कांग्रेस महादिवेसनः आशा र निराशा

नेपाली कांग्रेसको महाधिवेशनले दोश्रो पटकको निर्वाचन बाट अत्यधिक बहुमतले शेरबहादुर देउवालाई पार्टि सभापतिमा निर्वाचित गरेपछि देशको सबै भन्दा ठूलो राजनीतिक दलको नेतृत्व कसले गर्ने भन्ने कुराको टुङ्गो लागेको छ । पार्टी नेतृत्वका अर्का दावेदार रामचन्द्र पौडेललाई हराउँदै उनले सभापतिको कुर्सी हात पारेका हुन् । ज्योतिसलाई साइँत देखाएर मनोनयन दर्ता गरेका शेरबहादुर देउवाले कांग्रेसमा लागेको ५२ वर्ष पछि मात्रै पार्टिको सर्बोच्च पद प्राप्त गर्न सफल भएका छन् । पार्टी नेतृत्वकै बखेडामा पार्टी विभाजन सम्मको इतिहास बोकेको नेपाली कांग्रेसमा यो परिवर्तनले २० वर्ष पछि कोइराला परिवारको एकछत्र शासनलाई भंग गरेर सुदूरको छोरोको हातमा नेतृत्व सुम्पेको छ ।
विं.सं. २०२० सालमा कांग्रेसमा लागेका देउवाले विद्यार्थी राजनीतिबाट आफ्नो राजनैतिक जीवनको थालनी गरेका थिए । राजनीति शास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका देउबा तीन पटक देशको कार्यकारी पदमा पुगिसकेका भएपनि कोइराला परिवारको एकछत्र राजलाई शुशील कोइरालाको देहावशान पछि मात्रै तोड्न सफल भए । त्यसमा पनि कोइराला परिवारबाट कुनै पनि योग्य (?!) उमेदवारले दावेदारी गर्न नपाउँदा पार्टीको नेतृत्वमा कोइराला बाहेककाले दावेदारी गर्ने अवसर पाएका हुन् ।
आज भन्दा पाँच वर्ष अघि देउवाको जन्मथलो पस्ने मौका मिलेको थियो । सडक सुविधाबाट बञ्चित डडेल्धुराको रोखला (रुवाखोला)मा जन्मेका देउवाको आफ्नै घर पंक्तिकार पुग्दा भग्नावशेषका रुपमा मात्रै बाँकि थियो । भन्नेले गाउँमा शौचालय समेत नभएको कुरा सुनाउथे । डँडेलधुरको भात्काँडाबाट २ घण्टा भन्दा बढि उकाली र ओराली गरेपछि पुगिने उनको गाउँ त्यस क्षेत्रको प्रशिद्ध तिर्थस्थल शिखर जाने बाटोमा पर्दछ । त्यहीँ जाने क्रममै पंक्तिकारलाई त्यो संयोग जुरेको हो । त्यस अर्थमा देउवा एक ग्रामीण भेगका प्रतिनिधि मान्न सकिन्छ । पारिवारिक विरासत भंग भएर पार्टीको सर्बोच्च पदमा एक संघर्षशील जीवन भोगेका पात्रले स्थान पाउनु भनेको एउटा नयाँ आशा जगाउने कुरा हो ।
अर्को तर्फ कांग्रेस अधिवेशनले एक ग्रामीण भेगको प्रतिनिधि पात्रले पार्टीको सर्बोच्च पदमा पुग्न ५२ वर्ष सकृय राजनीतिमा खर्चनु पर्ने मानक स्थापित गर्नु सायद उति आशाजनक कुरा होइन । यस्तोमा देशलाई युवाले हाँकोस् भनेर कसरी कामना गर्न सकिन्छ ? ५२ वर्षमा त भरखरै जन्मेको बालकै पनि युवा बाँकि रहन्न । विद्यार्थी राजनीतिका लागी पनि कम से कम १७ वर्षको हुनु जरुरी हुन्छ । तत्पश्चात ५२ वर्ष जोड्दा ६९ वर्षको भइन्छ भनेपछि युवापुस्तामा नेतृत्व जाने कुराको कल्पनका गर्न पनि गाह्रो छ । स्थापित राजनीतिक दलमा लागेर राजनीतिक भविष्य सुनिश्चित नहुने देखेका युवा पंक्ति या अन्य इक्षुकहरुले धमाधम नयाँ राजनीतिक दल दर्ता गर्ने गरेको सायद त्यसैले नै होला । यदि युवा पुस्ताले राजनीति गरोस, देश हाँकोस् भन्ने सबैको इक्षा हो भने यो परिपाटी मै विशेष परिवर्तन ल्याउनु पर्ने खाँचो देखिन्छ ।
पचासौँ वर्ष पछि पालो आउँदा समाज नै परिवर्तन भइ सक्छ । नेतृत्वमा पुग्दा सम्म त्यो व्यक्ति काम नलाग्ने भइ सक्छ । उसका योगदानपनि समाजले विर्सी सक्छ । त्यसबेला सम्मा समाजमा अरु थुप्रै परिवर्तन भइसकेका हुन्छन् र समाजले नयाँ नायक जन्माइ सकेको हुन्छ । देउवाले आफ्नो क्षेत्रमा अनि सम्पूर्ण देशका लागी दिएको योगदान यो पुस्तालाई यादै छैन । पञ्चायतकालको राजनीति यो पुस्ताले कितावमा फाट्टफुट्ट पढ्यो होला तर विस्तृत जानकारी कांग्रेसमै डटेर लागेका वा राजनीतिमा रुचि भएकाहरु बाहेकलाई छैन होला । दलीय राजनीतिलाई प्रतिबन्ध लगाइएको बेला गरिएको कांग्रेस सम्मेलनका क्रममा देउवाले जिब्रामा करेण्ट सम्म खाए । सुरजपुरा काण्डका रुपमा चिनिने सो घटनाले दिएको अस्पष्ट बोलीलाई नै विषय बनाएर कतिपयले देउबाको खिसीटिउरी सम्म गरे र अझै गर्छन् । देश र जनताका लागी जेलमा १० वर्ष भन्दा बढि काटेका देउबाले देशको सबै भन्दा ठूलो प्रजातान्त्रिक पार्टीको नेतृत्व पाउनु सबैका लागी गर्वको कुरा हुनु पर्ने तर त्यसो हुन सकेन । यो पुस्ताले उनको संघर्ष र योगदान भन्दा उनले कार्यकारी पदमा हुँदा गरेका गल्तीहरु र लगाइएका बातहरुलाई बढि याद गरेको छ । तसर्थ उनको विजयले यो पुस्तालाई उति असर गर्दैन जुन दुःखद हो ।
यसै महाधिवेसनमा धेरै युवा प्रतिनिधिहरुको सहभागीता भएको खबरहरु पनि पाढ्न पाइयो । सायद त्यहि यूवा जमातले हौसिएर होला नयाँ अनुहारहरुले पनि आफ्नो पालो आएको महशुस गरेर पार्टीको नेतृत्वपंक्तिका लागी उमेदवारी दिए । युवा राजनीतिलाई प्रोत्साहन गर्ने हेतुले कांग्रेस नेता (युवा नेता नभन्न उनले गरेको आग्रहको सम्मान गर्दै) गगन थापाको महामन्त्री पदको लागी उमेद्वारी पनि कांग्रेसको १३ औँ महाधिवेशनको रोचक पक्ष रह्यो ।  पछिल्ला महाधिवेशनहरुमा सर्वाधिक मत ल्याउन सफल उनको उमेदवारीलाई कांग्रेस भित्र अनि बाहिरका सबैले बडो रुचिका साथ हेरेका थिए । उनले महामन्त्रीको पद प्राप्त गर्न नसकेपनि एक नजिर भने पक्कै स्थापित गरेर गए । आफ्नै प्यानलका नेता कृष्णप्रसाद सिटौला भन्दा उनले बढि मत ल्याउन सफल भए । आफ्नै ससुरा अर्जुन नरसिंह केसी र विपि पुत्र शशांक कोइरालासँगको प्रतिस्पर्धा उनका लागी निकै असहज थियो । न त उनले पारिवारिक सहयोग पाउँथे न त पार्टी कार्यकर्ताले उनलाई विपिको रगत भन्दा माथि राख्न सक्थ्यो । र पनि उनले सम्मानजनक हार भोग्नुले आगामी दिनमा पार्टीका युवा जमातले पार्टी नेतृत्वका लागी अघि बढ्नेछन् भन्ने कुरा आशा गर्न सकिन्छ । उनले प्रप्त गरेको मतको सकारात्मक पक्ष मनेको यसले युवा नेतृत्वका लागी पनि नेपाली कांग्रेसमा स्थान छ भन्ने सन्देश दिन्छ । अर्कोतर्फ शशांक कोइरालाको विजयलाई नेपाली समाजको मान्छेलाई द्यौता बनाउने प्रवृत्तिको निरन्तरता भन्दा हुन्छ । विपीको छविका भरमा उनको छोरो भएकै कारणले उनी चुनिएको भन्नेहरुको पनि कमी छैन । त्यसैले त कांग्रेस कार्यकर्ता र अन्यले सामाजिक सञ्जाल मार्फत शशांक कोइरालाको पार्टी र देशका लागी योगदान न्यून भएपनि  भने महाधिवेसन मार्फत चुनिनुले कांग्रेसमा अझै पनि कोइराला हुनु आफैमा एउटा योग्यता भएको कुराको पुष्टि भएको भनि उल्लेख गर्न भ्याएका छन् । यसो हुनु युवा पुस्ताका लागी पक्कै पनि सकारात्मक सन्देश होइन । देशमा कुल परम्पराबाट चलेको राजतन्त्रनै समाप्त भइ सकेको परिप्रेक्षमा अबको नेतृत्व फलानाको सन्तान या अन्य कुनै नातामा रहेको कारणले भन्दा पनि व्यक्ति विशेषको योग्यताका आधारमा पाउनु पर्छ । त्यसपछि मात्र देशले नयाँ राजनेता प्राप्त गर्न सक्छ । नभए राणा शासनकै बेलामा पनि एक परिवार विशेषले देशको शासन सत्ता हातमा लिएकै थियो । त्यत्रो संघर्ष र ज्यानको बलिदानी दिएर प्रजातन्त्रको लागी लड्नुको के नै औचित्य रह्यो र ?
यसका अलाबा पनि अन्य केहि कुराहरु अलि नसुहाए झै देखियो । केन्द्रिय सदस्यको लागी भएको प्रतिस्पर्धामा भ्रष्टाचार गरेको प्रमाणित भएर जेल सजाय समेत भोगिसकेका उमेदवारहरु समेत देखिनु धेरैका लागी कुरा काट्ने बाटो बन्यो । देउबाले उनको साथ लिनुले पनि देउवा बढि बदनाम भए । अझ आश्चर्यको कुरा त के भने तिनै भ्रष्टाचारका आरोपमा जेल सजाय भोगेका मध्ये एकले झण्डैझण्डै सर्वाधिक मत ल्याए (दुई मत कम) ।  देशले प्राप्त गरेको धर्म निरपेक्षता, गणतन्त्र, लगायतका परिवर्तको विरोध गर्नेहरु नै देशको सबै भन्दा ठूलो प्रजातान्त्रिक पार्टीको महाधिवेशनबाट अत्यधिक मतका साथ चयन हुनु अनि पार्टीमा अग्रगामी शोच राखेर गएको परिवर्तनमा अग्रणी भूमिका निभाउनेले पराजय भोग्नुले पक्कै पनि विगतको परिवर्तनका लागी रगत बगाएकाहरु प्रति सम्मान दर्साउँदैन । राजनीतिक चेतनाले भरिपूर्ण हुनुपर्ने महाधिवेशन प्रतिनिधिहरुको छनौटमा त यस्ता नेताहरु छन् भने आम निर्वाचनबाट कस्तो नेतृत्वको अपेक्षा गर्ने ? अनि गुनासो गर्ने बेलामा फेरि त्यहि नेतृत्वलाई धारे हात लायो आफू चोखियो ।
एउटा कुरा चाँहि के भन्न सकिन्छ भने, महाधिवेशन प्रतिनिधिहरुले प्यानललाई भन्दा व्यक्तिलाई हेरेर मत दिए । देउवा विजयी भएपनि उनकै प्यानलमा उठेका महामन्त्री पदका उमेद्वार अर्जुन नरसिंह केसी र कोषाध्यक्षकी उमेद्वार  चित्रलेखा यादव हारे । अर्जुन नरसिंह केसी डां शशांक कोइरालासँग हारे पनि उनको हार बास्तबमा विपीसँग भयो भनेर अथ्र्याइन्छ । चित्रलेखा यादव पछिल्लो समयमा नेतृत्वको निर्देशन वेवास्था गर्दै मनलागी गरेकोले पनि हारिन भन्नेहरु देखिए । खुमबहादुर खड्काको विजय पुरानो व्यवस्थाप्रतिको मोह राख्नेहरुको विजयका रुपमा लिन सकिन्छ । मतपरिणामका लागी लागेको समयले सबैलाई निराश बनायो । हिलटेकको ट्यांकि प्रयोग गरेर गरिएको मतदान प्रकृयाले पनि खुबै खिसिटिउरी पायो । जे होस् एउटा प्रजातान्त्रिक पार्टीको महाधिवेशनमा देखिएका यावत घटनाक्रमले सबैलाई एक पटक सोच्न भने बाध्य बनाएको छ । देशको ठूलो पार्टी भएकै नाताले पनि यो महाधिवेशन प्रति धेरैले चाँसो राखेका थिए । आशा छ यस क्रममा देखिएका कमी कम्जोरीलाई पार्टी नेता एवं कार्यकर्ताले आत्मसाथ गरेर आगामी दिनमा सुधार गर्दै लैजानेछन् । त्यसका साथै संचार माध्यम या नागरिक समाजले पनि कमिकम्जोरी औँल्याइ दिएर एक किसिमको नैतिक दबाब सिर्जना गरिदिनेछन् भन्ने आशा गरौँ ।

Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला