सिके लाल, संविधान संसोधन र देउवाको भारत भ्रमण

विगतका साताहरुमा थुप्रै कुराहरु भए । बहुप्रतिक्षित संसोधनको प्रस्ताव निर्णयार्थ प्रस्तुत गरियो । नवनियुक्त प्रधानमन्त्री देउवाको भारत भ्रमण र त्यसको विरोधका स्वरहरु गुञ्जिए । एउटा रियालीटि शोमा आएका पाहुना निर्णायकले फलानो मनपर्छ भन्ने अभिव्यक्तिको जातका आधारमा मनलागी अर्थ लगाउँदै सामाजिक सञ्जलमा तथानाम गाली गरियो । यसै बीच सिके लाल मधेसको आन्दोलनको आधारहरु पुनः परिभाषित गर्नमै व्यस्त भए । यी सबै कुराको एकै लेखमा विस्तारमा विवोचना असम्भव छ । तर पति केहि कुराहरु यहाँ भन्न मन लागेको छ ।

सिके लाल

 सिके लालका तर्क बजनदार हुन्छन् । समस्या के हो भने सबैको जस्तो उनका तर्क पनि पूर्वाग्रहले भरिएका हुन्छन् । अझै सबै जस्तो उनलाई उनी पूर्वाग्रहरहित भएको भ्रम पनि छ । त्यसैले उनले मधेसको इतिहास बखान्ने क्रममा डोटी र जुम्ला राज्यको इतिहास जोड्न विर्सिन्छन् । मधेसको ऐतिहासिक भूमिको सिमा कोर्ने क्रममा इमानसिंह चेमजोङ्गले खोतलेको किराँती इतिहास र त्यसको ऐतिहासिक भूमीलाई सिके लालले कत्ति पनि उल्लेख गर्दैनन् । उपेन्द्र सुब्बाको लाटो पहाडसँगै इमानसिंह चेमजोङ्गको किराती इतिहास र संस्कृति पढ्ने क्रममा त्रिशुली पूर्व र पश्चिमको खस किराती सिमानाका बारेमा पढेको थिए । त्यसका अलावा किरात र खसहरु कसरी आपसमा मिसिए भन्ने कुराको पनि आधार सहितको उल्लेख चेमजोङ्गले गरेका छन् । तर सिके लाल मधेसी बाहेक कोहि पनि भूमी पूत्र होइनन् कसैको पनि तराईमा ऐतिहासिक दावी छैन भने जस्तै कुरा गर्छन् । 

उनले यसो भनिरहँदा उनी सिके राउत भन्दा खासै फरक लाग्दैनन् । खासमा उनी सिके राउत भन्दा बढि घातक छन् । त्यसैले त उनले आफ्नै संसार बनाएका छन् र भन्छन् जनसंख्याको आधारमा प्रतिनिधित्व विश्वव्यापी मान्यता हो । विश्वमा ‘प्रजातन्त्र’ बहालीको ठेका लिएको अमेरिकामै हिलारी क्लिन्टनले बहुमत पाउँदा पाउँदै ट्रम्पले राष्ट्रपति बनेको उनले न भुले कि ? पपुलर भोटमा हिलारीले ट्रम्पको भन्दा २९ लाख बढि भोट पाएकी थिइन् । फेरि अमेरिकी राज्यहरुमा निर्वाचक (इलेक्टोरेट) हरुको नियुक्तिमा समान प्रतिनिधित्व सुनिश्चित गर्ने क्रममा फरक फरक राज्यमा जनमतको फरकफरक भार भएको कुरा उनले थाहा नपाएका हुन् ? उदाहरणका लागी क्यालीफोर्नियाँ राज्यका ५ लाख ८ हजार ३४४ जनालाई १ जना इलेक्टरले प्रतिनिधित्व गर्छ भने अर्को राज्य वाइयोमीका १ लाख ४२ हजार ७४१ को जनसंख्याले १ इलेक्टोरल भोट पाएका थिए । अर्थात वाइयोमीको १ जना वासिन्दाको भोट क्यालिफोर्नीयाँका झण्डैझण्डै ४ जनाको भोट बराबर हुन्छ । क्यालीफोर्नीया जस्तै न्यूयोर्क र फ्लोरिडामा पनि ५ लाख हाराहारीको जनसंख्याका लागी १ इलेक्टोरल भोट छुट्याइएको छ । यी  सबै कुराहरुलाई भुलेर तर्कहरु किन अघि आउँछ ।

यति सम्म अनर्गल कुरा गर्छन कि काठमाडौँका ठूला दरबारमा मधेसी र जनजातीको मात्र रगत पसिना परेको छ । यो के नेपालका अन्य जातजातीको इतिहास प्रति अन्याय होइन ? फेरी प्रवेशाज्ञा विना काठमाडौँ पस्न नसक्ने मधेसीहरुले कसरी मल्लकालीन दरवार र अन्य इतिहासिक दरवारहरुमा रगत चुहाएछन् ? मधेसी निषेधको इतिहास पनि विरोधाभाष पूर्ण छ । ट्वाक्क टुक्क कुरा आएपनि प्रमाणिक कुरा बाहिर आएको छैन या मैले पढ्न पाएको छैन । सेनवंशीसँग त पृथ्वीनारायण शाहले वैवाहिक साइनो नै स्थापित गर्न खोजेका थिए । प्रवेशाज्ञा नै लगाउने पर्ने जातसँग त्यस्तो सम्बन्ध किन स्थापित गरिँदो हो ? त्यसपछि एकिकरणका बेला बुद्धिकर्ण राई इष्ट इन्डिया कम्पनीको सहयोग लिन पुगेपछि पृथ्वी नारायणले आफ्नो पत्रमा राईले आफ्ना भाइलाई मारी उसको राज्य हडपेकोले आफूले त्यो फिर्ता लिएको भनी उल्लेख गरेका थिए । सेन बंसी राजाका दिवान राईले एकिकरणको त्यस्तै सात आठ वर्ष अघि राजालाई मारेर आफू राजा बनेका थिए । फेरी मधेसीहरुले सेन बंशीलाई मधेसी मान्छन् भने चेमजोङ्गले तिनको किराती जरो खोतलेका थिए ।  ईपू ३१७ मा खस र किरातले चन्द्रगुप्तलाई सघाएको इतिहास, वुद्धलाई ठाकुर, झा, या यादव, आदि नभनेर शाक्यमुनी भनिनु, कोच किरातका थारुहरु बंगलादेशबाट मुस्लीमहरुसँग भागेर नेपाली तराईमा पुनः फर्किएको इतिहास, लगायतका इतिहासले सिके लालको दावी कम्जोर बनाउँछ । शाहवंश भनिन्छ तर वास्तवमा शावंशीय शासन त देशमा हुँदै भएन । कुलमण्डन खान (मगर खान जसको अर्थ राजा हुन्छ) ले गोत्र परिवर्तन गरेर शाह भएको भन्ने छ । अब प्रकट रुपमा शाहले शासन गरेको भएपनि खासमा त किराती अर्थात जनजाती शासनमै देश रहेछ । फेरी इतिहासको ज्ञान भएकाबाटै इतिहासको आफुखुशी व्याख्या किन हुन्छ ?

मधेसको विविधतामा एकता खोज्न सिके लाल थारुहरुमा भिन्नता छैन भन्ने स्थापित गराउन सय वर्षको इतिहास नभएर हजार वर्षको इतिहास हेर्न भन्छन् । त्यो समयमा थारुहरु एकै किसिमका थिए भनि भन्छन् । तर त्यसै समयमा किरातीको तराईमाथिको अधिकारको जिकिर गर्न उनी विर्सन्छन् । पश्चिमका डोटी र जुम्ली राजाहरुको कथा भन्न विर्सिन्छन् । इतिहास कति समय अघि देखि हेर्ने भन्ने कुराले हाम्रा विभेदहरु मेटिने भन्ने बुझाइ राख्ने सिके लाल अझै पछि गएर सबै मानव एकै हुन भन्ने मान्यता स्थापित गराउन किन सक्दैनन् ? नेपालमा कुन जातको कति अधिकार छ भन्ने प्रतिस्पर्धामा हामी कहिले सम्म अल्झने होला ? बरु एकैपटक सबैका डिएनए जाँच गराएर आपसी समानता र भिन्नताहरु छुट्याआँै । सँधैका लागी टन्टा साफ । सिके लालले अब जातीय पहिचानका कुरा भन्दा अवसरहरुको न्यायोचित वितरण प्रत्याभुति गराउने प्रणालीको पक्षपोषणमा लाग्नु पर्छ । जातको लडाइ हिट्लरले पनि लडेका हुन् । त्यसको अन्त सिके लाल जस्ता विद्वानलाई राम्ररी थाहा छ ।

मधेसको दुःख देखेर पहाडमा सुखको परिकल्पना सिके लालले मात्रै गरेका होइनन् पहाडमा दुःख काटेकाले पनि मधेसमा त्यस्तै खाले स्वप्नलोक बनाएका थिए । दुबैको अपेक्षा उच्च थियो । यथार्थले दुबैलाई घच्घच्यायो । काठमाडौँ, पोखरा जस्ता उपयुक्त पहाड र झापा, चितवन जस्ता उपयुक्त मधेसमा फेरी दुबै जना उत्तिकै आनन्दले बसेका छन् । तराई झरेपछि मधेसी टोक्ने मच्छर, सर्पले पहाडीलाई पनि उत्तिकै दुःख दियो । घाम र बाढि पहाडी मधेसी दुबैलाई उत्तिकै पिरोल्यो । सुरुमा जमिन्दारी पाएर मधेस पसेका बाहेक जो मधेस पसेका पहाडी थिए ती त्यहाँ जग्गा किनेर खेती गर्न पसेका थिएनन् । उनीहरु सम्पन्न भएरै मधेस पसेका थिए । उनीहरुसँग पूँजी थियो र धनार्जनको वैकल्पिक बाटो थियो । साक्षरताका हिसाबमा अगाडि थिए । तिनै भिन्नताले एकै भूमिका दुई जातजातीमा आर्थिक भिन्नता कालान्तरमा बढ्दै गयो । पूँजी भएकाहरु सहरी केन्द्रमा ओइरिँदै आए भने नभएकाहरु खोला किनारा र कम पायक पर्ने जग्गाहरुमा खुम्चिँदै गए । तराई राज्यको पहुँचमा अहिले त छैन झन पहिलेको के कुरा । त्यो समयमा तराई हब्सियन जंगल थियो जहाँ बलिया बाङ्गा मात्रै टिक्न सक्थे । त्यसै भयो । असमान विकास, सुविधाको अभाव, माओवादी जनयुद्ध लगायतका कुराहरुले पहाडीलाई मधेसतर्फ आकर्षित गरेको हो । ती असामनता मेटिनै वित्तिकै बसाइ सराइको क्रम घट्छ । या यसको क्रम उल्टिन पनि सक्छ ।

हिन्दीलाई मधेसको र पहाड–मधेसको सम्पर्क भाषाका रुपमा स्थापित गर्न चाहने लालले आफ्नै मातृभाषा मैथिलीलाई चाहिँ उपेक्षा  गरेको देखिन्छ जबकी मैथिली नेपाली पछिको नेपालको दोश्रो बढि बोलिने भाषा हो । मैथिली प्रति उनको उदासिनताले उनी कति मधेसी हुन् भन्ने प्रष्ट पार्छ । अर्को कुरा हिन्दी भारतकै पनि सम्पर्क भाषा होइन । त्यहाँ पनि दक्षिण भारतीयहरुले हिन्दी भन्दा अंग्रेजीलाई सम्पर्क भाषाका रुपमा प्रयोग गर्न मन पराउँछन् । नेपालमा चाहिँ किन यति धेरै हिन्दी मोह ? बरु अन्तर्राष्ट्रिय भाषाको रुपमा स्थापित भइसकेको अंग्रेजीलाई सम्पर्क भाषाका रुपमा स्थापित गरेर क्षेत्र अनुसार स्थानीय भाषालाई कामकाजको भाषा भनेर मान्यता दिनु बुद्धिमानी हुन्छ ।

कुरामा अलिकति इतिहास जोडिदियो भने मान्छेले सहजै अस्वीकार गर्न सक्दैन । किनभने त्यसका लागी अध्ययनको आवश्यकता हुन्छ । वैकल्पिक इतिहास अघि सार्नु पर्ने हुन्छ । यो काम आम मान्छेले गर्न सक्दैन । उसको क्षमता नभएर होइन कि सूचना संकलनको समय लागानी गर्ने तत्परता नभएर त्यसो हुन जान्छ । सिके लालहरु यस्तै अवस्थाको फाइदा उठाउँछन् ।

संविधान संसोधन प्रस्ताव

 

सिके लालका अभिव्यक्ति बाहेक विगतको सतामा निर्णयार्थ प्रस्तुत भएाको संविधान संसोधनको प्रस्ताव असफल हुनु पनि नेपाली राजनीतिको अर्को महत्वपूर्ण घटना भयो । अब मधेस मुद्दाले चुनावको बाटो लिँदै समाधान तर्फ उन्मुख हुने देखिन्छ । मधेसी वलिदानको सार्थकता सावितीको लागी कोशिस गरेको जस लिएर मधेसी र कांग्रेसले प्रदेश नंबर २ मा भोट माग्ने आधार छ । अर्को तर्फ एमालेलाई पनि उनीहरुको मधेस मुद्दामाथिको अडान प्रमाणित गर्ने अवसर छ ।

मधेसको चुनावी परिणामका सन्दर्भमा कसको अग्रता हुने भन्ने कुरा अनुमान लाउन त्यति सहज छैन । संसोधन असफल हुँदा टेबल ठटाउँदै खुशी मनाउने एमाले नेता ओली पनि पछिल्लो समयमा सहकार्य नगरी लगेको संसोधनको प्रस्ताव भएकोले असफल हुनुको दोष सत्तापक्षमाथि थोपर्दै आफू पानी माथिको ओभानो बन्न खोज्दैछन् । त्यसै पनि मधेसमा एमालेको राम्रो छवि छैन । मेची महाकाली यात्राका क्रममा एमालेको पकड प्रस्ट भएको थियो । तर फोरम लोकतान्त्रिकले अन्तिम समयसम्म अग्रता लिँदा लिँदै पनि एमालेले अन्तिम समयमा जित्नुले अहिले नै प्रदेश नं २ मा एमालेको भविष्य अनुमान गर्न सकिँदैन । चुनाव मतदाताले मात्रै जितिँदैन कर्मचारीले पनि साथ दिनु पर्छ भन्ने उदाहरण त चितवनबाट पनि स्थापित भइसक्यो । गगन थापाले निर्वाचन आयोगका कर्मचारी बुढानिलकण्ठका एमाले बाट निर्वाचित वडाअध्यक्षको घरमा गएर ल्यापटप सहित फोटो खिचाउँदै कार्यालय समय पश्चात नया मतदाताहरुको नाम दर्ता गरि रहेको कुरा सदनमा गरिरहँदा पनि सो कुराको पुष्टि भएको छ । संसोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिँदाको परिणाम जसको पक्षमा आए पनि चुनावको सुनिश्चिततामा भने बल पुगेको छ । प्रदेश नं. २ को चुनाव सँगै मंसिर १० को चुनावका लागी पनि बाटो खुल्ने निश्चित छ । अहिले सम्म मधेसको असन्तुष्टिका कारण चरणबद्ध चुनाव गर्नु परेको र मिति सार्नु परेको थियो भने प्रदेश नं. २ को स्थानीय चुनाव सकिने वित्तिकै त्यो समस्या रहँदैन ।

संविधानमा मातृभाषा, महिला पूरुषका लागी वैवाहिक नागरिकताको फरक व्यवस्था, प्रस्तावनामा मधेसी आन्दोलनको जिकिर, मधेसीको परिभाषा, खस–आर्यको परिभाषा, लगायतका कुराहरुलाई समेटेर एमालेले आफ्नै मधेसी नेताहरुसँग सघन छलफलका साथ संसोधनको प्रस्ताव दर्ता गराएर बहादुरी देखायो भने एमालेको पक्षमा माहोल बन्न सक्छ । प्रमुख पदका लागी अमेरिकामा जस्तो देशमै जन्मिएको हुनुपर्ने व्यवस्था थप्न सकिन्छ । संविधान भनेको परिवर्तनशील दस्तावेज हो । यसमा थोलबहुत परिवर्तनको विषयलाई प्रतिष्ठाको विषय बनाउनु गलत हुन्छ । बाख्राको पाठो र ब्वाँसाको कथा सुनाएर ओलीले छुट्कारा पाउँदैनन् ।

देउवाको भारत भ्रमण

 

हालसालै देउवाको भारत भ्रमणले पनि एउटा नयाँ मुद्दा बल्झाएको छ । ढल्केबर प्रसारण लाइनको उद्घाटनले विद्युत आपूर्तीमा सहजता भएकोले लोडसेडिङ्ग उन्मुलनमा सघाउ पुगेको भनेर बहिर आइ सकेको अवस्थामा थप दुई प्रसारण लाइनको उद्घाटन हुनु सकारात्मक कुरा हो । तराईंको बाढि लगत्तै भएको भारत भ्रमणले कोशि उच्च बाँध र पुराना सम्झौता कार्यान्वयनमा जोड दिनुले एकथरीलाई भारत विरोधी स्वर चर्काउन मद्दत मिलेको छ । कोशी बाँधका कारण बाढि आएको भन्दै गर्दा त्यसको विकल्पको रुपमा बन्ने उच्च कोशी बाँध र भारतीय सिमानामा बाँधिएका बाँधको असरको निदानार्थ दुबै देशले सकारात्मक प्रयासको प्रतिवद्धता जनाउनु राम्रो कुरा हो । निजगढमा तेश्रो अन्तराष्ट्रिय विमनस्थलको कुरा पनि सकारात्मक नै हो । पञ्चेश्वर र कर्णालीलाई सुदूरपश्चिमको सम्बृद्धिको साँचो मानिन्छ । यदि तिनको कार्यान्वयन द्रुत गतिमा हुन सक्यो भने त्यसले पनि सुदूर पश्चिम क्षेत्रको विकासमा निकै ठूलो योगदान दिनेछ । अरुण कुमार सुवेदिले एक कार्यक्रममा महाकाली सन्धीमा भारतलाई उति फाइदा नभएको र नेपाललाई धेरै फाइदा भएकैले त्यो अघि नबढेको बताउँदे गर्दा अर्काथरी भने नदि बेचेको आरोप लगाउनमै व्यस्त छन् जबकी तिनै विरोधीहरु मध्ये बाटै कुनै समयमा महाकालीको विजुली सेटेलाइटबाट बेच्ने कुरा सुनिएको थियो ।

भारत भ्रमणमा देउवाले संविधान संसोधनका हकमा भनेको कुराको भने अलि कडै आलोचना भयो । त्यो भन्नु आवश्यक थिएन भन्ने तर्क देखियो । एक हद सम्म त्यो सहि पनि हो तर भारत त्यो देश हो जसले संविधानमा असन्तुष्टि जनाएरै पछिल्लो पटक अघोषित रुपमा नाकाबन्दी लगाइ आफ्नो ताकत देखाइ सकेको थियो । त्यसका विरोधमा नेपाली नेताहरुले खासै केहि गर्न सकेको देखिएन । बरु कालो बजाराीलाई प्रश्रय दिइयो । कुटनैतिक प्रयासहरु पनि उति सफल देखिएन । दक्षीणसँग निहु खोजेर उत्तर तिर नजिकने प्रयास भयो । उपलब्द्ध पूर्वाधारका कारण त्यो त्यति सफल हुन सकेन । बरु त्यो निहुँ खोजाइको तिरो प्रचण्ड सरकार र देउवा सरकारले तिर्नु प¥यो । हुन त अन्तर्राष्ट्रिय नियम कानुनका कुरा पनि बेलाबेला उठ्ने गर्छ । त्यस्ता नियम कानुन कम्जोर राष्ट्रका लागी होइनन् । सिक्किम विलय, क्रिमीया विलय, कतारमा नाकाबन्दी, रुवाण्डामा जातीय सफाया, आदि भइरहँदा न अन्तर्राष्ट्रिय नियम लाग्यो न नेपालमा नाका बन्दीका बेला लाग्छ । न त भविष्यमा कुनै अन्तर्राष्ट्रिय नियमले नेपालको सार्वभौमसत्ता जोगाउन सक्छ । त्यसैले सामरिक क्षमतामा पनि नभएको र भौगोलिक कारणले पनि कम्जोर रहेको नेपालले भारतसँगको सम्बन्ध खलबलिन नदिनु मै उसको भलाई छ । पहिले त राजा थिए तिनलाई रिझाए पुग्थ्यो । अब राष्ट्रपतिको त्यो हैसियत छैन । अबको रिझाउनु पर्ने शक्ति केन्द्र भनेको भारत नै हो । त्यसैले सत्तामा पुगेकाहरुले भारत रिझाउने क्रमलाई निरन्तरता दिइ रहने छन् । भारतको चाकरी सहि भन्ने होइन तर सँधै सहि कुराहरु नै हुन्छन् र गरिन्छन् भन्ने छैन । कहिलेकाहिँ सम्झौताहरु गरिन्छन् ।

चाइनासँग भौगोलिक रुपमा यातायातको माध्यमले जोडिएपछि त्यो समिकरणमा फेरबदल आउन सक्छ । तर चिन पनि नेपालको विनाशर्त हितमा लाग्छ भन्नु भूल हो । त्यो त राजा महेन्द्रसँग सगरमाथाको चुचुरोमा १९६२ मा साँध कोर्दै प्रष्ट भएको थियो । अझ बहादुर शाहको पालामा बेत्रावती नदी सम्मै पुगेर चिनीया सेनाले गोर्खाली फाँैजलाई कुना पार्दा पनि प्रष्ट भएको थियो । हामी भने अझै पनि उच्च शीर सगरमाथा भन्दै गित गाएरै बसेका छौँ । त्यसैले यो खोक्रो स्वाभिमानलाई एकपटक भूइमा राखेर यथार्थ बुझ्नु आवश्यक छ । जति सक्दो सहयोग लिएर देश विकास गर्ने र देशको आर्थिक समस्या बलियो बनाउनु अवको आवश्यकता हो । गरिवको स्वाभिमानको केहि अर्थ हुँदैन । स्वाभिमान जोगाउन सम्पन्न र शक्तिशाली हुन जरुरी छ । आशा छ यो कुराहरु हाम्रा राजनीतिक नेतृत्वमा बसेकाहरुले बुझ्ने छन् ।

कारोल टाभ्रिसको गल्तीहरु भएका हुन ( म बाट होइन) (मिस्टेक्स वर मेड (नट बाइ मी)) पुस्तकका पानाहरुमा बुस प्रसासनको गल्ती र त्यसको पछि सम्म गरिएको ढाकछोप लगायतका प्रसंगहरु पढ्दै गर्दा राजनीतिक नेतृत्वको आफैलाई चोख्याउने प्रवृत्ति र तिनले एक अर्कालाई हिलो छ्याप्न गर्ने तर्क वितर्कहरुले नेपाली समाजका लागी पनि लागु भएको भान भयो । त्यत्ति हो हामी तिनै तर्क वितर्कमा अल्झेर सत्य भन्दा पर रमाइ रहेका छौँ । सकिन्छ आफ्ना घेरा भन्दा माथि उठेर समाज हेर्ने कोसिस गरौँ । नभए इतिहासले त सबै कुराको निसाफ गर्ने नै छ । अस्तु ।

Comments

Popular posts from this blog

निर्मलालाई न्याय

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

Growing up in a Suburb (Story)