‘अदृश्य’ समाजः तेश्रोलिङ्गी समाज

बाम्बी साल्सेडो मेक्सिकोमा जन्मिए । उनी जन्मीनु पूर्व नै उनका आमाबाबु छुट्टिए । उनी बीन र तोर्तिया (मेक्सीकन खाना) खाएरै हुर्किए । मिठो मसिनोको लागी उनको परिवारसँग मनग्गे पैसा हुँदैनथ्यो । उनकी आमाले परिवार धान्न निकै मिहिनेत गर्नु पर्दथ्यो । कहिले काहिँ उनी पनि बाहिर काम गरेर परिवारका लागी धेरथोर पैसा ल्याउने गर्थे ।
किशोरावस्थामा प्रवेश गरेपछि उनी सडक वालवालिकाहरुसँग बढि समय विताउन थाले । उनीहरुको संगतमा उनलाई स्वतन्त्रता मिलेको भान हुन्थ्यो । उनको जीवनको त्यही चरणमा नै उनी लागुपदार्थ दुव्र्यसनमा संलग्न भए । विभिन्न अपराधका लागी पटकपटक जेल समेत परे । उनलाई सँधै सहयोग गरिरहने उनकी दिदिले पनि विगतका उनको सुध्रिने वाचाहरु तोडेका कुराबाट आजित भएर एकदिन उनका अघि ढोका थुनिन् । त्यसपछि उनका सबै ढोका थुनिए ।
यसकिसिमको समस्यापूर्ण किशोरको जिन्दगी बाँचिसकेपछि उनलाई एकदिन महसुस भयो कि उनी एक तेश्रो लिङ्गी थिइन् । केहि तेश्रो लिङ्गीहरुको सुझाबमा उनले अनुहारमा सौन्दर्य प्रसाधनका सामग्रीहरु प्रयोग गरी हेरिन् । महिलाहरुको पोशाक लाउन थालिन् । उनलाई एकदमै हलुका महशुस भयो । अफूले गुमाएको परिचय फिर्ता पाए झैँ लाग्यो । एकाएक उनलाई महिलाका रुपमा देख्दा सबै आश्चर्यचकित भए । उनी पुरुष सँग प्रेममा समेत परिन । लामो समय सँगै पनि बसिन् । 
उनको जीवनीमा आधारित वृत्तचित्र सकिएपछि उनी आफै मञ्चमा चढिन् । उनलाई हेर्दा उनी कुनै जमानामा केटा थिइन् भन्ने कसैले कल्पना गर्न पनि सक्दैन । उनले निकै भावुक हुँदै हामीसामु एक कविता वाचन गरिन् । कवितामा उनले तेश्रोलिङ्गीहरुको समाजमा कुनै सम्मानजनक परिचय नभएकाले उनले आफूहरुलाई ‘अदृश्य’ भएको भनेर लेखेकी थिइन ।
‘समाजमा व्याप्त अन्यायका कारण अदृश्य
समाजमा व्याप्त विभेदका कारण अदृश्य
हिंसाका सिकार हुने डरका कारण अदृश्य’
उनले आफूले कति धेरै कक्षाहरु लिइसक्दा र विश्वविद्यालयहरुमा गइसक्दा पनि तेश्रोलिङ्गीहरुसँग उती साक्षातकार नहुनुको पछाडिको कारणका रुपमा यी पंक्तिहरुलाई प्रष्ट्याइन् । ‘तेश्रोलिङ्गीहरुलाई समाजले पहिचान नै गर्न चाहँदैन ।’उनले भनिन् ।
अमेरिकाको स्यान बर्नार्डिनो स्थित क्लायालीफोर्निया स्टेट युनिभर्सिटीमा अध्ययनका क्रममा मैले बडो चाख मानेर राजीतिक अर्थशास्त्रलाई ऐक्षिक विषयका रुपमा रोजेको थिएँ ।  वाणिज्य संकायको विषय भनि लिएको उक्त विषय सामाजिक विज्ञान तर्फको रहेछ । थाहा पाउँदा सम्म निकै बेर भइसकेको थियो । तर जे जति कुराहरु मैले सो कक्षामा सिके सायदै अन्त कतै मैले त्यति सिक्ने मौका पाएँ हुँला ।
राजनीतिक अर्थशास्त्र अन्तर्गतको सो कक्षामा लिङ्ग, जाती, रंगका आधारमा अर्थतन्त्र कति भेदभावपूर्ण छ भन्ने कुराको अध्ययन गरिरहँदा मलाई कतिपय कुरा नेपालका हकमा पनि लागु हुने पाएँ । हाम्रा समाजमा पनि निकै नै विभेदहरु विद्यमान छन् । ती विभेदहरुले समाजमा प्रगतिहरु छेकेको छ । हामीलाई मिलेर अघि बढ्न बाट रोकेको छ । महिलाप्रतिको सम्वेदनशीलता अनि पुरुषहरुप्रतिको पूर्वाग्रहका बारेमा निकै छलफल भयो । कतिपय ठाउँमा म भावुक भएर रुने स्थिति सम्म पनि पुगेको थिएँ । कक्षाबाट बाहिरिँदा मेरा मनमा हरेक बहसहरु चलि रहन्थे । महिलाको पक्षमा भएका बहसहरुमा प्राय विरोध गर्ने या फरक मत राख्ने हिम्मत कसैले गर्दैनन् । त्यस माथि महिला प्राध्यापिकाको कक्षामा त्यसो गर्नुको अर्थ आफ्नो खुट्टामा बञ्चरो हान्नु सावित हुन सक्छ । कतिपय साथीहरुले मलाई त्यसतर्फ सजग पनि गराउँथे । तर मेरा लागी त्यही एउटा मञ्च थियो जहाँ म मेरा पूर्वाग्रहहरु सच्याउने अवसर पाउँथे । तिनका बारेमा थुप्रै लेखहरु लेखि पनि सके । आगामी दिनमा पनि तिनले निरन्तरता पाउने छ ।
लैङ्गिक विभेद अन्तर्गतका कक्षामा हामीले तेश्रोलिङ्गी प्रति समाज कति पक्षपाती छ भन्ने कुराको पनि अध्ययन ग¥यौँ । अमेरिका जस्तो विकसित देशमा पनि त्यस किसिमको विभेद अझै कायम छ भने हाम्रो देशको त कुरै छोडौँ । हाम्रो समाजमा अझै सम्म लैङ्गिक विभेद भन्ने वित्तिकै महिला र पुरुषका कुरा मात्रै आउँछन् । तेश्रोलिङ्गीका बारेमा कसैले आवाज उठाउँदैन ।
मैले व्यक्तिगत रुपमा नेपाली तेश्रोलिङ्गीहरुका बारेमा जानेका कुरा भनेको उनीहरु निलहिरा समाजका छानामुनि एकतृत भएर रहेका छन् । त्यसका अलाबा तेश्रोलिङ्गीसँगको साइनो भनेको साथीभाइलाई जिस्काउँदा अपमानपूर्ण ढङ्गले उनीहरुलाई तेश्रोलिङ्गी भनि जिस्काउने गरेको थिएँ । काठमाडौँको लाजिम्पाट बसाइका क्रममा साँझपख धेरै अपरिचित अनुहारहरु देखिन्थे । उनीहरु देखि मलाई डर लग्थ्यो । कतिपटक त म दगुरेको पनि छु । ‘मानिसले जे कुरा बुझ्न सक्दैन त्यसलाई घृणा गर्छ’ भने जस्तै त्यो डर मात्रै नभएर केहि घृणा पनि थियो । लाजिम्पाट बसाइकै क्रममा एकसाँझ अबेर एक किराना पसलमा पस्दा एक जना तेश्रोलिङ्गी रक्सी को गिलास अघि राखेर चुरोटको सर्को तान्दै गर्दा पृष्ठभूमीमा ‘हजार सपनाहरुको माया लागेर आउँछ’ भन्ने बोलको गित बजिरहेको दृश्य अझै मनमा ताजा छ । मैले त्यहाँ आँखा जुधाएर हेर्न सकेको थिएन । अmभै पनि त्यो साँझको सम्झनाले धेरै सोच्न बाध्य बनाउँछ । तेश्रो लिङ्गीका बारेमा यसरी कक्षामै छलफल होला भनेर त मैले सोचेको पनि थिएन ।
बाम्बे सालसेडेको कथा पनि रहर भन्दा बढि करले सुनेको थिएँ । राजनीतिक अर्थशास्त्रको कक्षा लिइसकेपछि विभिन्न विषयमा प्रतिबेदनहरु बुझाउनु पथ्र्यो । बाम्बे सालसेडेको कार्यक्रमका सन्दर्भमा प्रतिवेदन लेख्ने भनेर म त्यहाँ गएको थिएँ । उनको कथा सुनेर अनि आँशु देखेर मनमनै प्रण गरेको थिएँ, ‘यदि कुनै दिन मौका मिल्यो भने तिम्रा लागी म उभिनेछु ।’
सो कक्षाको अन्तिम अन्तिम तिर प्राध्यापक स्वयं पनि तेश्रो लिङ्गी भएको कुरा उनले व्यक्त गरिन् । मैले कक्षामा मलाई तेश्रो लिङ्गीहरु प्रति डर लाग्छ भनेको कुरा त्यसदिन सम्झिए । मैले त्यो कुरा निकै पटक दोहो¥याइ सकेको थिए । अन्तिममा उनले त्यसो भन्दा म विलखबन्दमा परेँ । उनीसित मलाई कहिल्यै कुनै डर लागेको थिएन । तेश्रोलिङ्गीका बारेमा जान्ने मौका यहि हो सम्झेर मैले उनलाई तेश्रोलिङ्गीहरुको बीचको भिन्नता सोधेँ । ‘हामी आफू गलत शरीरमा भएको महशुस गर्छौ । त्यत्ति हो । यदि तिमी भोलि केटी भएर बिउँझियौ भने तिमी जुन अवस्थाबाट गुज्रिन्छौ हामी पनि त्यहि अवस्थामा गुज्रिन्छौँ । हामीसँग कुनै विकल्प हुँदैन । न त हामीले चाहेर नै यस्तो हुन्छ ।’
अमेरिकाको सर्बोच्च अदालतले समलिङ्गी विवाहलाई बैधानिकता प्रदान गरेको खुशीयालीमा फेसबुकमा धेरैले आफ्ना तस्वीरहरु इन्द्रेणी रंगले रंग्याए । यो क्रमलाई एक हप्तामै २ करोड ६० लाख फेसबुक प्रयोगकर्ताले पछ्याए । फेसबुक एकाएक रंगिन भयो । मैले पनि तस्वीर रंग्याएँ । त्यसपछि एकपछि अर्को गर्दै फेसबुकमा विचारहरु प्रकाशित हुन थाले । कतिले त्यसको विरोध गरे कतिले त्यसको समर्थन । विरोध गर्ने र गलत कुरा फैलाउनेहरुलाई आफूले जानेका र बुझेका कुरा सुनाएँ । अनि लाग्यो सायद अब ‘अदृश्य’ समुदायको बारेमा पनि बोल्ने बेला आएको छ ।
नेपालका हकमा समलिङ्गी विवाहले वैधानिकता पाइ सके पनि समलिङ्गीहरु प्रतिको सोच खासै सकारात्मक देखिँदैन । समलिङ्गीहरुलाई प्राय हाँसोको पात्र बनाइने र उनीहरुलाई अप्राकृतिक ठान्ने जमात अझै छ । धेरैलाई महिला र पुरुष बाहेकको अर्को पनि लिङ्ग हुन्छ भन्ने कुरामा विश्वास लाग्दैन । उनीहरु लिङ्ग र यौनी बाहेक अर्को के आकार होला र भन्ने सोच्न मै व्यस्त हुन्छन् । सायद हाम्रा समाजका तेश्रोलिङ्गीहरुले आफ्ना बारेमा धेरै कुराहरु समाजका सामु नल्याएका कारणले पनि उनीहरु प्रतिको अन्धविश्वसले यसरी जरा गाड्न सकेको हुनु पर्छ । आशा गरौँ त्यो स्थितिको अब अन्त्यो होस् ।
‘मलाई यहाँका समलिङ्गीसँग केहि गुनासो छैन । तर हाम्रा देशका समलिङ्गीहरु अति नै गर्छन् । मुखभरी सौन्दर्य प्रसाधनका सामग्रीहरु दल्छन् । अनौठा लुगा लाउँछन् । मलाई एकदमै रिस उठ्छ ।’ जोर्डन बाट आएका अबुल फौवादले आफ्नो धारण राखे ।

‘तिमीले जन्मलिँदा केटा भएर जन्मिन पाउँ भनेर कहिँ निवेदन गरेको थियो ?’
‘अँहँ’
‘अनि उनीहरुले चाहिँ आफ्नो लैङ्गिकता छानेर जन्मेका होलान् भनि कसरी सोच्न सकेको ?’ मेले भनेँ ।
‘यो मान्छे अनौठो छ ।’ ऊ बेलाबेला मलाई भनि रहन्छ ।
मेरो फेसबुकको आवरण चित्रका सन्दर्भमा राखेको उसको प्रश्न पछि यो बहस सुरु भएको थियो । मुस्लिम समाजमा तेश्रोलिङ्गीहरुलाई अझै गाह्रो छ । कतिपय मुस्लिम देशहरुले टिम कुक (तेश्रोलिङ्गी) एप्पलको प्रमुख कार्यकारि अधिकृत (सिइओ) नियुक्त हुने बित्तिकै आइफोनहरु बहिस्कार गरिएको थियो । त्यसका बाबजुद पनि आइफोनको छैटौँ संस्करणले कम्पनीका लागी सबै भन्दा बढि पैस थुपार्न सफल भयो । त्यसैले मैले उसको विचार जान्न खोजेको थिएँ । कम से कम अबका दिनमा तेश्रोलिङ्गीहरु प्रतिको उसको पूर्वाग्रहका बारेमा ऊ सोच्न बाध्य हुनेछ ।
मैले श्रद्धा गर्ने एकजना लेखकले तेश्रोलिङ्गी विवाह अप्राकृतिक भएको जिकिर गरे । त्यसैले पनि उनले समर्थन नजनाएको भनि भने ।
‘तेश्रोलिङ्गी के प्रयोगसालामा कृतृम तरिकाले जन्माइएका हुन् र ?’ मैले भनेँ ।
एकजना साथीको फोटो मुनितिर अर्काले ‘तेश्रोलिङ्गीहरुको हाम्रो धर्म ग्रन्थहरुमा कहिँ कतै चर्चा नगरेका हुनाले यी सबै अहिले आएका विकृति हुन्’ भनि लेखे ।
‘बृहन्नला अनि सिखण्डीका कथा तिमीले सायद भुलेछौ । कति धर्मग्रन्थको अध्ययन सकेर यो निर्णयमा पुग्यौ ?’ मैले लेखेँ ।
अर्जुनले उर्वशीको श्रापका कारण एक वर्ष वृहन्नला बनेर विराट राजाका दरबारमा उत्तरालाई नाच सिकाएको प्रसंग महाभारतमा छ । वृहन्नलालाई नपुंशक भनेर ग्रन्थाम भनिएको छ । त्यस्तै अम्बाले भिष्मपितामहका कारण सल्य राजासँग विवाह गर्न नसकेको अनि भिष्मपितामहलाई स्वीकार्न आग्रह गर्दा उनले पनि अस्वीकार गरेकोले अर्को जुनिमा सिखण्डी भएर जन्म लिएको प्रसंग पनि महाभारतमा छ । सिखण्डीलाई भिष्मपितामहले नारीका रुपमा हेरेकाले अर्जुनका अघि उनी उभिँदा भिष्मपितामहले शस्त्र भुइँमा राखेका छन् । त्यही मौकामा अर्जुनले भिष्मपितामहमाथि आक्रमण गरेर उनीमाथि विजय प्राप्त गरेको कथा महाभारतमा छ । भगवान विष्णुले मोहनी अवतार (स्त्रीको रुप धारण गरेको) लिएको चर्चा पनि हाम्रो धर्मग्रन्थहरुमा पाइन्छ । भगवान विष्णुको मोहनी अवतारको हामी पूजा गर्ने अनि समाजमा भएका माहनीहरुलाई चाहिँ सँधै उपेक्षा गर्ने ? अर्धनारेश्वरको चर्चा पनि हाम्रो धर्मग्रन्थहरुमा पाइन्छ । आधा नारी र आधा पूरुषको त्यो अवतारलाई जसरी बुझ्यो त्यस्तै अर्थ लाग्छ । खोज्दै गयो भने यसबाहेक पनि थुप्रै प्रशंग हाम्रा ग्रन्थहरुमा भेटिन सक्छन् । त्यसैले तेश्रोलिङ्गीहरु अहिलेको समाजले ल्याएको विकृति हो भन्नु सर्वथा गलत हो ।
क्यालेफोर्नियाका सामाजिक कार्यकर्ता एवं राजनीतिक कर्मी हार्भी मिल्कले भनेका थिए, ‘म सामान्य महिलापूरुषबाट पढाइएँ, मेरा आमाबाबु सामान्य महिलापुरुष थिए, म सामान्य महिला पुरुष भएको समाजमा हुर्किएँ । र पनि म समलिंगी हुँ । कसैको प्रभावमा परेमा मानिस समलिंगी हुने होइन ।’ उनी स्यानफ्रान्सिस्कोका पहिलो समलिंगी  पर्यवेक्षकका रुपमा पनि निर्वाचित भएका थिए । पछि उनको गोली हानी हत्या गरियो ।
तेश्रोलिंङ्गीहरुको अधिकारका लागी अमेरिकामा धेरैले ज्यान गुमाएका छन् । धेरै तेश्रोलिङ्गीहरु हिंसाका सिकार भएका छन् । त्यसैले सर्बोच्च अदालतले समलिङ्गी विवाहलाई मान्यता दिइनु अमेरिकी जनताको लागी एउटा ठूलो हर्षको विषय हो । त्यो हर्षोत्सवले फेसबुक रंगियो । नेपाली समाजमा पनि त्यसको चर्चाहरु सुरु भयो । आशा गरौँ भोलिका दिनमा पनि यी चर्चा र बहसहरुले निरन्तरता पाउने छन् । तेश्रोलिङ्गी मैत्रि समाजको निर्माणमा हरेकले सहयोग गर्नेछन् । उनीहरु उपेक्षा अनि हाँसोको पात्र बनाइने छैनन् । न त उनीहरु आफ्नो परिचय लुकाएर ‘अदृश्य’ भएर बाँच्न बाध्य नै हुनेछन् । अस्तु ।

Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला