भूकम्प र सामाजिक सञ्जाल

image source:growingsocialmedia.com
सामाजिक सञ्जाल अहिलेको एकदमै अपरिहार्य अनि शक्तिशाली सञ्चार माध्यम बनेको छ । सर्वसुलभ पहुँच र सामान्य ज्ञानका आधारमा नै सहजै प्रयोग गर्न सकिने गुण भएकाले यसखाले सञ्चार माध्यमले आम जनतामाझ लोकपृय बनेको छ । यसले इन्टर्नेट सम्म पहुँच भएको सामान्य मानिसको आवाजलाई पनि शक्तिशाली बनाइ दिएको छ । अब रेडियोमा फोन गरेरै मात्रै आफ्नो आवाज सम्बन्धित निकाय सम्म पुग्छ वा पत्रिकामा छापिएर आएपछि मात्रै अरुले आफ्नो अभिव्यक्ति जान्न पाउँछन् भन्ने रहेन । सामाजिक सञ्जालमा प्रकाशित गरेर पनि मानिसले आफूलाई चित्त नबुझेका कुराहरुलाई व्यक्त गर्न सक्छन् । यहाँ सम्म कि अब त पत्र–पत्रिका, रेडियो अनि टेलिभिजनका समाचारहरु समेत सामाजिक सञ्जालमा भएका अभिव्यक्तिमाथि आधारित हुन थालिसके । आम मानिसलाई यसरी शक्तिशाली बनाउन सफल यो सामाजिक सञ्जालले अवसरहरुसँगै चुनौतिहरु पनि बोकि ल्याएको छ । अभिव्यक्ति स्वतन्त्रतालाई बलियो पार्नु यसको सबल पक्ष भए पनि प्रयोगकर्ताहरु स्वयं आचार संहितामा नबाँधिएका अवस्थामा यसले एक किसिमको अराजकता समेत निम्त्याउँदो रहेछ । विगतका दिनमा सरकारप्रति चुलिएको निराशा र त्यहि निराशालाई प्रतिनिधित्व गर्ने सामाजिक सञ्जालका भिडियो, आलेखहरु र विभिन्न प्रतिकृयाहरु हेर्दा एकपटक यसका सम्बन्धमा नलेखी भएन भन्ने सोचले यो लेख थालेको छु ।
सरकारमा रहेका मानिसहरुको आलोचना हुनु सामान्य हो । यो हरेक देशमा हुन्छ । आलोचना पनि शिष्ट र अशिष्ट दुबै किसिमले गर्न सकिन्छ । विषय त्यहि राखेर गाली गलौज नलेखि गरेका टिप्पणीले पनि विचार बाहिर ल्याउन मद्दत गर्छ । तर एकोहोरो कुरै नबुझि विरोधका लागी विरोध गर्नु कसैको लागी पनि लाभदायी हुँदैन । विपद व्यवस्थापनका सवालमा लिलामणी पोखरेलले दिएको अभिव्यक्तिका क्रममा उनले व्यक्त गरेका थिए कि नेपाली जनताको स्वभाव भनेको ‘एकदमै अधैर्य भएर आलोचना गर्ने’ र ‘सबै आफूआफै जस लिन खोज्ने’ छ । त्यसै क्रममा पनि सरकारले ‘१७००० भन्दा बढिलाई अस्पतालमा उपचार गराइरहेको अनि १३०० पटक हेलिकप्टर उडाएको’ कुरालाई हेर्दै नहेरी व्यक्तिगत र निजी संस्थाका तर्फबाट भएका साना तिना सहयोगलाई मात्रै बढि प्रचारप्रसार गरेको कुरा उल्लेख गरिरहँदा होइन भन्ने ठाउँ थिएन ।
सरकारले सबैठाउँ राहत पु¥याउन पक्कै पनि सकेको छैन । तर के पनि साँचो हो भने नेपालमा जहाँ जाहाँ मावनवस्तीहरु बसेका छन् ती सबै ठाउँमा राहत पु¥याउन बाहिरबाट भने जति सजिलो छैन । गृह मन्त्रालयका सचिव सूर्यप्रसाद सिलवालले बिबिसीको साझा सवालमा भने जस्तै ‘माग गरेबमोजिमको आपूर्ती गर्न नसक्दा पिडित सबैले राहत पाउन नसकेकका हुन् ।...। एउटा टेन्टको तौल ४० किलो एउटा हेलिकप्टरले छ वटा टेन्ट बोक्छ । ५ लाख टेन्ट कैले बन्ने, कहिले पिडित सम्म पुग्ने ?’ उनले सरकारलाई प्राविधिक कारणले पनि कतिपय ठाउँमा हेलिकप्टरबाट समेत राहत लैजान अप्ठ्यारो परिरहेको कुरा थपे । भरखरै ६ अमेरिकी र २ नेपाली सेनाको ज्यान जानेगरी भएको हेलिकप्टर दूर्घटनाले पनि उद्धार कार्य कति चुनौतीपूर्ण छ भन्ने कुरा प्रष्ट पार्दछ । राहतका लागी सरकारले ‘सानो रकम’ अघि सारेको छ । तर त्यो रकमले सहर र गाउँमा फरक अस्तित्व राख्दछ । ‘१ खर्ब ४६ अर्बको विकास बजेटमा १ खर्ब’ राहतका रुपमा बाँडिदैछ । त्यसभन्दा माथि सहयोग गर्नका लागी ‘राष्ट्रको थैली पनि हेर्नुपर्ने हुन्छ । शिक्षकहरुलाई तलब दिनु प¥यो । नर्सलाई तलब दिने प¥यो । ...।’ राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्दराज पोख्रेलले बिबिसीकै साझा सवालमा बोल्दै थिए ।
यी र यस्ता कुराहरुलाई बुझ्दै नबुझी एकोहोरो रुपमा सामाजिक सञ्जालमा निकै अभद्र किसिमले विरोध भइरहेको देख्दा कताकता दुःख लागेर आउँछ । विशेष गरी काम तथा अध्ययनका शिलशिलामा विदेश गएका नेपालीहरुबाट यस्तो विरोध चरम रुपमा हुने गरेको छ । भन्नेहो भने हामी जस्ता बाहिर आएका नेपालीहरु त खासमा व्यवस्थाबाट निराश भएर अनि आफ्नो स्थान नभेटेर बाहिरिएका हौँ । देशमै बसेर केहि हुँदैन भन्ने सोचेर विदेशको सेवा सुविधामा ¥याल काढ्दै बाहिरिएका हौँ । खाडीमा दुःख छ भन्ने जान्दा जान्दै राज्यले रोजगार दिन सकेन हामीमा स्वरोजगारको योग्यता छैन भनेर बाहिरिएका हाँैँ । अनि हामीले चाहिँ अहिले आँैला उठाउन कत्तिको जायज छ ।
२ लाख भन्दा बढि हेरिएको, १४ हजार भन्दा बढि पटक बाँडिएको र लगभग ७ हजार पटक मन पराइएको एक भिडियोमा विदेश स्थित नेपालीले नेताहरुलाई दबाब दिने नाममा खुकुरी उज्याएर देखाएका छन् । यस्तो गर्नु कत्तिको उचित हो पाठकहरुले स्वयं विवेचना गर्ने कुरा हो । यो त एउटा उदाहरण मात्रै हो ।



नेपालबाट भुइचालो आयो भन्ने फोन आएपछी नेता कति मरे सुशील,केपि मरेकी मरेनन भन्दै सोधपुछ गर्दा मरेछैनन भन्दिदा एक बिदेशमा कार्यरत नेपालिले आफ्नो फोन फुताइदिए हेर्नुस अनि शेयर गर्नुस ल
Posted by एउटा बाटो बिराएको मान्छे on Wednesday, 6 May 2015

एउटा अर्को भिडियोमा नेताहरुलाई आमाचाक्री गाली गर्दै उनीहरुको मृत्युको कामना गरेर आफ्नो मोबाइल फुटाएको छ । यस्ता थुप्रै भिडियोहरु अहिले सञ्चार माध्यममा छ्रयापछ्रयापती पाइन्छन् । क्षणिक चर्चा कमाउनका लागी जे मनलाग्यो त्यो खिचेर सामाजिक सञ्जालमा हाल्नुले हामी कति असम्वेदनशील छौँ भन्ने प्रष्टै हुन्छ । ती भिडियो बनाउने समय र मिहिनेत बरु एउटा सकारात्मक सन्देश बोकेको भिडियो बनाउनमा प्रयोग गरेको भए भूकम्पबाट आक्रान्त सारा नेपालीमा केहि आशाको सञ्चार हुने पो थियो कि ! नत्र निराशा पोख्ने नाममा असभ्य तरिका अपनाउनुले पक्कै पनि हामीले भावि सन्ततीका लागी राम्रो संस्कार छोडेर जाँदैछैनौँ ।
‘जव विपद परेको बेला प्रधानमन्त्री राहत कोषमा पैसा राख्न हामी राज्यलाई विश्वास गर्छौँ, पुनर्निमाणको लागी राज्यले जारी गरेको ऋणपत्र किन्छौँ र सामान्य अवस्थामा हाम्रो आयले खामेको पूरा रकम कर तिर्छौँ, राज्यमाथि प्रश्न गर्ने अधिकार र त्यसलाई बदल्ने नैतिक तागत हामी आर्जन गर्छौँ ।’ अमित ढकालको सेतो पाटिको आलेखको यो अंशलाई यहाँनिर साभार गर्नु जरुरी ठानेँ । उसै त कम्जोर सरकार छ । त्यसमाथि जनताले नै साथ दिएनन् भने कसले साथ दिने ? आफैले भोट हालेर चुनेको सरकारलाई बाटामा बोत्तलले हानेर लखेटेको छ, राहतको वितरण गर्ने कुरामा शंका गरेको छ, प्रधानमन्त्री जस्तोलाई पनि अवलोकन गर्न आउँदा फर्केर जाउ भनेर भनेको छ, आदिआदि । यस किसिमको असहयोगले वर्षात अघि नै ओतको व्यवस्था गर्ने प्रयासले सार्थकता पाउन सक्ला त ? सरकारले नसकेका ठाउँमा जनताहरु आफैले मिलेर सहयोग गरिदिएर यो विषम परिस्थितिको सामना गर्ने विकल्पलाई हामीले किन न हेर्ने ?
अहिले सरकारलाई चुनौति दिने र सत्ताको खेल खेल्ने बेला होइन । न त बेतुकका भिडियोहरु बनाएर सामाजिक सञ्जालमा सरकारप्रतिको नकारात्मक भावना फैलाउने समय नै हो । यो त सबैले मिलेर आशाबादी भएर अघि बढ्ने समय हो । कमी कम्जोरी भएका ठाउँमा औँल्याएर सच्याउन दबाव दिने समय हो । जसले जति सक्छ एक अर्कालाई सहयोग गर्ने बेला हो । सरकारमा भन्दा बाहिर बसेका राजनीतिक दलहरुका लागी पनि अवश्यै केहि भन्नु छ । उनीहरुले पनि यो बेलामा आफ्नो आपसी मतभेदलाई पाखा लगाएर सबैको साझा चाँसोको रुपमा रहेको पुनस्र्थापनाको कार्यमा जति सक्दो उच्च भूमिका निभाउन सक्नु पर्दछ । उनीहरुको भूमिकाको मूल्यांकन नेपाली जनताले अवश्यै पनि गर्ने छन् । विगतमा पनि परिवर्तनकामी शक्तिहरुलाई शत्ता सम्म पु¥याएर नेपाली जनताले आफ्नो धर्म निभाएकै हुन् । अझै पनि त्यो धर्ममा उनीहरु चुक्ने छैनन् । त्यसैले तत्कालै आफ्ना सत्कर्मको फल खोज्ने भन्दा पनि अहिले सत्कर्मको खाता भर्ने बेला हो भन्ने कुरामा ध्यान दिनु अति जरुरी छ ।
‘सरकारले पक्कै पनि भुईंचालो रोक्न सक्दैन । अव्यवस्था रोक्न सक्दछ । जनताको मनमा आशा जगाउन सक्दछ । जनताको जीवन सुरक्षित बनाउनका लागि सहयोग गर्न सक्दछ । केही गर्न नसके राहतमा आएको पाल आफैलाई बाँड्ने गतिछाडा काम नगर्न त सक्छ नि !’ किशोर नेपालले सरकारले के गर्न सक्छ भनेर उनको लेखमा उल्लेख गरे जस्तै सरकारले अहिले हरेक कदम सोचेर चाल्नु पर्छ । उनीहरुका हरेक गतिविधिमा दुनियाँले नजग गाडेर बसेको कुरा विर्सनु हुँदैन । हुन त हजार भन्दा कम पर्ने पालहरुको विषयलाई लिएर त्यत्रो वितण्डा मचाउनु जरुरी थिएन भन्नेहरुको पनि कमी छैन । तर जे जस्तो भएपनि सरकार प्रतिको जनआस्था कम्जोर भइ रहेको हालको सन्दर्भमा सरकार सचेत र सम्वेदनशील हुनै पर्छ ।
सामाजिक सञ्जालहरु यस्तै यस्तै कुराले भरिएको छ । आफ्नो राजनीतिक आस्था र भूकम्पको असरका आधारमा फरकफरक विचारहरु बाहिर आएका छन् । सकेसम्म सबै किसिमका भावनाहरुलाई समेट्ने प्रयास गरेको छु । केहि आफ्ना पनि थपेको छु । सकेसम्म चाँडो यो घाउ निको हो भन्ने सबैको भावना भएको बुझेको छु । सबैले आफ्नो–आफ्नो कुरा अघि सारी रहँदा कतै अरुको कुरा सुन्न नछुटोस् । यसपालीको विपदले सबैलाई एकजुट बनाइ दिएको छ । संकटका बेलामा फाइदा उठाउनेहरुको कमी नभएपनि सहयोग गर्ने यथेष्ट हातहरु पनि अघि सरेका छन् । सुरुवाती दिनमा अलमलिएका समाजका गन्ने मान्नेहरुले पनि आ–आफ्नो गच्छे अनुसारको सहयोग गरि नै रहेका छन् । आशा छ यो विपदको सामनामा नेपालीहरुले देखाएको शहनशीलता र एक–अर्का प्रतिको सद्भाव विश्वका लागी उदाहरण बनोस् । अस्तु ।
साप्ताहिक जनआस्थामा प्रकाशित

Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला