विप्लव प्रतीकको अविजित र त्यसमा अटेकाे नेपाली इतिहास




प्रवासमा रहँदा दोहो¥याएर तेह¥यार अथवा साँझ भरि फेरि फेरि सुनिने दिप श्रेष्ठले गाएको ‘हर रात’ बोलको गितका लेखकले लेखेको पुस्तक भन्ने बित्तिकै अविजित पढ्न मन थियो । बुकाहोलिक्समा भएको पुस्तक विमर्श अन्तर्गत भाषाका लागी पनि पुस्तक  पढ्नै पर्ने सुझाव आउँदा झन् पढ्न मन थियो । पढ्ने मन अझै दरो बनाउने त उनले सो पुस्तक पिताको जीवनमा आधारित भएर लेखेको भन्ने कुराले हो । फेरि त्यो बहसमा पुस्तकको सम्पूर्ण कुरा बाहिर नआए जस्तै पनि लाग्यो । लेखकले देखाएको विनम्रता र आद्रताले भरिएका आँखाले पुस्तकमा अझै केहि छ भन्ने मनमा लागी रहेको थियो । त्यसैले पनि अविजित छनौटमा प¥यो ।

तुम हर्गिस नहिँ जानते कि दुसरोँको क्या मेहशुस होता है । इसिलिए तुम आगेसे सिर्फ अपनी केहना । –मन्टो

भरखरै प्रदर्शनीमा आएको शादत हसन मन्टोको जीवनीमा आधारित चलचित्रमा मन्टोको एउटा भनाइ छ । ‘अरुले कस्तो महशुस गर्छन् भन्ने तिम्लाई पक्कै पनि थाहा छैन । त्यसैले अबदेखि आफ्नो मात्रै भन्ने गर ।’ अचेल पाठक अनुभुति लेख्दा पनि अलि असहज लाग्छ । अरुले पनि मैले जस्तै प्रतिकृयाका आधारमा धारणा बनाए भने ! आँखिर पुस्तक सम्बन्धी केहि उदासिन प्रतिकृयाले मलाई पुस्तक पढ्नबाट धेरै बेरसम्म वञ्चित गराएको हो नै ! खै एक किसिमको पूर्वाग्रहले मनमा डेरा जमाउँदा पुस्तकका पाना फर्काउनै अप्ठ्यारो लागेको थियो । पढ्दै जाँदा नितान्त फरक अनुभव रह्यो । त्यसैले विन्ती छ यो आलेखमा लेखिएका कुरा अन्तिम हैनन् । वरु ती मेरा व्यक्तिगत अनुभव हुन् । मैले पढेकै कुराहरुबाट यहाँलाई फरक किसिमको आनन्द मिल्ने पनि हुनसक्छ ।

सिफलबाट धोबीखोला झर्ने ओरालोतिर बिना कुनै उद्देश्य हेरेका अविजितका आँखा अचानक स्थिर भए । ओरालो सुरु हुनेबित्तिकै दायाँतिरको रुखमा मान्छे फलेको देख्यो उसले । 

उपन्यास ०९७ साल तिरका घटनाहरुबाट सुरु भएको छ । त्यसको भेउ अविजितले सिफलबाट धोबीखोला झर्ने ओरालोमा रुखमा ‘मान्छे फलेको’ देखेबाट पाउन सकिन्छ । वि.सं. १९९७ माघ १० गेत शुक्रराजलाई टेकु पचलीको खरीको बोट, धर्मभक्तलाई माघ १२ सिफलको बकैनाको रुखमा र त्यसको पनि २ दिन पछि गंगालाल र दशरथ चन्दलाई विश्णुमती छेउको शोभा भगवती लगेर छातीमा गोली ठोकेर मारिएको थियो । त्यसको लगत्तै गणेशमान सिंह र चित्रबहादुर केसी लगायत जेल परेका थिए । यो घटना देशको राजनीतिक इतिहासको महत्वपूर्ण घटना हो । यस अघि पढेको योगमाया यसै समयकालमा टुङ्गिएको थियो ।  योगमायाले यो सब भएकै केहि महिना पछि वि.सं. १९९८ असार मा ६६ जना सहित जलसमाधी लिएकी थिइन् । पछि २ जनाले पनि हामफाल्दा ‘धर्मराज्य’ स्थापनाका लागी दवाव दिन भनि जल समाधी लिनेको संख्या ६८ पुगेको थियो । संयोगबस योगमायाको बारेमा निलम कार्की कृत योगमाया पुस्तकको पुछारको समय र यसको प्रारम्भको समय एकै रह्यो ।

पुस्तकको प्रारम्भमै अविजितको वाल्यावस्ताका थुप्रै कुराहरु पुस्तकमा आएका छन् । उनीहरुले गर्ने रमाइलो, टुँडिखेलमा मध्यान्नमा पड्किने तोपको प्रसंग, सात वर्षमै छोरीको विहे गर्ने चलन झल्काउने घटना, टुँडिखेलमा बनारसी चङ्गाको प्रसंग, फ्रेन्चफ्राइजलाई नराम्रोसँग मात दिने ‘लसुन, अदुवा, खोर्सानी, प्याज र दहिको पाकमा पकाएपछि घिउमा मेथी पड्काएर झानेको’ तुयुचाको आलु, धोवीखोलाको पौडी, कौडा खेल, भोगटेको भकुण्डो, आदि । काठमाडौँ र तराईंमा गरेर बाँडिएको अविजितको वाल्यकालको कथा लेख्ने क्रममा तराईका कुराहरु पनि पुस्तकमा अटेका छन् । विशेष गरी होलीका बेला औँला सुन्निने गरी ढोल बजाएको र भाँगको घोट्टाको प्रसंग दिमागबाट बाहिर जाँदैन ।

जनताको जित भएको छ । जहाँनिया शासनको अन्त्य भयो । अब कोही सामन्त हुनेछैन । अब तपाईं–हामी कोही रैती होइनौँ, नागरिक हौँ । नयाँ संविधान लेखिनेछ र लेख्नेछ संविधानसभाले जनताको संविधान ।

७ सालको क्रान्ति र राजा त्रिभुवनको स्वदेश फिर्ती हुनु र अविजित काठमाडौँ फर्किनु सँगसँगै भएको छ । प्रजातन्त्रसँगै काठमाडौँको रहनसहनमा आएको परिवर्तन र अविजित स्वयंको जीवनका परिघटनाहरुले उपन्यास अघि बढाएको छ । उपन्यास पढ्दै गर्दा उतिबेलाको समय दर्साउने अभ्यासहरुले बेलाबेला ध्यान तान्न सफल भइरहन्छन् । फर्सीको पातमा परालले बाँधेर मासु बेचेको प्रसंगले पनि अतितको समयतिर तानेको थियो । देशमा आएको परिवर्तनबाट धेरै आशा रहेपनि त्यो असमयमै तुहिनु, पञ्चायत घोषणा र पञ्चायत समर्थन गर्ने कम्युनिष्ट पार्टीक महासचीवको प्रसंगले उपन्यासमा त्यसपछि स्थान पाएको छ । कांग्रेस नेता प्रदीप गिरीले एक पटक ‘दरवार बाट पालिएका कम्युनिष्ट’ भन्ने संकेतमा केहि बोलेको थाहा थियो तर त्यसको विस्तृत कुराकानी थाहा थिएन । हो त्यही प्रकाशमा नआएका कथा अविजितमा पढ्न पाइन्छ ।

पञ्चायत कालीन धरपकड, त्यसबेलाको छापाखाना र पत्रकारिता, अखवारहरु माथिको कडा निगरानी, व्यक्तिगत रिसिइवी साँध्न जागिर खाइदिने चलन, गाउँघरमा व्यप्ता व्याजको स्याज गरेर १०० रुपैयाँको ऋण महिना दिनमै १००० बनाउनेहरुको कथा, लगायतका कुराहरुले राजा महेन्द्रलाई पूर्वपश्चिम लोकमार्गसँग मात्रै जोडेर हेर्नेहरुलाई पञ्चायतका अन्य आयामहरुसँग भेट गराउँछ । यी यस्ता किस्साहरु हुन जो हाम्रो समाजले भुलीसकेको छ ।

युद्धबाट विरक्त भएका यिनीहरु स्वर्गको खोजीमा यता पसेका थिए, रत्तिएका थिए र रमाएका थिए उपत्यकामा । यी जहाँबाट आएका थिए, ती देशका सरकारलाई आफ्ना नागरिकहरुले  यसरी बेफिक्रिको जीवन बिताएको शायद मन परेको थिएन । त्यसैले उसले श्री ५ को सरकारसँग आफ्ना नागरिक फर्काइमागेको थियो । फलस्वरुप सरकारले यिनलाइ डाँडो कटाउने सुर कसेको थियो । 


पञ्चायत कालीन अवस्थामानै काठमाडौँमा चलेको हिप्पी ट्रेन्डले पनि उपन्यासमा स्थान पाएको छ । यही ट्रेण्ड हो जसले पुर्व र पश्चिम भेट गरायो । यही ट्रेण्ड हो जसले भौतिकवादी संसारबाट विरक्त भएकाहरुलाई जीवन प्रति आशावान बनायो । तर यस किसिमको आध्यात्म र विरक्ती पूँजीवादका लागी ठूलो खतरा हो । यस्ता सन्तुष्टिले एडम स्मिथले उल्लेख गरेको अदृश्य हात कमजोर बनाउँछ र सँगै पूँजीवादी सत्ता पनि कम्जोर हुन्छ । त्यसैले यो ट्रेन्डको कथा पनि अप्रत्यासित रुपमा अन्त हुन्छ र उपन्यास अघि बढ्छ ।

पुण्यप्रसादमा बाउको स्वभाव त थियो नै, बाहिर पढेर आएकाले उनको सोचमा अलि क्रान्तिकारी रस पनि मिसिएको थियो ।
उर्लाबारी, बिहीबारे, शनिश्चरे लगायत जहाँजहाँ उनको जमिन कमाउने किसानहरु थिए, तिनका केटाकेटी पाठशाला जान्थे । जुन, उनैले आफ्ना पिताको नाउँमा खोलिदिएका थिए ।

लेखकले उपन्यासमा एकदमै घुमाउरो पाराले झापाको मुर्कट्टा आन्दोलनका निर्दोष सिकारहरुको समेत चर्चा गरेका छन् । अविजितलाई पहिले देखि मद्दत गर्दै आएका दयालु जमिन्दार र उनका छोरा अनाहकमा ‘क्रान्तीकारी साथीहरुले’ मारिदिन्छन् । यो संकेत नेपाली इतिहासमा चाँसो राख्नेले सहजै बुझ्छ । पश्चिम बङ्गालको नक्सलवाडिमा चारु मजुमदारले गरेको सशक्त विद्रोहकै सिको नेपालको झापामा पनि भएको थियो । वि.सं. २०२८ साल झापा शनिश्चरे वडा नम्बर ६ सालबाढिबाट त्यहाँका वडा अध्यक्ष बुटन चौधरीलाई विभत्स किसिमले काटेर सुरु भएको मुर्कट्टा आन्दोलनमा विष्णुप्रसाद बिमली, ईश्वरी चुडाल, कर्णवहादुर गौतम, धनबहादुर बस्नेत, लगायतका राम्रा कहलीएकाहरु पनि काटिए ।  त्यसरी काटिने मध्येका शनिश्चरेमा भुइकटहरको कारखाना खोलेर खेतीपाती गरेर बसेका पूर्वसाँसद धर्मप्रसाद ढकाल र उनका छोरा ज्ञानुको हत्या प्रकरण उपन्यासमा समावेश घटनासँग ठ्याक्कै मेल खान्छ । यही घटनासँगै जोडेर समातिएका केपी ओली ज्यान मुद्दा लागेर १४ वर्ष जेल बसेका थिए । झापा काण्ड किन किन बिर्सन लगाइएको इतिहास हो । अविजितमा त्यो छुस्स भएपनि पसेको छ । विस्तारमा भएको भए अझै राम्रो हुने थियो ।

संसारको कुनै पनि प्रान्तमा जनक्रान्ति घरीघरी हुँदैन । जनताको बलले एकपल्ट सम्पन्न भएको क्रान्तिलाई नेतृत्वले सही दिशा दिएन भने त्यसलाई सच्याउन अर्को क्रान्ति सम्पन्न हुन केहि समय लाग्छ । 

उपन्यासको अन्तको समय ४६ सालको जनआन्दोलन भएको छ । यसरी वि.सं. १९९७ देखि वि.सं. २०४६ साल सम्मको विभिन्न राजनीतिक तथा सामाजिक घटनाहरु सँगालेको उपन्यास हो अविजित । पढ्नेले यसमा इतिहास मात्रै भेट्दैन । न नै यसमा कुनै व्यक्तिको जीवनी मात्रै भेट्छ । विगतमा कतै हराएको समयको समाजको वस्तुस्थिति मात्रै पनि यसमा छैन । बरु सबैको मिश्रण छ । लेखेकले सकेजति पुरानो समयलाई उपन्यासमा अटाउन कोसिस गरेका छन् । सायद यो अहिलेको पुस्तकका लागी उहीलेका कुराहरुले भरिएको राम्रो उपहार हो । अरु धेरै गर्ला नगर्ला तर यसमा उल्लेखित घटनाहरुले जिज्ञासु पाठकलाई इतिहासको गर्तमा लुकेका घटना खोतल्न अवश्यै पनि उर्जा थप्नेछ ।


कसैको हत्याको जगमा समाज रुपान्तर हुन्छ भने त्यसलाई स्वीकार गर्न मान्दैन मन । हामी जङ्गली युगबाट सभ्यताको संसारमा आएका होइनौँ र ?
उपन्यासका कम्जोरी म यसको परोक्षता मान्छु । इतिहासको साक्षी भएरै पनि कतिपय घटना अलि परोक्ष रुपमा इतिहासमा समावेश छन् । सायद लेखकले आजका सत्तासीनसँग सिंगौरी खेल्न उचित नमानेर पनि त्यसो गरेको हुन सक्छ । उपन्यास काल्पनिक भनिए पनि र व्यक्तिगत जीवनमा आधारित भनिए पनि यसमा इतिहास अटेको छ । त्यहि हो, त्यो इतिहास झट्टै देखिँदैन । त्यसको सन्दर्भमा पूर्वज्ञान भएकाले मात्रै ‘अँ यो फलानो घटना हो’ भन्न सक्छ । रुखमा फलेको मानिस सिफलको बकैनाको बोटमा झुण्ड्याइएका धर्मभक्त माथेमा झैँ लाग्छन् । दरबारसँग मिल्ने कम्युनिष्ट पार्टी प्रमुख केशरजंग रायमाझी जस्ता लाग्छन् । छोरासँगै काटिएका पूण्यप्रसाद धर्मप्रसाद जस्तै लाग्छन् । अन्य थुप्रै ऐतिहासिक घटना पनि उपन्यासमा भेटिन्छन् तर लेखक उनका बा र बाको जीवनसँग बाहेक कसैसँग जोडिएमा त्यो संयोग मात्रै हो भनि इतिहासको साक्षी हुनबाट पञ्छिन्छन् ।

कुरो वामपन्थीहरुको सरकार ढल्ने होइन, व्यवस्था परिवर्तनको हो । जनता पक्षमा छैनन् भने संसारको जतिसुकै राम्रो व्यवस्था भएको सरकार पनि रहँदैन । चाहे प्रजातन्त्र होस् या समाजवाद, सत्ताको उन्मादमा सरकार मातियो भने सबैको हविगत यही हुन्छ । त्यसैले भनिएको छ नि प्रजातन्त्रमा जनता नियममा बस्नुपर्छ र अधिनायकवादमा सरकार नियममा बस्नुपर्छ, पक्का अनुशासनमा । 

कतिपयले यसलाई पछिल्लो पाटो सुस्त भएको भनेका छन् । मलाई लाग्छ यसमा इतिहास अट्नु थियो र लेखकले त्यो अट्ने गरी कथा बुनेका छन् । ठाउँठाउँमा खाना बनाउने तरिकाको उल्लेखले चाहिँ लेखक सबैकुरा समावेश गर्ने क्रममा अलमलिएका हुन् कि भन्ने जस्तो लाग्छ । त्यसका अलावा त्यस्तो सारो कम्जोरी खासै भेटिँदैन ।
यो पुस्तकले पाउनु पर्ने जति चर्चा नपाएको र पढिनु पर्ने जति नपढिएको जस्तो लागेरै लामो समय लगाएर यसको बारेमा यतिसम्म लेखेको हुँ । अहिले सम्म भएका चर्चा यसका लागी पर्याप्त छैनन् । मैले गरेकै चर्चा पनि पर्याप्त छैनन् । हरेकले गर्ने चर्चा उसको रुचि र दृष्टिकोणमा आधारित हुने न हो । त्यसैले तिनै चर्चालाई अन्तिम मानेर पुस्तक प्रति अन्याय हुनु हुँदैन । पठन सुखद् रहोस् !



     



sources:

https://ne.wikipedia.org/wiki/झापा_काण्ड
https://www.onlinekhabar.com/2018/12/725777


Comments

  1. you seem to be a very sensitive writer. keep writing. your writing will definitely inspire a person like me and the readers will benefit from your wise thoughts. you must have read many meaningful books. i will love to meet you in person.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला