गार्इ खाने कथा


नयाँ संविधानमा अप्रत्यासित तरिकाले धर्म निरपेक्षता घुसाइएको कुराको विवाद जारी रहँदे गर्दा ‘गाइको मासु खान पाउनु पर्ने’ भन्ने विवाद सुरु भएको छ । गाइको मासु खान पाउनु पर्छ भन्ने मत राख्नेहरुले यथासक्य तर्क र प्रमाणहरु पेश गरेर गाइको मासु खान नदिएर राज्यले जनताको ‘भान्सामा नियन्त्रण’ गरेको भन्ने जस्ता वाहियात तर्क समेत गर्न भ्याएका छन् । समस्या कहाँनेर पर्छ भने उनीहरुले पेश गरेकै दलीलहरुको सहायता लियो र त्यसलाई सामान्यीकरण ग¥यो भने त हालको व्यवस्था नै उलटपलट हुन्छ । धेरै गैह्र कानुनी कुराहरुले छुट पाउनु पर्ने हो कि भन्ने जस्तो देखिन आउँछ । हालको कानुनी व्यवस्था नै पनि धरापमा पर्छ ।

गौहत्या विरुद्धको कानुन गलत भएको भन्ने तर्क गर्नेले नेपाली समाजका विभिन्न जातजातीका संस्कृतिहरुमा भएको गौमासको कुरालाई त्यसले कुण्ठित गरेको ठान्छन् । पूर्वमा किरात संस्कृति अन्तर्गतको च्याब्रुङ्ग नाचमा बजाइने बाजामा गाइको छाला प्रयोग हुने गर्छ । त्यस्तै किरातीहरुले पुजामा गाइको टाउको प्रयोग गर्ने गरेको र समयक्रमसँगै राँगाको टाउकामा सरेको भन्ने भनाइहरु छ । पश्चिममा पनि भुल र सार्कीहरुले मरेका गाइहरु लैजाने र तिनको मासु खाने देखि लिएर छाला काढ्ने लगायतका कामहरु पनि गर्ने गरिएको थियो । त्यस्तै इसाइ र इस्लाम धर्मावलम्वीले गौमास चलाउनुले पनि उनीहरुलाई त्यसबाट बञ्चित गराउनु गलत हो भन्ने तर्कहर पनि चलि रहेका छन् । बुझ्नु पर्ने कुरा के हो भने किरातीहरुले बजाउने बाजाका लागी छाला चाहिएको हो गाइकै छाला चाहिएको होइन । गाइकै टाउको चढाए पनि देउताले खाने होइन मान्छेले नै खाने हो । सके नरिवल चायाउँ नसके गाइ प्रचलनबाट हटि सकेको छ त्यसलाई त्यसै रहन दिउँ । भुल र सार्कीहरुलाई छाला जिम्मा लाउनु उनीहरुको गरीव अवस्थाको शोषण गरिएको हो । उनीहरुलाई सिनो खाने स्याल गिद्ध बनाउन खोजिएको हो । मरेको गोरु तह लाउन खोजिएको हो । त्यो कथित उच्च जातीले गरेको दुव्र्यवहार उनीहरुले आफ्नो संस्कार र संस्कृति मान्न जरुरी छैन । भोको पेटले केहि नपाए मान्छेकै मासु नै पनि खाला । त्यसको अर्थ मान्छेको मासु खान पाउनु पर्छ भन्ने होइन । हुन त त्यसो गर्दा लाश पोल्नु पर्ने झन्झट पनि रहने थिएन र वातावरण पनि धुवाँका कारण प्रदुषित हुनबाट जोगिने थियो ।

त्यस्तै इसाइ धर्मावलम्वी र इस्लाम धर्मावलम्वीले वहुसंख्यक हिन्दुधर्मावलम्वीको मन राख्नका लागी गौमास त्याग्छन् वा उनीहरुलाई गौमासको सेवनबाट बञ्चित गराइन्छ भने त्यसलाई त्यति ठूलो विषय बनाउन जरुरी छैन । गाइ छाडेर धेरै जीवको मासु बजारमा पाइएकै छ । फेरी गाइ नै खानु पर्ने भनेर उनीहरुको कुनै किताबमा त्यसरी लेखिएको छैन । यदि बहुसंख्यक हिन्दु धर्मावलम्वीले खुशीखुशी अल्प संख्यकको सम्मानमा इद र क्रिस्मसमा दिने राष्ट्रिय विदा सहजै स्वीकार गर्छन भने ती उदार मनका लागी उनीहरुको आस्थासँग जोडिएको गाइको मासु त्यागेर ती अल्पसंख्यकले बहुसंख्यकले उनीहरु माथि लाएको गुन तिरेको हुन्छ र त्यो सामाजिक सद्भावका लागी पनि राम्रो हुन्छ । उनीहरुले के भुल्नु हुन्न भने दुबईमा लाखौँ हिन्दुहरुले काम गर्ने गरे तापनि त्यहाँका हिन्दुहरुले दशैँमा विदा पाउँदैनन् । अमेरिका देखि अष्ट्रेलीया सम्म लाखौँ हिन्दुहरु बसोबास गर्ने भएपनि तिनीहरुको चाडलाई सम्मान गर्दै त्यहाँ राष्ट्रिय विदा घोषणा गरिएको छैन ।

गौमासकै सन्दर्भमा एकजनाले अनलाईनमा के लेखेको पाइयो भने गौमास वर्जित गर्नु भनेको राज्यले जनताको भान्सामा नियन्त्रण गर्नु हो र त्यसो गर्नु गलत हो । झट्ट सुन्दा नियन्त्रण गलत भन्ने सबैलाई लाग्छ । तर यसरी सोच्यो भने त मान्छेको भान्सामा जे पनि पकाउन छुट दिँदा मान्छेले अरु लोपोन्मुख जीवजन्तुको मासु पनि पकाउँछु भन्ला रे या लाघु औषदहरु समेत भान्सामा तयार पार्न खोज्ला, जाँड रक्सी मनलागी रुपमा बनाउला अनि त्यसबेला पनि राज्यले जनताको स्वतन्त्रतामा हस्तक्षेप नगरी रहन सक्छ ? जाँड रक्सीका सन्दर्भमा राज्यबाट त्यस्तो विशेष कानुन आएको छैन तर विकसित देशहरुमा प्रति घरधुरीले व्यक्तिगत प्रयोजनका लागी यति सम्म उत्पादन गर्न सक्ने भन्ने प्रष्ट नियम हुन्छ । घरमै व्यवसायिक उत्पादन गरेर सरकारले पाउनु पर्ने कर छलीलाई रोक्न यसो गर्नु परेको हो । त्यसैले यो व्यक्तिको भान्सामा सरकारको नियन्त्रण हुनुहुँदैन भन्ने कुरा वाहियात हो ।

गौहत्या सम्बन्धी कानुनकै विरोधमा भारतमा भएका कतिपय मासु व्यवसायी हिन्दु हुँदाहुँदै पनि तिनीहरुले गाइको मासु निर्यात गरि रहेको कुरा धेरैले सामाजिक सञ्जलमा बाँडे । ती धेरै कम्पनी मध्येको अल कवीरको बारेमा खोजी गर्दै जाँदा भारतमा खोलीएको अल कवीको शाखाले गौमास निर्यात गर्छ भन्ने कुरा प्रमाणिक रुपमा बाहिर आएको त्यस्तो सामग्री कहिँ पनि भेटिए । अल कविर माथिको आरोप र विभिन्न खाले षडयन्त्रको सिद्धान्तमा आधारित रहेर कडा सुरक्षा र वाहिरका मानिसलाई प्रतिवन्धित कारखानाको परिधिभित्र के हुन्छ भन्ने कुराको अड्कलबाजी गरिएको भने मनग्गे भेटियो । फेरी अर्को कुरा के पनि विर्सनु हुँदैन भने अलकवीरले यदि गौमास निर्यात नै गरेको छ भनेपनि त्यो गैह्र कानुनी तवरले गरेको छ । गैह्र कानुनी रुपमा गरिएका कुराहरुलाई ‘अरुले गरेको छ हामीले किन नपाउनु ?’ लिँडे ढिपी कस्न थालीयो भने भोलीका दिनमा हत्या, बलात्कार, चोरी, तस्करी, लुटपाट, घुसखोरी लगायतका गैह्रकानुनी क्रिया कलापलाई नियन्त्रण गर्ने अधार के रहने ? त्यसतर्फ पनि ध्यान दिने हो कि ?

मानव सभ्यता ढुङ्गे युग बाट हालको सूचना प्रविधिको युगसम्म पुगि सक्दा उसले आफ्ना आहाराको लागी धेरै श्रोतहरु पत्ता लगाइ सकेको छ । कृषिको अभ्यास सुरु नहुँदा सम्म पशुवधमा आश्रित हुनुको विकल्प थिएन । तर अहिलेको आधुनिक युगमा त्यस्तो वाध्यता कसैका लागी पनि छैन । बोटविरुवामा आधारित खानेकुराको कुनै किसिमको अभाव छैन । बरु विकसित देशहरुमा अचेल मासुजन्य कुराहरुको उत्पादनका लागी जनावरहरुलाई दिइने यातना र मासुजन्य परिकारले स्वास्थ्यलाई पु¥याउने असरलाई मध्य नजर गरेर धेरैले सुद्ध वनस्पतीजन्य खानेकुरा मात्रै खाने अभियान नै चलाएका छन् । उनीहरुले त्यसलाई स्वास्थ्यवर्ध जीवनशैलीका रुपमा अपनाएका छन् । त्यसो गरिरहँदा दुध जन्य खानेकुरा समेत वर्जित गरिन्छ । त्यसको बदलामा भटमासको दुध र त्यसैको मासुजस्तै परिकार र टोफु (पनिरको सट्टामा प्रयोग हुने खाद्यपदार्थ)हरु व्यापक प्रसिद्ध कमाइ रहेका छन् । यसले पश्चिमा देशको मोटोपनको विमारी र त्यससँगै उत्पन्न हुने अन्य धेरै रोगहरुलाई समेत कम गरेको छ । एक त पैसा तिरेर अनावश्यक पोषण सरीरमा थोपर्नु अनि पछि त्यसरी थुपार्दा थुपार्दै मोटाइले समस्या दिएपछि दुब्लाउनकै लागी फेरी पैसा खर्च गरेर विभिन्न व्यायाम गरेर तौल घटाउनु भन्दा आहारामै नियन्त्रण गरियो भने त विभिन्न रोगहरु बाट पनि बचिने र सरीर पनि स्वस्थरहिरहने हुनुले पनि मानिसहरु आफूले खाने आहारा प्रति सचेत हुन थालेका हुन् । गौमासको सेवनलाई सहि सावित गर्नका लागी पश्चिमा मुलुकको उदाहरण दिनेले यहाँ आएको नयाँ परिवर्तनका बारेमा पनि जान्नु जरुरी छ ।

गाइसँगको हाम्रो नाता फरक छ । हाम्रो ग्रामीण जीवन हेर्ने हो भने गाइले दुध दिने अनि खेतीका लागी बाच्छा दिने हुनाले हरेक घरमा गाइ पालिएको हुन्छ । त्यसका साथसाथै गाइको गोबरले आँगन लिप्ने देखि लिएर मल बनाएर खेतीमा प्रयोग समेत गर्ने अनि अनावश्यक झारपात खाएर त्यसलाई पोषक दुधमा बदल्ने हुनाले पनि गाइ परिवातको महत्वपूर्ण सदस्य जस्तै मानिन्छ । त्यही दुधबाट बनेको दहि अनि नौनी र घिउले तेलको समेत प्रतिस्थापन गरेको हुन्छ । जाडाको बेलामा अहिले प्रयोग हुने हिउँदे मलमका ठाउँमा गाउँघरमा नौनी प्रयोग गरिन्छ । नौनी हातगोडामा मल्दा सुक्खा रहँदैनन् । त्यति धेरै उपयोगिताकै कारणले कृषिमा आश्रित हाम्रो समाजमा गाइ र गोरु पुज्ने संस्कार विकसित भएको हुनुपर्छ । धार्मिक रुपमा हेर्दा गाइको महात्म्यको पाटो छुट्टै छ । सहरमा हुर्किएका र दुध खाएका तर गाइ नदेखेका पुस्ताले भोलिका दिनमा के गर्छन् थाहा छैन । तर परिवारको सदस्यकै जसरी गाइपालेको घरमा हुर्केकाहरुको लागी गाइ मार्न पाउनु पर्छ भन्ने तर्क सह्य होला जस्तो मलाई लाग्दैन । काट्न कै लागी भनेर पालेका पाठाहरु र दशैँमा हप्ता दिनका लागी ल्याएका खसी बोकाहरु काटिँदा त घरका वालवालिकाहरु कोलाहल मचाउँछन् भने गाइको कुरा बेग्लै छ । फेरी हाम्रो समाजमा पोथीको मासु प्राय खाइँदैन । बोका खाए पनि बाख्री काट्ने प्राय गरिँदैन । अहिलेको भैँसी खाने तर्कले गाइँसँगको हजारौँ वर्षको सम्बन्ध अन्देखा गर्न मिल्दैन ।

गाइ खान पाउनु पर्छ भन्नेहरुले त्यसमा बन्देज लागेकैले गाइहरु छाडा छोडिन सुरु भएको हो र सहरी जीवनमा त्यसले समस्या थालेको हो भनेर भन्ने गर्छन् । समस्या गाइ काट्नमा बन्देज हैन समस्या भनेको चरन क्षेत्र नै नभएको ठाउँमा गाइ पाल्न दिनु हो । नगरपालिका भित्रमा गाइ पाल्न बन्देल लगाइ दिउँ त यो समस्या त्यसै सकिएर जान्छ । गाइ पाल्नेले निश्चित पूर्वाधारहरु बनाएर मात्रै गाइ पाल्न पाउने बनाउदा त्यसले व्यवसायिक गौपालनलाई पनि सघाउ पु¥याउँछ भने सहरको अनियन्त्रित गाइको समस्या पनि हल हुन्छ । तर यसको लागी समय लाग्छ । तत्काल गर्न सकिने भनेको गाइहरुलाई राष्ट्रिय निकुञ्जमा लगेर छोड्ने हो । वनमा चरनको व्यवस्था छँदै हुन्छ । वनका अन्य जीवनजन्तु जस्तै उनीहरु पनि अनेक किसिमका ओतमा बस्न पाइ नै हाल्छन् । मृत्यु पश्चात जंगली जनावरको आहारा पनि हुन्छ् । यो आध्यात्मको खडेरी परेको समाजमा उपयोगिता सकिएपछि बाबु आमालाई त सडकमा ल्याएर छोडिन्छ भने गाइलाई खुला छोडिनु प्रति अचम्म मान्नु पर्दैन । अनि के गौ हत्या मार्फत छाडा गाइको व्यवस्थापन गरिए जस्तै तरिका वृद्ध आमाबाका लागी पनि प्रयोग गर्ने ?

हाम्रा संस्कार र संस्कृतिहरुमा मासुले ठाउँ पाएको हुन सक्छ तर ती कुराहरु निरन्तर रुपमा त्यस्तै रहिरहनु पर्छ भन्ने तर्क मुर्खले मात्रै गर्छ । नभए पश्चिम नेपालमा अजयमेरुकोट दरवारको अवशेषमा नरवली दिने ठाउँ अझै पनि हेर्न सकिन्छ । अनि के पुर्खाले नरवली दिएका थिए अब पनि त्यहाँ मान्छेको बलि दिनुपर्छ भन्ने तर्क गर्नु ? फेरी बहुविवाह, वालविवाह, कन्यादान, जातीय विभेद, घरेलु हिंसा, सती प्रथा, कमैया, कम्लरी र हलिया प्रथा, एकल महिलाको जीवनबाट रंग खोस्ने चलन, लगायतका हाम्रो संस्कारसँग जोडिएर रहेका कुसंस्कारहरुको हकमा पनि के कानुन नबानाएरै पुरानौ अवस्थामै छोडि दिने हो ? त्यसैले मांसाहारका सन्दर्भमा र वलिप्रथाका सन्दर्भमा पनि हामीले हाम्रो जीवनयापनलाई अध्यावधिक गर्नु पर्छ । संस्कार र संस्कृतिसँग जोडिएकै छ भनेपनि ती कुराहरु प्रतिको विकसित समाजमा के कस्ता धारणा छन् र किन छन् भन्ने कुरा बुझ्ने कोशिस गर्नु पर्छ । पशुपालन र मांसाहार वनका जीवजन्तुलाई घरमा ल्याएर खाद्यय सुरक्षाका लागी थालीएको हो । अब खाद्यान्नका लागी बलियो वैकल्पित श्रोतहरु आइसकेको अवस्थामा ती कुराहरुमा पनि फेरवदल हुनुपर्छ । माशु उत्पादनका लागी जति पानी र उर्जाको खपत हुन्छ त्यो भन्दा धेरै थोरै उर्जा र पानीको खपतबाट वनस्पती जन्य आहारा उत्पादन गर्न सकिन्छ । त्यसैले मांसाहार वातावरण मैत्रि पनि छैन । फेरी हाम्रो आहाराले हाम्रो सोच पनि निर्धारण गर्छ भन्ने कुरा विर्सनु हुँदैन । सकेसम्म मांसाहार नै त्यागौँ नभए कम से कम गाइ माथि जाइ नलागौँ । तर्क कै लागी तर्क त जति पनि गर्न सकिन्छ तर त्यो आवश्यक छैन ।

प्रकाशितः जन अास्था
कृपया यस्तै लेख रचना पढ्नका लागी फेसकुबमा पछ्याउन सक्नु हुनेछः
फेसबुकः https://www.facebook.com/notionsNemotions/

Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला