प्रश्नहरूको कारखानाः सरिता तिवारी
खोक्रिइरहेको गरिबको पेट
भरिइरहेको साहुको ढिकुटी
चुलिइरहेको रिनको सगरमाथा
त्यसैको पहिरोले च्यापिएर
बिस्तारै मरिरहेको निर्धो मानिस
र उसको मुखबाट निस्किरहेको लाचार फिँज
मेरो गाउँका अघोषित शान्तिका
अरु दृष्टान्त थिए
‘प्रश्नहरुको कारखाना’ नाम नै मन परेको थियो । पढ्न मन लागेका किताबहरुको सूचिमा लामै समय देखि थियो । यसपटक ‘कारखाना’ धनीसँगै भएको भेटमा किताब पनि हात परेपछि यो नपढि नहुने भयो ।
सरिता तिवारीलाई कवि भन्दा पनि बढि स्तम्भकारको रुपमा चिनेको थिएँ । सामाजिक सञ्जालको उनको उपस्थितिले पनि उनीप्रतिको एक धारणा बनेको थियो । यसपाली जुरेको भेटमा उनको व्यक्तित्वको थप पाटाको बारेमा पनि जानकारी भयो ।
एउटा हातमा राहदानी
र अर्को हातमा प्रवेशाज्ञा लिएर
उडिरहेको छु आकाशमार्गमा
र सोच्दै छु
के थियो मेरो जीवनको खोज ?
के थियो मेरो विचार ?
के थिएँ म ?
अब एउटै सत्य भेटाएको छु
विचारहरुको भीडमा
सबभन्दा निर्मम विचार हो
पेट
प्रिय सुप्रिमो !
प्रिय कमरेड,
के सोचिरहेका छौ तिमी
के सकियो युद्धको मौसम ?
म त अझै लडिरहेको छु
जीवनको कठोर सुरुङ युद्धमा
अझै त मैले
बिसाइसकेको छैन हतियार
म कविताको उस्तो गम्भीर पाठक हैन । कथा र उपन्यासमा भने खुब रुचि थियो । नगरकोटी पढ्दै जाँदा उनले साहित्यका विधा मासिँदै जान लागेको प्रति गरेको चिन्ताले मलाई पनि छोएको थियो । कवि देखि निबन्धकार सबै उपन्यास लेखनमै आउनुमा उनले चिन्ता जताएका थिए । लेख्नेले पढिने कुरा न लेख्ने हो । लेखनको विविधता बाँच्न पनि पठनको विविधता जरुरी छ । त्यहि सम्झेर मैले आफूले पढ्ने विधामा पनि विविधता ल्याउने प्रयास गरेको थिएँ । त्यो प्रयास अझै जारी पनि छ । कविता प्रतिको मोह त्यहि प्रयासको एक पाटो हो ।
कविता संग्रहको पनि आफ्नै सौन्दर्य छ । उपन्यासको जति धेरै शब्द नहुने हुँदा छोटो समयमै पनि सकिन्छ । कविता संग्रहले गहन किताबहरुको पठनको बीचमा एक किसिमको विराम दिने काम पनि गर्छन् । कविता आफैमा गहन नहुने भन्ने त हैन । थोरै शब्दमा धेरै पढिने विधा कविता हो । तर पनि यो खासै पट्यार लाग्दो हुँदैन । सहज पठन हुन्छ कविता संग्रहको ।
अझ वर्षमा निश्चित संख्यामा किताब पढि सक्ने लक्ष राख्न थाले देखि संख्यामा पछि पर्दा कविताह संग्रहले धेरै सघाएका छन् । जे होस् विधागत विविधता तर्फ अगाडि बढ्न्ुमा नगरकोटीको लेखाइ पनि प्रेरक रह्यो । तर विडम्बना उनै नगरकोटीले मिस्टिकाको मिस्टेक गरे । नगरकोटीले त आफूले पढेका किताबको बारेमा धारणा मात्रै प्रवचनका रुपमा बाहिर निकाले पनि मान्छेले पढ्थे होला । कम से कम मलाई त्यस्तो लाग्छ ।
श्री ३ जङ्गबहादुर राणाद्वारा जारी
मुलुकी ऐनको महल घोकी घोकी तयार भएको
पट्टु छ प्रशासन
मास्टरको घुच्चुक र सहपाठीको खप्पर कुच्याएर
राजनीतिको रोमाञ्च सिकेको
गुण्डा नाइके छ नेता
सत्ताको कलो पर्खेर
हरदम ढोकाबाहिर रुँगिबसेजस्तो
श्रीहीन छ पत्रकार
जदौ मुद्रामा निहुरिँदा निहुरिँदै
उभिनै बिर्सिसकेको
हुक्के जस्तो छ लेखक
प्रश्नहरुको कारखानाका कविताहरुमा विविधता छ । यिनमा नारीवाद छ । दशवर्षे द्वन्द्वकाल पूर्वको समाजको कथा छ । विद्रोही चेत सहितको कविता छ । सभ्यता र सन्दौर्य दुबै गुमाएको राजधानीको कविता छ । तर पनि खास प्रश्नहरुको प्रतीक्षा गर्दागर्दै कविताहरु सकिएको अनुभव भयो । पाश र गोरख पाण्डेको स्वादका कविता खोज्दा खोज्दै संग्रह टुङ्गिएको जस्तो भान भयो ।
कविताहरुमा नभेटिएको तमाम कुराहरु पछि ‘कारखाना, जो चलिरहेको छ ’ मा फेला प¥यो । पढ्दै गर्दा यो कविता संग्रहको साथसाथै कविको साहित्यिक र दार्शनिक जीवनी जस्तै नै पनि लाग्यो । कविताका विषय के हुने भन्ने उनको धारणा पनि यो अंशमा पढ्न पाइयो । पढ्दै गर्दा कतिपय अवस्थामा यो कवितामा आउन सक्थ्यो कि भन्ने पनि लाग्यो । तर जे होस् कवितामा नआएका कुरा गद्य आउनु पनि राम्रै लाग्यो ।
समग्रमा संग्रहको पठन योग्य छ । कवितासँगै कविको संघर्षका बारेमा पनि जान्न पाइन्छ । ‘सरकारी’ कविहरुका भन्दा फरक कविता भेटिन्छन् । कवितामा प्रयोग भएका कतिपय पात्रहरुको बारेमा भने पर्याप्त जानकारी मिल्दैन । निरमाया मगर, ढेगनादेवी, नजराना खातुन, अंगेनु लगायतका पा त्र चिन्न चाहेर पनि चिन्न सकिँदैन । तिनको प्रयोग त्यहाँ किन भयो भन्ने जिज्ञासा अनुत्तरित नै रहन्छ । त्यहि हो । पठन सुखद रहोस् ।
Comments
Post a Comment