विस्तारित सपनाहरु

भू–मध्यसागरसम्मको यात्रा–५

पानीको मोह घटेको थिएन । किनाराका बालुवामा एकछिन सम्म खेलेर फेरी पानीमा हामफालेँ । अलिअलि पौडी खेलेँ । एकजाना मंगोलियन अनुहारका अधबैँसे पुरुष भेटिए । बडो आरामसाथ उत्तानो परेर पानीमा तैरिरहेका थिए । हेर्दा सजिलो लाग्यो र सोध्नलाई परिचय गरेँ । थाइ नागरिक रहेछन् । पत्नी र छोराका साथमा छुट्टि मनाउन आएका रे ! दुबै हात फैलाएर काँधको सतहमा टाउका राखेर पानीमा उत्तानो सुत्यो भने विना हातगोडा चलाई तैरने रहेछ । दुईतीनपटक असफल प्रयासले पानी ख्वाएपछि एकपटक केही बेरसम्मलाई तैरन सकेँ । खुट्टा टेक्न खोज्दा फेरी पानी खाएँ । म आफू सफल भएकोमा ऊ तिर हेरेर चिच्याउन थालेँ । ऊ किनारामा बसेर मलाई हेर्दै हाँस्दै थियो ।
म उतिर चिच्याइ रहेकै बेला एउटा नौलो नेपाली आवाज थपियो । आवाज आएको दिशातिर फर्केर हेर्दा एकजना खाइलाग्दो जीउभएका मानिस मतिर हेरेर मुस्कुराइ रहेका थिए । नेपाली चिन्न मुहारमा झल्किने आत्मियता नै पर्याप्त हुन्छ । किन हो किन परदेशमा नेपाली भनेपछि निकै माया लाग्छ । अनपेक्षित रुपमा भेटिएका उनी तिर लम्किएर परिचय गरेँ ।
‘जीवन पुरी ।’ हात अघि बढाउँदै उनले आफ्नो नाम भने ।
हामी पानीबाट बाहिर निस्किएर किनारामा गयौँ । मेरो रमिता हेरेर रमाइ रहेको जगदीशसँग पनि उनको परिचय गराएँ । उनका बारेमा सोधपुछ सुरु भयो । आफ्नै गाडीमा यूरोप भ्रमणका क्रममा रहेछन् । साथैमा श्रीमती र छोरी पनि रहेछन् । श्रीमती नै भनौँ क्यारे ! मैले जति कोशिस गरेपनि त्यो सम्बन्धका लागि नेपाली नाम दिन सकेन । वहाँहरु विवाह नगरी साथै बस्नु हुन्थ्यो । यहाँ यस्तो सम्बन्ध सामान्य छ । मैले यसरी बसेका धेरै जना चिनेको छु । सायद विवाह जरुरी नठानेर होला । इन्टर्नेटमा भेटिएकी एक जर्मन महिलासँग कुराकानीकै क्रममा विवाहको कुरा चल्यो । ऊ अविवाहित नै दुई बच्चा कि आमा थिई ।
‘त्यसो हुनु नराम्रो हो ?’ उसले सोधेकी थिइ ।
‘होइन तर हाम्रो देशतिर त्यस्तो हुँदैन ।’ मैले भनेको थिएँ ।
‘पहिले यहाँ पनि हुन्थेन ।’ उसले प्रस्ट्याएकी थिई ।
‘सायद मानिसहरुलाई परिवार भन्दा स्वतन्त्रता प्यारो लागेकाले होला । तर विवाहको एक फाइदा छ ।’ मैले थपेको थिएँ ।
‘के ?’ उसले आफ्नो उत्सुक्ता देखाएकी थिइ ।
‘विवाह गरेका दम्पत्तीहरु त्यति सजिलै छुट्टिन्नन् । मेरा बाआमा पनि बाँझ्छन् तर विवाह गरेकैले होला अलग्गीएका छैनन् । मैले भने आफ्नो सम्बन्धको वर्षगाँठ समेत मनाउन सकेन ।’ आफ्नो असफल अतीत सम्झँदै मैले तर्क गरेको थिएँ । विवाह गरेकाहरु पनि पारपाचुके नगर्ने त होइनन् तर उसलाई चित्त बुझेछ सायद । सहि थापेकी थिई ।
सँगै आएकी छोरी अन्जली पनि ठूली भई सकेकी थिई । त्यस्तै पाँच–छ वर्षकी हुँदी हो । उसले तोतेबोलीमा बोलेको नेपाली सुन्दा मनै दंग हुन्थ्यो । गोरी श्रीमतीसँग घरबार गर्नु विदेश पस्ने कस्को रहर हुँदैन र ? विवाह विदेशमा स्थापित हुने सरल उपाय मध्यको एक उपाय । जर्मनी आएको पहिलो दिनै विमानस्थलमा लिन आएका रणबहादुर दाइले भनेका थिए, ‘अब भाइले पनि कोइ जर्मन केटी विहे गरेर यतै बसे हुन्छ ।’ उनको परिवार देख्दा मनमा दबेर रहेको इच्छाले शीर ठड्याउने मौका पायो ।
नेपाल आउने जाने पनि नियमित हुँदो रहेछ । परिवारले पनि सहजै लिएछन् । सबै समयले ल्याउने परिवर्तन न हो । विस्तारै नेपाली समाजले पनि यस्ता सम्बन्धको आवश्यकता बुझ्ने छ । अहिले समाजसँग फुर्सद छ । त्यसैले समाज कसले के गर्छ के गर्दैनको चियो गरिरहन्छ । भोलिको दिनमा नेपाली समाज पनि फेरिएर विकसित मुलुकको जस्तै बन्न गयो भने नेपाली समाजलाई पनि अरुको चासो हुने छैन । आपसी सम्बन्धका कुराहरु नितान्त व्यक्तिगत बन्न जानेछन् ।
अनि एक छिन लोग्ने मान्छेका कुरा भए । हामीले लगभग एक वर्षे युरोप जीवन व्यतित गरिसक्दा पनि आईमाईहरुलाई खाउँला जस्तो गरी हेरेको देखेर उनी खिसी गर्थे । ‘जहाँ बसेको भएपनि मन त नेपाली हो’ भन्दै हाँसो गथ्र्यौँ । जगदीस पानीमा नपसेको कुरा सुनाउँदा उनले पानी देखेरै आज टुङ्गयाउने भनेको यात्रा लम्बिएको कुरा ल्याए । हुन पनि दिन लोभलाग्दो थियो । हामी दुईको कुराले जगदीशको पनि मन फेरेछ । उसले पनि पानीमा पस्न लुगा फुकाल्यो ।
मैले पानीमा धेरै समय विताई सकेकाले म किनारामा आएँ । मेरालागी सानी साथी अन्जली पनि त्यहीँ थिई । उसका कैला आँखा र माया लाग्दो अनुहारले मलाई मोहनी लाएका थिए । झन् तोते बोलीमा नेपाली बोल्दा मनै दंग हुन्थ्यो । म बेलाबेला उसँग आफुले भरखर सिकेको जर्मन भाषाको अभ्यास गर्थेँ । त्यसैक्रममा हामीले एउटा खेल पत्ता लगायौँ । किनाराका रंङ्गीविरङ्गी ढुङ्गाहरु बटुल्ने खेल । मलाई मेरी दिदीको राम्रा ढुङ्गा बटुल्ने बानी याद छ । उसका कोठाको अलमारीमा अनेकन ढुङ्गा राखेका हुन्थे । कतिमा उसले रंग समेत पोत्थी । उसका लागि भनेर मैले केही साना र विछट्टै राम्रा लाग्ने ढुङ्गाहरु बटुल्दै थिएँ । ऊ पनि मलाई साथ दिन थाली । ऊ पहिले पाए जति सबै पत्थरहरु मेरा हातमा राख्थी अनि पछि आफू सबै मागेर लग्थी । पछि मैले म पनि लग्छु मनेर भनेँ अनि आफ्ना लागी पनि छुट्टै बटुलेँ । मैले मनमनै सोचेँ,‘यी पत्थरहरु मध्ये कोही बहुमुल्य पत्थर परिदियो भने गज्जब हुने थियो ।’
दाईहरुलाई अबेर हुने जस्तो भएकोले त्यो दिन बार्सेलोना मै काट्ने हुनुभयो । आफू बसी आएको कोठा छोडी सकेकाले अर्को कोठा खोज्नु थियो । मैले हामीबसेको ठाउँमा लगेर गएँ । मैले त्यहाँ हामी बसेकै कोठामा एक जोडी पनि देखेको थिएँ । त्यसैले हुन्छ कि भनेर ल्याएको थिएँ । नहुने भयो । बच्चा भएकाले मिलेन । परिचारिकाले नजिकैको अर्को पाहुना घरको ठेगाना दिई । त्यहाँ पनि पुग्यौँ । भाउ मिलेन । फेरी हामी बसेकै कोठामा पुग्यौँ । केहीबेर आराम गर्दै सोच्न थाल्यौँ । मेरो आधा मन किनारामा मेरो प्रतिक्षा गरी रहेको जगदीश तिर थियो । नानीलाई भोक पनि लागेकाले दाईहरु नास्ता खाएर फेरी कोठा खोज्ने हुनुभयो । म चाहीँ बिदाबारी भएर दौडँदै जगदीश भएतिर लागेँ ।
ऊ किनारामा सबै सामान बटुलेर बसेको थियो । सायद उसले मेरो प्रतीक्षामा अलि बढि नै समय बिताउनु परेछ । झर्कँदै प्रश्नले स्वागत ग¥यो, ‘यटिबेर काँ गा ?’ मैले बेलीबिस्तार लाएँ । उसले अघिल्लो दिनको जहाज भएको ठाउँमा गएर जहाज चढ्ने प्रस्ताब ग¥यो । मैले अनकनाउँदै प्रस्ताब स्वीकारेँ । अनकनाउनुको कारण उही पुराना खल्तीको व्यथा थियो ।
यताउता भाउ बुझेर खल्तीमा अट्ने जहाज रोज्यौँ । केही बेरको प्रतीक्षा पछि जहाजले हामी दुई र केही अरु यात्रुलिएर यात्रा थाल्ने भयो । जहाजमा चढ्ने बित्तिकै टाइटानिकमा जहाजको अघिल्तिरको बारमा नायक र नायिका उभिएको दृष्यको सम्झना भयो । अघिल्तिरको बार चलचित्रको जस्तो थिएन । जहाज पनि उति ठूलो थिएन । त्यै पनि अघिल्तिरै बसेँ । त्यो मेरो जहाजमा यात्राको प्रथम अनुभव थियो । त्यो सँगै यात्राका अनेकन प्रकारहरु मध्येबाट बाँकि रहेको जलयात्राको अनुभव पनि पुरा भयो । त्यस खुशीले पनि मनमा अर्कै उत्साह थपेको थियो ।
जहाज अघि बढ्दा जहाजमा कयामेरा लिएर आएकी दुई युवतिले फोटो खिचिदिने प्रस्ताब गरी । मैले फोटो खिचिरहेको देखेर मद्दत गर्न खोजेकी हो कि जस्तो लाग्यो । फेरी उसले आफूसँग भएको क्यामेरामा खिच्छु भन्दा उसको प्रस्ताबमा मलाई पैसाको गन्ध आयो । त्यसैले आफ्नो क्यामेरा देखाउँदै उसको प्रस्ताब टारेँ । भरे अचाक्ली पैसा माग्न थाल्यो भने के गर्ने ? जगदीशले भने खुशीखुशी आसन कस्यो । मैले उसलाई सचेत बनाउन खोजेँ । ‘के भो ट यट्रो टाडाको सम्झना हुनु परेन ?’ उसले भन्यो । मलाई पनि हो लाग्यो । त्यसै दुविधाको घडिमा ऊ फेरी नजिक आइ । मेरो दुविधाको सुविधा लिँदै उसले फोटो खिचीः खच्याक्क ।


जहाजबाट बन्दरगाहका पुराना ठूला जहाजहरु देखिँदै थिए । मैले अघिल्लो साँझ चढ्छु भनेको डाँडो पनि अघिल्तिर देखिँदै थियो । डाँडो सम्म केबलकार पनि जाँदो रहेछ । अबेर भइसकेकाले त्यसमा चढ्ने सम्भावना थिएन । भोलि पल्ट मात्रै जान मिल्थ्यो । भोलिका लागी उसलाई कुनै योजना राख्नु थिएन । जहाज बन्दरगाह छोडेर अलि परसम्म जान्छ कि भन्ने थियो । त्यसो भएन । बन्दरगाह वरपरकै केही ऐतिहासिक स्थानहरु घुम्दै जहाड मोडियो । त्यसो हुँदा हामीले हाम्रो समयावधी समाप्त भएको चाल पायौँ । फर्कन लाग्दा उसले एक कार्डमा हाँसीरहेको मेरो तस्वीर हातमा दिई । उसको हातको फोटो हेरेँ । मेरो भन्दा राम्रो आएको जस्तो लाग्यो । जे होस् जलयात्राको र बार्सेलोनाको दोश्रो साँझको सम्झना भनि त्यो तस्वीरलाई सुरक्षित झोलामा राखेँ ।
जहाजको यात्रा समाप्त भइसक्दा झमक्क साँझ परि सकेको थियो । हामी आएको सडक भन्दा भिन्दै सडक लिएर कोठामा पस्ने भयौँ । उसले आज भने नेपाली खाना खाने प्रस्ताब ग¥यो । खोज्दै जाँदा भेटियो भने खानेमा म पनि सहमत भएँ ।बाटामा मानिसहरुको टन्न भीड थियो । बाटाका छेउमा केही मुर्तीहरु देखिए । चकित भएर हेरि रह्यौँ । कोही जहाजी लुटेराका भेसमा त कोही अनौठा जनावरको आकृतिहरु सडकका दुबै किनाराहरुमा थिए । मानिसहरु खचाखच तस्वीर लिई रहेका थिए । एक व्यक्ति त्यो अनौठो जनावरको आकृति तर्फ अघि बढ्यो र अगाडि राखेको कटौरामा पैसा खसाल्यो । त्यत्तिकैमा त्यो आकृति चलमलायो र त्यो व्यक्तिको घाँटि समायो । एकछिन सबै झसंग भए । ती सबै मुर्ती जस्ता लाग्ने आकृति त मानिसहरु पो रहेछन् । हामी मुस्कुराउँदै सबैलाई एकपटक फेरी हेरेर त्यहाँबाट अघि बढ्यौँ ।
हिँड्दै जाँदा बाटामा एक भारतीय झैँ लाग्ने मानिसलाई भात पाइने ठाउँ सोध्यौँ । उसले सम्भावित दिशा बताइ दियो । एकछिन अघि बढेपछि थकानले अघि बढ्न नदिने महशुस गरेर फेरी कोठा तिरै फर्कने निर्णय ग¥यौँ । कोठा पस्नु अघि अघिल्लो दिन नेपाली भेटिएको पसलमा पस्यौँ । त्यहाँ उनीहरुलाई दिनभरको समाचारका मुख्य शीर्षकहरु सुनायौँ । उनीहरुले घुम्नलायकका भनेका साग्रादा फामिलीया, ओलम्पिक रंगशाला र सान्ट मोन्योइका हामीले घुम्न भ्याएका थिएनौँ । हामीसँग अब एक विहान बाँकि थियो । तर पनि भ्याएसम्म घुम्ने बाचा गर्दै विदा भयौँ ।

होटेल पुग्दा वैठक कोठामा फेरी अघिल्लो दिनकै डोमेनिकन केटी थिई । ऊ मलाई हेरेर हाँस्यो । मैले उसको इशारा बुझेँ । मलाई भोलिको अन्तिम दिनमा बचेको समयको भरपुर उपभोग गर्न जति सक्दो चाँडो निदाउनु पर्छ भन्ने थियो । त्यसैले उसलाई त्यहीँ छोडेर सुत्ने कोठातर्फ उक्लिएँ । मोबाइलमा भोलिको पाँच बजेको घण्टी लगाएर सुतेँ । ....क्रमशः 

Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला