स्थानीय निर्वाचनका सुरूवाती नतिजाले दिएका सन्देशहरू

अनेक शङ्का र उपशङ्काका बीच प्रथम चरणको स्थानीय निर्वाचन सम्पन्न भएको छ । छिटपुट घटना बाहेक चूनाव शान्तीपूर्ण नै सम्पन्न भएको छ । ७० प्रतिशत सहभागीताका साथ सम्पन्न यो स्थानीय निर्वाचनले जनताहरु राजनीतिक निकासका लागी आतुर भएको संकेत समेत गरेको छ । ५० लाख भन्दा बढि मतदाता विदेशमा रहेको स्थितिमा पनि यो किसिमको जनसहभागीता एकदमै उत्साह जनक मानिनु पर्छ । चुनाव सकिएसँग चुनावका प्रारम्भिक नतिजा पनि बाहिरिन थालेका छन् । ती नतिजासँगै विभिन्न अड्कलबाजीहरु काटिन सुरु भएको छ । चुनाव अघिको तालमेल र राजनीतिक दलहरुमाथि लागेको आक्षेपहरुको असर निर्वाचन परिणाममा प्रष्टै देखिन्छ ।
चुनाव हुनु अघिका दिनहरुमा प्रहरी महानिरिक्षक पदको विवाद जुन हदसम्म चुलियो र त्यसलाई जुन किसिमले राजनीतिकरण गरियो त्यसले कांग्रेस र माओवादी केन्द्रलाई निकै हदसम्म आलोच्य बनाएको थियो । सर्वोच्च अदालतले समेत प्रहरी नियमावलीको फरक व्याख्या गरी नियमावलिमा नभएको विधिको प्रयोग गरेर अमुक व्यक्तिलाई नै महानिरिक्षक बनाउनु पर्ने आसयको फैसलाले सत्तासीन दलहरुलाई उनीहरुको कार्यक्षेत्रमा न्यायालयको हस्तक्षेप भएको अनुभुति गराएको थियो । स्मरण रहोस् नियमावलीमा प्रहरी महानिरिक्षक तोक्ने आधारहरु दिए पनि कार्य सम्पादन मुल्याङ्ककनको कुरा उल्लेख छैन । त्यसको लगत्तै प्रधान न्यायाधीस सुशीला कार्की माथि लगाइएको महाभियोगको बचाउ गर्न सत्ताधारीले चुनावमा प्रतिकुल असर पर्ने गरी कार्यपालीका र न्यायालयबीचको विवाद टुङ्गयाउन चालिएको भन्ने तर्क गरेका थिए । मआन्यायाधिबक्ता रमणकुमार श्रेष्ठले त उपेन्द्र अर्याल भन्दा १३ महिना वरिष्ठ पार्वती थापा मगरको मामिलामा साढे तीन वर्ष वितिसक्दा पनि अदालतमा पालो नआउनु तर सिलवालको सन्दर्भमा दुई घण्टा भित्र आदेशहरु आउनु,  निवेदनको पेशी नै नचढी अन्तरिम आदेश जारीहुनु लगायतका घटनाले अदालत पनि दुधले धोएको अवस्थामा नरहेको बताएका छन् । अर्कोतिर सुशीला कार्की माथिको महाभियोगलाई प्रतिपक्षले भ्रष्टाचारी माथि कारवाही रोक्न र प्रहरी महानिरिक्षक नियुक्तिमा गरिएको हस्तक्षेपको बदलामा लगाइएको महाभियोग भनेर अथ्र्याउँदा जनताबाट सत्तासाझेदार दलहरु निकै आलोच्य भएका थिए । अझै तिनै घटनाहरुका बीच गृहमन्त्रीको राजीनामा आउनु अनि राप्रपाले सरकार छाड्नुले चुनाव हुँदैन कि भन्ने आशङ्का अन्तिम अवस्था सम्म कायम थियो । गच्छेदारको अन्तिम अवस्थामा सरकारमा प्रवेशले सत्ताराजनीतिको अर्को कुरुप पाटोलाई बाहि¥याएको थियो ।
यी सबै घटनाक्रमले सत्तामा रहेकाहरुका लागी नकारात्मक र सत्ता बाहिर रहेका अनि नयाँ उदयीमान राजनीतिक दलहरुका लागी राम्रो माहोल बनाएको थियो । त्यसैेले पनि चुनावका प्रारम्भिक नतिजाले नेपाली जनता सबै परम्परागत पार्टीकै भरमा नरहेको कुरा तर्फ सङ्केत गर्दछ । थोरै भए पनि परिवर्तनको पक्षमा रहेका जनताहरुले आगामी दिनमा नयाँ राजनीतिक दलहरुलाई उनीहरुका फरक मुद्दा बोकेर जनतामाझ परिक्षणका लागी आउन हौस्याएको हुनुपर्छ । परिवर्तनका लागी खुला मानसिकताको विकास हुनु धेरै नै सकारात्मक कुरा हो । पुराना पुस्तामा त्यो नदेखिए पनि नयाँ पुस्ताले त्यस किसिमको भावनाका साथ अघि बढ्नुले हाम्रो समाजको उन्नत भविष्य तर्फ इंगित गर्द छ । साथै सत्तासीन हुनु मात्रै निर्वाचन जित्नका लागी आगामी दिनमा पर्याप्त नहुने नजीर पनि यो स्थानीय निर्वाचन बन्न सक्ने प्रारम्भिक अनुमान लगाउन सकिन्छ ।
यो निर्वाचनको अर्को रोचक कुरा भनेको निर्वाचन अघिको राजनीतिक सहकार्यको हो । फरक विचार र सिद्धान्तका राजनीतिक शक्तिहरु एकआपसमा मिलेर जुन किसिमले राजनीतिको मैदानमा ओर्लिए त्यसले पार्टीका कट्टर समर्थकहरुलाई भने निराश पारेको प्रष्ट देखिन्थ्यो । टाउकाको मोल तोक्ने र टाउकाको मोल तोकिनेको गठजोड होस् या पञ्चायतमा दमन गर्ने अनि पञ्चायत विरुद्ध दशौँ वर्ष जेल जीवन विताउने जो सुकैको गठजोड पनि फलिफाप भएको देखिएन । यसको प्रमाणको रुपमा पार्टीले समर्थन गरेको उमेद्वारको साटो उमेदवार नै खडा नगरिएको पार्टीको चिन्हमा छाप लगाउनुलाई लिन सकिन्छ । सायद यसले भोलिका दिनमा राजनीतिक दलहरु बिचको गठजोडका लागी राम्रो नजिर बनाउने छ । आफू अनुकुल परिणामका लागी भनेर सिद्धान्त नमिलेकाहरुसँगको सहकार्य जनतालाई ग्राह्य छैन भन्ने कुरा बुझेर पार्टीहरुले सिद्धान्तनिष्ठ राजनीतिमा लाग्न अभिप्रेरणा पाउन सक्नु ती उमेद्वार नभएको पार्टीको चिन्हमा मतदान गर्नेको आवाजको कदर हुने देखिन्छ ।
त्यति मात्रै होइन मानिसहरु दल विशेष भन्दा व्यत्ति विशेषलाई समेत महत्व दिन लागेको कुरा यस निर्वाचनका प्रारम्भिक परिणामले अगाढि ल्याएको छ । साझा पार्टीका किशोर थापालाई दिएको मत र साझा पार्टीकै निरुपमा यादवलाई दिएको मतमा निकै अन्तर छ । त्यसका अलावा विवेकशीले पनि साझा पार्टीबाट उप–मेयर पदमा उठेकी निरुपमा यादवलाई निःशर्त समर्थन गर्ने जनाएको थियो । मतदाताले त्यसो गरेको भने देखिएन । नभए रञ्जु दर्शना र किशोर थापामा मत बाँडिए पनि निरुपमा यादवका लागी दुबै पार्टीलाई मत दिनेले समर्थन गरेको देखिनु पर्दथ्यो । तर त्यस्तो कदापी देखिएन । यसको सकारात्मक सन्देश भनेको भोलिका दिनमा राजनीतिक दलले उमेद्वार छनौट गर्दा व्यक्ति विशेषको योग्यता र क्षमता अनि जनमानसमा ती उमेद्वार प्रतिको छविलाई पनि विशेष ध्यान दिनु पर्ने देखिन्छ ।
यो चुनावको अर्को उपलब्द्धि भनेको यसले धेरै जना व्यक्तिको राजनीतिक आस्था सतहमा ल्याएको छ । विशेष गरी निश्पक्ष पत्रकारिताको अपेक्षा गरिएकाहरु पनि पार्टी कार्यकर्ता भन्दा बढि उग्र प्रचारबाजीमा लागेका उदाहरणहरु यसपाली देख्न पाइए । पत्रकारले राजनीतिक आस्था नै बोक्न नपाउने भन्ने पक्कै पनि होइन । राजनीतिक आस्था बोक्नुको अर्थ देख्नेलाई लाजै लाग्ने गरेर कुनै पार्टीको समर्थन र अर्को पार्टीको विरोध गरेर नेता रिझाउने पत्रकारिता गर्नु पनि सायद उचित होइन । यति सम्म कि मौन अवधिमा पनि दोहोरो अर्थ लाग्ने गरी कुनै एक पार्टीको प्रचार प्रसार गर्नमा समेत धेरै पत्रकारहरु उद्दत देखिन्थे । अरुले आचार संहिता पालना गरे नगरेको पैरवी गर्नुपर्ने देशको चौथो अंग मानिने पत्रकारिता क्षेत्रका जिम्मेवार व्यक्तिहरु बाट पनि यस किसिमको गतिविधिले पत्रकार र पत्रकारिता प्रतिको सम्मानमा समेत कमी आउने देखिन्छ ।

नेपाली राजनीतिमा परिवारवादकाे असफल प्रयाेग पनि यसपालीकाे स्थानीय निर्वाचनकाे प्रारम्भिक नतिजामा देखिन्छ। प्रचण्ड पुत्री रेणु दाहाललार्इ जिताउन र अाफ्नाे अाधार इलाका खडा गर्न प्रचण्डले गरेकाे प्रयास उति सफल देखिएकाे छैन । रेणु दाहाललार्इ जिताउनै दुर्इ विपरित सिद्धान्त बाेकेका पार्टिकाे सहकार्य गरिएकाे भन्ने अाराेपहरू बाहिर अाउँदै गर्दा त्यस्ताे सहकार्यले अपेक्षित नतिजा ल्याउन नसकेकाे देखिन्छ । पार्टिगत याेगदान पनि खासै नभएकाे र बाबुकाे पेवाका रूपमा पाएकाे टिकट प्रति असन्ताेषका स्वरहरू स्वयं माअाेवादी कार्यकर्ताहरू माझ पनि चर्किएकाे थियाे । तालमेलले न त कांग्रेस न त माअाेवादी केन्द्र, कसैलार्इ पनि नसघाएकाे दुबै पार्टिका उमेदबारहरूले पाएकाे मतकाे अन्तरबाट अनुमान गर्न सकिन्छ ।

समग्रमा स्थानीय निर्वाचनले सकारात्मक सुधारका थुपै्र संकेतहरु दिएको छ । परिणामका सन्दर्भमा धेरै पूर्वानुमान लगाउनु अहिलेको लागी सहि हुने देखिँदैन । प्रारम्भिक अवस्थामा उपत्यकाको मतगणताका क्रममा साझा र विवेकशील अघि देखिएका भएपनि लेख लेख्दै गर्दा एमालेको अग्रता कायम भइसकेको छ । २ लाख भन्दा बढि मत खसेको ठाउँमा २०० मत गन्दाको परिणामलाई हेरेर यसै होला भन्न सकिने अवस्था छैन । तर जेहोस् उनीहरुको उत्साह जनक सुरुवातलाई भने नकार्न सकिन्न । नयाँ दलहरु एक ठाउँमा भएको भए परिणाम अझै नयाँ दलहरुको पक्षमा हुने देखिन्छ । यस्तो अवस्था हुनु भनेको आधा सताब्दी भन्दा लामो राजनीतिक इतिहास बोकेका दलहरुको लागी एउटा ठूलो पाठ हो । आशा गरौँ सबैले आफ्ना कमी र कम्जोरीहरु पहिल्याउने छन् र आगामी दिनमा अपेक्षित सुधारहरुका साथ अघि बढ्नेछन् । जय देश !

Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला