‘स्वतन्त्र मधेस राज्यका पाँच आधार’: सिके राउत

केही दिन यता डा. सिके राउत फेरी चर्चामा आएका छन् । उनी फेरी चर्चामा आउनुमा उनको मधेस अलग्याउने कुरा नै हो । सिके राउतको अहिलेको भाषण त फेला परेन तर पहिले एबीसी टेलिभिजनलाई दिएको अन्तर्वार्ता फेरी एकचोटी हेरेँ । सामान्यतया विद्रोहको नारा पृय बनाउन शोसित उत्पिडितहरुको साहरा नै लिने गरिन्छ । समाजमा जुन सुकै समयमा पनि शोषित तथा उत्पिडितहरु हुने गर्छन् । कहिले काहिँ ती नभए पनि आफू उत्पिडित भएको मान्ने केही असन्तुष्टि भएको जनसमूह जहिले पनि भेटिन्छ । अमेरिकामा जस्तो आफैलाई प्रथम विश्व मान्ने राष्ट्रमा समेत स्वेत नश्लवादीहरुले आफूहरुमाथि आप्रवासीका कारण समस्या भएको भनी मान्नाले डोनल्ड ट्रम्पको विजय गराएको सर्वविदितै छ । नत्र २१ औँ सताब्दिमा मेक्सिकन निकाल्ने, देशको सिमामा पर्खाल लगाउने, आप्रवासीलाई धपाउने लगायतका नाराले किन विजय पाउँथ्यो ?
नेपालमा भने साँच्चिकै उत्पिडितहरु छन् ः ताप्लेजुङ्गमा छन्, अनि बाजुरामा छन् । त्यसै गरी तराईका जिल्लामा पनि उत्पिडित समुदायहरु छन् । तिनैलाई अनेक नारा दिएर विगत देखि वर्तमान सम्म सिके राउतहरुले आफ्ना स्वार्थ सिद्ध गरिरहेका छन् । आँखिर त्यही मधेसको राजनीति गरेरै कोइराला परिवार हालसम्म पनि सत्ताका केन्द्रमा रहेको छ । माओवादीले पनि मधेसी लगायतका जनताको उत्पिडनलाई नै भजाएर राजनीति गरेको हो । एमाले पनि त्यस्तै खाले राजनीतिबाट उदाएको हो । मधेसी दलहरुले पनि त्यहि प्रकृयालाई अपनाए र अहिले सि के राउत पनि त्यसै गर्दैछन् । फरक के हो भने पहिले अधिकार मागिन्थ्यो, र अहिले प्रदेश र  राज्य मागिँदैछ ।
सि. के. राउतले उनको विचारको सार्थकता सिद्ध गर्न अपनाएका गलत आधारहरुलाई जनतासामु ल्याउन यो लेख लेख्ने जमर्को गरेको छु । उनका विचारका ५ गलत आधार निम्नलिखित छन् ।

१. इतिहासको गलत व्याख्या

डा. राउतले मधेसलाई स्वतन्त्र राज्यको रुपमा रहेको कुरा स्थापित गराउन गलत इतिहासको सहयता लिएका छन् । प्रथमतः म त्यसको वास्तविकतामा जान चाहन्छु । इमानसिंह चेमजोङ्गको किरातको इतिहास र संस्कृति नामक पुस्तकमा (यहाँ हेर्नुस्) यस विषयमा धेरै कुरा उल्लेख गरिएको पाइन्छ । इसाको सातौँ सताब्दिमा सान मोक्वान जातीका ७०० परिवारहरू दक्षीण चिनको युनान प्रान्त अन्तर्गतको मोक्वान क्षेत्रबाट मुङ मो रंको नेतृत्वमा बर्माहुँदै नेपालको तराई क्षेत्रमा बसोबास थाले । मोरङ(राजाको नामबाट), रंगोली(विराटनगर, राजाको दरबार भन्ने अर्थमा), मक्वानपुर (मुङ मो रङ का उत्तराधिकारी मोक्वान शान)  आदि नाम त्यहि बेलादेखि चलेको हो । त्यसबेला काठमाडौँमा श्रङ चङ गम्पोको १ वर्षे शासन चलेको थियो भने मिथिला क्षेत्रमा पनि तिब्बती शासन थियो भनेर मिथिलाका शशिनाथ चौधरीले ‘मैथिली साहित्य’ नामक पुस्तकमा उल्लेख गरेका छन् । यसै कुरालाई विपि सिन्हाले मगध राज्यको अवसानमा समेत समर्थन गरेका छन् । राजा मुङ मो रङ ले पूर्वी किरात र त्यस आसपासका क्षेत्रमा नियन्त्रण लिएर काठमाडौँ उपत्यका देखि दुधकोशी सम्म खुम्बुवान, दुधकोशी देखि मेचीको पश्चिम सम्म लिम्बुवान, र मोरङ भनेर उनको अधीनमा रहेको सम्पूर्ण तराई क्षेत्रलाई नामाकरण गरी सासन गरे ।
साङलाइङ वंशका किराती राजा विजयनारायण राईले सन् १५८४ मा स्थापना गरेको वियपुर लिम्बुवान र मोरङको राजधानीका रूपमा सन् १७७४ सम्म स्थापित थियो । सान् मोक्वान वंशका (दक्षीण चिनको युनान प्रान्तबाट आएका) किराती राजा लो हाङ सेनले सन् १६०९ त्यसमाथि कब्जा हाँसिल गरे । त्यही राज्यमा राजा काम दत्त सेन लाई मारेर उनका देवान वृद्धि कर्ण राईले १७६९ देखि १७७३ सम्मको सात वर्षे शासन चलाए । तत् पश्चात त्यो नेपाल अधिराज्यमा पृथ्वीनारायण शाह द्वारा गाभियो ।
यहि किराती भूमीलाई सिके राउतले पृथ्वीनारायण शाह पूर्वको मधेसीको स्वतन्त्र राज्य भनेर भनेका छन् । खासमा डा. राउतसँग आफ्नो इतिहास नै छैन । उनी अरु कसैको इतिहासलाई आफ्नो बनाएर त्यही गलत जगमा राजनीति गरिरहेका छन् । किनकी पृथ्वी नारायण शाहले गाभ्दा त्यहाँ बुद्धिकर्ण राईको शासन थियो । राईहरू कहिले देखि मधेसी भए ?  राज्य वचाउनका लागी वुद्धिकर्ण राईले अंग्रेज गुहारेको र उनीहरूलाई राजश्वको प्रलोभन दिएर पृथ्वीनारायण शाह विरूद्ध भड्काएको कुरा इतिहासका पानामा लेखिएका छन् । पृथ्वीनारायण शाहले अनेक चातुर्यका साथ बुद्धिकर्ण राईको हत्या गराई विजयपुरको विद्रोहको स्थिति शान्त पारेका थिए । अंग्रेजहरुलाई समेत बुद्धिकर्ण राईले कबोलेको कर आइन्दा नेपाल अधिराज्यले पनि निरन्तरता दिने भनी शान्त पारेका थिए । तिनै बुद्धि कर्ण राईको आत्मालाई बुढा सुब्बा भनेर अहिले सम्म पुजा गरिन्छ । यो भूमीलाई अहिले आएर पृथ्वी नारायण शाहले खोसेको मधेसीको राज्य भन्नु कत्तिको न्यायसंगत हुन्छ सम्पूर्ण मधेसीले बुझ्ने कुरा हो । बरु त्यो भूभागको लागी किरातीहरुले आवाज उठाउनु पर्ने हो । तर उनीहरुको स्वरलाई मधेसीको स्वरलाई जस्तो प्रभुहरुको समर्थन प्राप्त छैन ।

२. नश्लीय सोच 

यहाँ बेलाबेला मधेसी, खस, किराती भनेर जात र नश्लको कुरा गरिन्छ । खासमा पृथ्वी नारायणशाह पूर्व जति बाहिरियाहरूले नेपालमा आक्रमण गरेर शासन चलाए उति सबैले त्यहाँ बस्दै आएकाहरूसँग मिसिनलाई विहेवारी चलाउने देखि आफ्नो जातमा मिसाउने, धर्म परिवर्तन गराउने लगायतका कामहरुमा लागेका थिए । स्थानीयसँग घुलमिल हुँदा मात्र सत्ता टिक्ने स्वार्थका कारण उनीहरु त्यसो गर्न बाध्य थिए । त्यस क्रममा कति किराती बने र पछिल्लो चरणमा हिन्दु बनाउने लहर पनि चल्यो । लिम्बु, लेप्चा, मगर, गुरूङ, तामाङहरु सबै फरक फरक जराबाट आएपनि सबैले अहिले आफूलाई किराती मान्छन् । वास्तवमा किराती भनेका सबै भन्दा पहिले मध्यपूर्ववाट आएर अफगानिस्थान देखि बर्मा सम्मको हिमाली श्रृंखला आसपास बस्ने जातीहरू थिए । तिनको चर्चा महाभारत देखि लिएर बाइबल सम्ममा पाइन्छ । बाँकी जातीहरू त्यही किरात जातीमा मिसिँदै अहिलेको किराती समुदाय बनेको हो । खसहरु किराती पछ्याउँदै नेपाल पसेका जातीहरु हुन् । खस र आर्य भनेको एकै होइन । अर्यहरुले खसलाई असभ्य र तल्लो स्तरको मान्दथे भन्ने कुरा बद्रि दत्त पाण्डेको ‘कुमाउँको इतिहास’ पुस्तकमा समेत उल्लेख गरिएको छ । भारतबाट विस्तारित आर्यहरुले पछि गएर हिन्दुत्वको प्रचार प्रसार गर्ने क्रममा थुप्रैको धर्म र जात परिवर्तन गराएको देखिन्छ । शाह वंशको थालनीको इतिहासले पनि त्यो कुरा बुझ्न मद्दत गर्दछ ।
हिन्दुकरणकै अभियान अन्तर्गत कुलमण्डन खान (यहाँ खान भन्नाले जंगीज खान जस्तै मंगोलियन वा भनौँ किराती जात हो)लाई राजकाजको प्रलोभन देखिएर  शाह बनाएको र उनकै पछिका पुस्ताले लम्जुङ्ग, गोर्खा हुँदै आधुनिक नेपालको एकिकरण गरेको देखिन्छ । त्यही हिन्दुकरण गर्ने बेलामा धेरै किरातीले धर्म परिवर्तन गरेको र आफूलाई उच्च जातीका रूपमा स्थापित गरे । त्यसैले बेलाबेला नेपालका शाह वंशहरु मगरका सन्तान वा मगरहरु भएको भनेर बेलाबेला चर्चा हुने गर्दछ । यसरी हिन्दु भएकाहरुले गैह्र हिन्दुलाई तल्लो स्तरको मान्ने र भेदभाव गर्ने गरेको भनेर पनि चेमजोङले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।
सबैको नश्ल पहिचान गरेपनि सिके राउतले मधेसीको नश्लचाहिँ बताउन चुकेका छन् । मधेसी त भूगोलका आधारमा भएको वर्गीकरण हो । इतिहासका आधारमै पनि भन्ने हो भने मोरङ राज्य अन्तर्गत किरातीहरु समेत निकै पहिले देखि तराईमा बसोबास  गर्दथे । पश्चिम तराईको कुरा गर्ने हो भने त्यहाँ थारुहरुको बाहुल्य पाइन्छ । थारुहरु आफूलाई मधेसी भन्दा सांस्कृतिक, भाषिक र ऐतिहासिक हिसाबले भिन्न ठान्छन् । उनीहरुलाई मधेसका नाममा उनीहरुको पहिचान ओझेलमा पर्ने चिन्ता छ । त्यसै गरि मधेसमा बस्दै आएका खस–आर्य मुलकालाई त राउतले मधेसीका शत्रु नै मान्छन् ।
यस परिप्रेक्षमा मधेसीहरु भनेका को हुन् ? उनीहरुको नश्ल र मूल कहाँ को हो ? यति हुँदा हुँदै पनि देशको आधा जनसंख्या मधेसीको छ भन्दा भने यी थारु, खस–आर्य, किराती, आदि सबैलाई गणना गर्न चाहिँ पछि पर्दैनन् । मुद्दा बलियो बनाउन टाउको गन्ने तर तिनको टाउको देखाएर अधिकार चाहिँ आफ्ना विशेष नश्लका लागी माग्ने काम राउतजस्ता नेताहरुले बारम्बार गरिरहेका छन् । नत्र आफू माथिको सांस्कृतिक दमन गरेको भनेर आरोप लाउनेले अर्काको संस्कृतिको सम्मान र पहिचान गरेको खै ?

३. विकास नहुनुको कारणको अपव्याख्या

शाेषक वर्गकाे चित्रः अनलाइन खबरमा प्रकाशित कुशल तिमिल्सिनाकाे समाचारबाट साभार(लिंक)
राउतले मधेसी विरुद्धको विभेदको कुराहरु गरेका छन् । मधेसमा विकास नहुनुको कारण मधेसी माथिको विभेद भएको उनको तर्क छ । यो तर्क मधेस केन्द्रित राजनीति गर्ने धेरै नेताहरुको रहेको छ । मधेसमा विभेद नभएको होइन । त्यहँ विभेद प्रशस्तै छ । तर त्यसको सारा दोस ‘खस–आर्य शासक’ माथि थुपार्नु चाहिँ गलत हुन्छ । हालसालै तराइका जिल्लाहरु समेत समावेश गरेर गरिएको एक अध्ययनमा सबै भन्दा गरीब जिल्ला बाजुरा र त्यसपछिका जिल्लाहरुमा कर्णाली आसपासका जिल्लाहरु देखिएका छन् ।(यहाँ हेर्नुस्)
ती जिल्लाहरु पहिले डोटी र जुम्ला जस्ता शक्तिशाली खस राज्यहरुको अन्तर्गतका जिल्लाहरु हुन् । जुम्लाको सिंजाबाट नै हालको नेपाली भाषाको उत्पत्ति भएको भनिन्छ । जुन भाषा मधेसमा लादेको भनिएको छ, त्यो भाषाका मूल भाषीको समाज अविकास र दुर्गमताको पर्याय बनेको छ । जुम्ला त्यो जिल्ला हो जो ०६३ सालको अन्तमा गएर मात्रै सडक सञ्जालले जोडिएको थियो ।

यो अवस्थामा खस–आर्यले भाषा लादे या अन्यलाई विभेद गरे भन्नु त्यति सान्दर्भिक हुँदैन ।  यो कुनै जाति विशेषको अर्को जाति माथिको विभेदको कारणले मात्रै भएको अविकास नभएर हाम्रो केन्द्रिकृत सत्ता संरचनाको कारणले भएको हो । एकिकरण ताका पुराना शासन प्रणालीहरु भत्काइए तर प्रभावकारी नयाँ शासन प्रणालीको विकास नै हुन पाएन । भौगोलिक विकटता लगायतका कारणले विकास नहुन सकेपछि अलिकति सम्पन्न हुने वित्तिकै सदरमुकाम जाने, अझै बढि भए तराई झर्ने र त्यो भन्दा पनि बढि भए काठमाडौँ बसाइ सर्ने क्रमले दुर्गम ठाउँहरुमा निजी क्षेत्रबाट सम्भव हुने विकास समेत हुन सकेन । राजश्वको समानुपातिक र न्यायोचित वितरण नहुनुले दुर्गम जिल्ला दुर्गम नै रहे र केन्द्रहरुमा मात्रै धेरथोर विकास हुन थाल्यो ।

४. समुदाय भित्रकै विभेदलाई ढाकछोप


राउतले मधेसको विकासको चावी स्वतन्त्र राज्य भएको भनेर भन्दा त्यहाँको आन्तरिक विभेदहरु खाली लक्षण मात्रै भएको भनेर भनेका छन् । यो कुराको सत्यता जाँच्न एउटा उदाहरण प्रस्तुत गर्न चाहन्छु । मधेसको विभेदका विषयमा जान्नका लागी साझा सवालले प्रशारित गरेको एक कार्यक्रममा२ सिराहा नैनपुरका दिपक मल्लिकलाई इनार छुनबाट सारा गाउँ आएर रोकेको र त्यसका अलावा पनि त्यस जिल्लामा थुप्रै जातीय विभेदका घटनाहरु भएको भनि देखाइएको थियो । भन्नलाई सरकारी नीति दोषी भनिएपनि त्यहाँ मल्लिकलाई इनारमा छेक्ने सरकार थिएन । त्यस्तै मधेसी विद्यार्थीहरु सहरमा कोठा लिएर बस्न जाने क्रममा कोठा पाउन समेत मुश्किल हुने गरेको कुरा त्यहाँ भनिएको थियो । त्यो पनि सरकारले नभएर स्थानीय मधेसी उच्चजातका मानिसहरुबाटै भएको विभेदको परिणाम थियो । एक जना दलित युवकले योग्यता हुँदा हुँदै पनि न शिक्षक न पियनको जागिर पाउन सक्छ कारण कथित उच्च जातका अभिभावकहरु आफ्ना वालवालिकालाई दलितको हातबाट कुटाइ खाएको देख्न सक्दैनन् । त्यस्तै कार्यालयका अन्य कर्मचारी दलितको हातको चिया, खाजा खान मान्दैनन् । यो सबै विभेदको कारक सरकारलाई मान्नु र छुट्टै राज्यले यसको हल गर्छ भन्नुले सिके राउतको पूर्वाग्रही सोच प्रष्ट पार्छ ।

५. नाच्न नजान्ने आँगन टेढो 

भनिन्छ जो मान्छेसँग सिप र क्षमता छैन, काम गर्ने जाँगर छैन त्यसले आफू बाहेक सबै चिजमा कमी देख्छ र आफ्नो असफलता र असक्षमताको सारा दोस अरुमा सार्छ । सिके राउतका बोलीले पनि त्यस्तै कथनलाई चरितार्थ पारेको देखिन्छ । साझा सवालकै एक अर्काे कार्यक्रममा३ सप्तरी जिल्लाको विकासका बारेमा सामग्री प्रशारण गरिएको थियो । मधेसी नेता राजेन्द्र महतो पनि त्यसमा सहभागी थिए । उनको र राउतको बोली ठ्याक्कै मिलेको थियो । हरेक कुरामा राज्यलाई दोस दिन उनी पछि परेका थिएनन् ।
आफूले नागरिकता प्राप्त गरिसकेपछि बाबुलाई नागरिकता दिलाउने र आवाज उठ्दा माओवादीका नाममा प्रसासनमा आगो लगाएर प्रमाण नष्ट पार्ने आरोप लाग्ने गरेका राजेन्द्र महतोले पनि सप्तरीका सोह्र माननीयको संसद विकास कोषको वार्षिक लगभग २५ करोड कहाँ जान्छ भन्ने प्रश्नको उत्तर दिन सकेनन् । सरकार त पराई भयो । हुन छ सरकारको मन्त्री सांसद भएका मधेसीले सरकार भनेको आफू पनि हुँ भन्ने कुरा बोध गर्न नसक्नु या सरकार भनेको अरु नै छुट्टै केही हो भन्ने पार्नु जिम्मेवारीबाट पञ्छिने प्रयास मात्रै हो । तर पनि उनीहरुको तर्कलाई मान्ने हो र सरकार साँच्चिकै मधेस विरोधी छ भन्ने हो भनेपनि मधेसका सुभचिन्तक ती १६ माननीयले २५ करोडको वार्षिक रकम मधेसको विकासमा खर्च गर्न किन चुकेका होलान् ? यो कुरा मधेसीहरुले बुझ्न जरुरी छ ।  यी मधेसी नेताहरुले ध्यान नदिएको मोहरी नदीको सुलिसगेट मर्मत गर्ने काममा सरकारले छुट्याएको १२ लाखको अपचलनका बारेमा सोध्दा समेत निर्लज्ज भएर अनभिज्ञता जनाउँछन् । त्यो जिम्मा पनि सरकारकै थाप्लामा राख्छन् । अनि २५ करोडबाट २५ लाख मात्रै खर्च गर्दा पनि हजारौँ घर डुबानबाट बच्ने हुँदाहुँदै पनि त्यसो किन गर्न सकिएन भन्दा हाकाहाकी कार्यकर्ता पाल्न खर्च गरिएको हुनुपर्छ भनेर अड्कलबाजी मात्रै गर्छन्, ठोस कुरा बाहिर आउँदैन ।

मधेसको माग स्वतन्त्र राज्य भनेर बोली रहँदा मधेसी महिलाहरु भने रक्सी खाएर आफूलाई कुट्ने पतिहरुलाई तह लाउन प्रहरी प्रसासनले घरेलु मदिराको विक्रि वितरणमा रोक लगाए पुग्ने बताउँछन् । त्यस्तै सौचालय निर्माणमा सरकारी सहयोग मिले जनजीवन केही सहज हुने कुरा उठाउँछन् । हुलाकी सडकको निर्माण चाँडो होस् भन्ने आकांक्षा राख्छन् ।
यस्ता सामान्य माग भएको समाजलाई विखण्डनकारीका रुपमा उभ्याएर सिके राउत जस्ता स्वघोषित मधेसी ठेकेदारले जातीय विद्वेस बढाउने काम मात्रै गरि रहेका छन् । कार्यक्रममा मधेसमाथि विभेद भएको सिद्ध गर्न सरकारले ९० प्रतिसत राजस्व मधेसबाट उठाउने भएपनि १० प्रतिशत मात्रे बजेट मधेसका लागी विनियोजन गर्ने गलत तथ्याङ्कले जनता भ्रमित पारि रहँदा विद्या चापागाइँले सरकारी कागजमा त ३७ प्रतिशत देखिन्छ भनेको आवाज सुन्नै नचाहने राजेन्द्र महतो अर्का अवसरवादी हुन् । काठमाडौँमा महल ठड्याएर मधेसीको सच्चा प्रतिनिधि भन्ने महतो जस्तै नेताहरुको कारण मधेस पिछडिएको हो । नत्र तिनका घर सम्मै जानका लागी पनि बाटाहरु बन्ने थिए,  अन्य सेवा सुविधाहरु थपिने थिए ।


माथिका पाँच आधारहरु अनुसार हेर्ने हो भने पिडित एक्लो मधेस मात्रै छैन, देशका अन्य कुना काप्चामा पनि विकासको किरण पस्न बाँकि छ । पिडक कुनै निश्चित जात र वर्गका मानिस मात्रै होइनन्, बरु सिंहको खोल ओडेका तिनै समाज भित्रका ब्वाँसाहरु पनि हुन् । हालको नेपाली संस्कृतिको विकासका क्रममा धेरै जातजातीका सांस्कृतिक कुराहरु आदानप्रदान भएका छन् । किराती राजा बलिहाङले चलाएको देउसी–भैलो खस–आर्यले समेत गाउँछन्, तराईको होलीमा पहाडी पनि रमाउँछन् । छठमा मधेसीले सूर्य पूजन गरिरहँदा सुदूर–पश्चिममा जात्राहरु मनाइन्छन् (तिनको राज्यले अझै पनि पहिचान र सम्मान गर्न सकेको छैन) । जानकीलाई सबैले मान्छन्, भृकुटी, इमानसिं चेमजोङ, पासाङ ल्हामु, जय पृथ्वीबहादुर, आदि सबैका साझा राष्ट्रिय विभुती भएका छन् । इतिहास बन्ने क्रममा कमी कम्जोरी भए होलान् । त्यसको फरक कोणबाट विवेचना गरेर सबैले गौरव गर्ने खालको इतिहास निर्माण आजको आवश्यकता हो । गलत भएका काम पनि जोगाएर भावि पुस्तालाई पाठ सावित हुने गरी राखियोस् । अझै पनि नाजी जर्मनीका पालामा बनेका बन्दी गृहहरु जोगाइएर राखिएको छ ताकि भावी पुस्ताले इतिहास दोहो¥याउने गल्ती नगरोस् । सामानुपातिक निर्वाचन प्रणाली, आरक्षण, संघीयता, लगायतका माध्यमबाट सुनौलो भविष्य सुनिश्चित गर्ने प्रयास भइरहँदा सबैले साथ दिनु जरुरी छ । अपरिवर्तनीय बुँदा केही पनि नभएको संविधान समयसँगै परिमार्जित गरेर लैजानु कुनै कठीन कुरा होइन् । बरु मतभेदहरु बढाएर शत्रुलाई फाइदा लिने अवसर थपिदिँदा भोली देश नै नरहने स्थिति आयो भने, त्यो कुरा फेर्न गाह्रो हुनेछ । सिक्किम विलय भएको इतिहास छेवैमा रहँदा, नाटकीय पाराले क्रिमिया रुसमा गाभिएको बेला स्वतन्त्र मधेस दिगो हुन्छ भन्ने तर्क वाहियात र प्रायोजित तर्क मात्रै हो । जनमत संग्रह त क्रिमियामा पनि भएकै हो । जनमत संग्रहका परिणाम सँधै सहि हुन्छन् भन्ने छैन । देश रह्यो भने कानुन त भोलि पनि बदलौँला, देशै नरहे के गर्ने ? सिके रावत जस्तालाई विचारले मार्ने हो । हावादारी तर्क गर्नेलाई अनावश्यक महत्व दिएर गलत सन्देश प्रवाहमा कसैले पनि सहयोग नगरौँ ती त्यसै बिलाएर जान्छन् । जय देश ! (PLEASE CLICK TO LIKE MY FACEBOOK PAGE)

Comments

Popular posts from this blog

Letters to a Young Poet -Rainer Maria Rilke (with quotes)

अम्बेडकरको Annihilation of Caste

निर्मलालाई न्याय