित हुने गर्दथे । ‘संस्कृतको युग सकियो अंगे्रजी सिक्नुपर्छ’ भन्ने पिताको संस्कृत शिक्षा प्रतिको उदाशीनता र एकखाले बन्देजका कारण पनि संस्कृत पढुँ पढुँ लाग्थ्यो । त्यति हुँदा हुँदै पनि न त मैले संस्कृत पढ्नका लागी कुनै ठूलो कदम चाल्न सकेँ न त मनको हुटहुटी नै केहि गरि मार्न सकेँ । उपन्यासहरुमा छिटपुट प्रयोग भएका संस्कृत शब्द र श्लोकहरु कण्ठ गर्न पाउँदा वा तिनको अर्थ जान्न पाउँदा आफ्नो जुनीले सार्थकता पाएको महशुस हुन्थ्यो । त्यस्ता उपन्यासहरुमा विपिका उपन्यासहरु पर्दथे । जगदीश घिमिरेले अन्तर्मनको यात्रामा पनि संस्कृतका श्लोकहरु जस्ताको तस्तै अनि नेपालीमा उल्था गरेर समेत उल्लेख गरेका छन् । विपिको लेखाइमा यस्ता अनुवाद भेटिन्न थियो । त्यसैले पनि घिमिरेको लेखाइ एकदम मनप¥यो । त्यसमाथि घिमिरेको ‘नबुझिने लेख्नु र नसुनिने बोल्नु एउटै हो ।’ भन्ने कथनले साहित्य पढ्न भरखर मात्रै सुरु गरेको मेरो मनमा ‘हो त नि!’ भन्ने पा¥यो ।
अन्तर्मनको यात्रा पढेको निकै भएकाले त्यसको सबै कुराहरु याद छैन । तामाकोसी सेवा समितिका किस्साहरु र अलिअलि मन्थलीका कुराहरु भने सकस पढ्दा पनि आक्कल–झुक्कल याद आइरहे । सकसमा पनि विशेष गरी रामेछाप, जनकपुर र काठमाडौं गरेर तीन जिल्लालाई पृष्ठभूमीमा राखिएको छ । उपन्यासका पात्रहरु यिनै जिल्लामा आउने र जाने गरिरहन्छन् । तिनै पात्रहरुले प्रसंगबस स्मृतिका रुपमा नेपाली राजनीतिको इतिहाँसका विभिन्न पाटाहरुलाई उजागर पार्छन् । त्यसका साथसाथै मधेस आन्दोलनका कुरा पनि उपन्यासमा अटाएको छ ।
उपन्यासकी एक प्रमुख पात्र कुमारीले उनको पति शरदकुमारले बेपत्ता हुनु अघि छोडेको नोटबुक समाजसेवी देबीलाई छोड्छिन् । त्यही नोटबुक भित्र टिपोट गरिएका कुराहरु नै उपन्यासको मुख्य विषयवस्तु हो । इतिहासका धेरै कुराहरुलाई ‘जिबा’को स्मृतिका रुपमा प्रस्तुत गरिएको छ भने केहि कुराहरु शरदकुमारको व्यक्तिगत भोगाइका रुपमा उल्लेख गरिएको छ ।
नेपालको इतिहासमा पृथ्वी नारायण शाह देखि प्रचण्ड सम्म आइपुग्दा घटेका प्रमुख घटनाक्रमहरु यसमा समावेश छन् । विशेष गरी राजतन्त्रका बेलामा इतिहास पढेकाले राजतन्त्रका नकारात्मक पक्षहरु अध्ययन गर्न पाएनन् । त्यसैले यो पुस्तकले छुटेको इतिहासका पक्षहरुमा समेत प्रकाश पार्ने काम गर्दछ ।
सिन्धुली गढीको यात्राका क्रमा सन् १६६७ मा एकिकरण अभियान रोक्नका लागी अंग्रेजी सेनाले सिन्धुलीमा गरेको आक्रमण र गोर्खालीसँग हारेको कथा (त्यसबेलाका तोप अझै गढीमा सुरक्षित छन्) एकदमै रोचक लाग्यो । पृथ्वीनारायण शाहका हुकुममा छालाकाढेर नुनचुक दली मारिएका जयन्त रानामगरको चर्चा एकिकरण ताका अन्यायमा परेकाहरुको प्रतिनिधि कथा बनेको छ । पृथ्वीनारायण शाहको मृयुको प्रसंग पनि पढ्न लागयक छ ।
पृथ्वीनारायणका छोरा प्रतापसिंह साह राजा हुने वित्तिकै बहादुर शाह र दलजित शाहलाई नजरबन्द अनि अन्य चौतरीयाको सर्वस्वहरण गरेको प्रसंग, तान्त्रिक अनुष्ठानका लागी सवालाख हाँसका अण्डाको प्रसंग अनि वसन्तपुर दरवारको कैलाश मन्दिरलाई कामोत्सव मन्दिर बनाइ अनौठो तन्त्रसाधनाका रुपमा नवयोनि पूजनका लागी नौ वटी खोटरहित कन्यासँग माछा, मासु र मदिराको प्रसाद सेवन गरेर विचेत र निर्वस्त्र भएपछि उनीहरुसँग विभिन्न मुद्रामा मैथुनधर्मर हुने प्रसंगले राजाहरु कति मनलागी गर्थे भन्नेकुराको आभाष दिलाउँछ ।
राजेन्द्रलक्ष्मीले आफ्नो साटो नवयोनि पूजनका सबै भैरवी कन्यालाई सती पठाएको र आफ्ना पतिलाई तन्त्रसाधनामा लगाउने आचाजुहरुलाई कटाएको प्रसंगले अन्याय गर्नमा कोही कसैभन्दा कम थिएनन् भन्ने देखिन्छ । सर्वजित रानामगरमाथि राजमातासँग ‘करणी विराएको’ (उठबस भएको) आरोपमा दलजित शाहद्वारा सर्वजितको शीरच्छेदन गरिएको र रानीलाई बहादुर शाहद्वारा चाँदीका नेल ठोकेर नजरबन्द गरिएको कुरा नयाँ लाग्यो ।
रणबहादुरको बहुलट्ठीका अनेकन किस्साहरु पढ्दा राजसंस्था प्रति एक किसिमको घृणा उत्पन्न हुन्छ । साँढे जुधाइका लागी साँढेगोठ बनाउने देखि तराईंवाट पशुपति दर्शनका लागी आएकी वालविधवा कान्तवतीलाई अनेक जालझेल गरेर बिहेगरी उनैका सन्तानमार्फत राजकाज निरन्तरता दिएको चाखलाग्दा र कहिल्यै नपढिएका नसुनिएका किस्सा पुस्तकमा छन् । रणबहादुरले रामे पोडे मार्फत बहादुर शाहको हत्या गराएको प्रसंग सम्म आइपुग्दा दरबार भित्र एकअर्कालाई मार्ने खेल पुरानो हो भन्ने लाग्छ । रामे पोडेलाई घटना पश्चात क्षेत्री बनाएको र उसले मोरङको सालवाडीमा गएर आफ्नो बंश चलाएको प्रसंगले राजाले चाहे जात दिन र लिन सक्थे भन्ने कुराको पुष्टि गरिएको छ । कान्तीवतीबाट जन्मेका गिर्वाणयुद्ध विफरले मर्छन भन्ने भविष्यबाणी भएपछि उपत्यकाका तीनै सहरका सारा बालबालिकालाई चारभञ्ज्याङ्ग कटाएको तर गिर्वाण र उनकी रानी विफरले नै मरेको कुरा पुस्तकमा उल्लेख छ । त्यस घटनाको इतिहास बोकेको शितला माजुको गित पनि पुस्तकमा राखिएको छ ।
शाही सासनकालमा भारदारहरुलाई अपराधको निहुँमा मारिने, तिनको सर्वश्व हरण गरेर पत्नी, बुहारी, कमारी र सुसारेलाई दलितका जिम्मा लाउने चलन, आदिको फेहरिस्त पढ्दा राजसंस्था सम्पूर्ण रुपमा असल भन्ने एक थरिको भनाइलाई चुनौति दिन्छ ।
त्यसबाहेक ००७ सालको क्रान्ती अघि पूर्व मेची देखि पश्चिम महाकालीसम्म भन्सारको ठेका पाएका विपिका बाबु कृष्णप्रसाद कोइरालाको उत्थान र पतन, मकैको खेतीका लेखक कृष्णलाल अधिकारीको चर्चा, जयतु संस्कृतम र ००७ साले क्रान्तिको चर्चा, आदि एकदमै कम चर्चामा आएका घटनाहरुलाई पनि पुस्तकले बाहिर ल्याएको छ । मकैको खेतीका सबै प्रति जलाइए पनि एक प्रति बाँचेको र सो प्रति कहाँ छ भन्ने पत्तो नलागेको कुरा पुस्तकमा उल्लेख छ । सातसाले क्रान्ति पछि पञ्चायती व्यवस्था विरुद्धको क्रान्तिका कुरा त्यसपछिका सरकार अनि माओवादी जनयुद्धको कुरा, रामेछापको जनसरकार गठनको प्रसंग अनि भैरवनाथ गण भित्रको यात्रताको किस्सा आदि सबैले ठाउँ पाएको छ । बाबुरामका राजनीतिक गुरु एस डि मुनीले माओवादी रअले सञ्चालन गरेको भनेर नेपाल इन ट्रान्जिसन नामक पुस्तकमा लेखेको भनेर माओवादी जनयुद्धको गुदी पहिल्याउने काम समेत भएको छ । दरबार हत्याकाण्डका अनेकन सम्भावित कारणहरुलाई पुस्तकले बाहिर ल्याएको छ तर यही थियो कारण भनेर भनेको चाहिँ छैन ।
राजनितिक घटनाक्रम बाहेक सांस्कृतिक महत्व राख्ने केहि घटनाहरु पनि पुस्तकमा समावेश छन् । ढिकुराको पुजारी अन्तर्गत मान्छे मरेपछि प्रेत आत्माको बासका लागी माटाको ढिकुरा (ढिस्को) बनाइ पुजा गरिने र दशदिनपछि जेठो छोरोले टाउकाले फुटाएर अन्त्यष्टि गर्ने चलनका बारेमा पुस्तकमा उल्लेख गरिएको छ । सति प्रथा प्राय जसो राजखान्दान, भारदार र राजपुरोहितहरुमा सिमित रहेको भनेर पुस्तकमा उल्लेख छ । सो ही चलन अन्तर्गत नरभुपालको सती गएको गोरे कमारोको प्रसंगले नरभुपाल समलिंगी थिए कि भन्ने प्रश्न उब्जाउँछ । राजेन्द्रलक्ष्मीले पतिको निधन पश्चात पनि सधवा श्रिंगार गरेको कुराले शक्तिमा बसेकाहरुका लागी कहिल्यै कुनै छेकबार भएन भन्ने प्रष्ट पार्छ । वाल–विधवा कान्तीवतीसँग विवाह जायज या नाजायज भन्ने सन्दर्भमा राजा ययातिकी छोरी माधवीको ‘वहुविवाह’को प्रसंगको समेत चर्चा गरिएको छ । माधवीकै प्रसंगबाट स्त्री कहिल्यै नबिटुलिने निक्र्यौल समेत निकालिएको छ ।
माथि उल्लेख गरिएका बाहेक पनि अन्य धेरै रोचक सामग्रीहरु पुस्तकमा पढ्न पाइन्छ । समग्रमा पुस्तक पठनीय छ । नेपालको इतिहाँस र परम्पराको बारेमा राम्रो जानकारीहरु यसमा समेटिएको छ । ऐतिहासिक पात्रहरुको काल्पनि संवादहरुले पुस्तकलाई रोचक बनाएको छ । इतिहासमा नपढइएका र सार्वजनिक रुपमा बाहिर नआएका कतिपय घटनाहरु पुस्तकमा पाइन्छन् । त्यति हुँदाहुँदै पनि इतिहासका घटनाहरुको समयक्रम नमिल्दा सूचनाहरुलाई मन्थन गर्न अलि समय लाग्छ । साथै ऐतिहासिक घटनाक्रमहरुको श्रोतहरु खुलाइएको छैन । उपन्यासका कति कुरा काल्पनिक हुन् र कति कुरा वास्तविक हुन् भन्ने कुरा पुस्तकमा कहिँ कतै लेखिएको भए पाठकलाई के पत्याउने र के नपत्याउने भनेर ठम्याउन सजिलो हुन्थ्यो । जे होस् साहित्य र राजनीति जुनसुकै क्षेत्रमा चाँसो भएको व्यक्तिका लागी सकस एउटा छुटाउन नहुने भनेर भन्न सकिन्छ ।
View all my reviews
Comments
Post a Comment