उच्च शिक्षाका लागि जर्मनी
मामिनसहरु
भन्छन् युवाहरुले देश छोड्नु हुन्न । स्वदेशमै बस्नु पर्छ । देशमै सानो
तिनो इलम गरेर बस्नुपर्छ । आदि इत्यादि । म भन्छु युवाहरुले एक न एक पटक
विदेशको अनुभव अंगाल्नै पर्छ । मलाई लाग्छ विदेश पस्दा मात्र देशप्रेम
भन्ने कुरा थाहा हुन्छ । आफ्नो सांस्कृतिक पहिचान कत्तिको महत्वपूर्ण हुन्छ
भन्ने कुराको ज्ञान विदेशीहरुले पहिचान सोध्दा मात्र थाहा हुन्छ । त्यस
बाहेक पनि विभिन्न ज्ञानगुनका कुराहरुसँग नजिकिने अवसर अनि विकासको गति
थाहा पाउन पनि विदेशको अनुभव लाभदायक हुन्छ ।
विदेशमा
आएर उच्च शिक्षा हाँसिल गरौँला भन्ने मैले सपनामा पनि नचिताएको कुरा ।
आकासमा धुवाँको मुस्लोले बनेको रेखा घाँटि नथाकुन्जेल हेरेर गम्ने मान्छे
एक दिन त्यस्तै धुवाँको मुस्लो छोड्दै उड्ने विमानमा चढेर आफ्नो देशभन्दा
दशौँ हजार किलोमिटर परको देश आइपुगेँ । विदेश आउँदा र यहाँ बस्दा जे जति
कुरा देखेँ, सुने र भोगे ती सबैले कुनै न कुनै रुपमा मेरो व्यक्तित्व
विकासमा मद्दत पु¥याएको छ । सायद अरुका लागि पनि यस्तै हुन सक्छ होला ।
त्यसैले उच्च शिक्षाका लागि देश बाहिर जान चाहने युवाहरुलाई आफू सक्दो
सहयोग गर्ने भनि नवराज रोस्यारा दाइको पहलकदमीबाट सुरु भएको जर्मनीमा
वसोवास गर्ने नेपालीहरुको फेसबुक समूह ‘नेपलीज लिभिङ्ग इन जर्मनी’का लागि म पनि
आफ्नो अनुभवबाँडेर केही सहयोग सक्छु गर्ने उद्देश्यले यो लेख लेख्दै छु ।
मलाई
जर्मनी आएर उच्च शिक्षा आर्जन गर्ने प्रेरणा दिने भनेको नवराज रोस्यारा
दाइ नै हुन् । उहाँको नेपाल भ्रमणका क्रममा आफ्ना जर्मन बसाइका अनुभवहरु
बाँड्दै जर्मनीमा उच्चशिक्षा अध्ययनका अवसरहरुका बारेमा उहाँले जानकारी
गराइ दिएर पहिलो पटक मेरो मनमा जर्मनी आएर अध्ययन गर्ने सपनाको विजारोपण
भएको हो । त्यसपछिका हरेक घुम्ती र बिसाउनीहरुमा पनि वहाँले गर्नु भएको
मार्गनिर्देशन र सहयोगको बिना मेरो नयाँ जन्मिएको सपना साकार किमार्थ पनि
हुँदैन थियो झैँ लाग्छ ।
जर्मनी
आउनका लागि न त मैले कुनै कन्सल्टेन्सीलाई पैसा तिर्नु प¥यो न त उती सारो
दुःख कष्ट नै भोग्नु प¥यो । मलाई जर्मनीमा उच्च शिक्षा आर्जनकालागि आवश्यक
कुराहरु केके हुन् भन्ने समेत पनि थाहा थिएन । नवराजदाइको सल्लाह बमोजिम
सबैभन्दा पहिले www.daad.de मार्फत आफूलाई मन परेको विषय अध्ययन गर्न पाइने
क्याम्पसहरु कोको छन् भनि खोजेँ । आफूलाई मन पर्ने विषय अध्यापन गराइने
विश्वविद्यालयहरुमा सो विषयमा भर्नाका लागि वाञ्छित योग्यताहरुको बारेमा
बुझेँ । अंग्रेजीमा अध्ययन गर्न चाहने विद्यार्थीले आफ्नो अंग्रेजी भाषाको
दक्षताको प्रमाण पत्र पेश गर्नु पर्ने हुँदा मैले सबै भन्दा पहिले
आइएलटिएसको परीक्षा दिए । व्रिटिश काउन्सिलको ३ महिनाको सदस्यता लिएर समय
मिलाएर त्यहीँ गएर परीक्षाको तयारी गरेको थिएँ । परीक्षामा ७.५ आएपछि
अंग्रेजी भाषाको प्रमाणको समस्या सकियो । जर्मनीमा रहँदा र काम गर्दा
जर्मनभाषाको ज्ञान नभइ नहुने भएकाले विश्वभाषामा जर्मन भाषाको कक्षा पनि
सुरु गरेँ । पहिले छानेका विश्वविद्यालयहरुमा जर्मन दूतावासबाट प्रमाणित
शैक्षिक प्रमाणपत्रहरु र आइएलटिएसको प्रतिलिपीहरु समावेश गरी पत्र पठाएँ ।
फरक फरक देशका फरक फरक विश्वविद्यालयको फरकफरक नियम हुने भएपनि जर्मनीका
प्राय विश्वविद्यालयहरुले नोटेरी पब्लिकबाट प्रमाणित गराइएका प्रमाणपत्रहरु
स्वीकार गर्दैनन् । त्यसैले सबै प्रमाणपत्रहरु दूताबासबाटै प्रमाणित गरेर
पठाउनु पर्ने हुन्छ ।
अलि
लामै समय लगाएर भएपनि जवाफ सकारात्मक आयो । भिसाको लागि फेरी जर्मन
दूतावासमा गई बुझेँ । भिषाका लागि आवश्यक कागजातको सूची सबै दूतावासको
वेवसाइटमा पाइँदो रहेछ । भीसाको आवेदन फारामका साथमा जर्मनीमा गएर अध्ययन
पुरा गर्नका लागि आवश्यक खर्चहरुको श्रोत प्रमाणित गर्ने कागजात,
मातापितासँगको नाता प्रमाणितका कागजात, बैंक खातामा रकम भएको प्रमाण,
विश्वविद्यालयले पठाएको स्वीकृति पत्र, शैक्षिक योग्यताको प्रमाणपत्र,
आदिको सक्कल र प्रतिलिपीहरु सबै बुझाएँ । फाराममा उडानको मिति लेख्नुपर्ने
तर आफूले उडान बुक नगरेकाले मनमा लागेको मिति लेखेर फाराम बुझाइ दिएँ । पछि
सोही विवरण मिल्दो टिकट बुक गराएँ । उडान बुक गरेको प्रमाण जुनसुकै ट्राभल
एजेन्सीले पनि निशुल्क बनाइदिँदो रहेछ । त्यतिबेलासम्म पनि मसँग जर्मन
भाषा सिकेको कुनै प्रमाण थिएन । विश्वभाषाको ए वन लेभलको परीक्षा समेत भएको
थिएन । त्यसैले विश्वभाषाबाट भाषा सिक्दै गरेको कागज बनाइ मागेर दूतावासमा
बुझाएको थिएँ । दूताबासले भाषाको बारेमा सोध्दा अंगे्रजीमा पढ्ने हो भनी
भनेँ । भिसाको अन्तर्वार्ता कागजात बुझाएकै दिनमा हुन्छ । मेरो हकमा
सामान्य प्रश्नहरु बाहेक त्यस्तो केही जटिल कुराहरु सोधिएको थिएन । मलाई त
अझै अन्तर्वार्ता हो भन्ने पनि लागेको थिएन । पछि थाहा पाएँ, अन्तर्वार्ता
त्यही रहेछ भन्ने ।
यी
प्रकृयाका लागि दूतावासमा कैयौँ पटक आउने जाने क्रम जारी रह्यो । सम्पत्ती
विवरणका लागि सरकारी कार्यालयबाटै कागज बनाउन लगाएकाले त्यसमा आवश्यक
भन्दा बढि खर्च लाग्यो । पछि चिनेको कन्सल्टेन्सीले पनि निकै कम रकममा
सम्पत्ती विवरण बनाइ दिँदो रहेछ भन्ने थाहा भयो । सरकारी छाप लागेकै कागज
भने नपर्दो रहेछ । दूताबासमा भेटभएका कतिले आफूले लालपूर्जा देखाएको भरमा
भिसा पाएको कथा सम्म सुनाउँथे ।
भिसाको
प्रकृया अवधी केही लामो भने हुँदो रहेछ । प्रतीक्षाले मानसिक तनाब झन बढाइ
दिन्थ्यो । मान्छे पिच्छे फरकफरक कुराहरु सुन्नु पथ्र्यो । निराशाजनक
कुराहरु बढि हुन्थे । खासगरी जर्मन भाषाको दक्षताको प्रमाण नभएकाले पनि
नतिजा सकारात्मक नआउन सक्छ भन्ने थियो । त्यस्ता कुराहरुले मनको व्यग्रता
झन् बढाउँथ्यो । यी बीचमा नवराज दाइसँग कुराहरु भइ रहन्थ्यो । वहाँले हरेक
कुरामा नआत्तिकन काम गर्ने सल्लाह दिइरहनु हुन्थ्यो । एक दिन दूताबासले
बोलाएर मिसा स्वीकृत भएको अब उड्न अघि ड्वेचे बैंकको खातामा आठ हजार युरो
जम्मा गर्ने र तीन महिना अवधीको स्वास्थ्य विमा ल्याउन भन्यो । त्यसै दिन
विश्वभाषाको नतिजा पनि प्रकाशित भयो । कसो कसो प्रथम श्रेणीमै नाम निस्केछ ।
बैंकको रकम जम्ममा गर्नमा पनि नवराज दाइले गरेको सहयोगको गुनको आजीवन ऋणी
रहनेछु । त्यसबेलाको तनाव सम्झदा अझै पनि कसरी पो आइपुगेछु जस्तै लाग्छ ।
बैंक
र विमाको काम सकिने बित्तिकै दूताबासले छापलागेको पासपोर्ट हातमा दियो ।
जर्मनीमा उच्च शिक्षाको सपना त्यसै दिन विपनामा परिणत भयो । काठमाडौं देखि
अबुधाबी र अबुधाबी देखि फ्रान्कपर्टको रोमान्चक यात्रा मेरो जीवनको पहिले
जेट यात्रा भयो । फ्रान्कफर्टमा दाइको परिचित मित्र रणबहादुर बिकले मेरो
गन्तव्य सम्म पु¥याउने ट्रेन समाउन सजिलो पारिदिनु भयो । विहानको खाना र
फ्रान्कफर्ट टे«न स्टेशन सम्मको टिकट सबै वहाँले नै किनिदिनु भयो । युरोलाई
नेपाली रुपैयाँमा बदल्दै सुर्ताउनमा व्यस्त मैले वहाँलाई मेरो भागको कति
प¥यो भनि सोध्न समेत आँट गर्न सकेन । सँगै आएका एकजना नेपालीलाई आफूले
जानेको भाषाका कारण वहाँको गन्तव्यसम्म जाने ट्रेन समाउन सहयोग गर्ने
क्रममा आफ्नो ट्रेनको टिकट हराएछु । टिकट नवराज दाइले काटि दिनु भएको थियो ।
त्यसैले फेरी वहाँले नै टिकट काउण्टरको मान्छेसँग कुरा गरेर अर्को टिकट
बनाउन लगाइदिनु भयो । त्यस्तै तीन घण्टा लामो ट्रेन यात्रापछि फिलिङ्गेन
पुग्दा नवराज दाइले नै फोन गरिदिएकोले विश्वविद्यलयबाट मलाई लिन मान्छे
आएका थिए । उनैले कोठा सम्म पु¥याइ दिए । कोठामा ओड्ने ओछ्याउने सबै थियो ।
घरबेटीसँगको सानो कुराकानी पछि नुहाइवरी सुतेँ । सुरुका केही दिनमा
जेटल्यागले निकै सतायो ।
जर्मनी
त पुगेँ तर यहाँ पुग्नु भन्दा ठूलो यहाँ टिक्नु हो । पुग्नु भन्दा पहिले
सबैलाई पुगेपछि केही न केही भइहाल्ला भन्ने हुन्छ । राम्ररी बिचार नपु¥याइ
आउँदा जर्मनी आउनु धेरैलाई ‘नखाउँ भने दिनभरिको सिकार खाउँ भने कान्छा
बाउको अनुहार’ भनेझैँ हुनसक्छ । त्यसैले आउनु अघि यहाँ पुगेपछि के गर्ने
भन्ने योजनाका साथ आउनु राम्रो हुन्छ । भाषाको राम्रो ज्ञानका साथ आउनु अझ
उत्तिकै महत्वपूर्ण कुरा हो । अध्ययन पछि फर्कने वा यतै भविष्य बनाउने,
जुनसुकै उद्देश्य लिएर आएपनि भाषाको दक्षताले यहाँको बसाइलाई निकै सहज
बनाएर लैजान्छ । त्यसैले जुनसुकै भाषामा अध्ययन गर्न आउने भएपनि
जर्मनभाषाको राम्रो ज्ञान लिएर आउन म व्यक्तिगत रुपमा सबैलाई अनुरोध गर्दछु
। भाषाका कारणले मलाई सुरुमा काम पाउन निकै गाह्रो भयो । कामका अवसरहरु
थप्रै भेटिएका भएपनि भाषा कै कारणले धेरै राम्रा अवसरहरु गुमाउनु पर्दा आउन
हतार गरेँझै लाग्थ्यो । आएको वर्षदिन पुगिसक्दा पनि भाषाकै कारण कहिँ काम
नपाएर बसेका भारतीय साथीहरुलाई देख्दा पनि भाषा अति महत्वपूण कुरा हो भन्ने
लागि रहन्छ ।
आफू
पुगेको सहरका बारेमा धेरै पछि मात्र जानकारी लिएको थिएँ । सानो सहर भएकाले
काम पाउन केही कठीनाइ भयो । अहिले बुझ्दा म पढि रहेकै विषय अन्य ठूला
सहरमा पनि पढाइ हुँदा रहेछन् । सायद ठूला सहरमा जान पाएको भए कामको लागि
त्यस्तो गाह्रो हुँदैन थियो होला भन्ने पनि लागि रहन्छ । त्यस्तै अध्ययनका
लागि अरु पनि थुप्रै अवसरहरु थिए । उदाहरणका लागि जर्मनीमा इन्जिनियरिङको
धेरै महत्व छ र त्यसका लागि थुप्रै अवसरहरु पनि छन् । मैले अझै गम्भीरता
पूर्वक सोच विचार गरेर काम गरेको भए हालको बसाइलाई अझै राम्रो बनाउन सक्थे
झैँ लाग्छ ।
समग्रमा
भन्नु पर्दा जर्मनी उच्च शिक्षाका लागि आउन इच्छुक जो कोहिले पनि
इन्टर्नेट मार्फत यहाँ सम्म पुग्नकालागि आवश्यक सबै सुचनाहरु सजिलै पाउन
सक्छ । कतिपय अवस्थामा कन्सल्टेन्सीहरुले निराशाजनक कुराहरु पनि गर्छन्
त्यसैले आफै प्रकृया गर्नुले पैसा पनि जोगिन्छ र सम्पूर्ण प्रकृयाको बारेमा
थाहा हुने भएकाले भिसाको अन्तर्वातामा पनि सजिलो हुन्छ । मेरो हकमा, पुतली
सडकको अर्विट इन्टर्नेश्नल नामक कन्सल्टेन्सीले मलाई विश्वविद्यालयले
स्वीकृति पत्र नै पनि पठाउँदैन भनेको थियो । त्यसैको झोकमा मैले जर्मनी
लगायत अष्ट्रेलियाका धेरै विश्वविद्यालयहरुमा निवेदन पठाएको थिएँ । योग्यता
पुगेको ठाउँबाट सकारात्मक उत्तर पनि आएका थिए । मैले जर्मनीलाई रोजेँ ।
अरुको भनाइमा लाग्नु भन्दा पनि आफैले सूचनाहरु संकलन गरेर अनि जर्मनी पुगी
सकेकाहरुसँग सल्लाह गरेर आउनु उचित हुन्छ । योजनावद्ध भएर राम्रो तयारीका
साथ जर्मनी आइयो भने यहाँको बसाई जिवनको अनमोल अध्याय हुने कुरामा कुनै
शंका छैन ।
Comments
Post a Comment