खलंगामा हमाला: खलंगामा हमला
मध्यबजार टुँडिखेलमा ४६ वटा शव लस्करै राखिएका थिए ।
एकजना प्रमुख जिल्ला अधिकारी, सैनिक चारजना, २० प्रहरी, १९ माओवादी र दुई स्थानीय गरी जम्मा ४६ जनाको ज्यान गएको थियो ।
दन्त्य कथाहरु पढ्दापढ्दै पुस्तक संसारमा छिरिएको हो । पुस्तकहरुममा पनि आख्यानात्मक पुस्तकहरु प्राथमिकतामा पर्थे । समाजका विभिन्न आयामहरु आख्यान मार्फत जान्न पाउनु र कल्पनाको संसारमा हराउन पाउनुले आख्यानात्मक कृतिको अम्मली बनाएको थियो । अलि बयस्क हुँदै गएपछि फाट्टफुट्ट गैह्र आख्यानात्मक कृतिहरुमा पनि आँखा पर्न थाल्यो । अचेल गैह्र आख्यानका कृतिहरु नै प्राथमिकतामा पर्न थालेका छन् । सन् २०१८ को पहिला ३ महिनामा पढि भ्याएका २१ पुस्तक मध्ये ११ पुस्तक गैह्र आख्यानात्मक छन् । खलंगामा हमला पनि तिनै गैह्र आख्यानात्मक कृति मध्यको एक बन्यो ।
माओवादी द्वन्द्वका बेलामा हुर्किएको भए पनि द्वन्द्वका धेरै कथाहरु पढ्न नपाएको थकथक छ । सरकारी संचार माध्यमको एकतर्फी पूर्वाग्रहले भरिएका समाचारहरु मात्रै सुनेर हुर्किएको मलाई सकेसम्म निश्पक्ष भएर लेखिएका द्वन्द्वकालीन घटनामा आधारित पुस्तकहरु पढ्ने तिर्सना मोहन मैनालीको माण्ठा डराएको जुगले जगाएको हो । मैनालीको पुस्तक नै त्यस्तो पुस्तक थियो जसले सरकारी पक्षले गरेको गैह्रन्यायिक हत्याका बारेमा तथ्यमा आधारित रहेर थुप्रै कुरा उल्लेख गरेको थियो । बाजुराको पाण्डुसैनमा ८ जना र कालीकोटको कोटबाडामा ३५ जनालाई माओवादीको आरोपमा अन्धाधुन्ध मारेको घटना पढेपछि माओवादीलाई सँधै नकारात्मक दृष्टिले हेर्ने म सरकार प्रति पनि शङ्काको दृष्टिले हेर्न थालेको थिएँ । साथै द्वन्द्वकालका अन्य घटनाहरुसँग जोडिएका किस्साहरु पढ्ने समेत जाँगर चलेको थियो । खलंगामा हमला पढ्दा पनि त्यस्तै केहि जानकारीहरु आउने अपेक्षा मनमा थियो ।
‘खलंगामा हमला’ सुरक्षित मातृत्वको कार्यक्रम लिएर जुम्ला पसेकी राधा पौडेलले त्यहाँ काम गर्दा गरेको अनुभव र उनको बसाइकै क्रममा खलंगामा भएको माओवादी आक्रमणको घटनाको सेरोफेरोमा लेखिएको पुस्तक हो । राधा पौडेलले जुम्लालाई कार्यक्षेत्र बनाउन खोजदा भोगेको चुनौतीहरुबाट पुस्तक सुरु भएको छ । एक त विकट ठाउँ त्यसमाथि माओवादी जनयुद्धका कारण कसैले जान नरुचाउने ठाउँमा आफ्नो स्थायी जागिर छोडर जानमा उनको पितासँगको वाल्यकालको स्मृति प्रेरक बन्यो । आफू भन्दा कम्जोरलाई सँधै सहयोग गर्नुर्छ भनेर पाएको संस्कारले नै उनलाई पछि तिनै पितालाई जुम्ला जाने अनुमति दिन राजी गर्ने साहस प्रदान ग¥यो । पिछडिएको ठाउँमा महिला अधिकृतिका रुपमा काम गर्दाको चुनौती र बेलाबेला निरुत्साहित हुँदाको अनुभव पनि किताबमा पढ्न पाइन्छ ।
हुनलाई नेपाली भाषा उत्पत्तिको थलो हो । यार्सागुम्बा देखि लिएर सिलाजीत लगायतका जडिबुटिले पनि भरिपूर्ण छ । हिमाली सौन्दर्यको त कुरै नगरौँ । त्यस्तो श्रोत साधनले सम्पन्न ठाउँ पनि यातायातका साधनले नजोडिँदा अझै पनि देशको अविकसित क्षेत्रको रुपमा परिचित भइ रहेको छ । राज्यले त ठग्यो ठग्यो तर देशको मुहार फेर्न जनयुद्धमा लागेकाहरुको तारो पनि यस्तै दुर दराजका ठाउँहरु भए । बल्ल तल्ल पुगेका सरकारी कार्यालय र धेरथोर सुविधा पनि नष्ट भए । द्वन्द्वको अन्त भइसके पछि पनि त्यहाँको विकास सदरमुकाम केन्द्रित मात्रै रह्यो । त्यहि विडम्बनाका कथाहरु किताबमा भेटिन्छ ।
२०५९ कात्तिक २८ गते रातभर भएको जुम्ला आक्रमणको पूर्व सन्ध्या र त्यसपछिका दिनहरुको विवरण निकै आहत बनाउँछ । मृत्युको मुखमै पुगेकाहरुको थुप्रै कथाहरु पुस्तकमा पढ्न पाइन्छ । एकातिर बम आक्रमण गरि गरी मान्छे मारेका घटनाहरुमा माओवादी खलपात्र देखिन्छन् भने अर्कातिर ठाउँठाउँमा उनीहरुले देखाएको दयाको प्रसङ्गले सोच्न बाध्य समेत बनाउँछ । घर खाली गरेर बम पड्काएको, लुटेको बिस्कुटबाट पनि दुई टुक्रा बिस्कुट लुटिनेलाई नै खान दिएको, महिला छापामारले उदारता देखाएको लगायतका प्रसंगले माओवादीलाई खलपात्र मात्रै रहिरहन दिँदैनन् । रातभर रुख चढेर बाँचेका कथा अनि बाँच्न भनि बंकरमा पस्दा धुँवाले नै निसास्सिएर मरेका कथाले कहिले खुशी त कहिले बिक्षिप्त बनाइ रहन्छ ।
‘जाडो भयो, बाक्लो कपडा केही छ ।’
दिदीले भुइँमा लस्करै सुतिरहेका तीनजना छोराछोरीलाई देखाउँदै जवाफ दिइछन्, ‘यी बालखले ओढेका कपडा छन्, त्यही दे भन्नुहुन्छ भने दिन्छु ।’
बच्चाहरुलाई देखेर एकजनाले भनेछ, ‘यिनकै भविष्यको निम्ति लडिरहेका छौँ, यिनलाई नै नांगो पार्न त भएन नि ।’
पातलो पुस्तक र रुचिको विषयमा लेखिएकोले यो पुस्तक हातमा परेदेखि राख्ने मन भएन । घमाइलो मौसममा घुमघामको अवसर जुटेका बेलामा पनि किताब झोलामै हालेर हिँडेको थिएँ । तर ठाउँठाउँमा भेटिएका भाषगत त्रुटिहरुले भने नेपाली पुस्तक प्रकाशकहरुले यति धेरै प्रगति गरि सक्दा पनि सम्पादनका हिसाबले अझै पनि व्यवसायिकता देखाउन नसकेकोमा अलि नरमाइलो भने लागी रह्यो । त्यस्तै पुस्तकहरुमा उल्लेख हुने तथ्याङ्कहरुको जाँच हुने परिपाटी पनि नबसेकोले होला खलंगा आक्रमणको सम्पूर्ण तस्वीर पनि भेटिएन । घटनामा मारिएकाहरुको संख्या जस्तो कुरामा नै तलमाथि भएको देखियो । पौडेलले पुस्तकमा उल्लेख गरेको संख्या भन्दा मैनालीले सोहि घटनामा मृत्युहुनेहरुको संख्या धेरै देखिन्छ ।
०५९ कात्तिक २८ गतेको जुम्ला सदरमुकाम खलङ्गामा आक्रमण गर्दा प्रजिअ, प्रहरी, सेना गरी ४४ जनाको ज्यान लिएको लगायतका घटनाहरु पुस्तकमा पढ्न पाइन्छ । खलङ्गा आक्रमणका क्रममा जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय, कारागार, कृषि विकास बैंक, वाणिज्य बैंक, अदालत, हुलाक समेत २४÷२५ वटा सरकारी कार्यालय खण्डहर बन्न पुग्यो । माओवादी स्वयंका पनि ५७ जनाको लास यत्रतत्र फेला प¥यो । माओवादी आक्रमणमा परेका हरेक जिल्ला सदरमुकामको स्थिति लगभग यस्तै भए । – मोहन मैनालीको माण्ठा डराएको जुगमा आधारित विवरण
पुस्तकहरुले दुईखाले प्रभाव पार्छन् । पहिलो प्राभव त्यसको विषयवस्तुले हुने गर्छ भने दोश्रो प्रभाव त्यसले पुस्तकमा समावेश विषयवस्तुका बारेमा थप जिज्ञासा थपि दिन्छ । माण्ठा डराएको जुगले जन्माएको जिज्ञासाले खलंगामा हमला पढायो । खलंगामा हमला पढ्दा आफै पनि कैलाली सदरमुकाम धनगढीमा आक्रमण हुँदाको रातको घटना सम्झन पुगेँ । रातभरी डरले सबैजना एकठाउँ जम्मा भएर खाट मुनी बसेर काटेको सम्झना भयो । जुम्लाको तुलनामा धनगढीमा खास त्यस्तो क्षती भएन । तर डर त डरै हो ।
द्वन्द्व सकेर माओवादी राष्ट्रिय राजनीतिमा आएको पनि यत्रो भइसक्यो । द्वन्द्वमा ज्यान गुमाउनेको आधिकारिक संख्या सहितका गैह्र सरकारी निकायका प्रतिबेदन सार्वजनिक भएपनि सरकारी निकायबाट द्वन्द्वका सम्पूर्ण घटनाको विवरण सहितको त्यस्तो आधिकारिक प्रतिबेदन कम से कम मैले पढ्न पाएको छैन । बेपत्ता पारिएका भनिएकाहरुको समेत थाह पत्तो छैन । द्वन्द्वकालीन घटनाको छानविनका कुरा पनि त्यस्तै छ । इन्सेकको तथ्याङ्क अनुसार १३, २२६ जनाले द्वन्द्वका कारण ज्यान गुमाएका छन् जसमा राज्यद्वारा मारिनेको संख्या नै करीब ८ हजार छ । १००६ जना बेपत्ता भनिएकामा ८ सय भन्दा बढि राज्यले नै बेपत्ता पारेको छ । तर धेरै प्रकाशित पुस्तकहरुमा १७ हजार देखि २० हजारको संख्या उल्लेख गरिन्छ । यसमा राज्यका निकायहरु मौन छन् । अनाहकमा तथ्याङ्क बंग्याएर नमरेका नेपाली हल्लै हल्लामा मारिनुले भूपि शेरचनले दिएको हल्लै हल्लाको देशको उपमा सहि सावित हुन्छ ।
रुवाण्डामा सय दिनमा ८० लाख भन्दा बढि मारिँदाको घटनाको त छानविन सहित अदालती कारवाही गरेर देश अघि बढि सक्यो हाम्रो १५ हजार भन्दा कम ज्यान गएको घटनाहरुको पनि छिनोफानो भइसकेको छैन । मानवअधिकार उल्लंघन भएका भनिएका २००० जनाको मुद्दा अझै टुङ्गिएको छैन । सर्बोच्चले दोषी करार गरेपश्चात पनि खुल्ला हिँडडुल गर्ने वालकृष्ण ढुङ्गेलहरु दलहरुबीचको आपसी रीसका कारणले मात्रै जेलमा जाकिन्छन् तर उस्तै प्रकृतिका घटनाहरु त्यसै छन् ।
आशा गरौँ आगामी दिनमा आख्यान र गैह्र–आख्यानात्मक पुस्तकहरु मार्फत द्वन्द्वकालीन घटनाहरुको थप वास्तविक रुप पुस्तकहरुमा पढ्न पाइयोस् । सबैलाई चित्त बुझ्ने तवरले द्वन्द्वकालीन घटनाका पिडितलाई न्याय मिलोस् ।
कृपया यस्तै लेख रचना पढ्नका लागी फेसकुबमा पछ्याउन सक्नु हुनेछः
फेसबुकः https://www.facebook.com/notionsNemotions/
माेहन मैनालीकाे पुस्तकमाथिकाे प्रतिकृया यहाँ हेर्न सक्नु हुन्छः माण्ठा डराएको जुग
Comments
Post a Comment