खबुजः मरूभुमीमा डढेका सपनाहरूकाे कथा
नयनराज पाण्डे र नगरकोटिका भए जतिका किताब अनि आफूलाई मन परेको कुनै एक पुस्तक दिनुहोला भनेर मनोज दाइलाई भनेको थिएँ । उनले अक्षरगन्ज, फोसिल र सल्लीपिर सँगै खबुज पनि बोकेर ल्याए । अरु भन्दा निकै सानो र अनौठो शीर्षक भएको खबुज मैले सबै भन्दा पहिले पल्टाएँ । मलयालम साहित्यका बहराइन स्थित साहित्यकार वेन्यामिनद्वारा लिखित ‘आडु जिविदम’ को नेपाली अनुवाद सुरुवातमा उति रुचिकर नलागेपनि पढ्दै जाँदा मन छुँदै गयो ।
‘दुःखबाट उम्कने उत्तम उपाय – आफूले भन्दा बढि दुःख भोगेका अरुहरुको कथा सुन्नु ।’
अनेक आशा र सपना बोकेर नजिब चार महिने गर्भवति श्रीमतिलाई छोडेर अरबमा रोजगारीका लागी पुग्छ । ऋण सापट गरेर त्यहाँ पुगेपछि उसलाई उसको जीवनले कोल्टे फेर्ने अपेक्षा हुन्छ । उसको जीवनले त्यहाँ कोल्टे त अवश्यै फेर्छ तर उसले अपेक्षा गरे भन्दा नितान्त फरक दिशामा कोल्टे फेर्छ । भारतको करुवट्टा गाउँमा खोलाको बालुवा झिकेर गुजारा चलाई रहेको नाजिबले प्रथम इराक युद्धपछि तेल अधिराज्यहरुमा खुलेको रोजगारीको अवसरलाई सदुपयोग गर्दै आफ्ना साना तिना सपनाहरु पुरा गर्न गरेको कोशिसले उसको भएको खुशी पनि खोसि दिन्छ । विमानस्थलबाट ऊ सोझै मरुभूमीको बीचमा रहेको बाख्रा खोरमा पुग्छ । केहि दिनमै त्यहाँबाट कहिल्यै उम्कन नपाउने कुराको भेउ पाउछ ।
फोहर लुगा र फरक खानामा नयाँ जिन्दगीलाई आत्मसाथ गर्न कष्टकर दिनहरु काट्छ । सामान्य लाग्ने कामहरु गर्दाको अप्ठ्याराहरु पढ्दा आफै त्यो कष्टप्रद स्थितिमा फसेको हो कि जस्तो भान भइरहन्छ । आफ्नो अर्बब (अरबी मालिक)लाई फोहोरी देख्ने ऊ आफै विस्तारै फोहरी हुँदा जान्छः हात मुख धुन पाउँदैन, कपाल काट्न पाउँदैन, नुहाउनु त कल्पना भन्दा परको कुरा भयो । यसरी आठ महिनासम्म सौच पखाल्न सम्म नपाएको नजिब आठ महिनापछि पानी पर्दा खुब नाच्छ, रमाउँछ र आकासे पानीमै आफ्ना सारा मयल पखाल्छ ।
अर्बबको कम्मर पेटिको कुटाइ अनि कष्टकर मरुभूमीको बसाइ बीच पनि उसले परिवारलाई चिठी लेख्दा सुखद कुरामात्रै लेख्छ । चिठी टुङ्गिदा भने आफैलाई ढाँट्न सक्दैन र रुन्छ ।
चिठी पट्याएँ । आँखा बन्द गरेँ । केहीबेर रोएँ । सत्य त्यो चिठीमा थिएन, मेरो आँसुमा थियो । सत्य कसैले पढेन । पृ ८२
नजिबले बिस्तारै परिस्थितिसँग सम्झौता गर्दै जान्छ । बाहिरी दुनियाँबाट अलग पारिएकोले उसकालागी बाख्राहरु नै आफन्त भइदिन्छन् । उसले बाख्राहरुलाई अनेक नाम दिन्छ र तिनैसँग दुःख सुख साँट्न थाल्छ । उसले खोरकी सबै भन्दा राम्री बाख्रीलाई आफूले वाल्यकालमा मनपराएकी मेरिमैमुनाको नाम दिन्छ, आफ्नो हात भाँच्ने बोकोलाई उसको बाउको हात भाँच्ने गाउँको गुण्डो आरवु रवुत्तर भनेर बोलाउँछ, अनि आमासँग मागेको २५ पैसा लिएर पहिलो पटक स्तन स्पर्श गर्न दिएकी पोचक्करी रमणीको नाम पहिलो पटक दोएको बाख्रीलाई दिन्छ । त्यसका अलावा अन्य गाउँलेहरुको नाम बोकाबाख्राको स्वभाव अनुसार तिनीहरुलाई दिन्छ । यसरी नाम राख्दा नेता र सुपरस्टारको नाम समेत उसले बोकाबाख्रालाई दिन्छ । तिनीमा उसले साथी भेट्छ । बारम्बार ६००० वर्ष देखि मान्छेसँग बोकाबाख्रा नजिकिएको, इब्राहिमलाई बचाएको, मान्छेसँग अनुहार मिलेको आदि जस्ता आधारहरु तेस्र्याउँदै उसले बोकाबाख्राहरुसँगको सामिप्यलाई जायज बनाउन खोज्छ । यो सम्बन्धको स्तर यतिसम्म नजिकिन्छ कि बथानकै बाख्रीले पाएको पाठोलाई उसले छोरालाई दिन भनि सोचेको नाम दिन्छ अनि पोचक्करी रमणीसँग उसले शरीर साँट्छ ।
भाग्न सक्ने त्यस्ता कतिपय मौका दिनहुँ त्यागि दिन्छौँ हामी । आफ्नो हातमा आइसकेको अवसरको सुनकचौरी फ्याँकिदिने जैरेहरु । पृ ८५
यसबीचमा सम्भावित भाग्न सकिने अवसरहरु पनि उसले थुप्रै पाउँछ । पहिलो भेटमै दुरबीन र बन्दुकको तागत देखाएर अर्बबले तर्साएको कुराले उसले साहस गर्न सक्दैन । बरु इश्वर प्रार्थनाहरुबाट उसले बाँचीरहने थप शाहस जुटाउँछ ।
तपाईलाई प्रार्थनासार्थना भन्ने कुरा हास्यास्पद रीति लाग्लान् । तर मेरा लागि भने प्रार्थना म बाँचिरहेको यथार्थबाट भाग्ने बाटो थियो । पृ ९७
मलयालम मात्रै बुझ्ने नजिबले अरबमा त्यत्रो समय बिताउँदा पनि धेरथोर अरबी त सिक्छ तर उति पोख्त हुँदैन । भाषाको समस्याका बाबजुद उसले आफ्नो अर्बबसँगको कुराकानीमा उति समस्या भएको महशुस गर्दैन ।
बुझ्नै पर्ने भएपछि जुन भाषा पनि बुझिन्छ । सुन्नेलाई खाँचो नभए त्यही भाषा मरिगए बुझ्दैन । पृ ९८
पानी पर्दा तर्सने अर्बबले सर्प देखि डराउने नजिबलाई बाख्राको खोरमा सर्प मार्नका लागी थुनि दिन्छ । त्यतिबेला उसले एउटा अचम्मको अनुभुति पाउँछ ।
आवश्यकताले मान्छेलाई यस्तो आत्मबल दिन्छ, जुन ऊसँग छ भन्ने उसैलाई पनि पहिले थाहा भएको हुँदैन । मभित्र अनेकौँ अधुरा सपा धड्किरहेका थिए, त्यसैले म निडर हुनुपर्ने थियो । बाँच्नु मेरा लागि आवश्यकता थियो । पृ १००
यस्तै यस्तै कठोर परिस्थितिहरु सामना गर्दै आफ्नो परिचय सम्म लगभग गुमाइसकेको नजिबले समेत एक समयमा आएर परिस्थितिसँग जोरी खोज्ने हिम्मत जुटाउँछ । अर्बबको चंगुलबाट छुट्कारा पाउनका लागी उसले अन्तिम प्रयास गर्छ । एकातिर फेरी पक्राउ पर्न सक्ने सम्भावना र अर्कोतिर स्वतन्त्र बाँच्न पाउने उत्कट इक्षाका बीच उसले स्वतन्त्रताको बाटो रोज्छ ।
जीवनका हरेक भोगाइको एउटा न एउटा उत्कर्ष हुन्छ, चाहे त्यो खुसी होस्, दुःख होस् वा भोकमरी नै किन नहोस् ! जब हामी अन्तिम बिन्दुमा पुग्छौँ तब हामीसँग दुईटा उपाय हुन्छन्– कि त हामी त्यस्तै हालतमा बाँच्न सिक्छौँ, कि त भने त्यहाँबाट उम्कन अन्तिम प्रतिवाद वा संघर्ष गर्छौँ । दोस्रो उपाय रोज्दा, सुरक्षित रहन सके जित्यौँ, नसके पागलखाामा जाकिन्छौँ वा आत्महत्यै गर्छौँ । पृ १११
परिस्थितिबाट उम्कने साहस गर्दा गर्दै नजिब एकछिन पछि हट्ने सोच पनि बनाउँछ ।
जति नै कर्कश भए पनि, कालान्तरमा हामी आफ्ना दुर्दशासँग अभ्यस्त हुँदै जाँदारैछौँ । पृ ११२
समग्रमा पुस्तक एक सुखको खोजीमा हिँडेको मानिसको कथा हो र यो कथा हाम्रो समाजका लागी पनि निकै सान्दर्भिक छ । विशेष गरि हालको समयमा आएर ५० लाख भन्दा बढि नेपाली विदेशी माटोमा छन् । उनीहरु मध्ये धेरै जना नजिबको जस्तै प्रतिकुल परिस्थिति सहेर काम गरिरहेका अवस्थामा छन् । कतिपयले काठको बाकसभित्र बसेर मात्रै नेपाल फर्कन पाउँछन् । त्यो दुःख कष्टको संसार चिहाउनका लागी यो पुस्तक सहायक सावित हुने कुरामा कुनै शंका छैन ।


मलयालम भाषामा पुस्तककाे १०० पटक पुनःमुद्रण भइसकेकाे र हाल अाएर चलचित्र पनि बन्ने भइसकेकाे भएता पनि नेपाली अनुवादले साेही अनुरूपमा चर्चा पाएकाे भने देखिएन । भाषागत पक्ष अागामी संस्करणमा अझै बलियाे बनाइए यसले अझै सफल अनुवादकाे परिचय पाउने थियाे कि ?
Comments
Post a Comment