यात्राविराम

भू-मध्यसागरसम्मको यात्रा–६

विहान घण्टी बज्दा कोठाका अरु सबै सुतेका थिए । त्यसैले उनीहरुको निन्द्रा भङ्ग नहोस भनेर मैले हतपत फोनको घण्टी बन्द गरेँ । अघिल्लो साँझ अबेर कोठामा फर्केकाले निद्रा अलि नपुगे जस्तो थियो । एक मनले त भुस भएर अबेर सम्म सुत्न भन्थ्यो अनि अर्को मनले ‘यो मौका फेरी आउला नआउला त्यसैले अवसरको भरपुर सदुपयोग गर’ भनेर अहराउँथ्यो । मन नलागी नलागी ओछ्यान छोडेँ । झ्याल बाट बाहिर हेर्दा अँध्यारो थियो । हामीले एक बजे सम्म विमानस्थल पुग्ने भनेका थियौँ । अनि कोठा चाहीँ विहान १० बजे छोड्नु थियो । त्यसैले मलाई १० बजेसम्म जता पनि घुम्ने छुट थियो । मैले आफूलाई घुम्न मन लागेका सबै १० बजे सम्म घुमी भ्याउनु थियो । मेरो पहिलो रोजाई सहरको दक्षीण भागमा रहेको सान्ट मोन्योइका (Sants - Montjuïc) पार्कमा स्थित पहाड चढ्नु थियो । अग्लो चुचुरो भएकोले त्यहाँबाट सम्पूर्ण बार्सेलोना हेर्ने मेरो धोको थियो ।
समयको अभाव थियो । त्यसैले हत्तपत्त विहानको नित्य कर्म सकेर बाहिर सडकमा निस्किएँ । सहर पुरै सुतेको थियो । सडकमा फाट्टफुट्ट बाहेक मान्छे देखिँदैन थिए । एक  त विरानो मुलुकमा त्यो पनि यति विहानै सडकमा एक्लै निस्किनु उति बुद्धिमतापूर्ण नभएको भान भइरहेको थियो । सडक किनाराका बत्तीहरु अझै निभेका थिएनन् । ती बत्तीले होला सायद विहानको सूर्योदयअघिको उज्यालोलाई समेत अँध्यारोमा परिणत गरिदिएको थियो । रात सकिन लागेको हो वा सुरुहुन लागेको हो भन्न सकिने अवस्था थिएन । म भने अनुमानका भरमा मोबाइलमा भएको नक्सा हेर्दै अँध्यारोमा अघि बढि रहेँ । कतातिर जाने भन्ने सम्म थाहा थियो, तर कुनबाटो जाने भन्ने थाहा थिएन ।
अँधेरोमा पहाड उक्लँदै गर्दा आफू हिँडेकोे बाटो तर्फ फर्की हेरेँ । निद्रामा मस्त सहर झिलिमिली पछिल्तिर देखिन्थ्यो । त्यो अँधेरोमा आफू बस्दै आएको जाउमे प्रिमीएरे खोजेँ । होकी होकी जस्तो त लाग्यो तर हो नै भनेर किटान गर्न कुनै आधार थिएन । बरु सहरमा छुट्टै उभिएको अण्डाआकारको गगनचुम्बी भवन ‘अगबर टावर’ चाहिँ झलझली बलेको देखिन्थ्यो । केही क्षणको अवलोकन पश्चात आरोहणलाई निरन्तरता दिएँेँ । सडक छेउका बत्तिहरु अझै बलिरहेकै थिए । बत्तीमुनी केही उज्यालो देखिएपनि वरपरको दृश्य भने उती राम्रो देखिँदै थिएन । बाटामा फाट्टफुट्ट शारीरिक अभ्यासका लागी दौडीरहेका मान्छेहरु भेटिन्थे । उनीहरुलाई भेट्दा मान्छेको चहलपहल सुरुभएको हेक्का हुन्थ्यो र छिट्टै सूर्योदय हुँदैछ भन्ने पनि मनमा लागि रहन्थ्यो ।
म पहाड चढि सक्दा सम्म पनि अँध्यारो हटि सकेको थिएन ।  पहाडको चुचुरोमा एउटा किल्ला थियो । पछि थाहा पाए अनुसार त्यो सैनिकहरुको व्यारेक रहेछ । म भने त्यसलाई कुनै रोमनकालको दुर्ग मानिरहेको थिए । त्यसका कुनाहरुमा दुई पुराना जस्ता लाग्ने तोपहरु राखिएका थिए । त्यो तोप राखिएका ठाउँबाट बन्दरगाह र बार्सेलोना सहरको केन्द्र भाग सजिलै देखिन्थ्यो ।
सूर्योदय अघि नै पुगेकाले आज पनि सागरले घाम जन्माएकोे दृष्य हेर्ने ठूलो चाह थियो । तर क्षितीजको बादलले त्यो चाहामा पनि बादल लगाइ दियो । अघिल्लो साँझ हामीले पानी जहाजमा घुमेको बन्दरगाह भने प्रस्टै देखिन्थ्यो । त्यतिबेला पौने घण्टा लगाएर तय गरेको दुरी आज उचाइबाट हेर्दा अति सानो लागेको थियो । विहान भर लाएर चहारेको सहरको भाग पनि सहरको एक सानो भन्दा सानो अंश थियो । सोचेँ हामी कति साँघुरा संसारमा बाँचेका हुन्छोँ र त्यसैलाई विश्व ठान्दछौँ ।
किल्ला वरिपरीबाट देखिने बार्सेलोना सहरको हरेक भागको दृश्याबलोकन पश्चात नजिकै रहेको ओलम्पिक रंगशाला हेर्ने मन थियो । त्यसैले किल्ला परिसरमा उभिएका एक अधबैसे व्यक्ति देखिए । दौडदै गर्दा पानी बढि पिएछन् क्यारे झाडतिर फर्केर किल्ला हेरेझैँ स्वाङ्ग पारिरहेका थिए । अरु सबै दगुरी रहेकाले बिराम लिइरहेका उनैसँग बाटो सोध्ने बिचार गरेँ । परिचयका क्रममा म नेपालबाट आएको थाहा पाउँदा उनले नमस्ते गर्दै नेपालको प्रसंसा गर्न थाले । जर्मनी बसाइका क्रममा नेपाल चिन्ने थोरै मानिस भेटिएका भएपनि यहाँ धेरथोर मानिसलाई नेपालको बारेमा थाहा भएको पाउँदा मन खुशीले गदगद हुन्थ्यो । उनैले किल्ला परिसरमा एक तस्वीर पनि खिचीदिए ।


बाटामा एउटा पुरानो चिहान पार गर्दै पलाउ सान्ट जोर्दी परिसरमा आइ पुगेँ । सन् १९९२ को ग्रीष्मकालीन ओलम्पिकका धेरै खेलहरु आयोजना गरिएको त्यो रंगशालामा अहिले सांगितिक कार्यक्रमहरु समेत हुने गर्दछन् । ओलम्पिकको दीप प्रज्ज्वलन गरिएको स्तम्भ पनि परिसरमै थियो । केही पर फुटबल रंगशाला पनि थियो । सबै ठाउँ १० बजे मात्रै खुल्ने भएकोले भित्र गएर हेर्न भने सकिन तर ढोकाका चिराबाट भएपनि फुटबल रंंगशाला भित्र चिहाउन सम्म चाहिँ भुलेन ।


विहान लगभग त्यहीँ नै बिती सकेको थियो । समयमै कोठामा पुग्नु थियो । दश बजेसम्म होटेल छोडिसक्नु थियो । म हिँड्दा हिँड्दै निकै पर पुगी सकेको थियो । फर्कने बाटो अनुमानका भरमा पत्ता लगाउँदै अघि बढेँ । रंगशाला परिसरबाट केही पर पुगेपछि बाटामा संग्राहलय देखियो । कुनै पुरानो दरबार जस्तै लाग्ने त्यो संंग्राहलय पनि दश बजे पछि मात्रै खुल्ने रहेछ । भित्र पस्नलाई मसँग समय थिएन । त्यसैले परिसरवरिपरी चहारेँ ।
संग्राहलय घुम्न आएका पर्यटकहरु पनि निकै जम्मा भइ सकेका थिए । संग्राहलयको अघिल्तिरबाट बार्सेलोना सहरको पुरानो केन्द्र पुरै देखिन्थ्यो ।उनीहरु मध्ये कोही त्यही सहरको दृश्य हेरिरहेका थिए । कोही अनेक शारीरिक मुद्रहरुमा तस्वीर लिइरहेका थिए । मैले पनि वरपरका दृश्यहरु आँखा र क्यामेरामा भ्याएसम्म कैद गर्दै अघि बढेँ ।

अलमल गर्दै, हो या हैन भन्दै जसोतसो कोठामा पुगेँ । ऊ विहानको खाजा खाइरहेको थियो । म हिँडेर पसिना भएकाले नुहाउन माथि उक्लीएँ । तल झर्दा नास्ताको समय सकिएको रहेछ । मेरा लागि खानलाई केही भएन । होटलका कर्मचारीहरुले ढिलो भएकोले आफूले केही गर्न नसक्ने बताए । वरपर हेरेँ अनि बचेकुचेका जे भेटायो गोजीमा हालेँ । अरु सबै जसो तसो घुमेको भएपनि एउटा खास गन्तब्य छुटेको  थियोः साग्रा दा फामिलीया । त्यहाँको एकदमै चर्चित र पुराना गिर्जाघर । त्यो गिर्जाघर धेरै अघिदेखि पुनः निर्माणका प्रकृयामा रहेपनि अझै यसको पुनःनिर्माण कार्य सकिएको छैन । भित्र जान सकिएला नसकिएला तर बाहिरै बाट भएपनि हेरौँ र त्यसपछि गिरोना एयसपोर्ट लागौँला भनेर उसलाई मनाएँ । मैले अझै सम्म भुमिगत रेल नचढेकोले पनि मलाई त्यो यात्रामा रुचि बढेको थियो । कोठामा गएर आफ्ना सामानहरु ल्यायौँ अनि आफ्ना साँचोहरु बुझाएर बाटो लाग्यौँ ।
हामी एकतर्फी टिकट काटेर साग्रादा फामिलीयाका लागि प्रस्थान ग¥यौँ । जमीनमुनीको यो रेलयात्रा मेरा लागी पहिलो पटक थियो । जमीनमाथि त सहर थियो नै जमीन मुनी पनि एउटा छुट्टै सहर देख्दा मानव विकास कुन हदसम्म पुगि सकेछ भनेर सोच्न बाध्य भए । अघिल्लो दिन हिँडेका बाटामुनीतिरको यो दुनीया पनि उस्तै विशाल थियो । मानिसहरुको आवत जावत पनि उत्तिकै भइरहेको थियो ।
साग्रादा फामिलीयामा पुग्दा त्यहाँ निकै भीड जम्मा भएको थियो । भित्र पस्नाका लागि गिर्जाघरका अघि लागेको मानिसहरुको लाम निक्कै लामो थियो । त्यो लाम देखेरै हाम्रो भित्र जाने सपना त्यसै तुहियो । भित्र जान नपाउँदा केही खिन्नता त अवश्यै भयो तर गिर्जाघरको भव्यता देख्दा त्यहाँसम्म आउन गरेको दुःख खेर गएको जस्तो भने पक्कै लागेन । गिर्जाघर अलिअलि शिखरशैलीमा बनेको पो होकि जस्तै पनि लाग्थ्यो । पछिल्तिरको भाग पुनःनिर्माण हुँदै रहेछ । त्यहाँ भेटिएका नेपालीले पुनःनिर्माण कार्यमा भएको ढिलाईले स्पानिसहरुको काममा ढिलासुस्ती गर्ने बानीलाई प्रस्ट पार्ने बताउँथे । आएदेखि पुनःनिर्माणकार्य देख्दै आएका उनी निकट भविष्यमा पनि बनिसक्ने सम्भावन देख्दैन थिए । अनेक कलात्मक बुट्टाहरु कुदिएका अनि हेर्दा टोपी नै खस्ने अग्लो गिर्जाघरलाई हामीले बाहिरबाटै हेरेर केही तस्वीरहरु लियौँ । पछि फर्किसकेपछि एकजना साथीले त्यसै गिर्जाघरको भित्रको तस्वीर देखाउँदा मात्र आफूहरु भित्र नपसेकोमा केही खिन्नता भयो ।
साग्रादा फामिलिया हाम्रो बार्सेलोना भ्रमणको अन्तिम गन्तब्य बन्यो । त्यहाँबाट हामी फेरी भुमिगत रेल हुँदै गिरोना जाने बस समात्न बसबिसौनी तर्फ लाग्यौँ । रेलका रुटका बारेमा अभ्यस्तता हाँसिल गरिनसकेका हामीलाई अनपेक्षित रुपमा एक स्पानिस महिलाले ठूलो मद्दत गरिन् । हामीलाई बसबिसौनीसम्मै ल्याइ पु¥याएर उनी बिदा भइन । उनको त्यो मद्दतकालागी तत्परता देखेर बल्ल स्पानिस र जर्मनहरुमा कत्तिको भिन्नता हुँदो रहेछ भनेर हामी एकछिन वाल्ल प¥यौँ । अपरिचितहरुसँग उति नखुल्ने र सँधै एउटा समय तालिकामा चल्ने जर्मनहरुलाई सायद यत्तिको गर्न गाह्रै पर्दो हो । जर्मनहरुको त्यही स्वभावमा अभ्यस्त भइसकेकाले होला अपरिचितहरुबाट सहयोग पाउने हाम्रा अपेक्षाहरु पनि कम भइसकेका थिए । ती महिलाको त्यो सहयोग पश्चात भने हामीले स्पानिस मानिसहरु काइदाका हुँदा रहेछन् भन्दै गुनगान गाउन थाल्यौँ । छुट्टिँदा कृतज्ञताले भरिपूर्ण हाँसो हाँस्दै उसलाई भ्याउञ्जेल आँखाले पछ्यायौँ ।
करीब डेढ घण्टाको बसयात्राले फेरी गिरोनाको हवाइमैदान ल्याइ पु¥यायो । सोचे भन्दा अघि नै हवाइअड्डा पुग्न भ्याएछौँ । जर्मनी उड्ने जहाजको प्रतीक्षामा भ्रमणका सबै पलहरु एकएक गरेर पल्टाउने मौका मिल्यो । यात्रा अवधी भर जगदीश र मेरो बीचमा बेलाबेलामा केही समस्याहरु पनि आएका थिए । प्राय हामी दुईको मन मिल्थेन । ऊ एकथोक गरौँ भन्थ्यो म अर्को थोक । कतिबेला त लाग्थ्यो सायद एक्लै आएको भए हुन्थ्यो होला । कम से कम आफूले चाहेको सबै गर्न पाउँथे, चाहेको ठाउँ हिँड्न पाउँथे । अहिले यो लेख लेखी रहँदा मलाई आफू गलत भएको भान हुन्छ । त्यो भ्रमणमा यदी ऊ नभएको भए धेरै रमाइला पलहरु छुट्ने थिए । जहाजका तुकहीन बहस, अबेर रातसम्म समुद्र तटको त्यो बसाइ, मगज सड्कने गरी रोटेपिङ्गको घुमाइ, पानीजहाजको यात्रा र सम्झना स्वरुप बोकी ल्याएको फोटो, आदिआदि । यी हरेक खुशीका अघि मैले जानी नजानी खुट्टा कमाएको थिएँ । सँधै परिस्थितिलाई दोष दिएर आफू अघिका खुशीबाट मुख मोडेको थिएँ । ऊ हरेक परिस्थितीमा हाँसेर बाँचेको थियो । कम से कम मैले समस्या भनेका ठाउँमा उसले अवसर खोजेको थियो । म सायद सँधै जस्तो त्यसबेला पनि बाँच्न मात्र चाहन्थेँ । उसले मलाई जीउन सिकायो । बार्सेलोना भ्रमण मेरो जीउने प्रयास थियो । ऊ नभएको भए त्यो प्रयास अपुरो रहने थियो । उसको त्यो देनका लागी म सदा ऋणी रहनेछु । ...समाप्त ।

Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला