तरार्इमा जलाइएकाे पुस्तकः अलिखित (ध्रुवचन्द्र गाैतम)


“एक जनाले त भन्यो, सारा गाउँले एक रात आफ्ना घरहरुसित दोरहन्तल पोखरामा
हामफालेर सखाप भए ।”

यो पुस्तक बडो मुस्किलले हात लागेको पुस्तक हो । पुस्तक पसलमा किन्नजाँदा नभेटिएपछि यो पुस्तकलाई औधि रुचाएका र पढ्न सुझाएका अनुपम पोख्रेल आफैले उपहार स्वरुप पुस्तक दिने बाचा गरेका थिए । उनी प्रतिको आभार पुस्तक प्राप्त गरेपछि दिने सोचेको थिएँ । पुस्तक जर्मनी ल्याइ दिने सुदिप श्रेष्ठ पहिले म बसेकै सहर आउने भन्ने थियो तर अन्तिम समयमा उनी अर्कै सहर जाने भए । त्यसैले पुस्तक प्राप्तीमा केहि ढिलाइ भयो । खासमा उनी आफै भेटघाटको लागी आउँदा ल्याए भने हुलाकको थप खर्चले उनीमाथि व्ययभार नबढोस भनेर प्रतिक्षा गर्ने निर्णय गरेको थिए । पछि संयोगले नारायणी दिदी पनि नेपालबाट सुदिपसँग भेटेर म बसेकै सहरमा आउने हुनुभयो । उनैले यो पुस्तक मेरो हातमा दिनु भयो । पुस्तक पाएपछि धन्यवाद दिन चाहन्थे तर पुस्तक पठाउनु र पाउनुमा निकै समय गुज्रि सकेकाले पढेपछि प्रतिकृया सँग सबैलाई एकमुष्ट धन्यवाद दिने सोच बनाएको थिएँ । भइदियो के भने मेरो हातमा त्यो पुस्तक देख्ने वित्तिकै प्रेयसीले समेत सोहि पुस्तक पढ्ने ईक्षा राखिन् । पहिले प्रतिकार गरेपनि त्यसाको नराम्रो असर देखेपछि पहिले उनैले पढुन् र सकेपछि पढौँला भन्ने भयो । निकै समय लगाएर पढि रहँदा एक दिन कसो कसो उनले पढ्दा पढ्दै मैले लिन पाउने सहमती गराएँ र पुस्तक अन्ततोगत्वा मेरो हातमा आयो । पहिलो पटक पाना पल्टाएको चार महिनामा पुस्तक पढेर भ्याएँ । पुस्तक उपहार दिनुहुने अनुपम पोख्रेल, ल्याइदिनु हुने सुदिप र नारायणी दिदि अनि आफूले सक्नु अघि पालो दिने मेरी प्रेयसी सबैलाई धेरै धेरै धन्यवाद ।



अलिखित तराईलाई परिवेश मानेर लेखिएको एक सशक्त रचना हो । अलिखित त्यो समाजको कथा हो जो प्रशस्त लेखिएको छैन । त्यो नलेखिएको र नदेखिएको समाजका बारेमा लेख्ने क्रममा प्रशस्त स्वैरकल्पना मिसाएर विभिन्न प्रयोगहरुका साथ आञ्चलिकताको आभास पनि दिने गरेर लेखिएको छ । सबैले पढ्नै पर्ने उपन्यास मध्येको एक उपन्यास अलिखित पनि हो । अचेल मधेसको असन्तुष्टि पोखिने क्रम बढेको र त्यो असन्तुष्टि प्रति शंका गर्नेहरुका लागी यो उपन्यासले त्यहाँको दुःख र विभेदको कथा झुटो होइन भन्ने सावित गर्छ । हुन त काल्पनिक कथालाई पनि आधार मान्न सकिएला र भन्ने तर्क आउला । त्यसको जवाफमा अरुन्धती रोयको कथन सान्दर्भिक ठान्दछु । रोय भन्छिन्, “जतिबेला लेख्दा उद्धरण र सन्दर्भ सामग्री जुटाउन गाह्रो हुन्छ त्यतिबेला साहित्यको बाटो रोजिन्छ ।” यस अघि पढेका नयनराज पाण्डेयका लू र उलार जस्तै तराईको कथामा आधारित भए पनि लू र उलार पश्चिम तराई अर्थात नेपालगञ्ज तिरको कथा हो भन अलिखित विरगञ्ज÷वारा अर्थात पूर्वी तराईको कथा हो । अलिखितका लेखक आफै पनि विरगञ्जमा जन्मिएका हुन् ।(विकिपिडिया)

यो उपन्यासमा तराईको कुनै एक गाउँमा (विरहीनपुर बरेवा÷ धरमपुर) उत्खननका लागी गएको टोलीको कथा समेटिएको छ । तिनै टोलीका एक सदस्यले टोलीका अन्य सदस्यहरुसँग विताएको हरेक महिनाका आधारमा गाउँका विभिन्न पात्रहरुको कथा पाठकसामु ल्याएका छन् । त्यसो गर्दा तराईको जनजीवन उजागर गर्ने उद्देश्यका वरिपरि कथा घुमेको छ । मुल कथा भन्दा सहायक कथा प्रधान भएको पाठकले पढ्दै जाँदा महशुस गर्छन् ।
मधेसी र पहाडीको बीचको सम्बन्धका बारेमा हाल आएर निकै टिकाटिप्पणीहरु भइ सकेका छन् । कतिले पहाडी र मधेसी मिलेर बसेका थिए भन्छन् भने कतिले मधेसीले पहाडीहरुको हेपाहा प्रवृत्ति सहेर बसेका थिए भन्छन् । त्यहि भनाइहरुका बीच पहाडी समुदायबाट सँधै हेपिएको महसुस गर्ने मधेसीहरुको मनस्थितिको जरो अलिखितले लेखेको छ । जिम्दारसाहेब र काठमाडौँको नाम लिने बित्तिकै गाउँलेहरुका आँखामा म पात्रको टोलीप्रति ‘अदब, आतङ्क र श्रद्धा’ देखिएको प्रसङ्गले मधेसी र पहाडीको सम्बन्ध कस्तो छ भन्ने कुरामाथि प्रकाश पार्छ ।

–“खाऊ न खाऊ । गरिब के घर मेँ त ई हे जुरी ।”
–“यसले के भनी ? ऋषिले सोध्यो ।”
–“खानुस् न खानुस्, गरिबको घरमा त यही जुर्छ ।”
–“खाऊ न खाऊ भनेको, खानुस् न खानुस् भनेको हो ?”
–“हो ।” 
गौतमले उपन्यास भरि प्रयोग गरेको स्थानीय भाषा पाठकका लागी बुझ्ने बनाउन यसरी नै म पात्रद्वारा उल्था गराएका छन् । कतिपय आञ्चलिक उपन्यासहरुमा स्थानीय भाषाहरुको प्रयोगले कथानक बुझ्न गाह्रो हुने भए पनि गौतमले सकेसम्म त्यस्तो नहोस् भन्नका लागी हरेक सम्वादको उल्था गरेका छन् । साथै यो संवादमा भाषाका कारण दुई समुदाय बीच हुने अप्ठेरोको झल्को समेत पाइन्छ । नेपाली भाषाका प्रयोग कर्ता जस्तो आदरार्थी र उच्च आदरार्थी शब्दको प्रयोग अन्य भाषामा कमै हुने हुँदा अन्य भाषाका प्रयोग कर्ताले नेपाली बोल्दा अनादर भाव झल्के जस्तो हुन्छ । थारु समुदायका बीचमा हुर्केको मेरो व्यक्तिगत अनुभव पनि त्यस्तै छ । एक पटक एक जना थारु बच्चालाई पढउँदै गर्दा ऊ रिसाएर तथानाम गाली ग¥यो । बच्चा शिशु कक्षा पढ्ने उमेरको थियो । उसले त्यहि भाषा प्रयोग ग¥यो जो उसले सुनेको थियो । मलाई रीस भन्दा बढि हाँसो लाग्यो । मैले त्यो उमेरको बच्चाले त्यतिसाह्रो गाली गरेको प्राय सुनेको थिएन । सायद उसको दिदीले उसले गाली गरेको सुनेर आमाबाबालाई गुनासो गरेकीले होला भोलिपल्ट भने त्यहि बच्चा मलाई हजुरको सम्बोधन गर्न थाल्यो । तर उसले हजुरलाई सर्वनामका रुपमा नभएर नामका रुपमा प्रयोग गर्न थाल्यो । जस्तो ‘हजुर कहिले आउँछ ?’ । मलाई लाग्छ नेपाली भाषीका कतिपय कुराले पनि मधेसी मनमा यस्तै असर पर्छ होला । राजनीतिक गतिविधीलाई पछ्याइ रहनेहरुले ‘माखे साङ्लो’को प्रसंग सायदै भुलेका होलान् । अझै पनि धेरै मधेसी आफूलाई माखासँग तुलना गरेकोमा अपमान बोध गर्छन् जबकी माखे साङ्लोको माखासँग कुनै साइनो छैन ।


सुदूर पहाडको ऋषिराम र मतियाकी आमाको बीचमा भाषाका कारणले भएको असमझदारीका अलावा त्यहाँको स्थानीयले पहाडी जतिलाई (या जिम्दारका मान्छेलाई) मालिकको सम्बोधन गर्ने र ‘पाव लागी’को अभिवादन गर्ने गरेबाट पनि त्यहाँको आर्थिक अवस्थाका साथसाथै मधेसी र पहाडी समुदायको बीचको सम्बन्धको समेत सङ्केत गर्छ । त्यसका अलावा सखरखण्ड, सुठनी, भ्याकुर र भात खाएर गुजारा चलाउने परिवार, चुन पोल्दा पोल्दै रगत थुक्न सुरु गरेर अन्ततोगत्वा ज्यान गुमाएको मतियाको बाबु र चुन पोल्ने पेशामै लागेका मतियाकी आमा र मतिया, दुब्लो मुसोको प्रसङ्ग, आदिले त्यहाँको आर्थिक दुरावस्ताको दुःखलाग्दो चित्रण गरेको छ ।

स्थानीय किंवदन्तीका कथा सुनाउने धरीछनले गाउँको श्रुति परम्परा कसरी चलेको छ भन्ने उदाहरण समेत प्रस्तुत गरेको छ । उसैका मार्फत दोहरन्तल पोखराको कथा पनि उजागर गरिएको छ । महाभारत कालमा प्राण रक्षाका लागी दुर्योधन लुकेको ताल नै कालान्तरमा दोहरन्तल पोखरा भएको प्रसंगहरु स्वैर कल्पनाको प्रयोगको उच्चतम नमुना बनेको छ ।
“तोरा ... मे लाठी”
“गे भतरा चिबौनी, खजु .... हौत, आके सुत, हमारा मर्दा सँगे ।”
स्थानीय त्यसमाथि पनि गरीव परिवारमा गाली गलौजको भाषा पर्याप्त पाइन्छ । एक किसिमले गाली गलौजले मनको भडार पुरै पोख्न पनि मद्दत गर्छ । तर गौतमले अश्लीलता हावी हुन नदिन सम्पादित गालीहरु मात्रै प्रयोग गरेका छन् । नयनराज पाण्डेयको उलारसम्म आउँदा भने शीलता र अश्लीलताको परिभाषा फेरिइ सकेको छ । त्यसैले उलार पढ्दाका गालीहरुको सम्झना अलिखितका संवाद पढ्दा पनि आइ नै रह्यो ।

बिँडीमा जवानी साँटेको प्रसङ्ग, जयकलिया र लजकलियासँग कर्णबहादुरको सम्बन्धको प्रसंग र नुहाउन पानीमा पसेकी फुलवाले कर्णबहादुरको उपस्थितिमा पानीमै रहेर इज्जत जोगाएको प्रसंगले स्थानीयहरुको आर्थिक कम्जोरीको फाइदा कसरी लिइएको छ भन्ने कुराको झल्को दिन्छ । महुवाको रक्सी ठर्राका नामले बढि जानिन्थ्यो । तराईका प्राय सबै समुदायमा यो प्रख्यात हुनुपर्छ । सुदूरपश्चिमको थारु होमस्टे भादा गाउँमा गएको बेला एक जना पत्रकार साथीले एक बड्को महुवाको रक्सी खाएर मातेको प्रसंग महुवाका बारेमा पढ्दा मनमा झलझली आइ रह्यो ।

तराईको र पहाडको सांस्कृतिक भिन्नता उनीहरुले होलीलाई दिएको महत्वबाट प्रस्ट हुन्छ । हामीकहाँ मानिने सबै चाडको तराईमा उस्तै महत्व हुँदैन । त्यस्तै तराईका चाडको पनि हामीकहाँ उत्तिकै महत्व हुँदैन । होलिको बेला जिम्दारकहाँ धान माग्न आउनेको भिडको प्रसंगले तराईमा होलीको महत्व प्रष्ट पार्छ । त्यस्तै जिम्दारको ‘आइमाइसँगको बोडरलाईन ठट्टा’, घर सुक्रिबिक्री लेखाएर धान लिने शिवगुलाम र धान बाँड्ने नथुनीको कथाहरु पनि निकै नै रोचक लाग्छन् ।

उपन्यासमा केहि बागीहरु पनि छन् । इनरा, सुनरा र सलिम यी तिनै जना जिम्दारको विरुद्धमा आवाज उठाउने पात्रहरु हुन् । तिनै जनाको अन्त उति राम्रो हुँदैन । इनरा त दोहरन्तल पोखरामा भेटिन्छ । कथामा खलपात्र जिम्दार र गाउँको आर्थिक अवस्था भएता पनि त्यसलाई व्यंग्यात्मक पाराले प्रस्तुत गरिएको छ । परिवेशको रुपमा लिइएको विरहिनपुर वरेवा देशको ‘मानचित्रमा नअटेको गाउँ’ भन्ने उपमाले धेरै अर्थ दिन्छ । मेरो बुझाइमा मानचित्रमा नअट्नुको अर्थ राज्यको दृष्टिमा नपरेको वा राज्यको उपेक्षामा परेको भन्ने हो । त्यसका अलावा मौसम अनुसार कहिले बाढिको प्रकोप त कहिले महामारीको मारमा स्थानीयले भोग्नु परेको पिडाले समग्र तराईको जनजीवन कति कष्टकर छ भन्ने दर्शाउँछ । प्रकृतिका साथसाथै छिमेकमा डाँका लाग्ने प्रसङ्गले तराईको सुरक्षा व्यवस्थाको दयनीय अवस्था दर्शाउँछ ।
बासी मडुवाको रोटी खेसारीको सागसित वा नुनतेलसित वा सिद्रासित मलाई खुब मीठो लाग्ने गरेको हो । तर पछि यो सुनेपछि, मडुवाको रोटीले बुद्धि बिग्रन्छ, म तर्सेँ । यो पत्तो थिएन, यस्तो किन भनिन्थ्यो ।

भाषाको हिसाबमा धेरै हदसम्म सम्वादको उल्था गरिनुले मद्दत गरेको भएतापनि कतिपय शब्दहरु बुझ्न गाह्रो हुन्छ । यो अनुभव उपेन्द्र सुब्बाको लाटो पहाड पढ्दा समेत भएको थियो । ठाउँठाउँमा केहि जटिल वाक्य संरचनाले पनि पठनका क्रममा केहि नमज्जा अनुभव गराउँछ । त्यसका अलावा उत्खननको मुल कथा बीचमा ओझेल हुँदै उपकथाहरुले बढि प्राथमिकता पाउँछन् । फरक समाजको कथा भएकाले त्यसलाई अझै केहि सरलीकृत गर्न सकिन्थ्यो कि भन्ने लागी रहन्छ । त्यसका अलावा त्यति साह्रो कम्जोरी केहि भेटिन्न ।
किताबको अन्तसम्म जाँदा लेखकले परिवेशको यति शशक्त चित्र गरेका हुन्छन्, ती सबै स्वैर कल्पनाका उपज हुन भनि मान्न निकै गाह्रो हुन्छ । स्थान नाम वास्तविक नभए पनि चरित्र भने ग्रामीण मधेसको हो भन्ने कुरामा कुनै दुईमत छैन । त्यस्ते उपन्यासमा एक ठाउँमा ‘कलैया गएर मेरो घरमा टेलिग्राम गरिदेऊ’ भन्ने प्रसंगले परिवेश वाराको कलैया आसपास हो भन्ने जनाउँछ । बिरहिनपुर बरेवा, धरमपुर र दोहरन्तल पोखरा हालको नक्सामा नभेटिए पनि पसाहा नदि, धरम नगर र कलैया भेटिन्छन् र कथा त्यतै कतैको हो भन्ने बुझ्न पाठकलाई गाह्रो हुँदैन । २०४० सालमा प्रकाशित यो पुस्तकमा जस्तै पसाहा नदिले गाउँ पसेर दुःख दिन अझै पनि छोडेको छैन ।


 बारा र पर्साका अधिकांश गाउँ डुवानमा


बकैया र पसाहा नदीको पानी बस्तीमा पसेपछि पोखरीको माछा बगाएको मत्स्य ब्यवसायी संघ बाराका अध्यक्ष जंगबहादुर साहले बताए। बाराका दक्षिणी क्षेत्रको अधिकांश खेतियोग्य जमिन बाढीले कटान गरेको छ। (श्रावण २८, २०७४, अन्पूर्ण समाचार)

उपन्यासको पुछारमा एउटा निकै घतलाग्दो कुरा उल्लेख गरिएको छ । उत्खननले त्यहाँको सभ्यता मोहेन्जोदारो र हरप्पा भन्दा पनि परानो हुन सक्ने देखाएको भएतापनि विद्रोहको अभावमा समाज मेटिने हुनाले त्यो गाउँको दुरावस्ता भएको भनेर भनिएको छ । थुप्रै राणाकालीन दरबार, जंगबहादुर सिकार खेल्दा मारिएको, अलौ(विरगंज) पर्व, आदि जस्ता महत्व बोकेको यस क्षेत्रले संचार माध्यमा उति स्थान नपाउनु र यहाँको समाज र जनजीवनका बारेमा धेरै नेपाली अनविज्ञ रहनु दुःखलाग्दो कुरा हो । साहित्यका माध्यमबाटै भएपनि समाज चिनाउने प्रयास भएकोमा लेखकको जति प्रशंसा गरे पनि कम हुन्छ ।

यो पुस्तकले ४० सालको मदनपुरस्कार प्राप्त गरेको २५ साल पछि मधेसमा जलाइएको थियो । गत साल (२०७३) को नेपाल साहित्य महोत्सव अन्तर्गत देबेन्द्र भट्टराईद्वारा संचालित अलिखित सम्वाद कार्यक्रममा गरेको चर्चाले पुस्तक पढ्ने जोस थपिन गएको थियो ।




Comments

Popular posts from this blog

Letters to a Young Poet -Rainer Maria Rilke (with quotes)

अम्बेडकरको Annihilation of Caste

निर्मलालाई न्याय