दिवंगत सपनाहरुः ओलीको बहिर्गमन

के होला कसो होला भनेर अनेकौँ अड्कलबाजी गर्दै गर्दा ओली सरकार पनि अन्ततोगत्वा ढलेको छ । ९ महिने सासन अवधिमा केही अपजस र धेरै वाहवाही बटुलेको ओली सरकार अन्ततः प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि ढल्मलाउन थालेको हो । विगतमा शुशील कोइराला सरकारसँग प्रधानमन्त्रीत्वमा पालो पैँचो गर्ने गरेर भएको भनिएको ‘भद्र’ सहमतीको कार्यान्वयन हुन नसकेपछि नेकपा एमाले, तात्कालीन एमाओवादी, कमल थापा नेतृत्वको राप्रपा, लगायतका अन्य थुप्रै साना दलहरुलाई काँधमा बोकी ओली सरकार गठन हुन गएको थियो । यो गठबन्धन देशको लागी एकदमै महँगो सावित भयो । जति धेरै दलहरु सरकारमा सामेल हुन्छन् त्यति नै धेरै पदलोलुपहरुको झुण्ड बढ्छ । ती सबै आकांक्षीहरुको मन राख्न अनेकौँ लज्जस्प्द खेलहरु सुरु हुन्छन् । त्यसै अनुरुपका खेलहरु यो सरकार चलाउनका निम्ती पनि भए । सरकार चलाउनकै निम्ती छ–छ जना उपप्रधानमन्त्री यसै सरकारमा देखिए । त्यसका साथसाथै मन्त्रीपद पु¥याउनकै लागी मन्त्रालय टुक्रयाउने कामहरु पनि भए । कहिल्यै कार्यकारी पदमा नपुगेका चित्रबहादुर केसी पनि यो सरकारमा अटाए । राप्रपाले पनि ठूलो भाग पायो ।
यी सबै अवगुणहरुका बाबजुद ओली सरकारले भारतीय हस्तक्षेपका अगाडि घुँडा नटेक्नुले यो सरकारलाई सबैको प्रीय बनाइ दियो । मधेसीहरुको असन्तुष्टीलाई विषय बनाएर सुरु भएको नाकाबन्दीका बेलामा गठन भएको सरकारले भारतीय अपेक्षा अनुरुप घुँडा नटेकी आफ्नो सार्वभौमसत्ताको भरपुर प्रयोग गरेर बाह्य शक्तिलाई लल्याकलुलुक बनाएको थियो । संसदमा उपेक्षा गरेर राखिएको संसोधन प्रस्ताबलाई पारित गरी मधेसीको जायज माग सम्बोधन भएको भन्दै नाटकीय ढंगले नाकाबन्दीको अन्त्य हुनु अनी भारतीय पक्षको व्यवहारमा आएको परिवर्तन त्यसको प्रतिफल थियो । ओली निकै वर्ष पछि भारत भ्रमणमा राजकीय सम्मान पाउने नेपाली नेता पनि हुन सफल भए । त्यस्तै राष्ट्रपतीको भ्रमण समेत रोकेर ओलीले नेपाली नेतृत्व भारतपरस्त नहुने भनेर प्रष्ट संकेत गरिदिए । यी सबै कुरालाई कसैले खोक्रो राष्ट्रबाद भनी भन्न समेत भ्याए भने कसैले असन्तुलित परराष्ट्रनीति समेत भने । वर्षौँ देखि भारतपरस्त राजनीति गर्दै आएका नेताहरुसँग अभ्यस्त भएका नेपालीहरुले यसपटक भारतका इक्षाअनुरुप नभइ स्वविवेकमा र नेपालीको भावनाअनुरुप कामहरु गर्दैजाँदा उनको दल इतरका जनताले पनि स्वच्छन्द रुपमा ओलीको समर्थनमा नारा घन्काए ।



राष्ट्रवादी छवि स्थापित गराउनुका अलावा पनि उनले विभिन्न महत्वाकांक्षी योजनाहरु नेपाल जनता समक्ष ल्याए । सडक खन्ने र कालोपत्रे गर्ने भन्दा ठूलो योजना बाँड्न नसकेका नेताहरुका माझ एकाएक रेल र देशमै उत्पादित तेलका कुरा गर्दा सुरुवातमा सबैले ओली सरकारको केहि आलोचना समेत गरे । भूकम्प पिडितलाई राहत पु¥याउन नसकिएको परिप्रेक्षमा समुद्रमा जहाज कुदाउने र हावाबाट बिजुली निकाल्ने कुराहरुले जनताहरुमाझ मिठो सपना बाँडेको आरोप पनि उनीमाथि आइलाग्यो । त्यतिहुँदा हुँदै पनि ओली सरकारका पक्षमा जनाधारको कमी देखिएन । उनले आफूले बोलेका बाचाहरु पुरा गर्ने तर्फको काम पनि विस्तारै गर्दै गएका थिए ।
चीनसँगको ऐतिहासिक सन्धी सम्झौता अनि चीनबाट नेपाललाई रेलसुविधाले जोड्ने प्रतिबद्धता मात्रले नै पनि भारतीय शासकहरु निकै हच्किएका थिए । नेपालीहरुलाई आफूलाई पाएको सुखमा भन्दा भारतीयहरुको आलापविलापले पनि धेरै खुशी तुल्याउने गर्छ । त्यही भएर पनि होला जतिजति भारतीय संचार माध्यमहरुमा नेपालको चीनसँगको नजिकिँदो सम्बन्धलाई लिएर आलापबिलापहरु हुँदै गए त्यति त्यति नेपाली जनताहरु पनि ओली प्रति अझै बढि सहानुभुती राख्दै गए । भारतकै तर्फबाट पनि नेपाललाई फेरी आफ्नो बनाउने कोशिस अनुरुप प्रयासहरु हुँदै गए । विशाखापट्नम बन्दरगाहको सुरुवात त्यसैको एक संकेत थियो । 
यदि ओली सरकारले पूर्ण समय सासन गरेर पनि आफूले गरेका बाचाहरु पुरा गर्न नपाएको भए उनी पनि अरु जस्तै बदनाम हुने थिए । ओली सरकार यसरी असमयमै ढल्नुले उनीमाथिको आस्था अझै बढाइ दिएको छ । बेलाबेलामा सरकार धान्नका लागी आफूले मन नलागी नलागी पनि सहयोगीका मन राख्नका लागी केही नमिल्ने कामहरु पनि गर्नु परेको प्रति इंगित गर्दै ‘हरेक साना द्यौरालीमा  पाती चढाउँदै हिँड्नु परेको’ प्रसंग सायद धेरैलाई याद छ होला । राजनीति जनताहरुको सेवाका लागी हो भन्दा पनि ‘राजनीति जोगी बन्नलाई गरिन्न’ भनेर नेपाली नेताहरुले आफ्नो स्वार्थ जनतामाझ प्रष्ट पारि सकेका छन् । ‘जोगी बन्नलाई गरिन्न’ को व्याख्या जसरी पनि गर्न सकिन्छ तर सोझो अर्थमा बुझ्दा पनि यसमा जनताहरुको सेवा र देश विकासको भाव पटक्कै पाइन्न । पाइन्छ त केबल व्यक्तिगत उन्नती गर्ने आकांक्षाको छद्म रुप अनि जसरी पनि सत्ता र शक्तीको नजिक रहेन उत्कट आकांक्षा । यस्ता उद्देश्य राखेर राजनीतिक भूमीमा उत्रेकाहरुसँगको सहकार्यमा सौदाबाजी हुनु अनि अख्तीयारको दुरुपयोग हुनु उदेकपूर्ण होइन । त्यसैले ओली नेतृत्वले पनि आफ्नो गठबन्धन टिकाइ राख्न केहि अनपेक्षित कामहरु गर्नु परेको कुरा बुझ्नलाई त्यति गाह्रो छैन । 
ओलीले राजीनामा नदिने बरु सदनमा अविश्वासको प्रस्ताबको सामना गर्ने भनेर भनिरहँदा कुरा मतदानसम्म पुग्ला भनेर सबैले सोचेका थिए । अझ केहि गरी ओलीका पक्षमा बहुमत जुटी पो हाल्छ कि भन्ने सम्म पनि खबरहरु आइ रहेका थिए । त्यसैका लागी मधेसी नेताहरुलाई प्रलोभन दिइएको समाचारहरु पनि बाहिर आए । कतिले ओलीले अब संसद विघटन गरेर भएपनि आफ्नो आयु लम्ब्याउँछन् भन्ने अड्कलबाजीहरु पनि गरेका थिए । ओलीले संसदमा उनी प्रतिको अविश्वासको प्रस्ताबमा छलफलको प्रकृया सकिएर आफूले जवाफ दिने बेलामा अन्तिममा गएर आफूले राष्ट्रपति समक्ष राजीनामा पेश गरेको जानकारी दिँदा सबै एकछिनलाई अलमलिए । यो कदमले ओलीले सबैलाई नङ्गयाउने मौका भने पाए । सरकार परिवर्तनको पक्षमा सबैले बोलेका कुराहरुमा उनले व्यवक्तिगत आरिस बढि भएको र देशको चिन्ता कम भएको भनी उल्लेख गर्दा पहिले बोलेकाहरुको मुहार देख्न लायक थियो । त्यसका साथसाथै देश–विदेशमा भएका सम्पूर्ण नेपालीहरुले उनको भाषण यति सम्मानपूर्वक हेरेका थिए कि उनको उक्त भाष पश्चात एक पटक फेरी सामाजिक सञ्जालहरुहरुमा उनका प्रशंसकहरुले उनलाई जननेता लगायतका थुप्रै उपाधीहरु दिन भ्याएको थियो ।
संसदमा प्रस्तुत अविश्वासको प्रस्ताबको छलफलका क्रममा भएका वहसहरुमा प्रचण्ड, नेम्वाङ्ग र ओलीको भाषणले धेरैको ध्यान तानेको थियो । प्रचण्डले ओलीलाई आत्मकेन्द्रित भएर काम गरेको र सरकार ढाल्न राष्ट्रिय एकताका लागी आवश्यक भएको भनि व्यक्त गरेका थिए । नेम्वाङ्गले प्रचण्डलाई उच्चस्तरीय राजनीतिक संयन्त्र मार्फत सरकारलाई निर्देशन गर्ने र सच्याउने भूमिकामा उनी आफै असफल रहेको आरोप लगाइ रहँदा प्रचण्ड नतमस्तक थिए । सरकारमा आफै रहने र सरकारको आफै बद्ख्वाईं गर्ने प्रचण्डको अभिव्यक्तीलाई नेम्वाङ्गले नराम्रो झापड हानेका थिए ।
सबै भन्दा मनछुने पल त त्यति बेला आयो जब ओलीले सबैलाई सफाइ दिन सुरु गरे । उनले सरकार ढल्नुलाई सामान्य रुपमै लिएको भनी उल्लेख गरे । सरकारले काम नगरेर भन्दा पनि व्यक्तिगत चित्तदुखाइका कारण सरकार ढल्नु परेको मा दुःख व्यक्त गरे । ५२ सालमा मनमोहन अधिकारीको सरकार ढल्दाको अवसरलाई एकपटक फेरी सम्झाइदिएर संसदीय व्यवस्थाको क्रुरताप्रति सबैलाई एकपटक घोत्लीन बाध्य बनाए । वृद्धवृद्धासम्बन्धी काम गर्नु, गाउँ बनाउने काम गर्नु, सुकुम्बासीका निम्ती आबासको व्यवस्था गर्नु, शान्ती सुरक्षा कायम गर्नमा सफलता पाउनु नै के त्यो सरकारको दोष थियो भनी सबैमाथि प्रश्न तेस्र्याइ रहँदा सदनमा निकै गाम्भीर्यता छाएको थियो । संविधानको अपव्याख्याद्वारा अधिकारीलाई हटाइँदा राष्ट्रले त्यसको मूल्य तिर्नु परेको र देश हिंसामा धकेलिएको कुरा पनि उनले स्मरण गराए ।
ओलीले आफूलाई राजनीतिक चक्रब्यूहमा फसेको कलियुगे अभिमन्यू भनी भनि रहँदा उनीमाथि सहानुभूती नराख्ने सायदै कोहि रहे होला । नेपाली जनताको मुर्छित सपनालाई बौ¥याएर देशमा विकासका नयाँ सम्भावनाहरु पहिल्याउन सफल भएकोमा उनी आफै प्रति गर्व गर्दै देशमा स्थिरता ल्याउन सफलभएको स्मरण गराए । संसदको पहिलो दलका नेता शेरबहादुर देउवाले प्रतिपक्षी दल संसदीय व्यवस्थाको सौन्दर्य भएको भनेर संयुक्त सहमतीको सरकारको सम्भावनालाई तोडिदिएको सन्दर्भमा प्रचण्डको सहमतीको सरकार बहाना मात्रै भएको भनी उनले आरोप लगाए । सरकार परिवर्तनले अस्थिरता निम्त्याउने पक्कापक्की भएको भन्दै काठमाडौँ–निजगढ द्रुतमार्ग, केरुङ्ग–काठमाडौँ–पोखरा–लुम्बिनी रेलसेवा, तराईको हुलाकी राजमार्ग, उर्जा र कृषिमा आधारभूत रुपमा आत्मर्भिरता संभव तुल्याउने सरकारी योजना, जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, दलित, लोपोन्मुख र अल्पसंख्यक समुदायका लागि अगाडि सारिएको सामाजिक सुरक्षा कार्यक्रम, आदिलाई भावी गठबन्धनले कता लैजानेछ भनेर अनुत्तरित प्रश्नहरुको बीटा सबैसामु छोडेर गए ।
ओली सरकार ढलेसँगै करोडौँ नेपालीहरुको अब त केहि हुन्छ कि भन्ने आशाहरुको पनि अवसान भएको छ । ओलीले बाँडेका सपनाहरुमा सबैको एक मत नभएपनि कहिँ कतै सबैले भै पो हाल्छ कि भन्ने पनि मनमा लिएका थिए । आफ्ना राजनीतिक आस्था भन्दा बाहिर आएर हाकाहाकी ओलीको समर्थन गर्न अनि उनको कदमहरुप्रति ताली बजाउन कोहि पछि परेको थिएन । धेरैले ओली शासनकालमा अभाव र समस्याहरु भएपनि सगौरब नेपाली भएर बाँच्न पाएकोमा भाग्यमानी भएको मानेका थिए । भारतपरस्त राजनीतीबाट बाक्क दिक्क भएकाहरुका लागी अबको नेतृत्वमा आउने सम्भावित अनुहारहरुप्रति कुनै धेरै अपेक्षा छैन । बरु अबको नेतृत्वलाई ओली ले छोडेर गएको नजीरका कारण फिक्का पर्ने र असफल प्रतीत हुने खतरा अवश्यै छ । ओलीको राजीनामासँग भारतीय संचारमाध्यमले भारत खुशीभएको समाचार छापे लगत्तै जनआक्रोश झनझनै बढ्दै गएको छ ।

Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला