डा. रामेसको चल्स साेभराज उर्फ ‘विकिनी किलर’



डा. रामेश नेपाली ट्वीटर जगतमा खुब चिनिएको नाम हो । यसो भन्दा उनलको ट्वीटर वाहेक अन्त पहिचान छैन भन्न खोजेको हैन । बरु ट्वीटरमा उनी विशेष सकृय छन् भन्न खोजेको भने अवश्यै हो । केहि साता अघि देखि ट्वीटरमा उनले लेखेको नयाँ पुस्तकको व्यापक चर्चा सुरु भयो । सुरुवाती चरणमा प्रकाशित प्रतिकृया एकदमै राम्रा थिए । तर पुस्तक नेपाली बजारमा उपलब्द्ध थिएन । त्यसैले ट्वीटरमा ‘किताब खै’ भन्ने प्रश्न खुब चर्चित भएको थियो । भाग्यवश नेपाल बाहिर बासेका पाठकका लागी एमजनबाट किण्डल प्रति किन्न सहज रैछ । पुस्तक नै किन्दा पुस्तक भन्दा दोब्बर हुलाक शुल्क पर्न जाने हुनाले किन्डल प्रतिमै रमाएँ । किण्डल प्रति उपलब्द्ध भएकैले नेपाली बजारमा सुलभ रुपमा उपलब्द्ध नहुँदै नेपाली लेखकको पुस्तक पहिलो पटक हात लाग्यो ।

सन् २०१५ मा फेसबुकका संस्थापक मार्क जुकरबर्गले हरेक दुई हप्तामा एक नयाँ किताब पढ्ने भनेर आफ्नालागी आफैले एउटा ‘पढ्ने चुनौती’ दिएका थिए । त्यो यति व्यापक भयो कि त्यसमा धेरै अन्य पनि सहभागी भए । म पनि केहि वर्ष देखि त्यसैको सिको गरिरहेको थिएँ । सन् २०१८ मा ४० किताब पढि सक्ने लक्ष राखेको भए पनि ६ महिनामै सो लक्ष पुरा गरेकोले मनमनै यस वर्षका लागी ५२ किताब पढि भ्याएँ भने ठीक हुन्छ होला भन्ने लागेको थियो । नित्सेको ‘दज स्पोक जाराथुस्त्र’ का साथै पढ्दै गरेको डोंग्री टु दुबइ, अमेरिकाना, घाटमाण्डौ, आदि सबैलाई उछिन्दै डा. कोइरालाको यो पुस्तक वर्षको ५२ पुस्तक बन्न सफल भयो । खासमा हातमा लिए पछि राख्न उति मनै भएन । ट्वीटरमा पुस्तकको व्यापक चर्चा र पुस्तकमा शोभराज मात्रै नभएर अन्य थुप्रै कुराहरु पनि अटेकाले त्यसो भएको हो ।


‘चाल्र्स शोभराजः इन्साइड द हर्ट अफ बिकिनी किलर’ पुस्तकमा कोइरालाले चाल्र्स शोभराजसँग सम्बन्धित जानकारी त राखेका छन् नै साथै नेपाली राजनीति र समसामयिक चाँसोका विषयहरु पनि पस्केका छन् । एनसेलको लाभ कर छलिको प्रकरण होस् या विदेशी दुतावासले सडकपेटीहरु मिचेको विषय नै किन नहोस्, पाठकले त्यसका बारेमा पढ्न पाउँछन् । त्यस्तै शोभराजकै कथा भन्ने क्रममा उनी सुदूरपश्चिमको खप्तड देखि लिएर छोरोल्पा ताल सम्म पाठकलाई पु¥याउँछन् । समयावधीको कुरा गर्ने हो भने शोभराजको वाल्यावस्थाको समय देखि लिएर नेपालमा प्रचलित भएको हिप्पी ट्रेण्डको समय हुँदै स्थानीय चुनाव सकिए पछिको समय सम्मका घटनाहरु उनले समावेश गरेका छन् ।

शोभराजको मुटुको शल्यकृया गरिदिनु पर्ने अनुरोध खप्तड यात्राका क्रममा आए पछि देखि पुस्तक लेखि सक्दा सम्म लेखकले विभिन्न तरिकाले शोभराजसँग सम्बन्धित जानकारी पुस्तकममा समावेश गरेका छन् । भियतनामी आमा र भारतीय बाबुबाट सन् १९४४, अप्रिलमा जन्मेका शोभराजको वाल्यावस्था निकै कठोर देखिन्छ । अपहेलना र मातृत्वको अभावमा हुर्केका शोभराज विस्तारै अपराधको जगतमा धकेलिन्छन् र हिप्पी ट्रेलका एक राक्षसको परिचय कमाउँछन् । हरेक हत्या र अपराधबाट सहजै उम्किन्छन् । जेलको वासमा पनि उनी त्यसै समय काट्नु भन्दा कानुनी अध्ययनहरु गरेर आफ्ना अन्य अपराधको सजायबाट उम्कने बाटोहरु खोज्नमा लाग्छन् । सजाय लम्बाउनकै लागी नाटकीय रुपमा जेलबाट भाग्ने र फेरि समातिएर जेल पस्छन् । जब सबै देशको उनी विरुद्धको मुद्दा खारेज भइ सक्छ उनी ढुक्क साथ सन् २००३ मा नेपाल प्रवेश गर्छन् र लगत्तै समातिन्छन् पनि । मुद्दा मामिलामै अल्झिएका उनी मुटुको शल्यकृयाको लागी देशका अब्बल डाक्टरको खोजीमा डा. रामेश सम्म आइ पुग्छन् । यसरी रामेशसम्म शोभराज जोडिन पुगेका छन् ।

लेखकले पुस्तकमा शोभराजको हत्या पछाडिको कारण पत्ता लगाउने प्रयास पनि गरेका छन् । त्यसका केहि वैज्ञानिक आधारहरु पनि खोज्ने जमर्को गरेका छन् । त्यसको सम्पूर्ण जानकारी लिन त किताब पढ्नै पर्छ । ती जवाफहरुसँग चित्त बुझोस् नबुझोस् त्यसले विस्तारै स्मृतिमा धकेलिइ सकेको कुख्यात पात्रलाई फेरि ब्युझाउने काम चाहिँ अवश्यै गर्छ । शोभराजका बारेमा बढि भन्दा बढि जान्ने जिज्ञासा भने पक्कै जन्माउँछ । त्यसैले होला म पनि पुस्तक पढे लगत्तै यान वेलमानको शोभराज सम्बन्धित वृत्तचित्र हेर्न पुगेको थिएँ ।


वृत्तचित्रमा पुस्तकका धेरै कुराहरु पुरा गर्ने सामग्री समावेश थियो । नेपालको गोलघर भित्रको शोभराजको वैभव, उनले लुुकेर बनाएको भिडियो, तिहाड जेलबाट सुरक्षार्थ खटिएका सबैलाई लागुमा लठ्याएर बाहिर निस्किदाँ आफ्ना हरेक हरकतको तस्वीर खिचाएको कुरा, बन्दुकसाथ कैदी भाग्नबाट रोक्न बसेको सिपाहीलाई मजाले हात हल्लाउँदै जेलबाट बाहिरिएको किस्सा, तिहाडको महाराजाको उपाधीको किस्सा, भारतीय अण्डरवल्र्ड बब्लु श्रीवास्तवसँगको सम्बन्ध र दाउदसँगको श्रीवास्तवको दुस्मनी, लगायतका थुप्रैकुरा वेलमानले वृत्तचित्रमा समावेश गरेका छन् ।



टेरेसा नोल्टेनको विकिनीमा भएको लाश पत्ता लागेपछि सोही घटनाबाट विकिनी किलरको उपाधी पाएका शोभराजले विकिनीमा भएकालाई मात्र मारेनन्, धेरै अन्यलाई पनि मारे । प्राय गरेर उनको हत्याको शिकार हिप्पीहरु हुने गर्थे । हत्यापछि उनीहरुको राहादानी र पैसा लगायतका अन्य बहुमुल्य सामग्री चोरी गर्थे । हत्या गरिएका व्यक्तिहरुकै राहादानी प्रयोग गरेर उनी देश–विदेशको यात्रा सहजै तय गर्थे । यति सम्म कि उनले महिलाको राहादानी प्रयोग गरेर समेत विदेश यात्रा गरेका छन् । यही कुरालाई लिएर लेखकले हरियो राहादानी बोकेर यात्रा गर्दाको दुःख पनि लेख्न छुटाएका छैनन् । एकातिर कुख्यात अपराधी फरक रंगको राहादानी बोकेकै कारणले विना केरकार देश–देशान्तर गरिरहन्छ भने अर्कोतिर लेखकले विदेश यात्राका क्रममा अनेक हण्डरहरु खानु पर्छ । विदेश जाने हरकोहीले यसको अनुभव त गरेकै हुन्छन् । व्यक्तिगत अनुभवका बारेमा कुरा गर्दा हाफ कट्टु लाएर अध्यागमन पार गर्दा र कोटपाइन्टमा अध्यागमन पार गर्दा समेत फरक व्यवहार भोगेको छु । दारी पालेर अध्यागमन पार गर्न खोज्दा चाइनाको सिमामा आधा घण्टा जति त्यसै रोकेको अनुभव पनि सँगालेको छु । तर शोभराजले त्यस्ता कुनै समस्या खेपेनन् ।

पुस्तक पढ्दै जाँदा लेखकलाई कताकता शोभराज प्रति सहानुभुति पलाएको हो कि भन्ने पनि भान हुन्छ । उनले शोभराजका विरुद्ध पेश गरिएका प्रमाणहरुमा शंका गरेकाबाट त्यसो लाग्छ । जस्तो सन् १९७५ मा फोटोकपी मसिन कताबाट आयो भन्ने जस्ता प्रश्नहरु उनले गरेका छन् । तर यान वेलमानको वृत्तचित्रमा हर्मन क्नीपेन्वेर्गको कुरा सुन्दा लेखकका शंका अनावश्यक लाग्छन् । सन् १९७५ तिरका अखबारको समाचारको फोटो देखि लिएर मृतकको फोटोहरु वृत्तचित्रमा देखेपछि क्नीपिङ्गरको क्षमतामा प्रश्न गर्नु व्यर्थ लाग्छ । शोभराज आफैले वृत्तचित्रमा लगभग १०० जना जति मारेको भनेर वयान दिएका छन् ।


त्यस्तै लेखकले युनिस अन्सारीलाई केन्द्रिय कारागार भित्र गोली हान्ने भारतीय गुप्तचर संस्था ‘र’का एजेन्ट मानिएका मन्जितलाई अन्य श्रोतमा जगजित र मनमित भनिएको छ भने पाँच गोली नभइ एक गोली प्रहार गरेको भन्ने छ । जगजित सिंहलाई विभिन्न समाचारहरुमा उत्तर प्रदेशका ठेका लिएर हत्या गर्ने व्यक्ति भएको र शोभराज भेट्ने बहानामा जेल पसेको बताइएको छ । सलिम मिया अन्सारीका छोरा युनिस अन्सारी पनि भारतीय जाली नोटको कारोवार गरेको आरोपमा पक्राउ परेका थिए । भारतीय च्यानलहरुले त उनलाई दाउदको मान्छे भनेर उल्लेख गरेको थियो । वेलमानको वृत्तचित्रमा दाउदका शत्रु मानिएका भारतीय अन्डवल्र्डका बब्लु श्रीवास्तव र शोभराजको कुराकानी हुने गरेको भनेर उल्लेख हुनु र दाउदका मान्छे भनेर अनुमान गरिएका अन्सारीलाई शोभराजलाई भेट्न भनि आएने गरेको मान्छेले गोली हान्नु संयोग मात्रै त के होला र ?

लेखकसँगको थप गुनासोमा उनले उल्लेख गरेका तथ्यहरुको जुन किसिमले श्रोतहरु खुलाउनु पर्ने हो त्यो गरिएको छैन । हाल सम्म पढिएका नेपाली किताबमा सुधीर शर्माको प्रयोगशाला मात्रै त्यस्तो किताब हो जसमा सहि किसिमले श्रोतहरु संकलन गरेर राखिएको छ । त्यस्तै अंग्रेजी गैह्र आख्यान पुस्तकहरुमा शशी थरुरका पुस्तकहरुमा पनि श्रोत सामग्रीहरुको सूची राम्ररी समावेश गरिएको हुन्छ । सूची नै बनाएर अध्याय पिच्चे उललेख नगरे पनि पुस्तक भित्रै र पुस्तकको पुछारमा केहि पुस्तक र वृत्तचित्रहरुको नाम भने उल्लेख गरिएको छ ।

पुस्तकको सुरुवातमा पुस्तकलाई आख्यान र कल्पनामा आधारित भनेर उल्लेख गरिएको छ । यो कुनै पनि किसिमले कितावमा उल्लेखित विवरण र पात्रहरुसँग मेल खाँदैन । दरवारहत्या काण्डमा ज्ञानेन्द्र आरोपति थिए लेख्न नडराउने लेखकले खै किन हो भरतपुर निर्वाचनमा मतपत्र च्यातिनुले नै नयाँ मेयरले जितेको भनी लेखेका छन् । देउवा र प्रचण्डको भूमिका र लोकतन्त्रको उपहासका बारेमा मौन छन् । जनयुद्धमा मारिनेको संख्या १७००० लेखेका छन् । सायद श्रोत खोजी गरेका भए आधिकारिक संख्या लेख्थे होला । देउवाको पालामा कालीकोटको कोटवाडा विमानस्थलमा मारिएका ३५ निर्दोश मज्दुरहरुको कथा बोकेको माण्ठा डराएको युग पढे पश्चात लेखकसँगको सम्पर्कमा लेखकले आधिकारिक संख्याको श्रोतको बारेमा जानकारी गराएका थिए । इन्सेक नेपालले जनयुद्धमा ज्यान गुमाएकाहरुको बारेमा राखेको जानकारी अनुसार जनयुद्धका क्रममा मर्नेहरुको आधिकारिक संख्या १३ हजार २४८ रहेको छ जसमध्ये ७ हजार ९०५ राज्यपक्षबाट मारिएका हुन् ।
यी र यस्तै केहि गल्तीहरुलाई अन्देखा गर्ने हो भने पुस्तक पठनीय छ । यसको हालको चर्चालाई हेर्दा पुस्तकको नेपाली संस्करणको पनि ठूलो माग हुने देखिन्छ । आशा गरौँ हालका  कमी कम्जोरीहरुलाई आगामी संस्करणहरुमा सुधार गरिने छ । अस्तु !


थप श्राेतहरूः
https://timesofindia.indiatimes.com/world/south-asia/Indian-contract-killer-targets-Dawoods-man-in-Nepal-jail/articleshow/7670573.cms
http://www.insec.org.np/victim/candidate_display_user.php?pageno=1

http://kathmandupost.ekantipur.com/printedition/news/2011-07-24/bid-on-yunus-ansari-prison-shooter-gets-five-year-jail-term.html

Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला