जनजीवन र विद्यार्थी संगठन
मदिराले मदमस्त तरुण वयकी युवती लस्कीँदै मस्कीँदै आफू छेउको युवककहाँ टाँसिन आइपुग्छे । लस्काइ र मस्काइको निरन्तरतामै अधर चुम्बनका साथ जीब्राले आफ्नो मुख भित्रको वरफ (आइस) युवकका मुखभित्र सार्छे । एकछिन पछि युवकले पनि सोही प्रकृया दोहो¥याउँछ । त्यसको केही बेरपछि छेउकै अर्को युवक पनि सोही युवती समक्ष याचक बनी उभिन्छ । युवतीले उस्तै लस्काइ र मस्काइका साथ उसलाई पनि आफ्नो अधर चखाउँछे अनि बरफ खसाउँछे । यहाँ यस्ता धेरै दृश्यहरु देख्न पाइन्छ । कतिपय आफूसँग आएका जोडीसँगको नृत्यमा मस्त छन् । कति बारको गायकले गाएको गीतमा झुमीरहेका छन् । धेरै युवायुवती र आक्कल झुक्कल मात्र वृद्धवृद्धाहरु देखीने यस्तो ठाउँमा अहोरात्र यस्तै क्रम चलीरहन्छ । यो दृश्य विश्वविद्यालय सुरु हुनु अघिका दिनहरुमा नवागन्तुक विद्यार्थीहरुलाई नयाँ ठाउँको रात्रीजीवनका बारेमा जानकारी दिन विश्वविद्यालयको एक विद्यार्थी क्लबले आयोजना गरेको पब क्रल कार्यक्रम अन्तर्गत एक पबमा देखेको दृश्य हो । मदिरा र धुम्रपान यहाँको रात्री जीवन मात्रै होइन सम्पूर्ण जीवन शैलीकै एक पाटो हो । धुम्रपानका हकमा मेरो व्यक्तिगत धारणा भन्नु पर्दा यहाँ त झन् गाडीले फ्याँक्ने धुवाँ भन्दा बढि धुवाँ मानिसले फ्याँक्ने गर्दछ ।
वियर र वाइन यहाँको जीवनको अभिन्न अंग हो । यहाँको बीयर झण्डै पानी भन्दा सस्तो हुन्छ । अमेरिकाको मिसिगनबाट आएका एक मित्र म्याथ्यु भन्थे, ‘वियरमा करीव ८० प्रतिशत पानी हुन्छ त्यसैले तिर्खा लागे पानी हैन वियर पिऊ । कुनै दिन केही समस्या परे एक बोतल बियर पिऊ सबै ठीक हुन्छ । तर मात्र एक बोतल ।’ यो भनाइले मात्र पनि बीयर लगायतका मदिराजन्य पदार्थ प्रतिको पश्चिमा धारणालाई दर्साउँछ । वियर र वाइन लगायतका मदिराजन्य पेय सेवनलाई यहाँ भातसँग दाल खाए जत्तिकै गरी लिइन्छ । यहाँ प्राय घरहरुमा स्याउ लगायतका घरायसी सामग्रीबाट घरेलु मदिरा समेत बनाउने गरिन्छ । यस खाले मदिराका लागि वर्षेनी २०० ग्यालन (८०० लीटर) सम्म कुनै कर लाग्दैन । अमेरिकाको हकमा पनि यहि हदबन्दी रहेको छ ।
जर्मनीमा वियर पिउनका लागि विशेष पर्व नै कुर्नु पर्दैन । चाडवाडहरुमा वियर अभिन्न रहने भएपनि सामान्य जर्मन रात्रीकालीन भोजनमा पनि वियर हुनु राम्रो मानिन्छ । त्यसै गरी आइतवार विहानीको नास्तामा पनि मित्रहरुसँग बसेर वियर खाने गरिन्छ । जर्मनको परम्परागत खानामा एक असल वियर हुनु जरुरी छ ।

धुम्रपानका हकमा विश्वविद्यालय खुकुलो देखिन्छ । विश्वविद्यालयका भवन बाहिर जहाँसुकै धुम्रपान गर्न पाइन्छ । विश्वविद्यालयका कोठाहरुमा फायर अलार्महरुको प्रयोग भएको हुँदा भित्र कुनै पनि हालतमा धुम्रपान गर्न पाइँदैन । भुलबस कसैले धुम्रपान गरेको खण्डमा फायर अलार्म बज्छ र तीन मिनेट भित्रमा फायर ब्रीगेड दम्कलका साथ सो स्थानमा आइपुग्छ । दमकलका कर्मचारीहरु प्राय स्वयंसेवकका रुपमा कार्य गर्नु पर्ने र यस्तो अलार्म बज्दा उनीहरुले बोकेको यन्त्रमार्फत उनीहरुसम्म सुचना जाने गर्दछ । सूचना प्राप्त हुनासाथ आफ्नो काम छोडी उनीहरु सूचना प्राप्त भएको स्थान सम्म पुग्छन् । बिनाकारण यस्तो अलाम बजेको दोसीलाई निकै भारी जरिवाना गराइन्छ । त्यसैले कोही पनि भवन भित्र धुम्रपान गर्दैनन् । बाहिर भने विद्यालय स्तरका बालबालिकाले समते विद्यालयको अघि धुम्रपान गरेको देख्न पाउनु सामान्य हो ।
विश्वविद्यालयका विद्यार्थी संगठनहरुको कुरा गुर्न पर्दा यहाँका विद्यार्थी संगठनहरु वास्तवमै विद्यार्थी संगठनहरु हुन् जस्तो लाग्छ । राजनीतिक असर यहाँका विद्यार्थी संगठनहरुमा त्यति देखिँदैन । सबै संगठनको आ–आफ्नै उद्देश्यहरु हुने गर्दछ । उदाहरणका लागि एक स्टक फ्लोर नामक क्लबले विद्यार्थीहरुलाई शेयर बजारका बारेमा जानकारी गराउने गर्दछ र शेयर कारोबार सम्बन्धी विद्यार्थीको ज्ञानलाई विभिन्न प्रयोगात्मक गतिविधिहरु आयोजना गरी अध्ययन अवधि भित्रमै विद्यार्थीलाई व्यवसायिक अनुभव प्राप्त गर्ने अवसर दिन्छ । त्यस्तै अर्को विजनेस टक नामक क्लबले व्यापारिक जगतका ठूलो व्यक्तिहरुलाई विभिन्न अभिमुखीकरण तालिमहरुमा बोलाई विश्वविद्यालयमा कार्यक्रमहरु आयोजना गर्ने गर्दछ । अर्को संगठन आइएससीले (अन्थर्राष्ट्रिय विद्यार्थी समुदाय)ले विभिन्न भ्रमणहरु, पार्टीहरु र अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सब लगायतका कार्यक्रमहरु आयोजना गर्ने गर्दछ । नेपाली विश्वविद्यालयका पेट्रोलको भाउ बढ्दा क्यम्पस बन्द गराउने, परीक्षाफल ढिलो प्रकासित भएको विरोधमा परीक्षा नियन्त्रण कार्यालयमा तालाबन्दी गराउने, देशका ठूला राजनीतिक दलका निर्देशनमा विभिन्न चक्काजाम र आन्दोलनका कार्यक्रममा विद्यार्थीहरुको जमात बनाउने, टायर बाल्ने, सडक अवरुद्ध गर्ने, लगायतक एक राजनीतिक रुपमा सचेत विद्यार्थीले गर्नुपर्ने सबै कामहरुको तालिम दिने अतिआवश्यक (!?) विद्यार्थी संगठनहरुभन्दा निकै फरक यस्ता क्लबहरुमा सहभागी हुनुले आफ्नो व्यक्तित्व विकारमा सहयोग हुने ठानी यस्ता क्लबहरुले विश्वविद्यालयको पढाइ सुरु हुँदाका प्रथम सप्ताहरुमा नयाँ सदस्यहरुलाई आवेदनका निम्ति आह्वान गर्ने गर्दछ । व्यक्तिगत क्षमता र रुचिका आधारमा आवेदक विद्यार्थीहरुबाट क्लबका लागी चाहिने सही सदस्यहरु क्लबले छान्ने गर्दछ ।
मैले आइएससी नामक क्लबको लागि आवेदन दिएको थिएँँ । सो क्लबले मलाई बजारव्यवस्थापन समूहका लागि छान्यो । मेरो ग्राफिक्स डिजाइन सम्बन्धी अनुभव र इन्टरर्नेट प्रयोगमा भएको दक्षताका कारणले मलाई क्लबले आयोजना गर्ने सबै कार्यक्रमको प्रचारप्रसारमा बजारव्यवस्थापन समितिका अन्य सदस्यहरुलाई पर्चा, पम्पलेट निर्माणमा सहयोग गर्ने जिम्मा दिइयो ।
विश्वविद्यालयका थुप्रै क्लबहरुले शैक्षिक सत्र सुरुहुनु अघिका सप्ताहान्तहरुमा नवागन्तुक विद्यार्थीहरुको स्वागतका लागि थुप्रै पार्टीहरु आयोजना गर्ने गर्दछन् । प्राय पार्टीहरुमा पेयको रुपमा बीयर र केही मात्रामा कोकाकोला लगायतका अन्य मदिरारहित पेयको समेत व्यवस्था हुन्छ । विश्वविद्यालय हातामै स्वागतार्थ गरिएका पार्टीहरुमा यस्तो पेय किनीरहनु पर्दैन भने बाहिर आयोजना गरिएका पार्टीहरुमा निश्चित रकम तिरेर यस्तो पेय पिउन सकिन्छ । कतिपय अवस्थामा विश्वविद्यालयकै कोठाहरुमा पनि यस्ता पार्टिहरु आयोजना गर्ने गरिन्छ । विश्वविद्यालयको अनुमति बिना र विशेष आयोजनाहरु बाहेकको अवस्थामा भने विश्वविद्यालय हाता भित्र मदिरा सेवन गर्नुलाई उचित मानिँदैन ।
अध्ययनको चार महिना पुरा हुन लागिसक्यो । आजसम्म कुनै पनि किसिमको बन्द हड्तालको खबर सुन्नु परेको छैन । सबै भन्दा अचम्म लाग्दो त्यहि छ । कहाँ कक्षाकोठामा पढाइ रहँदा विद्यार्थी नेता भनाउँदाहरु पसेर कक्षा रद्द गर्ने व्यवस्था अनि कहाँ विनाअवरोध अध्ययन गर्न पाइने व्यवस्था । विद्यार्थी संगठनका सदस्यहरु अति आवश्यक सूचना दिनका निम्ति बाहेक अरु कुनै बहानामा पनि कक्षाकोठा भित्र प्रवेश गरेको मैले पाएन । सायद यी कुराहरुबाट हाम्रो देशको विद्यार्थी राजनीतिले पनि केही पाठ सिक्ने हो कि ?
Comments
Post a Comment