बाबुराम र टिकापुर घटना

उनको अभिव्यक्तिलाई नै विषयवस्तु बनाएर भरखरै प्रशारित ‘पावर न्यूज’ हेरि सकेपछि केहि नलेखी रहनै सकेन । कार्यक्रमका प्रस्तोताले वावुरामले भनेका कुरालाई एकखाले पूर्वाग्रही व्याख्या गरेर जनतामा भ्रम छर्ने काम गर्न खोजेको कार्यक्रम हेर्ने जो कोहिले पनि चाल पाउन उति गाह्रो थिएन । विशेषतः सामाजिक सञ्जालमा उनको टिकापुर घटना पूर्व र पश्चातका नकारात्मक टिप्पणीका आधारमा कार्यक्रम बनेको झैँ लागेको थियो । संवाद समितिका अध्यक्ष समेत रहेका भट्टराईले जनता उचाल्ने किसिमका अभिव्यक्ति दिनु नहुने भन्ने एक तर्क थियो भने भट्टराई स्वयंका तर्फबाट उनी सँधै अधिकार विमुखहरुलाई उकास्न पछि नहट्ने तर्कमा कार्यक्रम अडिएको थियो । उनको ‘अधिकार विमुख उचाल्ने’ कुरालाई विवादमा मुछेर टिकापुर घटनाका एकमात्र दोषी भनेर उनलाई जुन किसिमले उभ्याउन कोशिस गरियो त्यस प्रति केहि विमती भएकै कारण यो लेख लेख्न बाध्य भए ।
टिकापुर घटनाका दोषी धेरै छन् । अलिअलि दोष सबैले लिनु पर्छ । सोझासाझा थारुलाई पहाडीका विरुद्ध हतियार उठाउन आह्वान गर्ने उपेन्द्र यादव, अमरेस सिंह, राजेन्द्र महतो पनि यो घटनाका दोषी हुन् । थारुका नाममा केहि दिन्न भन्ने अभिव्यक्ति दिने देउबा पनि दोषी हुन र ‘ल है फलाना ले त यस्तो भन्यो अब तिमीहरुले देखाउनु पर्छ है’ भन्ने शैलीमा अतिरञ्जित किसिमले एक समिति भित्र भएको कुरालाई बाहिर ल्याउने बाबुराम भट्टराई पनि त्यसका दोषी हुन् । यी सबै पात्रहरुले आफ्ना समयमा र ठाउँमा गरेका योगदानको आफ्नै महत्व होला । तर यो घटनाको सेरोफेरोमा भएका कृयाकलापहरु उति सराहनीय लागेन । त्यति हुँदा हुँदै पनि यी सबै पात्रहरुले अब एक ठाउँमा आएर सद्भावको सन्देश दिने जुन आँट देखाउन पर्दथ्यो त्यो देखाउन सकेको जस्तो लाग्दैन । ७ सुरक्षा कर्मी र एक बालकको ज्यान गएको सो घटनामा जिउँदै मान्छे जलाएर जुन बर्बरता प्रदर्शन गरिएको थियो त्यसका लागी आन्दोलनरत पक्षले पनि घुसपैठलाई दोष लाएर फेरी जनतालाई उचालि रहने खालका अभिव्यक्ति नै दिइरहेका छन् ।
‘थारु सोझा हुन उनीहरुले यस्तो गर्न सक्दैनन् ।’ यो भनाइ उति साँचो होइन । हामी सानो छँदा एकजना माइकल शाह भन्ने युवकलाई महिला माथि दुव्र्यवहार गरेको भनेर टिकापुर घनटनाकै शैलीमा लखेटी लखेटी घरेलु हतियारले मारेको सायद कमैलाई थाहा होला । हो थारु सोझा हुन् तर उचालेर उचालिने अनि थचारिएर थचारिने खालका हुन् । त्यसैले जसले जे भनेको भए पनि सो घटनामा थारुहरुकै पनि ठूलो दोष छ । उनीहरुले पनि आफ्नो गल्ती महशुस गर्नु पर्दछ ।
५ प्रदेशको खाका बाहिर आउने बित्तिकै आएको अखण्डको नाराबाटै मैले यो घटना हुन सक्ने अनुमान लाएको थिएँ । कैलालीमा विगतका दिनमा पनि थरुहट र अखण्डको परस्परविरोधी माग राखेर दुई समुदाय भिडन्तको स्थितिमा पुगेको इतिहास छ । त्यसबेला केन्द्रले चाल पायो पाएन तर यति बेलाका जस्ता उचाल्नेहरु त्यसबेला देखिएनन् । त्यसैले महिनौँ लामो बन्द हुँदा पनि कसैको ज्यान गएको मलाई याद छैन । त्यहि विगतको पृष्ठभूमीका कारण नै मैले यसपटकको अखण्डको नाराले पनि विगतको इतिहास दोहो¥याउने कुरामा सचेत हुन आफ्ना लेख मार्फत संबन्धित पक्षहरुलाई सजग गराउन खोजेको थिए । (हेर्नुहोस: देशलाई अनिर्णयको बन्दी बनाउनेहरु) तर त्यो सफल भएको देखिएन । अखण्डको नारा लाग्यो । केन्द्रमा बसेका सुपका प्रतिनिधिहरुमा नैतिक दबाब प¥यो र उनीहरुले पनि अखण्डको नारामा अडान लिन पुगे । त्यसैले टिकापुर घटनाका दोषी अखण्डको नारा लाउने जमातहरु पनि हुन् ।
विभिन्न छुट्टाछुट्टै अन्तर्वार्ताहरुमा भट्टराई र देउवाले आफ्नो सफाइ दिएपनि सँगै आएर एकताको र आपसी भाइचारा बढाउने सन्देश दिन सकेका छैनन् । न त तीन मधेसी नेताहरुले नाकमुख नै देखाएका छन् । यता टिकापुर र धनगढी दुई हप्तादेखि कफ्र्यू खेप्दै आएको छ । विरामीहरु अस्पताल पुग्न पाएका छैनन् । गरिखानेहरुले गरिखान पाएका छैनन् । उचाल्नेहरु निश्चिन्त बसेका छन्, उचालिनेहरु खलबलिएको सद्भावका कारण सिर्जना भएको समस्यामा पिल्सीएर बसेका छन् । घाइते थारुहरु अस्पताल जान डराएका छन् । पहाडीहरु कफ्र्यूका बेला मोटरसाइकल चलाएको बहानामा गोली खाइ रहेका छन् । यही हो त हामीले चाहेको ?
बाबुरामले कम्जोर र अधिकार बिहिनहरुका पक्षमा बोल्ने र उनीहरुलाई उचाल्ने कुरा गरि रहँदा उनलाई खासमा स्याबासी मिल्नु पर्ने थियो । तर यहाँ सोझो वा भनौ कुराको लाटो अर्थ मात्रै लाउने चलन छ । उनले उचाल्ने भनेर भनेको काटमारका लागी उचाल्ने पक्कै भनेका होइनन् होला । तर कार्यक्रमका प्रस्तोताले त्यस्तै बुझेको र बुझाएको देखिनु एकदमै दुखद थियो । अहिले सम्म जति पनि आन्दोलन र क्रान्तीहरु भएका छन्, सबैको उद्देश्य भनेको कम्जोर र अधिकार बिहिनहरुको अधिकार सुनिश्चित गर्नु नै थियो । उनीहरुलाई उचाल्नेहरुले नै नेतृत्व लिएका थिए । चाहे राणा शासनका विरोधमा अधिकार विहिन जनतालाई उचालेर गरिएको ७ सालको आन्दोलन होस् चाहे पञ्चायतका विरुद्धमा गरिएको आन्दोलन होस्, या ०४६ को आन्दोलन होस् या ०६२÷६३ को आन्दोलन नै किन नहोसः सबै त्यस्तै अधिकार विहीनहरुका लागी तिनीहरुलाई नै उचालेर गरिएको आन्दोलन थियो । फरक के भइदियो भने ००७ सालका अधिकार बिहिनहरु र ०७२ का अधिकार बिहिन जनता एकै रहेनन् । पालैपालो कुल जनसंख्याको एकएक भागले इतिहासका विभिन्न कालखण्डमा स्वतन्त्रता र अधिकार पाउँदै गयो । अहिले आएर जातीय पहिचानको कुरा आउँदा सो को पक्षमा भन्दा विपक्षमा धेरैको जनमत देखिन्छ । मगर, थारु र मधेसी समुदायको पहिचानको लडाइ अझै सम्बोधन नभएको भनेर प्रस्तावित संविधानको विरोध भएको छ । त्यसो त दलित तथा महिलाका अधिकार छुटेको गुनासाहरु पनि त्यसै छन् । साझा सवालमा सिके लाससँग सहभागी भएका बाबुराम भट्टराईले मगर, थारु र मधेसीका मुद्दालाई संविधानमा समेट्न नसक्नुमा उनको दलको आकार कारक भएको भनिरहँदा उनी निकै लाचार देखिएका थिए । त्यसपछिका उनका अभिव्यक्तिमा पनि निकै परिवर्तन देखिए । टिकापुर घटना अघिको अभिव्यक्ति पनि त्यसपछि नै आएको हो । सायद त्यसको उदेश्य अडान लिएर बसेका नेताहरुलाई दबाब दिनका लागी थिए तर त्यसको असर कहिँ अन्तै देखियो ।

बाबुराम भट्टराईले कार्यक्रममा दलितका लागी पनि निर्वाचन क्षेत्र छुट्याउने कुरा चाहिँ उनले नै विगतमा दिएका अभिव्यक्तिसँग मेल नखाने थियो । नेपालमा अनेक जातजाती भित्र पनि तल्लो जात र मल्लो जात भन्ने छ । त्यसैले दलित जातीहरु उत्पिडित हुँदा हुँदै पनि छरिएर रहेकाले कुनै एक ठाउँलाई उनीहरुको राज्यको रुपमा घोषणा गर्न सम्भव नभएको कुरा सबैले बुझेकै छन् । बरु उनीहरुको प्रतिनिधित्वलाई सुनिश्चित पार्न समानुपातिक कोटाहरु छुट्याउन सकिन्छ । उदेश्य राज्यको नामाकरण भन्दा पनि अधिकार सम्पन्न गराउनु हो । यो कुरा सबैले बुझ्न जरुरी छ ।
कैलालीका सन्दर्भमा बाबुरामले भन्दा बढि शेरबहादुर या बाबुरामकै दलका लेखराज भट्टले नै निर्णय गर्नु उचित हुन्छ । उनीहरु कैलाली बाट विगतमा चुनिएका प्रतिनिधी पनि हुन् र सुपलाई नजिकबाट नियालेका व्यक्तिहरु पनि हुन् । कैलालीको भूगोल हेर्ने हो भने यहाँ ४० प्रतिशत पहाड छ । गोदावरी, खानीडाँडा, आदि पहाडहरु कैलालीमै पर्दछन् । जनसंख्याको हिसाबले हेर्ने हो भने यहाँ सुपका सबै पहाडी जिल्लाबाट बसाइ सराइ गरेर आएका पहाडी समुदाय अनि कठरिया, डगौरा, राना लगायतका थारु समुदायका मानिसहरु पनि छन् । थारुलाई दाङ्गबाट छुट्याउनु हुँदैन भन्नेले पहाडीलाई पहाडी जिल्लाबाट छुट्याउन हुँदैन भन्ने सोचेको भए सायद विवाद यति चुलिने थिएन । उत्पिडित त पहाडका दलितहरु पनि छन् । कमैया र कमलरी प्रथा जत्तिकै क्रुर र अमानवीय त हलिया प्रथा पनि थियो । मत्थर पार्ने तिर भन्दा पनि उचाल्ने तिर नै सबैको ध्यान गएको देखियो । नत्र उद्देश्य अधिकार सम्पन्न बनाउने नै हो भने थारुलाई विभिन्न अग्राधिकार दिनु समस्याको सहि समाधान हुन सक्थ्यो । अभिभावकको देहान्तपछि अंशबण्डाका लागी काटमारमा उत्रिएका दाजुभाइ जस्तो अहिलेको अवस्था आउनुमा संघियताको सिमांकनको अर्थ बुझाउन नसक्नु पनि एक हो जस्तो मलाई लाग्छ । अर्को राज्य हुने बित्तिकै के के न हुन्छ भन्ने डरले थारु र पहाडी दुबै पक्ष आफ्नो अडानमा डेग नचल्ने गरि कायम भएका हुन् ।
वास्तबमा भन्ने हो भने त जसरी विकासको मुद्दामा जति मधेस अहिले सम्म ठगिएको छ त्यो भन्दा पनि नराम्रो किसिमले सुप र कर्णाली ठगिएको छ । त्यो हिसाबले यो सम्पूर्ण क्षेत्र एक ढिक्का हुनु गलत हुने थिएन । तर नेताहरुका विभित स्वार्थका कारण त्यसो हुन सम्भव भएन । गोपाल दहितहरु आफ्नो प्रदेश फैलाउन चाहन्छन् । उनका लागी देशको राजनीतिमा उति भविष्य छैन । त्यस्तै यादव लगायतका नेताहरुको मधेस राजनीति ओरालो लागीसकेको हालको सन्दर्भमा उनीहरुलाई पनि सजिला मतदाता चाहिएको छ । यी सबै कुरा डाक्टरसाबले बुझ्नु अति नै जरुरी छ । एउटाको अधिकार माग्ने क्रममा अर्को माथि विना कारण अन्याय नहोस् । अहिलेको सम्बेदनशील घडिमा घुमाउरा अभिव्यक्ति दिने भन्दा पनि नबुझेको ठाउँमा बुझाउने प्रयास उनीबाट हुन जरुरी छ । उनले के बुझ्नु पर्छ भन्दा 'सबै भन्द गलत भनेको एकआध मानिसका गल्तीका लागी सम्पूर्ण समूदायलाई नै दोषी करार गर्ने प्रवृत्ति हो ।' सबै पहाडेले थारु माथि अन्याय गरेका छन् भन्नु उत्तेजना फैलाउन र समाजमा आपसी भाइचारा बिथोल्न सजिलो उपाय हो । तर गुमेको आपसी सद्भाव पुनर्स्थापित गर्न र जनजीवन सामान्य बनाएर लैजान गाह्रो छ । सबै कथित उच्च जातमा जन्मिएकाले दलितहरु माथि विभेद गरेका छन् भन्नु पनि गलत हो । त्यस्तै थारु आन्दोलनका क्रममा ज्यान गुमाउनु पुगेकाहरुको लागी सम्पूर्ण थारु समुदायलाई दोष दिनु पनि मुर्खता हो । त्यसैले यी गलत प्रवृत्तिलाई चाँडो भन्दा चाँडो त्याग्नु पर्दछ र जनताहरुलाई यी कुराहरु बुझाइनु पर्दछ । संवाद समितिको अध्यक्षता गरिरहेका भट्टराईले यी कुराहरुमा पनि ध्यान दिए सुनमा सुगन्ध हुने थियो ।
साभार: जनआस्था साप्ताहिक
Comments
Post a Comment