टोपी दिवसमा धोतीका कुरा

जर्मनीको बसाइको सुरुवाती दिनमा नेपाली हुँ भन्दा नेपालका बारेमा जिज्ञासा राख्ने धेरै हुन्थे । कतिले चिन र भारतसँग जोडेर मेरो राष्ट्रियता परिभाषित गर्ने कोशिस समेत गर्थे । म सकेसम्म सबैलाई स्पष्टिकरण दिँदै हिँड्थे । देश र संस्कृतिको महत्व त्यति नै बेला मलाई अनुभुति भएको हो । देशमा छँदासम्म कसैलाई आफ्नो परिचय दिइरहनु नै परेन । देश बाहिर जाँदा सबैले त्यहि नै मागे । अरुलाई परिचय दिनु अघि आफै पनि जान्नु पथ्र्यो । त्यसेले ती दिनहरुमा मैले आफैलाई चिन्ने अवसर समेत प्राप्त गरेँ । देशका बारेमा धेरै कुराहरु जान्ने अवसर पनि त्यहि थियो ।
‘यो मेरो देशको धेरै परम्परागत पोशाक मध्येको एक हो । पहिले यसैलाई राष्ट्रिय पोशाक पनि भनिन्थ्यो । अहिले अन्य संस्कृतिको समेत सम्मानार्थ यो लगायत अन्य थुप्रै जातजातीका पोशाकलाई राष्ट्रिय पोशाक भनेर चिनिन्छ ।’
यति भनेर म परम्परागत पोशाकहरु पहिरिएका नेपालीहरुको चित्र सबैका सामु प्रस्तुत गर्थे । त्यहाँ मधेसी, गुरुङ, थारु, नेवारी, लगायतका समुदायको पहिरन लगाएका मानिसहरु हुन्थे । सबै मुख बाएर त्यो तस्वीरको अवलोकन गर्थे । उनीहरुले त्यो तस्वीरलाई देखेर व्यक्त गरेको अभिव्यक्तिले म मनमनै गदगद हुन्थे ।
‘गणतन्त्रले हामी नेपालीलाई कति सम्बृद्ध बनाएछ । हामीमाझको विविधतालाई स्वीकार गर्दा र सम्मान गर्दा हामी कति सम्बृद्ध सावित हुने रहेछौँ ।’ म मनमनै गम्थे । अनि धेसको अन्यविविधताका बारेमा बोल्न थाल्थे ।

‘एक सय २३ वटा छन् ।’
‘भाषा कि उपभाषा ?’ शिक्षिकाले प्रश्न राख्थिन् ।
‘भाषा ।’ म सगौरब भन्थेँ ।
‘प्रत्येक भाषासँग संस्कृति जोडिएको छ । प्रत्येक संस्कृतिसँग भेषभुषा पनि जोडिएको छ । त्यसैले यतिधेरै पोशाकलाई राष्ट्रिय पोशाक भनेको हो ।’ नेपालका बारेमा हरेक जानकारीले उनीहरुले मेरो राष्ट्रियता सदर गर्दै जान्थे । म आफ्नो पहिचान अनुमोदित भएकोमा गदगद हुन्थेँ । कक्षाको अन्त्यमा फोटो खिच्नेहरुको लाइन लाग्थ्यो । यो क्रमलाई मैले पछिल्ला अन्तर्राष्ट्रिय महोत्सवमा समेत निरन्तरता दिए । मसँग भएको दौरा सुरुवाल र टोपि लाएर केहि नेपाली खानाका साथ अनि नेपाली तस्वीरहरुका साथ सँधै भाग लिइरहेँ ।
गएको आइतबार अर्थात जनवरी एक तारिखका दिन नेपाल तथा विदेशमा विभिन्न र्कायक्रमका साथ टोपी दिवस मनाइयो । चौथो टोपी दिवस सम्म आइपुग्दा देशमा निकै परिवर्तनहरु भइसकेका छन् । हरेक कुराको पक्ष विपक्षमा हुने तर्कहरु यसपाली टोपी दिवसका सन्दर्भमा पनि भए । टोपी दिवस मनाइनुलाई स्वागत गर्ने एक थरि देखिए भने अर्काथरीले टोपीले एउटा निश्चित संस्कृतिको प्रतिनिधित्व गर्ने भएकोले टोपीबाट राष्ट्रियता परिभाषित गर्नु संकुचित विचारधार भएको भनेर भने । टोपि दिवसको औचित्यमाथि प्रश्न खडा गर्नेमा पूर्व प्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई पनि रहेका थिए । उनले संविधान र राष्ट्रिरय गानमा समेत बहुजातीयता र बहुसंस्कृतिलाई स्वीकारी सकेपछि पनि एकल संस्कृतिका कुरा कति जायज भनेर प्रश्न तेस्र्याएका थिए । उनको प्रश्नले केहि साथ पाएपनि धेरैले विरोध जनाएका थिए ।
तर्क साथ विरोध गर्नु एक हुन्छ बेतुकका कुरा गरेर गाली गलौजमा गएर विरोध गर्नु अर्को कुरा । फलानाले जे भने पनि म विरोध गर्छु भनेर कुरेर बसेकाहर पनि हुन्छन् । कोहि सबैले गाली गरि राखेको बेला मै पनि गाली गरौँ भन्ने खाले पनि हुन्छन् । आँखिर जति गाली गर्न पनि छुट भएका बेलामा न हो गाली गर्ने !
बाबुराम भट्टराईका कुरालाई पूर्वाग्रह रहित नजरले हेर्ने हो भने गलत मान्न सकिन्न । एक जमानामा हाम्रो राष्ट्रिय पोशाक दौरा, सुरुवाल र टोपि थियो । ०६२÷०६३ को जनआन्दोलन पश्चात बहुजातीय, बहुसांस्कृतिक र बहुभाषिकताको सम्मानार्थ दौरा, सुरुवाल र टोपी मात्रै नभएर देशभित्र लगाइने सबै जातजातीका पोशाकहरु राष्ट्रिय पोशाक हुन् भनेर भनि सकिएको छ । त्यसै कुरालाई राष्ट्रिय गानमा ‘बहुजाती, भाषा, धर्म–संस्कृति छ विशाल’ भनेर समावेश गरिएको छ । त्यस अर्थमा बाबुराम भट्टराईले टोपी दिवसको औचित्यका बारेमा प्रश्न खडा गर्नु खासै उदेक मान्नु पर्ने कुरा होइन । सांस्कृतिक विविधता मानिसकेपछि कुनै एक संस्कृतिसँग जोडिएको टोपिलाई राष्ट्रियतासँग गाँस्नु नेपालको नयाँ स्थापित बहुसांस्कृतिक राष्ट्रियताको भावनाको विपरित छ ।
टोपी बहस अलि बढि नै भइसकेपछि कोसेलीमा प्रकासित एक ‘नेपाली टोपीको इतिहास’ शिर्षकको लेखमा डा. माधवप्रसाद पोख्रेलले नेपाली टोपीको इतिहास खोतल्ने क्रममा ढाकाटोपी बंगलादेशबाट सेन राजाहरुसँगै मकवानपुर राज्य(पाल्पा) हुँदै भित्रिएको र काचोर्पी टोपी टर्कि र कश्मिरबाट नेपाल पसेको भनेर टोपीको जरो खोतलेका छन् । सोही लेखले पनि टोपी र राष्ट्रियताको बीचको साइनोको आयु बाहिर ल्याएको छ । त्यसैले टोपी दिवस मनाउनु राष्ट्रप्रेम हुने र त्यसको विरोध गर्नु वा त्यसमा भएको कम्जोरी र असमावेशी चरित्रमा आँैला ठड्याउनु अराष्ट्रिय हुने कुरा उति तर्क संगत देखिँदैन ।
टोपीलाई आधुनिक समयमा धेरैले अपनाइ सकेको भएपनि सबैले अपनाएका छैनन् । यदि उनीहरुले अपनाउन चाहँदैनन् भने पनि त्यो उनीहरुको स्वतन्त्रताको विषय हो । टोपी अपनाउनेहरु जत्तिकै टोपी नअपनाउनेहरु पनि राष्ट्रपे्रमी हुन् । तर आफूले गर्ने गतिविधि राष्ट्रिय भन्ने र अरुले गरेका जति सबैमा राष्ट्रद्रोह देख्नु संकिर्ण मानसिकता राख्नु हो ।
टोपीले तराईलाई कत्तिको प्रतिनिधित्व गर्छ भन्ने कुरामा एकजना मधेसी मित्रले सामाजिक सञ्जालमा लेखेका थिए, ‘म सम्झन्छु, हाम्राृे गाउँको फोेटो स्टुडियोमा एक नेपाली टोपी हुने गथ्र्यो ।’ उनले त्यसको अर्थ उति खुलाउन नचाहे पनि मैले यसलाई आफ्नै किसिमले अथ्र्याउने चेष्टा गरेको छ ु । नागरिकताका लागी ढाका टोपी लाएको फोटो अनिवार्य हुने भएकोले सो टोपी स्टुडियोमा राखिएको हुनु पर्छ । अर्थात दैनिक जीवनयापनका क्रममा टाउकामा गम्छा बाँध्ने र धोती या लुङ्गी लाउनेले पनि नागरिकताका लागी फोटो खिच्नु पर्दा ढाका टोपी लाएको फोटो अनिवार्य हुनुपर्ने ।  मानौ टोपी लाउनु नेपाली हुनु हो । यो कुरालाई अलि गहिरिएर विचार गर्ने हो भने टोपी संस्कृति किन संकिर्ण छ भनेर बुझ्न गाह्रो हुँदैन ।
हुन त यहाँ अन्य संस्कृतिको उदाहरण पनि प्रस्तुत गर्न सकिन्थ्यो तर अहिले धोती र टोपीको बहस निकै चर्केको हुनाले त्यही धोती संस्कृति बोकेको मधेसी कोण बाट यो घटना अथ्र्याउने प्रयास गरिएको हो । सायद प्रारम्भमा यी सबै कुराहरु सोचिएन होला । टोपी दिवस आयोजकले पनि धोतीको आस्थामाथि चोट पु¥याउने उद्देश्यका साथ यसको आयोजना गरेका होइनन् होला । तर यदि कसैले केही कमी र कम्जोरी औँल्इाइ दिन्छ भने त्यसलाई पूर्वाग्रह रहित भएर सोच्नु जरुरी हुन्छ । कतिपय स्थितिहरुमा हामीले नचाहेरै पनि अरुका भावनामा ठेस पु¥याइ रहेका हुन्छौँ । त्यस्ता बखतमा कसैले मेरो मनमा ठेस पुग्यो भन्ने गुनासो गर्दा या यसले फलानालाई ठेस पु¥याउँछ भनेर औल्याउँदा उसको खेदो खन्ने र अन्धाधुन्ध आलोचना मात्रै गरिरहनु भन्दा त्यसलाई फरक कोणबाट हेरिनु जरुरी हुन्छ ।

कतिपयले रामवरण यादवले टोपी लगाएको कुरा पनि झिके र कतिले मुरलीधरको धोतीमाथि टोपी लाएको तस्वीर पनि बाँडे । मधेसलाई पनि टोपीले प्रतिनिधित्व गर्छ भनेर निष्कर्ष निकाल्न यिनै उदाहरणहरु पर्याप्त भए । तर तिनैले के भुले भने अझै पनि मधेसी पात्र ‘मिठाइलाल यादव’को चरित्रमा ढल्नका लागी सन्दिप क्षेत्रीहरु टाउकामा गम्छा बाँधेर प्रस्तुत हुन्छन् । सायद उनीहरुले पनि बुझेका छन्, मधेस टोपीमा भन्दा गम्छामा बढि झल्कन्छ । त्यसो हुनु नराम्रो होइन तर भएको विविधतालाई अस्वीकार गर्नु र कुनै एक भेषभुषालाई बाध्यकारी बनाइनु वा सबैको प्रतिनिधि भनेर तोकिनु आजसम्म देशमा भएको परिवर्तनका लागी ज्यान गुमाउनेहरुको योगदानको अवमुल्यन गर्नु हो । त्यसैले भोलिका दिनमा टोपी दिवस मनाइँदा यी कुराहरुको ख्याल गरियोस् । सकिन्छ भने टोपी दिवसका दिनै राष्ट्रिय पोशाक दिवस मनाइयोस । सबैले फरक जातजाती र संस्कृति झल्काउने भेषभुषामा आफूलाई ढालेर आपसी सद्भाव बढाउने बाटोमा लागुन । लेखको सुरुवातमा उल्लेख गरेझँै विविधता साँच्चै नै सम्पन्नताको प्रतिक हो । हामीले हाम्रो संस्कृतिक सम्पन्नताको सम्मान गर्ने र त्यसको जगेर्ना गर्न पछि पर्नु हुँदैन ।  

Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला