हुरीका स्वरहरू–कृष्ण भूसाल


पुस्तकालय थाेप्लाे अाेअारजीमा राखिएका नेपाली साहित्यका पुस्तकहरू सुरक्षित गर्ने क्रममा केहि नाम नचलेका तर राेचक जस्ता लाग्ने कृतिहरू पनि छानेकाे थिएँ । तिनै कृतीहरू मध्ये एक थियाेः हुरीका स्वरहरू । नाम नै लाेभ्याउने खालकाे याे कृति पढ्दा उस्ताे ठूलाे अाशा त थिएन तर पनि पातलाे त्याे पनि कविताकाे किताब भएकाले समय त्यति लाग्दैन भन्ने हिसाबले पढ्न सुरू गरेँ । कविताहरू पढ्दा भने खुशीकाे सिमा रहेन ।

हृदयझैँ फाटेर प्वालै प्वाल परेकाे दारी
थाङ्ग्रिएकाे लम्पट
मातेकाे मान्छेझैँ, धङ्धङाउँदाे खाट
माली मरेकाे फूलबारी
पाखुरा छिनेका चप्पल, छाती फाटेका जुत्ता
खियाले पचाएकाे बाल्टी, ज्याेति निलेकाे बत्ती
साबुन बिनाकाे साबुनदानी, पखेटा फुत्किएकाे छाता
ठुटाे र ठेटाे बुरूस,
टुँढाे भाँच्चिएकाे कलम, छरपष्ट कागज
सबैले एकसाथ
मसानघाटका खप्परले झैँ हिस्स परेर
गिज्याइरहेछन्, अनि पट्ट फुटेकाे दिवार
उसभित्र माकुराका सेता त्रिपाल
अझ भित्रकाे अँध्याराे खाेँचमा शरणार्थी बनेका खटमल, जब
धुलै धुलाेले भरिएकाे भुइँमा उत्रन्छन्
अनि वमवर्षक लाम्खुट्टेहरू तत्काल
शिविर ध्वस्त गर्न निक्लन्छन्

यत्तिकाे कविताहरूकाे नेपाली साहित्य जगतमा खासै चर्चा नहुनुले अचम्मित तुल्यायाे । पाठकहरू लगातार पठनीय पुस्तक नपाएकाे गुनासाे गरि रहेका छन् । वजारकाे माग नै फेर्ने भन्दा पनि सृजित मागका अनुरूप अाफ्नाे सृजनशीलतालार्इ माेड्ने ध्याउन्नमा श्रष्टाहरू छन् । अर्कातिर राम्र लेखकहरू अाेझेलमा छन् ।

श्रम र पसिनासँग जीवन साटेका
अाेठहरू चुस्ता–चुस्तै,
र्याल र खकारहरू पनि चाटिसकेछन् ।
मिहिनेत र बरकतसँग सारङ्गी साटेका
हातहरू चुमदा–चुम्दै
अाैँला र डुँडुल्ना पनि निलिसकेछन्
भूगाेलका एकमुठी शेतानहरूले ।
अनि भन चेतना कहाँ छ ?

कविता संग्रहका एक पछि अर्काे कविताहरू उत्तिकै पठनीय लागे । केहि अलि बढि राम्रा अवश्यै छन् । विम्वहरूकाे प्रचुर प्रयाेग, नेपाली भाषाका ठेट शब्दहरूकाे कुशल बुनाइ, सामान्य लाग्ने विषयकाे पनि बडाे काव्यिक चित्रण, देश र समाजकाे कुशल प्रतिनिधित्व गर्न सफल रहनु, अादि कारणाले हुरीका स्वरहरू भित्रका कविताहरू बडाे मर्मस्पर्शी र पठनीय लागे । अझै कविता मञ्चनकाे बजार तातेका बेला यी कविताहरू कविकै मुखबाट सुन्न पाउँदा कस्ताे मजा अाउँदाे हाे भन्ने पनि लागी रह्याे ।

अचेल ताेरीतेलले अमला तेल जस्ती
मङ्ग बासना अाउने साैता पाएकी छे ।
नाैनी घिउकी साैता बनेर
क्रिम र लिपिष्टिक गाउँ अाएकी छे ।
लाेक गीतकाे अालाे चिहानमाथि
पपगीतले प्रासाद ठडाएकाे छ ।
कपाल काट्ने केटी र बाट्ने केछाकाे
देश थाम्ने युवा संस्कृति उदाएकाे छ ।
किनकि गाउँ शहर पस्दै अाएकाे छ ।
त्यसैले गाउँमा शहर पस्दै गएकाे छ ।

व्यंग्यात्मक शैलीमा लेखिएका पंक्ति मार्फत परिवर्तित परिवेशकाे चित्रणका क्रममा गाउँका पुराना चलनहरूलार्इ पनि झलझली सम्झना गराउनमा कवि सफल देखिन्छन् । म हुर्कँदै गर्दा अामाले गाेडामा नाैनी र कपालमा ताेरीकाे तेल लाउँथिन् । हातका गाेडाका छाला सुख्खा हुँदाकाे अचुक उपाय गाइकाे नाैनी हुन्थ्याे । जाडा बेलामा ताेरीकाे तेल तताएर कपालमा लाउने र हात गाेडामा मल्ने गरिन्थ्याे । अब ती सबै छुटि सके । नाैनीलार्इ भ्यासलीनले खायाे, ताेरीकाे तेलकाे ठाउँमा अमला तेल मात्रै हाेइन अहिले त जेल समेत अायाे । यस्तै यस्तै कुराहरू कविता मार्फत पाेखेर उनी विस्तारै सबैकाे कथा अघि ल्याउन सफल भएकाे देखिन्छन् ।

साेध फेरि किन ?
खेत जाेत्ने हलीहरू अाज अनिकालका बली छन्
अगस्ति र कुम्भकर्ण किन मस्त ढलिमली छन् ?
चिम्नी बढार्ने र ज्यावल बटार्नेहरूकाे पसिना र खुन,
साेहरिएर किन घ्याम्पे पेटमा छन् टनाटन ।

*****

सात सालमा त्याे अायाे भनेर
नारा लगाउनेहरूकाे लाममा बसेर
उसका हजुरबाले कुर्ली–कुर्ली स्वर सुकाए,
अबीर र फूलमाला तस्वीरमा चढाए
थुकले अाँखा भिजाउनेका ताँतीमा उभिए,
फलतः उनी हली भए
अनि हलाे नखाेसिँदै मरे ।


गाेपालप्रसाद रिमालकाे अामाकाे सपना कविताका विषयवस्तुहरूलार्इ तन्काएल बुनिएका केहि कविताहरू पनि छन् । उस्तै भन्दा पनि त्याे विषयलार्इ फरक दृष्टिविन्दुवाट हेरेर लेखिएका कविताहरू पढ्दा बेलाबेला शरीरमा अर्कै राेमाञ्चकाे सञ्चार हुन्छ । चेतनाका कुरा, राजनीतिक विकासकाे कुरा, जीवनस्तरकाे कुरा र समाजमा व्याप्त थिचाेमिचाेका कुराहरू एकदमै शसक्त रूपले लेख्न भ्याएका छन् ।

साेध्न मन लाग्छ यस्ता कविहरू कहाँ हराउँछन् । उनीहरूका रचनाहरूले सामाजिक सञ्जार र सञ्चार माध्यमहरू किन तताउँदैनन् । याे प्रश्न मेराे मात्रै हुन पनि सक्छ । र पनि अाफूले भेटाएकाे असल पुस्तक अरूसम्म पनि पुगाेस भन्ने उद्देश्यका साथ  थाेरैले भएपनि थाहा पाउन, थाेरैले भए पनि पढुन भनेर यति शब्द याे सानाे तर एकदमै पठनीय कृतिका लागी खर्चने मन लाग्याे । अाशा छ अरूले पनि कृति पढ्दा अानन्दित हुनुहुनेछ ।

पुस्तककाे लिंकः https://pustakalaya.org/view.php?pid=Pustakalaya:6653




Comments

Popular posts from this blog

Letters to a Young Poet -Rainer Maria Rilke (with quotes)

अम्बेडकरको Annihilation of Caste

निर्मलालाई न्याय