एक हुने बेला

Image source:Time.com (google)
‘यो बेला भनेको देशको लागी एक हुने बेला हो । एक अर्कालाई सहयोग गर्ने बेला हो । आशा छ तिम्रो मुलुक यो अवस्थाबाट छिट्टै मुक्त हुनेछ ।’ एल साल्भाडोरकी मार्सेलाको सन्देश पढ्दा मनमा एक खाले उर्जा उत्पन्न भइरहेको छ ।
सदा झँै बिदाको दिन अबेरै उठियो । कामका लागी अरु दिन बिहानै छ बजे उठ्ने गरिए पनि शुक्रबार साँझ भन्ने भेउ पाउने बित्तिकै आँखामा निन्द्रा हतपत आउँदैन । अबेर राती सुतेपछि समयमै कसरी बिउझनु ? त्यसैले अबेरै उठियो । आठ बजि सकेको थियो । नित्यकर्मझैँ भएको सामाजिक सञ्जालको प्रयोगले यस दिन पनि निरन्तरता पायो ।
‘काठमाडौँमा भुइँचालो आयो ! धरहरा ढल्यो !!’
एकपछि अर्को गर्दै फेसबुकमा भूकम्प सम्बन्धी जानकारीहरु प्रकाशित हुन थाले । पहिले पनि सानो तिनो भूकम्प गइरहने हुनाले एकछिन त ठट्टा लाग्यो । तर हो रहेछ । धरहराको ठुटो मात्रै बाँकि रहेको फोटो देखेपछि शंका मान्ने ठाउँ नै रहेन । बसन्तपुर जाँदा प्राय बस्ने मन्दिर पनि ईंटा र माटाको थुप्रो भएछ । शोकको सिमा रहेन । धन्न मान्छेलाई केहि भएनछ । कम से कम त्यसबेला त्यही सोचेर चित्त बुझाएँ । घरको याद आयो । दिदीको याद आयो । ऊ त काठमाडौँ मै थिई । न केहि पो भयो कि ?
‘यहाँ केहि पनि भएको छैन । एकछिन हल्लियो त्यही हो ।’ आमाले भनिन् ।
‘अँ एक छिन हल्लिएको हो म ओच्छ्यानमै थिए । केहि भएको छैन ।’ बुबाले भने ।
दिदीसँग सम्पर्क हुन सकेन ।
पछि फेरी आमाले दिदी पनि सकुशल रहेको समाचार सुन्दा मन केहि हलुको भयो । त्यहि त हो मान्छेको स्वभाव, पहिले आफूलाई हेर्छ अनि परिवारलाई अनि बाहिरकालाई, मैले पनि त्यसै गरेँ । कहाँ के भएछ भन्ने जान्नलाई हरेक संचार श्रोतहरु पछ्याउन थालेँ । जर्मनीमा बस्ने र सम्पर्कमा भएका अन्य नेपालीहरुलाई सोधपुछ गर्न थालेँ । मानवीय क्षति भएको कसैका मुखबाट सुनिएन । घर भने थुप्रैको गएछन् ।
अचेल स्टुटगार्टमा सरेकाले अलि धेरै नेपालीको सामिप्यता पाइएको छ । अढाइ वर्ष सम्म एकदुई नेपाली मात्र भेटघाट हुन पाएको थियो । यसपाली नयाँ वर्षको कार्यक्रममा भने ३० भन्दा बढि नेपाली गनेको थिएँ । हर्षको सिमा थिएन । यतिधेरै नेपाली यो बिरानो भूमीमा कहाँ पाउनु ? अनि उनीहरुको के कस्तो भयो चिन्ता सुरु भयो ।
एक जना साथीले रुँदै भूकम्पले घर भत्काएको कुरा सुनाउन थाली । म अरु काम गर्न सक्छु तर रुने मान्छेलाई सम्झाउन सक्दैन । म सान्त्वना दिने र फकाउने गुण शून्य प्राणी हुँ । तर खै कसरी ‘म आउँछु’ सम्म भन्न भ्याएँ । पुगे रोई । नरोउ भनेँ । फेरी रोई । सामाजिक सञ्जालमा एकपछि अर्को गर्दै राखिएका शवका फोटो हे¥यो रोयो । मैले गर्न सक्ने भनेको विषयान्तर मात्रै हो ।
भोलिपल्ट अर्थात आइतबार सबै साथी भेला भए । कसलाई के भएछ भनी सोध्ने मौका मिल्यो । शोकले सुन्निएका केहि आँखाहरु भिडमा सामेल थिए । महिलाहरुलाई एउटा सुविधा प्राप्त छ । उनीहरु भावना प्रकट गर्ने मामिलामा पुरुषहरु भन्दा दक्ष हुन्छन् । एकले अर्कालाई ढाडस दिएको देख्दा आफुमा त्यो गुण भइदिए कति सहज हुन्थ्यो जीवन भन्ने लागी रह्यो ।
हामीले विदेशबाट गर्न सक्ने भनेको थोरै भएपनि सहयोग पठाउने र थप सहयोगका लागी यहाँका बासिन्दालाई गुहार्ने थियो । त्यही ग¥यौँ । सडकको छेउमा हातले कोरेका सन्देसमुलक सामग्रीहरु देखाउँदै विभिन्न संस्थाका राहतका लागी खोलिएका खाताका विवरण बाँड्यौँ । विकसित देश पो त, सबैले थाहा पाइसकेका रहेछन् । केहिले त्यसैबेला सहयोग दिन तयार भए । प्रशासन सँग अनुमति नलिएकाले सहयोग स्वीकार्न सकेनाँै । एकजना भियतनामी पर्यटकले अनलाई दान गर्न नसक्ने तर सहयोग गर्ने एकदमै इच्छा भएको व्यक्त गरेपछि उनको नाम लेखेर हामीले सहयोग रकम बुझ्याँै । त्यो दिन त्यसै गयो ।
घर फर्कँदा एक खाले खुशी अनुभव भएको थियो । थोरै भएपनि गरेँ भन्ने लाग्यो । घरपुग्दा मृतकको संख्या हजार नाघि सकेको थियो ।
भोलिपल्ट कार्यालयमा पुग्ने वित्तिकै सहकर्मीहरु पालैपालो परिवारको र देशको अवस्था सोध्न आइ पुग्थे । परिवार त सुरक्षित नै थियो तर देशलाई निकै नोक्सान पुगेको थियो । काममा पनि के मन जान्थ्यो ? लुकीचोरी फेसबुक खोल्यो, समाचार पढ्यो । घरआयो त्यही समाचार पढ्यो । हरेक दिन मृतकका संख्या बढेका समाचार पढ्दा केहि गर्न पाए हुने भन्ने भान हुन्थ्यो ।
‘मैले तिम्रो देशको बारेमा प्रकाशित समाचारलाई निरन्तर पछ्याइरहेको छु ।’ एक दिन छेउकै विभागको प्रमुखले मसँग कुरा गर्ने क्रममा भने । नेपालका पिडित समक्ष सहयोग पुग्ने नपुग्ने सम्बन्धमा चाँसो समेत व्यक्त गरे । देश बन्ला त भनेर सोधे । मैले नयाँ पुस्तामा आशा एवं विश्वास रहेको सुनाए । त्यसै विहान घरबाट दाइले फोनमा सुदूरपश्चिमका युवा डाक्टरहरु टोली बनाएर सरकारको कार्यालय नछोड्ने उर्दीलाई चुनौती दिँदै उद्धारका लागी गोरखा पुगेको समाचार सुनाउँदा उनको मुहारमा पनि आशाको चमक प्रष्ट झल्किन्थ्यो ।
साथीहरुले सबैले आफ्नो क्षेत्रबाट सहयोग जुटाउने सल्लाह भए बमोजिम कम्पनीको दानकार्य सम्हाल्नेहरुसमक्ष सहयोगको अपिल गरेर इमेलहरु पठाएको थिएँ । केहि दिनमा व्यक्तिगत रुपमा संकलन गर्न नमिल्ने जवाफ पाएँ । पछि छेवैको टेवलका गाब्रिएलले तत्कालका राहतका लागी कम्पनीले ठूलो रकम सहयोग गर्नलागेको समाचार सुनाउँदा केहि राहत भयो ।
भूकम्प आएपछिका दिनहरुमा धेरै आशलाग्दा समाचार पनि पढिए । नेपालीहरुले एकले अर्कालाई सहयोग गरेका समाचारहरुले मनमनै खुशी महशुस हुन थाल्यो । देश–विदेश जहाँ रहे पनि नेपालीले नेपालका लागी सहयोग जुटाउन कहिँ कसर राखेनन् । एक्लै–दुक्लै होस् या समुहमा मिलेर सबैले यथासक्य सहयोग जुटाए । सेनाका जवानहरुले हत्केलामा ज्यान राखेर भवनका भग्नावशेषबाट जिवित तथा मृतकहरुको उद्धारका समाचारहरुले फेसबुकका पानाहरु भरिन थाले ।
‘१२० घण्टा पछि पेम्बाको जिवितै उद्धार’
तेश्रो दिनको फोन सम्पर्कमा दिदीले सुरक्षित रहेको कुरा सुनाई । एक किसिमको त्रासका साथ घरका सबै सदस्य भुइँतलामा रातभर जाग्राम गरेर बस्दा रहेछन् । दिनमा पनि गर्न खास केहि थिएन ।
‘खासमा के गर्ने भन्ने नै थाह नभएर हो । नत्र हामी पनि जान्थ्यौँ सघाउन त ।’ दिदीले भनिन् । पहिलो पटक प्रत्यक्ष कुरा गर्न पाएको थिएँ ।
विदेशी मुलुकहरुले पनि राहतका समग्रीहरुका साथ सहयोगको हात बढाए । एउटा गरीब मुलुकको आपतमा यसरी विश्वनै एक भएको देख्दा मानवीयता अझै मरेको छैन भन्नेमा अझै बलियो विश्वास हुन थाल्यो । भुटान देखि अमेरिका सम्म सबै देशबाट सहयोगको ओइरो लाग्यो । यति सम्म कि विमानस्थलमा अवतरणका लागी समेत ठाउँको अभाव हुन थाल्यो । अँ साँच्ची हाम्रो विमानस्थल त त्यही विमानस्थल न हो जो टर्किस एयरवेजको जहाज रनवेमा अड्कदा चार दिनका लागी बन्द हुन पुगेको थियो र देश नै ठप्प भएको थियो । त्यसैको डेढ महिना भित्रमा क्षमता वृद्धि कहाँबाट हुन सक्नु ? तरपनि जति भयो त्यसको लागी सबैलाई धन्यवाद दिनै पर्छ ।
‘आज हामीले शबहरु पोका पार्ने काम ग¥यौँ । हात ताने हातै छुट्टिने खुट्टा ताने खुट्टै छुट्टिने ।’

‘आज हामी टिचिङ्ग आइपुग्यौँ ।’
सम्पर्क पिच्छे नयाँ कुरा सुनिन्थे । उनले यसरी राहत कार्यमा सघाउन लागेको घरमा आमालाई खबर गरेको थिएँ । बुबालाई थाह थिएन । आमाबाबुको मन न हो, सञ्चार माध्यमले काठमाडौँको अवस्था वास्तविक भन्दा निकै दर्दनाक भनी प्रस्तुत गरेको थियो । महामारी नै फैलिएला भनेर पनि घर आउन दबाब थियो । बसबालाहरुसँग हार गुहार गरेर सिट रिजर्भ गरेको खबर बुबाले गर्थे । उनीहरु भने घरमा एउटै कुरा सुनाउँथे ।
‘आज बस छुट्यो !’
‘हो, बस छुट्यो ।’ म मनमनै खुशी भएर हाँस्थे ।
मे दिवसको विदा परेकाले यहाँका धेरैको समय मिल्ने भयो । त्यसैले चन्दा संकलनको कार्यका लागी शुक्रबारै देखि हामी लाग्ने भयौँ । यसपटक पनि अनुमति लिने काम भइसकेको थिएन । तर पनि भेलाभए पछि हामीले संकलन गर्ने निर्णय लियौँ । साथीहरुले साथ दिएपनि मौसमले साथ नदिँदा छाता ओढेर समेत पर्चा बाँड्यौँ । राम्रै सहयोग जुट्यो । सबैको खुशी भएर घरतर्फ लागे ।
हिजो पनि त्यसै गरी जम्मा भयौँ । स्लोशप्लाट्जको भिडले नेपालप्रति सहानुभुति देखायो । सबैले सहयोग गरे । देशी–विदेशी सबैले आएर सहयोग गरे । साँझ कार्यक्रम टुङ्गयाउँदा बोक्न भारी हुने सिक्काहरु जम्मा भइसकेका थिए । आधा रकम हामीमाझका प्रभावित साथीहरुलाई र बाँकि रकम नेपालमा काम गरिरहेका विवेकशील नेपाली लगायतका संगठनलाई दिइने निर्णय भयो । केहि रकम संस्थाहरुमार्फत पठाइ सकियो भने केहि पठाउने क्रममा छौँ । हाल सम्मको गत हप्ता र यो हप्ता गरेर हामीले नेपालका भूकम्प पिडितका लागी ५ हजार यूरो भन्दा बढि संकलन गरि सकेका छौँ । सबैले यो सत्प्रयास जारी राख्ने दृढता व्यक्त गरेका छन् ।
यति गरिरहँदा सामाजिक सञ्जालमा आएका सरकार विरोधी थुप्रै कुराहरु आए । तिनका बारेमा केहि भन्न मन लाग्यो । प्रायले सरकारले कामै नगरेको जिकिर गरेका छन् । प्रहरी, सेना, निजामती कर्मचारीलाई सरकारका अंगका रुपमा नहेरेर ६०१ जना सभासद मात्रै सरकार हो भन्ने बुझाइ जनमानसमा देखिन्छ । त्यो विलकुलै गलत हो । मैले बुझेको सरकार प्रहरी, सेना, निजामती कर्मचारीहरु, आदि सबै हुन् । यथोचित पूर्वतयारी हुन नसक्दा सबैले महशुस गर्ने गरी राहतका काम हुन नसकेको पक्कै हो । तर कामै नगरेको भनेर भन्न मिल्दैन । हामीले के पनि भुल्नु हुँदैन भने हाम्रो सरकार पनि भूकम्पले हल्लिएको सरकार हो । हाम्रो संचार, विद्युत, यातायात, स्वास्थ्य लगायतका सम्पूर्ण पूर्वाधार नै प्रभवित छ । त्यसैले पनि राहत सोचे जस्तो प्रभावकारी हुन नसकेको हो । 

सरकारको पहुँच पनि अर्को आलोचनाको विषय बनेको छ । सरकारको पहुँच सबै ठाउँ भएको भए राज्यपुनर्संरचना र संविधान सभाको मुद्दाका लागी देशमा त्यत्रो जनयुद्ध नै हुने थिएन । जनयुद्धका नायिकेले के गरे त्यसमा म जान चाहन्न तर जो मिलिसिया तहमा संगीनको सिरानी लाएर जंगलजंगल चाहर्थे तिनले सबै जनतासम्म पहुँच भएको राज्यकै सपना देखेका थिए । विगत १० वर्षको संक्रमण काल पनि त्यसै लक्ष प्राप्तिमा खर्च भएको छ ।
फेरी मार्सेलाको कुरा सम्झेँ ।
‘यो बेला भनेको देशको लागी एक हुने बेला हो । एक अर्कालाई सहयोग गर्ने बेला हो । आशा छ तिम्रो मुलुक यो अवस्थाबाट छिट्टै मुक्त हुनेछ ।’
साप्ताहिक जनआस्थामा प्रकाशित

Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला