अक्षरगंजमा नगरकोटीसँगको भेट (पाठक प्रतिक्रिया)



अक्षरगंजका पानाहरुमा डुल्दै गर्दा नाइट क्याफेको एक कान काटेको भ्यानगगले अचम्म मानेर हे¥यो । ऊ पिकासो र ब्राकसँग मगमा मगमा कालो कफि पिउँदै थिएछ ।
‘तिमी को ?’ भ्यानगगले प्रस्न ग¥यो ।
‘म नाथे पाठक ।’ मैले अलि अदबसाथ जवाफ फर्काएँ ।
‘नाथे पाठकहरुलाई अक्षरगंजको बाटो कसले देखायो ?’ उसले अचम्म मान्दै प्रश्न ग¥यो ।
‘म नगरकोटीलाई पछ्याउँदै आएको ।’ नगरकोटीको नामले केहि भइजान्छ कि भनेर बुढालाई सुनाएँ ।
‘अचेल नगरकोटी पछ्याउँदै आउनेहरुको ओइरो छ । नाथे पाठक, वेलकम टु अक्षरगंज ।’ सायद जुक्तिले काम गरेछ । बुढा आत्मीय बने ।
‘धन्यवाद ।’ आफ्ना बत्तीसी देखाउँदै सधन्यवाद त्यहाँबाट बाटो अघि बढे ।
रेनासा रेस्टुरेन्ट भित्र पस्दा वालकृष्ण सम र पहलमानसिंह स्वाँर देखिए । स्वाँर समलाई नेपाली नाटकमा को पहिलो भनेर सुनाउँदै थिए ।
‘स्वाँर काजीको कुरा सही हो ।’ मैले पछिाबट बोलेँ ।
‘तिमी को ?’ समले अचम्म मान्दै सोधेँ ।
‘म नाथे पाठक । नगरकोटी पछ्याउँदै आएको ।’ पहिलेकै उपाय प्रयोग गरेँ ।
‘यो रामलाल जोशीको ऐना । सुदूरको कोशेली । मदन पुरुष्कार पाएको किताप ।’ स्वाँर काजीलाई मैले एना देखाएँ । ऐनामा एकछिन आफ्नो अनुहार हेरेर स्वारकाजी मतिर फर्के ।
‘हाम्मा तिर लेख्दा छन् के त अझै । न्याँसम्म कोइ ल्याउँदो भयान ।’ स्वाँर काजीले यस्तै भनेकी मैले त्यस्तै सुने यकिन थाहा छैन । मैले उनलाई मनिराज जोशी, श्रेष्ठ पृया पत्थर, निरञ्जन बम ‘टि एम’, डा. पुष्करराज भट्ट, लगायतका केही लेखकहरुको प्रतिनिधी रचनाहरु बुझाएँ । बुढा निकै दंग भए ।
अगाडि बढ्ने क्रममा अक्षरगंजमा नगरकोटीले बयान गरे जस्तै थुप्रै स्वदेशी र विदेशी साहित्यकारहरु पनि भेटिए । तर मलाई त तल्लो तलामा जानु थियो । त्यसैले सबैलाई कर्के नजर लाउँदै तल ओर्लेँ ।
शंकर लामिछानेसँगै नगरकोटी र खलिल जिब्रान पनि भेटिए ।
‘हु द हेल आर् यु ?’ नगरकोटी बम्किए ।
‘म नाथे पाठक !’ पहिले जस्तै स्वीकृत होला भनेर पुरानै शैलीमा ङिच्च हाँस्दै सुनाएँ ।
‘टु हेल विथ नाथे पाठक । यहाँ किन आएको ?’ नगरकोटीले फेरी प्रश्न तेस्र्याए ।
‘म अक्षरगंज घुम्दै आएको । शंकर लामिछानेलाई कुमार नगरकोटी बुझाउन आएको ।’ झोलाबाट नगरकोटीका किताब झिकेर वाल्ल परेर हेरि रहेका लामिछानेलाई बुझाएँ ।
‘प्रकाश सायमी पछिका अर्का कस्मिक फ्यान यिनै होलान् । तपाईंको लेखनको ठूलै प्रभाव छ यिनमा ।’ नगरकोटीका पुस्तकहरु ओल्टाइ पल्टाइ हेरि रहँदा मैले व्याकग्राउण्ड इन्फोर्मेसन दिएँ ।
नगरकोटी पालैपालो लामिछाने, काफ्का र मलाई हेर्न थाले । लामिछानेको प्रतृक्रिया बुझ्न होला उनले बसेको कुर्सिमा अलि तानिएर बस्दै दारी चलाउँदै सुन्न चाहे ।
‘अच्छा छ । म यी सब पढ्छु ।’ लामिछानेले बोलि फुटाए ।
‘कस्मिक फ्यान नै नभए पनि सानो तिनो फ्यान त मै पनि हुँ । प्याजी चिन्तन खुब पढेँ । पहिले साहित्य खासै मन नपराउने तपाईँ मन पराउने हुनु भएकोमा खुशी लाग्यो ।’ मैले लामिछानेलाई उनकै किताबबाट उनकै शब्दहरु सुनाएँ ।
‘प्याजी चिन्तनका क्रममा ‘मलाई मन पर्ने कुरा मात्र, त्यस्ता कुरा जो म ठान्दछु अरु पनि मन पराउलान, र त्यस मन–पराइको माध्यमबाट मलाई रुचाउलान् र मेरो नाम लिनेछन्, भन्नेछन् वाह, लेख्छ, शंकर नयाँ चीज दिन्छ .... यही हो साहित्य ! ... यही छलकपट, धोका, एक सेलेक्शनको रुप हो, साहित्य !’ यस्तै लेख्नु भएको थियो । अझै ‘कवि, तिमीले अनुभव गरेको भावना हो ... अथवा यस्तो अनुभव, गर्नुपर्दछ भन्ने तिम्रो परम्परागत आदर्श हो ? .... मलाई लाग्दछ, साहित्य वास्तवमा विडम्बना हो ! किनभने साहित्य नाम कमाउने पेशा मात्र हो ! ‘म हृदयले तिमीलाई प्यार गर्छु !’ ... बेवकूफ, प्यार हृदयमा हुन्छ ? प्यार भनेको त यौन..भावनाको विकृत, अचेतन रुप हो !’ पनि लेख्नु भएको थियो ।’

‘मैले ‘लेखकको औपचारिक प्रदर्शनलाई किन लेबिल लाउने हँ ?...भर्खर प्रेम परेकाहरु आफ्ना तत्कालीन अनुभवको असल रुप मात्र प्रस्तुत गर्ने प्रयास गर्छ ।’ भनेर पनि लेखेको छु ।’ शंकर लमिछाने अलि निधार खुम्च्याउँदै बोले । ‘अनि ‘सबै लेखको आधारमा मेरो विश्लेषण गर्न खोज्यौ भने कत्रो भाम्लो हुन जानेछ । ...त्यो दुस्साहस मैले स्वयं आफूउपर गर्न सकेको छैन !’ भनेर पनि लेखेको छु ।’
‘लेबिल सहजाताका लागी लाउँदा रैछन् । रक्सीमा लेबिल लाउँदा कति कडा भन्ने थाहा हुन्छ । सबैले आफ्नो रुची र आवश्यकता अनुसार पिउँछन् । साहित्यमा पनि त्यहि होला ।’
‘साहित्य रक्सी होइन । फल्स एनालोजी !’ नगरकोटी गम्किए ।
‘मेटाफोर मानवका अघि मेटाफोरको गलत उपयोग गरेछु । तपाईंलाई मनपर्ने भएर पनि मैले त्यो एनालोजी दिएको । फेरी लेख्न पनि रक्सी जस्तै लेख्नु हुने रहेछः सुरुमा पिउन गाह्रो पिएपछि लत लाग्ने । मैले पनि एक पेग, दुई पेग गर्दै २९ पेग पिए पछि ठीस भएर अक्षरगंज खोज्दै पसेको ।’ मैले प्रस्ट्याएँ ।
‘ह्वाट ननसेन्स । म अचेल रक्सी पिउँदिन । म त अचेल गुरु रिम्पोचे र सावित्रि कार्कीको प्यार पिउँछु । ’ नगरकोटीले आफ्नो आसन फेरेर कड्किए ।
‘त्यो झन कडा नसा हो ।’ लामिछानेले थपे ।
‘नगरकोटीमा के पायौ ?’ खलिल जिब्रानले सोधे ।
‘राजकुमार श्रेष्ठ टु कुमार नगरकोटीको यात्रा गज्जब लाग्यो । बा र आमाका कथाले त झनै मेकिङ्ग अफ नगरकोटी पुरै बुझायो । ऋतु र मिरा भट्टराईका प्रसंगले त्यो दिन पनि छिलबिल भएको रै‘छ भन्ने लाग्यो । नामै लेख्न नहुने थियो कि जस्तो पनि लाग्यो । बट हु केयर्स ? इट्स नगरकोटीज् फिक्सनल वल्र्ड । जे लेख्दा पनि हुन्छ । उनलाई सजिलो छ । ‘मुक्त लेखन’ भनेर लेख्दा के, कसरी, कुन भाषामा, कुन शैलीमा, भन्ने कुनै प्रश्नै आउँदैन । गोपाल रिमालले कवितामा मुक्त छन्द ल्याए नगरकोटीले आख्यानमा त्यो घुसाए । त्यसैले अक्षरगन्जमा पनि नगरकोटी पढियोस् भनेर आज बोकि ल्याएँ । अँ, क्याजुअल लेखहरु पढ्दा वाङ्गदेलले अब्स्ट्रयाक्ट लेख माग्दा जान्मेको अब्स्ट्रयाक्ट चिन्तनः प्याज खुब याद आयो । नगरकोटीको अक्षरगन्जको यात्रा रमाइलै लाग्यो । ’ एकै सासमा सबै भनि भ्याएँ ।
‘यो भाषाको लफडा अझै छ ?’ शंकर लामिछानेले चिन्तित भएर सोधे ।
‘अहिले अझै जटिल बनेको छ । एउटै भाषा एउटै भेषका कुरा गर्नु अहिलेलाई पाप हो ।’ मैले नेपालमा पहिचानको आन्दोलनको प्रसंङ्ग उठाएँ ।
‘संस्कृति जान्नेले संस्कृत शब्द घुसाउँदा आपत्ति नहुने अंग्रेजी पढेकाले त्यसो गर्दा यहाँ निकै बबाल मचाइँदो रहेछ ।’  लामिछानेले निश्कर्ष निकाले ।
‘संस्कृत श्रोत भाषा भएकोले पनि हो कि ? आतिस तासिरले मान्टोका कथाहरुको भूमिकामा हिन्दीको संस्कृतिकरणमा चिन्ता देखाए जस्तै अवस्था नेपालीमा पनि आएको हुनसक्छ । तर नेपाली भाषाको नेपालीकरण सम्भव छैन ? बरु नेवारीकरण या किराँतीकरण गरे पनि भयो । त्यसले भाषालाई पनि समावेशी बनाउँथ्यो । अंग्रेजीकरणले मौलिकता नरहरलाकी भन्ने लाग्यो ।’ मैले सोधेँ ।
‘टु हेल विथ योर लगाई । के फरक पर्छ ? हु क्येर्स ?’ नगरकोटी उवाच ।
नगरकोटीले भाषा विवादमा दख्खल दिएपछि त्यसमा धेरै बोल्ने मन लागेन । त्यसैले विषय परिवर्तन गरेँ ।
‘अँ घटा गणेश पढ्दा चिनेकै मान्छे पो हो कि लाग्यो । एकै गाउँठाउँका भएर होला ।’ नगरकोटीको प्रतिकृयालाई पनि केयर नगरेरै मैले किताबको एक किस्सासँग जोडिएको पात्रको सन्दर्भ उक्साए ।
‘आइ स्टिल डन्ट नो, ह्वाइ हि कमिटेड अ सुसाइड ?’ नगरकोटीले नोस्टाल्जिक प्रश्न सोधे । उत्तर मसँग पनि थिएन ।
नगरकोटीलाई नोस्टाल्जियामा, लामिछा

नेलाई नगरकोटीका किताबमा र खलिललाई दुबैका माझमा छोड्दै म भने त्यहाँबाट छु मन्तर भएँ ।






पाद-टिप्पणी: माथि प्रयोग गरिएको भाषा र सैली दुवै नगरकोटी बाट सापटी लियिएको हो. म व्यक्तिगत रुपमा भाषा चोखो हुनु पर्छ र सकेसम्म सुद्ध लेखिनु पर्छ भन्ने मान्यता राख्दछु (आफैले त्यसो गर्न नसके तापनि). सायद लामिछाने र नगरकोटी को लेखाइमा बिदेसी लेखकको विर्य मिसिए जस्तै म नेपाली भाषाका उपप्राध्यापकको विर्य भएकोले तेसो भएको हुन सक्छ .

Comments