‘बाँचेका मान्छेहरु’

source:http://stephaniefast.org/wp-content/uploads/2015/06/nepal.jpg
सिन्धुपाल्चोक जिल्लाको सेलाङ्गको काफ्ले डाँडामा छायांकन गरिएको साझा सवालको कार्यक्रम हेर्दा भूकम्पले प्रभावित पहाडी जनजीवन के कसरी बित्दै छ भन्ने अनुमान लगाउन त्यति गाह्रो हुँदैन । भूकम्प गएको झण्डै वर्ष दिन पुग्न लाग्दा पनि भूकम्प पिडितहरुको उचित वासस्थानको व्यवस्थापन हुन सकेको छैन । जेन तेन वर्षा कट्यो अनि त्यसै गरि हिउँद पनि बित्न लाग्यो । त्यसै त पिछडिएको र अभावले ग्रस्त पहाडि जनजीवन भूकम्पले झन् बढि पिडित बनेको छ । देशमा मधेसले पहाडलाई अधिकार खोसेको र दबाएको आरोप लगाइएर आन्दोलन गर्न लागेको पनि निकै भयो । पहाडको भने नाडि गलेको छ । झन नाकाबन्दीले थपेको पिडाको त के कुरा !
विकासबाट बञ्चित गराएकोमा राजनीतिलाई दोष दिने चलन नयाँ होइन । हरेक असक्षमताको दोष नेता र देशको अस्थिर राजनीतिमाथि थुपा¥यो अनि आफू चोखिएको महशुस ग¥यो । ‘गतिला नेता र राम्रो राजनीति नभएर देश विग्रेको’ भनेर हरकोहिले भन्छन् । केहि हदसम्म त्यो आरोप पनि सहि हो । अनि कतिपय कुराहरुमा हामी स्वयं पनि कम दोषी छैनौ । साझा सवालको कार्यक्रममा देखिएका केहि कुराले यस्तो सोच्न बाध्य बनायो ।
कार्यक्रममा सहभागी हुन नेपाली चलचित्र जगतका महा नायक राजेश हमाल र नेपाल सरकारका वन तथा भू–संरक्षण मन्त्री अग्नी साप्कोटा समेत काफ्ले डाँडा पुगेका थिए । आफैले चुनाव जिताएर काठमाडौँ पु¥याएका मन्त्री सापकोटा भन्दा काफ्ले डाँडा बासीलाई राजेश हमाल बढि नजिकका लागे । राजेश हमाललाई धेरैले चिने भने मन्त्री सापकोटालाई कसैले पनि चिन्न सकेनन् । यहाँ सम्म कि भोट हालेको दाबी गर्ने जित बहादुर बिकले पनि आफूले कसलाई भोट हालेको भनेर भेउ पाउन सकेनन् । यी कुराहरुले राजनीतिक चेतनामा हाम्रो समाज कति पछाडि छ र राजनीतिज्ञहरुको जनमानसमा कत्तिको पकड छ वा उनीहरु कस्तो किसिमको जनप्रतिनिधित्व गर्न सकेका छन् भन्ने प्रष्ट हुन्थ्यो । साथै जनताहरुले आफूले प्राप्त गरेको मताधिकारको कुन हद सम्मको दुरुपयोग गरेका रहेछन् भन्ने पनि छर्लङ्ग हुन्थ्यो । अनुहार सम्म नदेखेको र नचिनेको मान्छेलाई उनीहरुको प्रतिनिधिका रुपमा निर्वाचित गरेर पठाउनु मताधिकारको पूर्णतया दुरुपयोग हो । त्यही मताधिकारलाई राम्ररी प्रयोग नगर्दा न हो देशमा असल नेतृत्वले अघि बढ्ने मौका नपाएको । राजनीति र नेतालाई दोष लाउने जमातका लागी यो एउटा सोचनीय कुरा हो । नेता र राजनीति विग्रिनुमा हामी यहीँनिर बढि चुकेका छौँ ।
यस अघि पनि साझा सवालको कार्यक्रममा सहभागी भएका राजेश हमालका लागी यो कार्यक्रमले पनि निकै भाभुक बनाएको थियो । गाउँलेहरुसँगको छोटो बसाइमा उनले पनि दुःख सुख साँटेका थिए । पारिवारिक कुरा अनि गाउँकी फुर्वा सङ्गमो तामाङ्ग (उजेली)सँगका अन्तरंग कुराले उनलाई पनि आफ्नो विगतमा पु¥याएको थियो । रात त जेनतेन बित्यो तर विहान उठ्दा हमालले सौचालयको दुरावस्ताका कारण विहानको  नित्य कर्म गर्न पाएनन् । गाउँलेहरुलाई गुहारेर भएपनि जेनतेन सौचालय पुनःनिर्माण गरेपछि उनले सरसफाइका कुरामा सरकारको मुख ताकी रहन नपर्ने भनेर उनले भनि रहँदा वरपर सुनिरहेका गाउँलेहरु गम्भीर देखिन्थे । वालविवाहको साक्षी बनेका अनि स्थानीयहरुको दैनिक भोगाइ आफू स्वयं भोगेका राजेश हमाललाई गाउँलेहरुको पिडा कल्पना गर्न सम्म पनि गाह्रो थियो । उनको एक दिन त जेनतेन बित्यो, सौचका लागी काठमाडौँ पुग्दा सम्म पर्खिने भए तर गाउँलेहरुको त सँधै त्यस्तै न हो ।
कार्यक्रममा सहभागी नेता, अभिनेता र प्रस्तोता सबैले गाउँको मुहार फेर्नमा आफ्नै किसिमको योगदान पु¥याए । नेताले गाउँलेहरुलाई हौस्याएर पानी भर्ने धारोको रुप फेरेर असल नेतृत्वको उदाहरण दिए । अभिनेताले सौचालय सुधार गरेर स्वाभलम्बनको पाठ सिकाए । अनि प्रस्तोता विद्या चापागाइँले पाठेघरको समस्या भएकी सेलमइ आमालाई स्वास्थ्य संस्थासम्म पु¥याइ दिएर सघाइन् । त्यसभन्दा पनि बढि उनले एउटा दूर दराजको गाउँको कथा सबैसामु ल्याइन । श्रब्यदृष्य बाँड्ने सामाजिक सञ्जाल युट्युबमा मात्रै यो कार्यक्रमलाई २ लाख भन्दा बढिले हेरेका छन् । त्यति धेरै मानिसमाझ काफ्ले डाँडाका बाँचेका मान्छेहरुको कथा पु¥याइदिनु साझा सबालको योगदान मान्नु पर्छ ।
काफ्ले डाँडाको वालविवाहका घटना, अझै पनि धामीझाँक्रिबाट उपचार गराउने चलन, उमेर नपुग्दै आमा बन्ने, विद्यालयको समस्या, खाद्य संकट, भात खाने रहर, आदि सबै नेपाली ग्रामीण जीवनका साझा समस्या हुन् । केहि फरक अवश्यै होलान्, तर मूलभूत रुपमा समस्याहरु तिनै हुन् । ती समस्याहरु समाधानार्थ आवश्यक प्रयासहरु पनि लगभग उस्तै हुन् । जनताहरु पनि अब स्वाभलम्बी हुन आवश्यक छ । कतिपय कामहरुका लागी न त नेतृत्व पर्खन पर्छ न त कुनै ठूलो बजेट नै कुर्नु पर्छ । स्थानीय साधन श्रोतको अधिकतम प्रयोग गरेरै पनि स्थानीयका जीवनस्तरमा निकै सुधार ल्याउन सकिन्छ । विभिन्न पेशासँग आबद्ध सबैले आ–आफ्नो क्षेत्रबाट यथासक्य योगदान दिने हो भने सहयोगी हातहरु त्यसै जुट्छन् । सरकारलाई सहरकेन्द्रित भनेर दोष लाइ रहँदा हामी आफै पनि सहर केन्द्रित भएको कुरालाई बेवास्ता गर्छौ । गाउँमा गएर विद्यालयमा पढाउन, स्वास्थ्य संस्थामा कामगर्न, सुरक्षा प्रदान गर्न अनि पत्रकारिता गर्न कमै तयार हुने गर्छन तर सबैले चाहन्छ सर्बत्र विकास होस् । कुना काप्चामा शिक्षा, स्वास्थ्य, संचार र सुरक्षा को उचित प्रबन्ध होस् । सरकारले अस्पताल त बनाउला तर उपचार गर्ने स्वास्थ्यकर्मी नभए त्यसको के अर्थ ? सरकारले विद्यालय त खोल्ला तर पढाउने शिक्षक नभए त्यो विद्यालयको के अर्थ ? सरकारले सुरक्षा चौकी त स्थापना गर्ला तर त्यहाँ काम गर्नका लागी कर्मचारीहरु नै नभइदिए त्यो चौकी को के अर्थ ? विकासका लागी जति महत्वपूर्ण पूर्वाधारहरु छन्, त्यति नै महत्वपूर्ण त्यसको उचित उपयोग गर्न वा गराउन सक्ने जनशक्ति पनि छ ।
भू–कम्पले हाम्रा धेरै जडशुत्री शोचहरुलाई हल्लाई दिएको छ । छरिएर रहेको बस्तीहरुमा यातायातसँग जोडिएर बस्नु कति महत्वपूर्ण हुदो रहेछ भन्नेकुरा राहतका सामग्री पु¥याउँदाको कष्टले बुझाइ दिएको छ । व्यवस्थित बसोबासका लागी अब जनता मनाउन त्यति गाह्रो छैन । व्यक्तिगत देखि संस्थागत प्रयासमा जुन किसिमले भूकम्प पश्चात उद्धार र राहतका कार्यहरु भए त्यसले सरकारको अनुपस्थितिमा पनि जनताले चाहे भने सबैथोक गर्न सक्छ भन्ने प्रमाणित भइ सक्यो । गलत प्रवृत्तिका मानिसहरुले पनि त्यसबेला केहि फाइदा लुटे तर त्यसैबेला धेरै ‘बचाउने मान्छेहरु’ पनि देखा परे । घर परिवार र कला साधनालाई विराम लाउँदै उद्धार र राहत मा जुटेका अनि सरकारले भन्दा पहिले पुनःनिर्माण कार्य सम्पन्न गरेका कलाकार ‘धुर्मुस–सुन्तली’ होउन वा उद्धारमै खटिएको बेला ज्यान गुमाउने क्याप्टेन सुबेक श्रेष्ठ होउन, सबैले सेवालाई कर भन्दा रहर बनाएर आफ्नो तहबाट हुन सक्ने उच्च समर्पणको उदाहरण दिए । भूकम्पले ६ महिने छोरोको ज्यान लिँदा कपिल कार्कीलाई भने उनको कर्तब्यले आँशु झार्ने मौका सम्म दिएन । उनले पुरिएर रहेका बालबालिकाको उद्धार गर्दा आफ्नो छोराको उद्धार गरेको सम्झिए । उनीहरुकै आशीष वचनहरुमा सन्तोष लिए । यस्तै थुप्रै उदाहरणहरु देखिए ।
अझै पनि काफ्ले डाँडा जस्ता नेपालका थुप्रै ग्रामीण भेगहरुका वालवालिकाहरु पढ्दापढ्दै विवाह गरेर पठाइन्छन् । अझै पनि त्यहाँका उजेलीहरुले अग्ला घर देख्ने रहर, धरहरा देख्ने सपना साँचेर बाँचेका छन् । अझै पनि त्यहाँका फुर्बा(उजेली)हरुले बारम्बार प्रश्न तेस्र्याइरहेका छन्, ‘हाम्रो गाउँको मान्छेले त कहिले पनि सुख्ख पाउँदैन कि के हो !’ उनीहरुको कथाले अब संचार माध्यममा स्थान पाउनु पर्छ । उनीहरुको व्यथा बुझ्न अग्नी सापकोटाहरु तिनका घरदैलो धाउनु पर्छ । राजेश हमाल जस्ता हस्तीहरु उनका आँगनमा पनि आउनु पर्छ । अनि बल्ल देशको पुरा चित्र देशले देख्न पाउँछ । बिभेदका सिकार तराइ मात्रै होइन पहाड पनि छ भन्ने कुरा छर्लङ्ग हुन्छ । अनि विकासप्रेमी सबैहरु एक कित्तामा आएर उभिन्छन् ।

Comments

Popular posts from this blog

अम्बेडकरको Annihilation of Caste

निर्मलालाई न्याय

उसको रोजाइ -Story