ऐलानी: विवेक ओझा

“क्यान हामी खेतीपाती  गर्दाइनौँ आमोई ? क्यान हामी गाईवस्तु कुखुरा क्यै पाल्दाइनौँ !”
“पाप लाग्छ । हामी त नाचगानका लागि जन्म्याका जात हौँ । मालिकको सेवा ग¥या धर्म हुन्छ । खेतीपाती गर्न र वस्तुभाउ पाल्न हाम्रो जातमा लेख्याको छैन ।”
“कल्ले लेख्याको आमोई हाम्रा जातमा ?”
“भग्वान्ले ।”
सुदूरपश्चिमका बारेमा लेख्नका लागी धेरै विषयहरु हुन सक्थे तर किनकिन नेपाली साहित्यमा सुदूरपश्चिम दुर्गम र रुढीवादी ग्रस्त समाजको रुपमा मात्रै चित्रण भयो । यस वर्षका दुई सर्वाधिक चर्चा बटुलेका पुस्तकले पनि त्यसैलाई निरन्तरता दिए । पुस्तक पढिएकै आधारमा मात्रै यदि कसैले सुदूरपश्चिमी कस्ता होलान् भनि कल्पना ग¥यो भने झट्ट के चाहिँ आउँछ होला ? कहिले काहिँ जान्न मन लाग्छ ।

विवेक ओझाको ‘ऐलानी’ रोजाइमा पर्नुको पछाडिको कारण ओझा सुदूरपश्चिमी लेखक हुनु र उनले कलम चलाएको विषय पनि सुदूरपश्चिमसँगै जोडिएको हुनु हो । पराईले सुपको बारेमा लेखेको पढ्नु भन्दा सुपकै लेखकबाट लेखिएका कथाहरु पढ्ने धेयले यो उपन्यास छनौटमा प¥यो । गोविन्द वर्तमानको सोह्र साँझहरु र रामलाल जोशीको ऐनामा वादी समुदायका बारेमा थोरै लेखिए पनि उपन्यास नै बनाएर लेख्नेमा ओझा पहिला हुनुले पनि उनको किताव छनौटमा परेको हो ।

कैलाली जिल्लाको सहरी क्षेत्रमा बस्ने किशोरावस्थामा पुगेका प्राय युवालाई मुढा बजारका बारेमा थाह हुन्थ्यो । अहिलेको अवस्था के छ थाहा छैन तर हाम्रो पालामा मुढा बजार यौन तृष्णा मेटाउने स्थानको रुपमा चिनिन्थ्यो । वादी जातीका बारेमा बेलाबेला नेपाल टेलिभिजनमा वृत्तचित्र आउने गथ्र्यो । समाजलाई चुनौति दिएर केहि व्यक्तिले विवाह गरेर लगेको तर पछि गएर ती विवाहहरु सफल नभएका कथाहरु सुनन्थिे । त्यसका अलावा वादी जाती मात्रै त्यस्तो जाती थियो जहाँ छोरी जन्मनु सुखद् मानिन्थ्यो र छोरो बिनाकामको ठानिन्थ्यो ।

“तेरो दाइ जन्म्याको भन्दा दोब्बर खुसी तँ जन्मँदा जन्म्याको थियो ।” उनको मनमा उठेको डर पनि सम्झिन पुगेँ –“छोरी घरबाटि हिँड्यापछि बादीको घरमा ग्रहण लाग्छ । मालिकको आँगनछेउको मलखातनेर मलजस्तै उभिनुपर्छ ।”

छोरी जन्मँदा खुशी हुने जाती भन्दा कताकता लैङ्गिक विभेद बाट मुक्त वा पितृसत्तात्मक सोच नभएकाहरुको समाज पो रहेछ भन्ने पर्ला तर त्यो समाजमा छोरीले खुशी ल्याउनुको कारण छोरीले भविष्यमा गएर शरीर बेचेर परिवारका लागी कमाउने पैसाको आशा हो । छोरोले त्यो गर्न सक्दैन । त्यसैले छोरो जन्मनु त्यहाँ कुनै सुखद घटना मानिइँदैन ।

“भदौ महिनाको पहिलो दिन हाम्रा लागी छुट्टै हुन्थ्यो । त्यो दिनलाई भाँड्या सङ्क्रान्ति भन्थ्यौँ । त्यो हाम्रो सबैभन्दा विशेष चाड  हुन्थ्यो ।”

सुरुवात केहि अप्रत्यासित लागे पनि पछि कथा बढ्दै जाँदा वादी समाजका थुप्रै कथाहरु विभिन्न पात्रहरुलाई समावेश गराएर लेखकले पस्कन खोजेको अनुभव भयो । सुदूरपश्चिम भन्दा बाहिर त्यति ज्ञान नभएका केहि चाडहरुको प्रसंग पनि रोचक लाग्यो । भदौ १ गते मनाईने ओल्के संक्रान्तिलाई भाँड्या संक्रान्ति भनिने र त्यसमा कथाका दुई पात्रहरुले रक्सी खाएर नाङ्गै भएर जिउमा कमेरो दलेर नाचेको प्रसङ्गले त्यो कल्पना हो या साँच्चिकै चलन नै त्यस्तै थियो भन्ने सोच्न बाध्य भएको थिएँ ।

“मेरो ओठ टोक्न्या मुखियाले हातले छोयाको किन छुई मान्छन् होला ?”

कथित उच्च जातीका भनिएकाहरुको पाखण्डलाई उदाङ्गो पार्ने खालका केहि चोटिला प्रसंग पनि ओझाले पुस्तकमा समावेश गरेका छन् । मुखियाले यौन सुख लिने तर घर पस्न नदिने र छोएको पनि नखाने जस्ता विरोधाभाषपूर्ण कुराहरुले नेपाली समाजको पाखण्डी चरित्र उजागर हुन्छ । त्यस्तै वादी समुदायका महिलाहरुले वैकल्पिक बाटो समाउन खोज्दाका अप्ठेराहरुको रुपमा होटलमा भाँडा माझ्ने देखि लिएर दाउरा बेच्ने जस्ता कामहरु गर्दा समेत यौन शोषणको सिकार हुनु परेको प्रसंगहरु उपन्यासमा उल्लेख छ । मादल बनाउने, शुल्पा (तमाखु खाने एक प्रकारको नेपाली पाइप जो आइसक्रिमको सोली जस्तै हुन्छ ) बनाउने र माछा मार्ने वैकल्पिक शीप भएका बादी समुदायले जति प्रयास गर्दा पनि यौन व्यवसायबाट उन्मुक्ति पाउन नसकेको अवस्थाको चित्रण उपन्यासमा छ ।
“मु तमीलाई चार वटा चाँदीका डलर तिर्छु । तर तमी मेरो तल सुत्नुपर्छ ।”

नेपाली साहित्यकारहरुले समस्या मात्रै लेख्छन् तर समाधान लेख्दैनन् भन्ने आरोप बेलाबेला लाग्ने गर्दछ । पात्रहरु प्राय विद्रोही चरित्रका हुँदैनन् भन्ने पनि गरिन्छ । ऐलानीमा सँधै अरुबाट पैसा लिएर उनीहरुको वासना मेट्ने बदिनीले विद्रोहको रुपमा आफै पैसा तिरेर आफ्नो भोग गर्न आएको पात्रलाई आफ्नो तल सुत्ने प्रस्ताब गर्छे । त्यसको अलावा म पात्रले पनि वादीसँग विहे गर्ने आँट गरेको छ ।

श्रीमतीले छोडेर जाँदा अवसादले ग्रस्त म पात्र कञ्चनपुरको शुक्लाफाँटा घुम्न जाने क्रममा कर्णाली नदि नजिकको चिसापानीमा भेट भएकी वादी युवती वसन्तीसँगको अप्रत्यासित थालिएको वार्तालापबाट कथा सुरु भएको छ । त्यही युवती पात्रकी हजुरआमाले सुनाएको विगत नै उपन्यासको मुल कथा हो । हजुरआमा मार्फत वादी समुदायको विगत र वसन्ती र उसका समकालीन साथीहरुका कथा मार्फत वर्तमानका कथाहरु ऐलानीमा समेटिएको छ ।

ऐलानी भनेको त्यस्तो जग्गा हो जुन जग्गा जो कसैले पनि भोगचलन गर्न पाउँछ । वादी महिलाहरु पनि लगभग ऐलानी जग्गा जस्तै भए । नामसारी गरेर कसैले आफ्नो बनाएन । खाली भोक मेटायो पुग्यो । नागरिकता समेत नपाएका यो समुदायले बसोबासका लागी पनि ऐलानी जग्गा नै उपभोग गर्दै आएका छन् । सायद यस अर्थमा उपन्यासको शीर्षकले न्याय गरेको छ ।

छक्कापञ्जाले अछामी भाषा तोडमोड गरेर अपमान ग¥यो भनेर भन्दै गर्दा अछामी लेखकले नै लेखेको अछामी भाषा पनि पूर्णरुपमा शुद्ध नपाउँदा अलि नरमाइलो लाग्यो । हुन त अछामी भाषा पनि फरक फरक ठाउँमा फरकफरक बोलिने गर्छ र पनि नेपालीको मनग्गे प्रभाव भएको अछामीको प्रयोगले अछामी भाषाको जुन मौलिकता आउनु पर्ने हो त्यो भेटिएन । कथा बुनाइमा पनि सुधारका निक्कै ठाउँहरु छन् । वर्षहरुको हिसाब पनि कताकता नमिलेको हो कि जस्तो पनि लाग्छ । यी र यस्ता केहि कम्जोरीहरुलाई त्यति ध्यान नदिने हो भने ऐलानी वादी समुदायको विषयमा जान्न चाहनेले पढ्नपर्ने उपन्यास हो ।

Please like my page and follow it for further reviews:
https://www.facebook.com/notionsNemotions



Comments

Popular posts from this blog

अम्बेडकरको Annihilation of Caste

निर्मलालाई न्याय

उसको रोजाइ -Story