शारदा शर्माको ‘ताप’

तस्बिर स्रोत: मनोज पनेरु
शारदा शर्माको ‘ताप’ पढ्दा एकदमै मिश्रित अनुभवहरु भए । सुरुमा पढ्दा सोचेँ, ‘ए बुद्ध धर्म सम्बन्धी रै’छ ।’ अलि पछि लाग्यो, ‘लौ, जनयुद्ध सम्बन्धी पनि लेखिछिन्, ।’ अझै पढ्दै जाँदा राणाशासन, राजाशासन, सुगौली सन्धी, पुरुष समाजप्रतिको नारी दृष्टिकोण, आदि सबै देखियो । धेरै कुरा भएर हो सायद अन्तमा पुग्दा सुरुकी पात्र को थिइ भनेर पाना पल्टाउनु पर्ने अवस्था आयो । बर्दिया देखि मनाङ सम्म अनि लण्डन देखि कोलम्बोसम्म, जताततै पुगियो । भाषामा कहिं एकदमै जटिलता पनि देखियो । कहिँ शुद्ध नेपाली प्रयोग भएको देखियो भने कहिं हेलचेक्य्राँइ गरेर सामान्य नेपालीका शब्दलाई पनि अंग्रेजी पदावलीले विस्थापित गरेको देखियो । प्रभाकर र परासरका अनि कैवल्यका चारित्रिक चिरफार पढिरहँदा आफू मै पनि अलिकति सबैखाले व्यक्तित्व भएको भान भयो । प्रभाकरको आमा प्रतिको दायित्वबोधले पत्नीमाथिको अन्याय हुनु अनि परासरको अन्तिम सम्म पनि चन्द्रिकालाई पाउने इच्छाले कहिले काहिँ गिज्याए । एक ठाउँमा पुरुषहरु महिलाहरुले दुःख पाउन भन्ने चिताउँछन् कि त्यस्तै केहि लेखिएको  थियो । पहिले त प्रतिकार गरेँ । ‘होइन हामी त्यस्ता पाप लिएर हिँड्दैनौँ ।’ पछि लाग्यो ‘हो कि क्या हो !’ । तर सायद चिताए पनि नचिताए पनि उद्देश्यचाहिँ उद्धारक भएर नारीको जीवनमा प्रवेश गर्ने अनि उसको जीवनमा आफ्नो स्थान बनाउने हुन्छ कि जस्तो लाग्यो । सबै गान्धीकै गुणगान गाउँथे । यसपटक कस्तुरबाको पक्षमा पनि पढियो । एउटा पुरुषको हठका लागी महिलाले आफ्ना रहरहरुलाई तिलाञ्जली दिएको । हुन पनि कसले सोध्यो होला र उनको चाहना अनि सोधे पनि उनले भन्ने आँट पो के गरे होलिन् । यौनका मामिलामा पुरुषहरु कति चिप्लिन्छन् भन्ने कैवल्यको पतनले पनि देखायो । धेरै कुरा भए त्यसैले के भए भनेर एकदमै अलमलमा पनि परेँ ।
साहित्यको भालेपोथी छुट्याउनु उति राम्रो त होइन । त्यसैले यसलाई नारी साहित्यको नयाँ कृति भनेर म भन्दैन । पारिजात पढ्दा कहिल्यै त्यसो महसुस भएन । तर यसमा धेरै कुराहरु नारीका आँखाबाट हेरिएका थिए (!?) जस्तो भने लाग्यो । नयनराज पाण्डेयको पुस्तक भनेर झुक्किएर समाएको थिएँ । सुरुका पानामा केहि अल्छि पनि लागेको हो । तर पढि सक्दा ठिकै गरेछु जस्तो लाग्यो । अलि कम विषयवस्तु समेटेको भए सजिलो पुस्तक बन्थ्यो कि भन्ने चाहिँ लागीरह्यो । अनि वास्तविकतार कल्पना चिनीमा पानी मिसाएको जसरी मिसाइएको थियो । कति कति बेला कुन चाहिँ कल्पना र कुन चाहिँ वास्तिविकता भनेर छुट्याउन गाह्रो पर्न जान्थ्यो । ड्यान ब्राउनको पुस्तकमा उनले अन्तमा कितावमा उल्लेख भएका वास्तविकताको सूची बनाएका हुन्थे । त्यसले गर्दा पुस्तकले कुनै भ्रम श्रृजना गर्न पाउँथेन । सायद त्यसै गरेको भए पुस्तक अझै बुझ्न सजिलो हुने थियो कि ? जे होस् एकदुई पटक अझै सम्पादन गरेर नयाँ संस्करण निकाल्दा अझै राम्रो परिणाम आउला भन्ने लाग्छ ।
पुस्तक सापट दिएर सहयोग गरिदिने मित्र मनोज पनेरुमा हार्दिक आभार  ब्यक्त गर्दछु ।

Comments

Popular posts from this blog

Letters to a Young Poet -Rainer Maria Rilke (with quotes)

अम्बेडकरको Annihilation of Caste

निर्मलालाई न्याय