तेजाब आक्रमण र हाम्रो कर्तव्य

तस्वीर श्राेतः इन्टर्नेट
अहिले संचार माध्यमहरुमा तेजाब आक्रमणमा परेकी दुई किशोरीहरु सम्बन्धी समाचारले प्राथमिकता पाएको छ । तेजाव आक्रमणमा परेकी संगिता पुलामी मगर र सीमा बस्नेत दुबै स्वास्थ्य लाभको प्रतिक्षामा अस्पतालमा छन् । एसएलसी परीक्षाका लागी तयारी कक्षामा पढ्दै गर्दा भएको उनीहरुमाथिको आक्रमणले उनीहरुको भविष्यनै अन्योलमा पारिदिएको छ । फलामे ढोका भनेर चिनिने एसएलसी परीक्षा आउन केहि हप्ताको समय बाँकि रहेको अवस्थामा उनीहरुमाथि भएको यस्तो आक्रमणले उनीहरुलाई परीक्षामा सामेल हुन पनि गाह्रो हुने अवस्था देखिएको छ । राजधानीमा घटेको यो घटनाले महिला हिंसाको नयाँ रुप देशमा भित्रिएको संकेत गरेको छ । तेजाव आक्रमणका घटना भारत र बांलादेश जस्ता छिमेकी मुलुकहरुमा हुने गरेको भएतापनि नेपालमा भने यस प्रकृतिको यो पहिलो घटना हो ।
‘जव पुरुषहरुलाई सानै देखि यो भनिन्छ कि नारीहरु उनीहरुभन्दा कमसलहुन, नारीहरुलाई दबाएर राखिनु पर्छ, उनीहरु भोगका लागी बनेका हुन, तब कसरी नारी–पुरुषको बीचको सम्बन्ध सुमधुर बन्न सक्छ ? यही सोचका कारण हामी हाम्रो समाजमा महिला विरुधका घीनलाग्दा अपराधहरु देख्न पुग्दछौँ ।’ यी कुराहरु आमिर खानले सत्यमेव जयते कार्यक्रम अन्तर्गत ‘पौरुषले पुरुषलाई नै हानी गर्दा’(ह्वेन मस्कुलिनीटि हाम्स मेन) भन्ने अध्यायमा भनेको कुरा हुन् । हाम्रो समाजमा व्याप्त पौरुष अथवा मर्दाङ्गीको गलत बुझाइका कारण कसरी पुरुष र समाजलाई नै घाटा पुगेको छ भन्ने विषयमा तयार पारिएको सो कार्यक्रममा अम्ल–आक्रमणमा परेकी लक्ष्मी र उनका पति आलोक पनि उपस्थित भएका थिए ।
लक्ष्मीलाई पन्ध्र वर्षको उमेरमा उनीभन्दा दोब्बर उमेरका पुरुषले प्रेम प्रताब राखे । उनले सो प्रस्ताव अस्वीकार गरीन् । प्रेम प्रस्ताव अस्वीकार गरेको दश महिनासम्म लगातार रुपमा अनेक किसिमले दुःख दिइरहे पनि उनीमाथि नै दोष आउने डरले लक्ष्मीले सोको बारेमा परिवारलाई जानकारी गराएकी थिइनन् । अन्तमा गएर ती पुरुष र उनका भाइकी प्रेमिका मिलेर लक्ष्मीमाथि तेजाब आक्रमण भएको थियो । अचम्मको कुरा त के भने आक्रमण पश्चात उनलाई समयमै अस्पताल पु¥याइ दिने मानिसहरु पाउन समेत गाह्रो भएको थियो । उपचारका क्रममा उनीले भोग्नु परेको पिडाको त हिसाबै छैन । उनीमाथि आक्रमण गर्ने व्यक्ति चार दिन पछि पक्राउ परे पनि महिना दिन भित्रै धरौटमा रिहा गरिए । रिहा गरिए पश्चात उनले सबै भन्दा पहिले विवाह गरे ।
‘अहंमा चोट लाग्छ । त्यसले मलाई किन ‘नाई’ भन्यो भन्ने लाग्छ । सानै देखि उसको सबै इच्छाहरु पुरा गरिन्छन् । उसले मागेका सबै वस्तुहरु पु¥याइन्छन् । नारीलाई पनि उसले वस्तु नै सोच्छ र त्यसले मलाई ‘नाई’ भन्ने हिम्मत कसरी गरी ? भन्ने मानसिकताले यसखाले दुस्साहस गर्न सघाउ पु¥याउँछ ।’ लक्ष्मीले तेजाब आक्रमणको कारणका सम्बन्धमा भनिन् ।
लक्ष्मी त्यसै त्यो मञ्चमा पुगेकी होइनन् । उनले आफू माथि त्यस्तो घटना घटि सकेपछि केहि वर्षको अन्तरालमा आफ्ना भाइ र बाबुलाई पनि गुमाइन । कल्पना गर्न समेत गाह्रो हुने सो परिस्थितिमा उनले हिम्मत भने गुमाइनन् । उनले आफ्नो पिडाबाट अरुलाई प्रेरणा र सहारा दिन ‘स्टप एसिड अट्याक’(अम्ल–आक्रमण बन्द गर) भन्ने अभियान नै चलाइन । उनले अम्ल आक्रमण सम्बन्धि विभिन्न जनचेतना फैलाउनुका साथसाथै आक्रमणका शिकार भएका युवतिलाई प्रेरणा र प्रोत्साहन दिने नौलो अभियानको थालनी समेत गरिन् । सोहि अभियानका क्रममा उलाई साथ दिने जमात बढ्दै गयो । आलोक पनि त्यहि जमातका एक सदस्य थिए । उनले अभियानमा मात्रै होइन जीवनभर नै लक्ष्मीको हातमा हात र काँधमा काँध मिलाउने निर्णय गर्न पुगे । लक्ष्मीको आँट र साहस उनको शारीरिक विरुपतालाई पहिले भन्दा सुन्दर बनाउन पर्याप्त थियो ।
यो प्रसंग यहाँ ल्याउनुको कारण अहिले हामीमाझ पनि त्यस्तै दुई चेली देखा परेकी छन् । हामी मध्ये धेरैले उनीहरुको जीवन सकिएको र उनीहरुलाई जीउन गाह्रो हुने कुरा गरिरहँदा मलाई ती दुई किशोरीको मनोदशाका बारेमा सोच्न कर लाग्यो । हताहत त उनीहरुले हुनु पर्ने हो । अनि हामीले उनीहरुलाई बल थप्ने काम गर्नु पर्ने हो । हामीले त बरु उनीहरुको जीवन सरल र सहज बनाउने हरेक किसिमले सहयोग गर्नुपर्ने हो । आँखिर निराशाले कसलाई पो फाइदा गर्छ र ! लक्ष्मी जसरी आफूमाथि आइलागेको आपतसँग जुधेर अघि बढिन्, हाम्रा चेलीहरु पनि त्यही मार्ग अनुसरण गर्न किन नसक्ने ? आँखि उनीहरुमा त्यस्तो के कमी छ ? हामीहरुले पनि उनीहरुमा लक्ष्मीलाई देख्न किन कञ्जुस्याँइ गर्ने ?
अब कुरा रह्यो अपराधी समात्ने । अनुसन्धानमा परिवार र किशोरी द्वयवाटै पनि यथेष्ट सहयोग नपुगेको कुरा भर्खरै बाहिर आएको छ । लक्ष्मीमाथि आक्रमणको कारण कुनै पुरुषको अहं माथि परेको चोट थियो । यस घटनाका पछाडि पनि त्यस्तै कुनै कारण छ कि भनी खोतल्नु आवश्यक छ । भारतमा प्राय यस्ता घटनाका पछाडिको कारण पुरुषहरुको प्रेम प्रस्ताव अस्वीकृत भएपछिको प्रतिशोध नै रहने गरेको छ । लक्ष्मीलाई दशौँ महिना सम्म सताइँदा पनि उनले परिवारराई भन्न नसक्नुको पछाडि समाजमा घुमाइफिराइ नारीलाई नै दोषी देखाउने प्रवृत्तिले थियो । सायद ती किशोरीहरु पनि त्यस्तै कुनै दोष खेप्नु पर्ने आशंकामा पो त्यसो गरिरहेका छन् कि भनेर सोच्नु पर्ने आवश्यक देखिन्छ । उनीहरुलाई ढाडस दिन र उनीबाट सूचना प्राप्त गर्नका लागी मनोवैज्ञानिक परामर्शदाताको सहयोग लिनु पर्ने पो हो कि ? अथवा उनीहरुका नजिकका साथीभाइ या सहपाठीहरुले यो मामिलामा सहयोग पु¥याउन सक्छन् कि ? सो घटना पूर्व उनीहरुसामु कसैले प्रेम पस्ताव राखेको र उनीहरुले नाइ भनेको घटनाका बारेमा कसैलाई थाह भएको पनि छ हुन सक्छ । फेरी संकास्पद भनि स्केच बनाइएका व्यक्ति उनीहरुकै उमेर समुहका किशोर जस्ता देखिन्छन् । त्यसैले पनि मलाई यति सोच्न बाध्य बनाएको हो । फेरी यो उमेरमा जस्तै गल्ती गरेपनि आफ्ना साथीभाइलाई जोगाउने होडबाजी हुन्छ । त्यसैले पनि पत्ता लगाउने काममा सफलता मिल्न नसकेको भन्ने मेरो ठम्याइ छ ।
किशोरावस्थामा प्रवेश गरेदेखि विपरित लिङ्ग प्रतिको आकर्षण हुनु र उनीहरुको सामिप्यता खोज्नु स्वाभाविकै हो । झन् अचेल त संचार सामग्रीमा प्रमाशित एवं प्रशारित सामग्रीहरुका कारण किशोरावस्था आउनु अघि नै किशोर भइसक्छन्  । त्यस क्रममा आफ्ना सहपाठी या टोलछिमेकका किशोरीहरु समक्ष प्रेम प्रस्ताव राख्नु पनि स्वभाविकै हो । किशोरावस्थामा मात्रै सिमित नभएर यो क्रम वयस्क भइसक्दा पनि जारी नै रहन्छ । कसैप्रति आकर्षित हुनु र प्रेम प्रस्ताव राख्नु सम्म सबै ठीकै हो । तर प्रस्ताव स्वीकार गर्ने वा नगर्ने जिम्मा जो समक्ष प्रस्ताव पेश गरिएको छ, उसको नितान्त व्यक्तिगत हो । प्रस्ताव स्वीकृत भए त ठीकै छ तर अस्वीकृत भएको सन्दर्भमा त्यसलाई ठूलो कुरा नठानी एउटा सामान्य इन्कारका रुपमा लिन सक्नु पर्छ । ‘माया–प्रेमलाई छाडेर पनि जीवनमा अन्य धेरै दुःख छन् ।’ प्रेम पकट गर्न प्रेमी नै हुनुपर्ने पनि केहि छैन । एक साथी या हितैसी नै भएर पनि प्रेम गर्न सकिन्छ । यो कुरा खास गरेर हाम्रो समाजका पुरुषहरुले बुझ्न जरुरी छ । किशोर–किशोरीका हकमा उनीहरुका अभिभावक र शिक्षक–शिक्षिकाले यस्ता थुपै्र कुराहरु उनीहरुलाई सिकाउन सक्छन् । उनीहरुको कुरा सुनिदिएर र उनीहरुको साथी बनेर उनीहरुलाई निकै मद्दत गर्न सकिन्छ । सँधैभरी कडा रुपमा प्रस्तुत भएरै सन्तान या विद्यार्थीहरु तह लाग्छन् भन्ने मान्यताहरु धेरै पुराना भइ सके । त्यस्तो मनोदशा अविकसित मुलुकहरुमा मात्रै पाइन्छ । विकसित मुलुकहरुमा सम्झाइ–बुझाइ गरेरै सबै समस्याहरु समाधान गरिन्छन् । बयस्कहरुका हकमा संचार माध्यमहरुले यस्ता सामग्रीहरुलाई प्राथमिकताका साथ प्रकाशन र प्रशारण गरेर उनीहरुलाई सचेत बनाउन सक्छन् ।

मच्छर मार्ने कि फोहर सफा गर्ने ? अपराधी भनेका विशेष परिस्थितिले सृजना गरिएका सामान्य व्यक्तिहरु हुन् । त्यसैले अपराधी भन्दा पनि अपराध नियन्त्रण हाम्रो प्राथमिकतामा पर्नु आवश्यक छ । महिला विरुद्ध हुने गरेका अवराधहरु प्राय गरेर समाजमा व्याप्त लैङ्गिक विभेदका कारण हुने गर्छन् । लैङ्गिक विभेद विरुद्धका जनचेतनामुलक कुराहरु सबै सामु पु¥याउन नसक्दा पनि यस किसिमका अपराधहरुले हामीलाई सभ्य समाजका रुपमा स्थापित हुन दिएका छैनन् । बारम्बार हुने वालात्कारका घटना भनौँ या यसकिसिमको महिलामाथिको हिंसाका घटनाहरु, ती सबै घटनाले हाम्रो समाजको खराब छवि बनाइ रहेको प्रति हामी सबै सजग हुनुपर्छ । जानी नजानी हामी सबैले लैङ्गिक विभेदलाई बढावा दिइ रहेका छौँ । लक्ष्मीमाथि आक्रमण गर्ने पुरुषको विवाह गराइ दिने समाज हामी जस्तै व्यक्ति व्यक्ति मिलेर बनेको समाज हो । लक्ष्मीलाई नै दोषी करार गर्ने र उनीमाथि आक्रमण गर्नेलाई निर्दोष देख्ने ती आक्रमणकारीकी पत्नी पनि हाम्रो जस्तै समाजकी एक सदस्य हुन् । जब सम्म हामी सबै यस्ता घटनाको विरुद्धमा खरो उत्रँदैनौ हामी सबै सो घनाका दोषी ठहरिन्छौँ । त्यसैले पनि यस्ता घटना विरुद्धको सामुहिक प्रयास अति जरुरी छ । यो एउटा नजीर नबनोस् । यसाको अरुले पनि सिको नगरुन । अहिलेको चुनौती भनेको त्यहि हो ।

जन आस्थामा प्रकाशित

Comments

Popular posts from this blog

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

पहेँलो गुलाफ: प्रेमा शाह

Growing up in a Suburb (Story)