बलात्कारको बिऊः ‘प्रसाद’ कि अभिशाप ?




हालसालै बजारमा आएको ‘प्रसाद’ चलचित्रले बलात्कारबाट बसेको गर्भ प्रसाद कि अभिशाप भन्ने विषयमा नयाँ बहस सुरु गरेको छ । एकतर्फी बहस भइरहेको हालको सन्दर्भमा फरक विचार राख्न मन लाग्यो । ‘प्रसाद’ चलचित्र लेखक र निर्माताहरुको मायाले भन्दा पनि ‘प्रसादलाई’ अभिशाप करार गर्ने क्रममा व्यक्त विचारहरुसँगै बाहिर आएका विवादास्पद कुराहरुले यो आलेख जन्माएको हो । चलचित्रलाई बलात्कार जस्तो जघन्य अपराधलाई पनि सामान्यीकरण गर्न खोजेको दलितलाई कम्जोर पात्रका रुपमा चित्रण गरेको लगायतका थुप्रै आरोपहरु लागेका छन् । चलचित्रको प्रचारसामग्री र चलचित्रका विषयमा लेखिएका बहसलेनै चलचित्रको पुरै कथा बाहिर छताछुल्ल पारि सकेका छन् । तर पनि कथामा सकेसम्म नगइ बलात्कार प्रतिको चलचित्रको दृष्टिकोणमै अडेर यो आलेख पुरा गर्ने प्रयास गर्नेछु । मलाई लाग्छ कसैको व्यक्तिगत धारणाका आधारमा कुनै चलचित्रप्रतिको मानसिकता बन्नु भन्दा पनि सबैले आफ्नो धारणा बनाउनु उचित हुन्छ । म अरु दर्शकहरुबाट उनीहरुको धारणा बनाउन पाउने अधिकार खोस्न चाहन्न । त्यसैले यो आलेखका विचारलाई पनि नितान्त व्यक्तिगत नै लिइदिन अनुरोध गर्दछु ।





प्रसाद मार्फत पत्रकार समेत रहेका लेखक सुशील पौडेलको संवेदनशीलतामा प्रश्न गर्दै लेखिएको एउटा लामो आलेखमा चलचित्रमा देखाइए जस्तै अवस्थासँग तुलना गर्न मिल्ने परिस्थितीबाट बसेको गर्भका विषयमा बनेको विभिन्न चलचित्रहरुको उल्लेख थियो । ती चलचित्रमध्ये एक हो अंग्रेजी चलचित्र ‘रुम’ । एमा डोनगह्युद्वारा लेखिएको उपन्यासमा आधारित र उनकै लेखन रहेको चलचित्र ‘रुम’ एक यौन बन्धकको रुपमा रहेकी जोयको कथा हो । जोयलाई नियमित वलात्कार गरिरहने र एक सानो कन्टेनरमा थुनेको ओल्ड निकबाटै अनपेक्षित रुपमा रहन गएको गर्भबाट जन्मेको ज्याक जोयको जीवनको आशा बन्छ । ज्याकको सुरक्षा प्रति ऊ धेरै नै सचेत देखिन्छे । उसले आमाहुनुको हरेक दायित्व पुरा गरेकी छे । ज्याक कसको सन्तान हो भन्ने कुराले उसको मातृत्वमा कुनै असर गरेको छैन । ज्याकको अनुहारले जोयलाई आफ्नो बलात्कारीको अनुहार पनि सम्झाएको छैन । ज्याकका लागी उसले हर तरहले लडेकी छ । तर पछि अनेक किसिमले ज्याक बाहिरको संसारमा प्रवेश गरेपछि समाजले ज्याकलाई अस्पतालमा छोड्न नदिएर किन आफूसँग राखेको भन्ने प्रश्न, बाबुले त्यागेको अवस्था लगायतको चेपुवामा परेर जोयले आत्महत्याको बाटो रोज्छे । समाजमा नआउँदा सम्मको आशाको किरण र निर्दोष बालक एकाएक उसको आत्महत्याको कारण बन्न जान्छ ।




सोही आलेखमा अर्को चलचित्रको पनि सन्दर्भ जोडिएको छ । ‘प्रसाद’ भन्दा तुलनात्मक रुपमा राम्रो मानिएको सो चलचित्र हिन्दी भाषाको चलचित्र ‘पाच्र्ड’ हो । रुम पहिले नै हेरेको भए पनि पाच्र्ड नहेरेकाले सो चलचित्र हेरेरै विषय बुझ्ने प्रयास गरेँ । चलचित्रको अनावश्यक अंगप्रदर्शन, राधिका आप्टेका नग्न स्तन, ‘लाएगी भू–कम्प खटिया मे’ बोलको गीत, देवरले जबरजस्ती गरेर बोकेको बच्चा फालेको कुरा सुनाउँदा समेत माइत आएकी छोरीलाई जबर्जस्ती ससुराली फर्काएको दृश्य, ‘तू राँड थी, राँड ह,ै और राँड ही रहेगी’ भन्ने संवाद, छोरी बेच्ने चलनको महिलाले दिएको निरन्तरता, वाल विवाहमा महिला नै सहभागी भएको दृश्य, विवाह रोक्न कपाल काटेकी वालिका महिलाले नै भित्र्याउनु, उमेर नपुगेकी केटिसँगको संभोगलाई ‘पतिको रिती’ भनेर भनिरहँदा त्यसको प्रतिवाद नहुनु, पढ्न लागेकी केटिलाई पतिलाई पढ्न भन्दा पति सम्हाल्न सिक भनेर सासुले थर्काएको दृश्य, फोनलाई भाइब्रेट मोडमा राखेर नितम्ब मुनि राखेर यौन आनन्द लिएका दृश्यहरु, बुहारीलाई उसको नावालिग पूर्वप्रेमीसँग सासुले (महिला) नै जान दिएको दृश्य, अप्रत्याशित किसिमले जिउमा आगो सल्केको पतिलाई आफू बचाउनु त परै जाओस् बचाउन खोज्नेलाई पनि रोकेर जलेर मर्न दिएको दृश्य, विज्लीले अहं तुष्टिका लागी रकेट यात्रा गराएको र चार जनाको बलात्कारमा पनि सन्तुष्टि लिएको दृश्य, लगायतका तमाम आपत्तिपूर्ण दृश्यहरुका बाबजुद पनि यो चलचित्र ‘प्रसाद’ बनेको रहेछ । चलचित्रमा नारी स्वतन्त्रताका र पितृसत्ता विरोधी केहि संवाद र दृश्यहरु अवश्यै छन् तर एउटा मान्छेलाई जिउँदै जल्न दिएको जस्तो अमानवीय दृश्य केहि गरी पनि पाच्य लाग्दैन । पतिको हिंसाका विरुद्ध प्रहरीकोमा जानु या आफैले प्रतिकार गर्नु र पत्नीले पतिलाई कुट्नु सम्म ठीकै थियो तर जिउँदै जल्न दिनु ! चलचित्र लेखेकी हुन् लिना यादवले ।



यो दुई चलचित्रसँगै मलाई एक अर्को चलचित्रको पनि याद आयो । ‘प्रसाद’को कथा बाहिरिँदै गर्दा देखि नै मलाई सो चलचित्रको याद आएको थियो । सो चलचित्र हो रामबाबु गुरुङ्गको कबडिकबडि । कबडिकबडि युट्युबमै भएकाले केहि दृश्य दोहो¥याएर हेरेँ । ‘विक’पात्र काजीको मोटरसाइकल चलाउने हली बनेको छ । एक संवादका क्रममा काजीले ‘साले विके’ भनेर कुरा टुङ्गयाएका छन् र त्यसको कुनै प्रतिवाद ‘विके’ले गरेको छैन । त्यस्ता अन्य पनि दृश्य हुँदाहुन तर त्यो पहिले चलचित्र हेर्दा पनि ध्यान दिइएको थिएन र अहिले पनि ती सबै उल्लेख गरि रहनु उति सान्दर्भिक देखिँदैन । कबडिकबडि विशेष याद भएको भनेको झाँक्रिको खिर प्रसंगले हो । ‘प्रसाद’ चलचित्रको आलोचनाको भाषामा भन्दा सो चलचित्रमा झाँक्रि एक बलात्कारी थिए । तर झाँक्रि कहिल्यै खलपात्रका रुपमा हेरिएन न  कुनै समीक्षकले उनलाई बलात्कारीका रुपमा उभ्यायो । बरु झाँक्रि बनेका लेखक तथा ‘प्रगतिशील’ कवि उपेन्द्र सुब्बा सोही नामले चर्चित पनि भए । ‘खिर खुवाउनु’को नेपाली भाषामा अर्थै फेरियो । हो तिनै झाँक्रिले सन्तान दिने नाममा गरेको बलात्कार पछि बसेको गर्भका बारेमा निसन्तान रहेका मुखियाले थाहा पाउँदा झाँक्रिलाई मार्न भनि खुकुरी लिएर जान्छन् । त्यो दृश्य पनि गम्भीर भन्दा पनि हास्यदृश्य बनेको छ । ‘प्रसाद’का पति पात्र जस्तै यी पति पात्र पनि कुटाइ खाएर फर्कन्छन् । चलचित्रमा बलात्कार विरुद्धको मुद्दा या कुटपिट विरुद्धको मुदाहालेको या प्रहरीमा उजुरी गरेको कतै देखाइएको छैन बरु एउटा मनै हल्लाउने संवाद छ ।
‘तेरो अनुहारको के दोष । ...हेर गौरी, दोष जसको सुकै भएपनि तेरो कोख आफ्नो हो । तेरो आफ्नो मेरो आफ्नो हो ।’   (हेर्नुस्ः 1:49:12)

‘हैट’ भन्ने थेगोले बढि चिनिएका मुखिया पात्रले यो संवाद बोल्दै गर्दा मनै ढक्क फुलेको थियो । मलाई लागेको थियो यस किसिमका संवादले बलात्कारका पिडित प्रतिको समाजको दृष्टिकोण फेरिनु पर्ने या कम से कम पतिको दृष्टिकोण फेरिनु पर्ने तर्फ मद्दत गर्नेछ । हुन पनि त्यो बेला कसैले यो सम्बाद र यो चलचित्रलाई बलात्कारलाई सामान्यीकरण गरेको आरोप लाएन । त्यस किसिमले कसैले हेर्दै हेरेन । बलात्कारको दृश्य पनि हाँस्य दृश्य भयो । बलात्कारी काट्न हिँडेको मान्छे कुटिएर फर्केको दृश्य पनि हाँस्य दृश्य नै भयो । लेखक थिए रामबाबु गुरुङ्ग र सहलेखन गरेका थिए प्रगतिशिल भनि चिनिने र जनजातीको आवाज उठाउने कवि तथा कथाकार उपेन्द्र सुब्बा ।


यी तीन चलचित्रको कथा र सन्दर्भ यहाँ जोड्नुको उद्देश्य कुन परिवेशमा वलात्कारको गर्भ ठीक र कुन परिवेशमा वेठीक भनेर छुट्याउने जमर्को हो । ‘रुम’ र ‘पाच्र्ड’ दुबै महिलाले लेखेका हुन् । दुबैमा दोष देखाउन सकिने प्रसस्तै ठाउँ छ । ‘प्रसाद’ पुरुषले लेखेकोले बलात्कारलाई नबुझिकनै सामान्यीकरण गरि दिएको आरोप लाग्यो । ‘रुम’ लेख्ने त महिला थिइन् । किन त्यसमा जोयले बलात्कारबाट रहेको गर्भको रक्षा गरिन् ? किन त्यसका लागी आमाबाबा सँग पनि लडिन् र किन आँखिरमा समाजको प्रश्नको अगाडि हार खाइन र आत्महत्याको बाटो रोजिन् ? महिला भएर पनि किन यस्तो कथा लेखिन् ? ‘पाच्र्ड’मा अनावश्यक नग्नता र अमानवीय क्रूरताका दृश्य किन देखाइए ? वालविवाहको किन प्रतिरोध भएन ? परिवारका अन्य पुरुष सदस्यबाट बलात्कार हुने महिलालाई फेरी तिनै बलात्कारीमाझ पठाउने कथा किन लेखियो ? महिलाले त कम से कम बलात्कारको अर्थ बुझ्नु पर्ने होइन र ? अथवा कबडिकबडिका लागी उपेन्द्र सुब्बा र रामबाबु गुरुङ्गलाई किन गाली गरिएन ? कम से कम मसँग यसको उत्तर छैन ।



एउटा निसन्तान आमा जो हर हालतमा सन्तान जन्माउन चाहन्छे उसले बलात्कारको गर्भलाई प्रसाद देख्छे भने के ठूलो कुरा भयो त ? कसैका लागी गोबर कसैका लागी पञ्चगब्य । फेरी त्यो महिलाको लवज र उसले लिएको निर्णयहरु हेर्दा उसले जीवनमा सँधै मगजबाट निर्णय लिएको जस्तै पनि त देखिन्न । ‘अर्कैसँग व्या गर भन्न त सक्दिन’ भनेर पतिले भन्दै गर्दा ‘भन्न नि सक्नु प¥यो । लोग्नेमान्छेले जे अरे पनि हुने अनि आइमाइले क्यै अर्न नहुने भन्ने काँ लेख्या छ र ?’ भनेर प्रतिवाद गरेको त प्रचारसामग्रीमै पनि सुन्न सकिन्छ । अनि उसले बलात्कारबाटै भएपनि जन्मेको बच्चालाई अपनाउँदा केको हल्लीचल्लि ? हामी किन यनि खिचखिचे भयौँ ? भएन भनेर कथाका पात्रमा समेत बहस गर्दैछौँ । गोराले त्यस्तै कथाका पात्र उभ्याउँदा हामीलाई उम्दा लाग्ने । भारतीयले अनेक गल्तीले भरिएका चलचित्रलाई हामी मानक ठान्ने तर हाम्रै मौलीक परिवेशमा आधारित बनाएर केहि कल्पनाका फुलबुट्टा भरेका कथाहरुमा हामी गल्ती मात्रै देख्ने र त्यसैलाई मात्रै प्रचार गर्ने किन भयौँ ? 



‘प्रसाद’लाई अभिषाप करार गर्ने क्रममा एउटा गाउँले लवज बोल्ने महिलाले ‘सरम लाउँदैन’ भनेकै भरमा उसको यौन इक्षाको मापन गरिएको छ । ‘सरम लाउँदैन’ भन्नेहरुको यौनिक्षा नहुने भन्ने हुँदैन । विश्वास गर्नुस् । यौनिक्षा जैविक आवश्यकता जस्तै हो । यो भन्दा बढि लेख्न कर नलाउनुस् । प्रचार सामग्रीमै सोही सम्वाद लगत्तै नारायणी बाबुरामतिर ढल्किएकी छिन् । अनुहारमा प्रतिकार भन्दा पनि क्रिडाभाव बढि देखिन्छ । धेरै सोच्दा मात्रै मनमा अनेक विचार आउने हो । त्यसैले धेरै नसोच्नु बढि आनन्ददायक हुन्छ । दिमाग पनि दुख्दैन ।
खासमा ‘प्रसाद’को प्रदर्शनीको समय गलत भएको हो । बलात्कारप्रतिको धारणा एकदमै नकारात्मक भएका बेलामा चलचित्रमा प्रयोग गरिएको परिवेशको सजिलै फरक व्याख्य हुन गएको हो । यसो लेख्दै गर्दा यो आलेखलाई बलात्कारलाई सामान्यीकरण गर्ने प्रयास भनेर नलिइयोस् । बलात्कार जघन्य अपराध हो र बलात्कारीलाई कडाभन्दा कडा सजाय हुनुपर्छ भन्ने कुरामा मेरो दुईमत छैन । बरु यसको उद्देश्य समान जस्ता कथाहरुमा बनाइएका चलचित्रहरु प्रतिको  असमान धारणाको मर्म खोतल्नु हो । ती असमान धारणाप्रति प्रश्न गर्नु हो । अनि केही थप प्रश्न पनि छोडेर जानु होः महिलाले लेखेको ‘रुम’ कथामा समाजमा पुगे पछि मात्रै जोयले ज्याकका कारण आत्महत्या गर्नुपर्ने परिस्थिति किन आयो ? बलात्कार बढि पिडादायक हो या बलात्कार प्रतिको समाजको दृष्टिकोण बढि पिडादायक हो ? ‘कबडीकबडी’,  ‘रुम’ र ‘पाच्र्ड’लाई दिइएको सहुलियत ‘प्रसाद’बाट किन खोसियो ? किशोरावस्ताको गर्भाधान जस्तो विषयमा बनेको ‘जुनो’ चलचित्रलाई जसरी एउटा फरक चलचित्रको रुपमा पश्चिमले या हामीले समेत स्वीकार्यौँ ‘प्रसाद’का विषयमा पनि आफ्ना फरक धारणाहरु राख्दा राख्दै एउटा चलचित्र त हो भनेर हेर्न सक्दैनौँ ? हामी पनि कसै न कसैका बिऊ नै हौँ । हामी जोबाट रोपियौँ, ऊसको चरित्रको, कामको या उसले गरेका अपराधसँग हाम्रो के सरोकार हुन्छ र ? यदि ऊ बलात्कारी नै थियो, या गर्भाधानको समयमा उसले बलात्कार नै गरेको थियो भने पनि त्यसमा हाम्रो भूमिका चाहिँ के रहन्छ ? हामीले त्यो घटना कसरी सघाएका हुन्छौँ या कसरी रोक्न सक्थ्यौँ ? यदि हाम्रो त्यसमा कुनै संलग्नता हुँदैन भने हामी किन दोषी ? यदि हामी दोषी हैन भने हामी अभिषाप चाहिँ किन ? छ कसैसँग उत्तर ? अस्तु !




Comments

Popular posts from this blog

Letters to a Young Poet -Rainer Maria Rilke (with quotes)

अम्बेडकरको Annihilation of Caste

निर्मलालाई न्याय