देश चिनाउन पाएको दिन


 कुरा हो जर्मन भाषाको कक्षाको । विश्वविद्यालयका नियमित कक्षा सुरु हुनु पूर्व जर्मनीमा रहँदा बस्दा आवश्यक पर्ने जर्मन भाषाको ज्ञान होस् भन्ने उद्देश्यले विश्वविद्यालयले निःशुल्क जर्मन भाषाका कक्षाहरु संचालन गरेको थियो । सो कक्षा अन्तर्गतको अन्तिम दिन हामी सबैले आफ्नो देशको बारेमा एक प्रस्तुती राख्नु पर्ने थियो । पावरप्वाइन्टमा देशका बारेमा जति हुनसक्छ जानकारी समावेश गरेर जर्मन भाषामा सबै सामु भन्नु पर्ने थियो ।
प्रस्तुतीका बारेमा सुनेको दिन देखि नै आफूलाई कसरी हुन्छ देशका बारेमा बढि भन्दा बढि जानकारी दिन पाए हुन्थ्यो भन्ने लागेको थियो । एक त सानो देश त्यसमाथी एशियाका दूई ठूला शक्ति राष्ट्रहरुको चेपुवामा परेको देश भएकाले नेपाललाई कमैले मात्र चिन्दथे । यहाँका मानिसका लागि नेपाल भारतको कुनै सहर हो अथवा चिनको नियन्त्रणमा रहेको तिब्बत जस्तै भूमी हो भन्ने भान छ । नहोस् पनि किन ? गौतम बुद्ध कहाँ जन्मेका हुन् भन्दा भारतले भारतमा भनि सबैलाई बताउँछ । त्यस्तै सगरमाथा कहाँ पर्छ भन्दा चाइनाले चाइनामा भन्दै सबैलाई बताउँछ । त्यस्तो कुरा सुन्दै आएकाहरुलाई सगरमाथाको देशबाट आएको वा गौतम बुद्धको देशबाट आएको भन्दा भारत वा चीनको प्रान्त बाट आएको मानिस भनि अड्कल लाउनु स्वभाविकै हो । त्यसैले मेरो यहाँ रहँदाको सुरुको दिनको एउटा प्रमुख उद्देश्य भनेको सगरमाथा र गौतम बुद्ध सम्बन्धिको गलत बुझाइलाई सच्च्याउनु रह्यो ।
मलाई मेरो देशको बारेमा सोध्दा म नेपाल भन्थे । त्यसो भन्दा मेरो कालो वर्ण देखेर ‘अफ्रिकामा पर्छ?’ भनि पुनः प्रश्न तेस्र्याउँथे । म सबैलाई ‘मेरो देश एशियामा पर्छ । यो चाइना र भारतको बिचको सानो देश हो । गौतम बुद्धको जन्म थलो अनि संसारको छानो सगरमाथाको देश हो ।’ भनि बखान लाउँथे । नेपाल भन्दा सगरमाथाको नाम लिन कहिल्यै चुकेन । कति उचाइमा छ तिम्रो देश भन्दा म संसारको सबै भन्दा होचो ठाउँ देखि लिएर सबै भन्दा अग्लो ठाउँ मेरै देशमा छ त्यसैले सबै उचाइमा छ मेरो देश भन्थे । सबै पत्याउन गाह्रो मान्थे । मलाई मनमनै गर्व हुन्थयो । देशमा रहँदा यति कुरा याद रहँदैन थियो । अहिले आएर अरुलाई चिनाउने बहानामा आफैलाई देशका बारेमा बढि जानकारी मिल्दैछ । प्रस्तुती तयार पार्दा पनि यस्तै यस्तै महशुस भयो ।
देशका प्राकृतिक सम्पदाका बारेमा जानकारी संकलन गर्दा देशको वास्तविक धन चिन्न पाउँथे । मैले मेरो देश चिनेको रहेनछु भन्ने भान भइ रह्यो । तालहरुका तस्वीर, नदिनाला, हिमाल, पाखा पर्वत, आदि सबैका मनमोहक तस्वीरहरुलाई सकेजति समावेश गरेँ । वन्यजन्तुका बारेमा पनि इन्टरनेटमा भएका जानकारीहरु सबै राखँेँ । खानपिनको कुरा गर्दा पनि सके सम्म भारतीय खानपीन भन्दा फरक होस् भन्ने उदेश्यले नेपालका अन्य जातजातीका खानका परिकारहरु पनि समावेश गर्ने कोशिस गरेँ । नेवारी खानाका परिकारहरुको तस्वीर मनग्गे भेटेकोले तिनको पनि प्रयोग गरेँ । पोशाकका हकमा पनि भएको नयाँ परिवर्तनलाई सम्मान दिँदै सबै जातजातीका पोशाकहरु राष्ट्रिय पोशाक हुन भनि राखेँ । जातीय विविधताकै कारण भाषा र चाडपर्व गमा समेत विविधता रहेको कुरालाई यथासक्य प्रस्तुत गर्ने कोशिस गरेँ ।
नेपाली मौलिक बाजाका रुपमा मादल र सारंगी भेटेँ । त्यसका अलाबा पनि कति हुँदा हुन तर सायद प्रचार प्रसारका अभावमा ती अघि आएन सकेका छैनन् ।
यति गरि सक्दा गौरवले छाति फुलेको थियो । देशमा जातीय विविधतालाई जुन विभेद उत्पन्न गर्न प्रयोग गरिएको छ त्यो त खासमा हाम्रो देशको एकतामा अनेकताको सन्देश छर्ने आधार बन्नु पर्छ भन्ने लाग्यो । देशको यत्रो विविधतालाई प्रस्तुतीको बहानामा पुनरावलोकन गर्न पाउँदा मलाई साँच्चै गर्व लाग्यो । दुःख त्यति बेला लाग्यो जब देशको राजनीतिका बारेमा केही लेख्नु पर्ने आवश्यकता महशुस भयो । देशको पुनःसंरचना नभई सकेको र पुरानो व्यवस्था लगभग खारेज भइसकेको संक्रमणकालीन स्थितिलाई मैले कमभन्दा कम स्थान दिएँ ।
प्रस्तुतीमा पाश्र्व ध्वनीका रुपमा नेपाली सांस्कृतिक धुन बजाउने एक मात्र बाध्य समूह कुटुम्बका गितहरु राखेँ । एकै पटक सबैथोक दिने प्रयत्न गरेँ । प्रस्तुती पुरा भइ सक्दा आफैमा दंग थिएँ ।
प्रस्तुतीकरणको दिन मन देशभक्तिले ओतप्रोत थियो । त्यसैले पोशाक पनि स्वदेशी नै लगाएँ । दाउरा र सुरुवाल शीरमा कालो टोपी । विश्वविद्यालय पुग्दा सम्म बाटामा सबैले टुलुटुलु हेर्द हाँसोका खित्का छुटे । जीन्दगीमा कहिल्यै नलाइएको पोशाक आज देश बाहिर पुग्दा लगाइयो । विश्वविद्यालय पुग्दा पनि सबैले वाहवाही गरे । सबैले मेरो पोशाकको प्रशंसा गरे । देश चिन्न त एकपटक विदेश जानै पर्ने रहेछ जस्तो लाग्यो ।
आफ्नो प्रस्तुती केही लामो भएकोले मैले अन्तिममा प्रस्तुत गर्ने अुनमति मागेँ । सबैले आफ्नो देशको बारेमा भन्दा त्यहाँका भव्यताको र विकासको बारेमा बखान ।  चाइनाका विद्यार्थीहरु धेरै भएकाले उनीहरुले आफ्ना प्रान्तहरुका बारेमा समेत जानकारी दिए । चाइनाको विकास देख्दा तीनछक परेँ । एलसाल्भाडोर, मेक्सीको र कोस्टारिकाका प्रस्तुतीहरु पनि रोचक थिए । स्पेनको गोरु दौड र टोमाटिना चाड सम्बन्धी जानकारी पनि रोचक थियो । फ्रन्सको आइफल टावर र अन्य दरवार सम्बन्धी जानकारी पनि मनमोहक थिए । थाइल्याण्डको बारेमा गरिएको प्रस्तुती केही अपुरो लाग्यो । सबैको प्रस्तुती पछि पालो आयो मेरो अनि मेरो देश नेपालको ।
नेपालका बारेमा जानकारी दिइ रहँदा मेरो खुशीको सिमा रहेन । सबैले नेपालको प्राकृतिक सम्पदाको प्रशंसा गरे । नेपाली जातीय विविधता अनि त्यहाँको साँस्कृतिक विविधता पनि सबैलाई रोचक लाग्यो । सबैको देशको प्रगति देख्दा प्रस्तुती सुरु हुँदा अघि नै भनेको थिएँ, ‘मेरो देश गरीव छ त्यहाँ धेरै ठूला महलहरु छैनन् र पनि प्राकृतिक सम्पदाका आधारमा र सांस्कृतिक विविधताका आधारमा निकै धनी छ ।’ समय अभावले सबैकुरा सोचे जस्तो प्रस्तुत गर्न असमर्थ भएँ । अन्तिमका केही कुराहरु चाँडोचाँडो प्रस्तुत गर्नु प¥यो । प्रस्तुतीको अन्त्यमा सबैले तालीको गडगडाहटद्वारा मेरो प्रयासको सफल भएको अनुमोदन गरे । म गमक्क परेँ ।
कक्षा सकिएपछि नेपाल घुम्ने रहर पोख्ने धेरै थिए । शिवरात्रीमा पशुपतिको जात्रा र जात्रामा बाबाजीको प्रशादका बारेको कुरा फ्रान्सका एक जना साथीलाई धेरै मन प¥यो । अध्यापिकालाई कोदोको तोम्बा चाख्ने रहर भयो । त्यसमाथि तराईंका थारु जातीले बनाउने महुवाका बारेमा पनि केही भनेको थिएँ । त्यसमा पनि धेरैले रुची देखाए । प्राकृतिक सुन्दरता मन नपाराउने त कुरै भएन ।
दाउरा सुरुवाल लाएको थिएँ । त्यसैले तस्वीर खिच्नेहरुको पनि ओइरो लाग्यो । सबैले मसँग उभिएर तस्वीर खिचाए । एक दिनका लागि भए पनि स्वदेशी पोसाकले सिनेमाको नायक जस्तै बनायो । तस्बीर खिच्नेको तछाडमछाड देख्दा हामी हाम्रो मौलिक पोशाकलाई किन त्यति प्राथमिकता दिँदैनौ होला भन्ने प्रश्नले कुत्कुत्याइरह्यो ?


Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला