म्याउँ ! नगरकोटी !!!


म्याउँ, म्याउँ, म्याउँ, म्याउँ
क्या हो, क्या हो ! पढिसकेपछि यस्तै भयो ।



खरानी रंगको पानाले ग्रे डेजको अंश छुट्याएको छ । निलै पानाले ब्लु ब्वायजको अंश छुट्याएको छ । स्याफ्रन ड्रिम्सलाई गाढा सुन्तला÷केसर रंगको पानाले छ्ट्याएको छ । इिन्डिगो इभिनिङलाई भाण्टा (सेतो हैन लाम्चो भाण्टा रंग–बैजनी) रंगले छुट्याएको छ । कालो रंगको पानाले लेखकको भनाइ समेटिएको युफोरिया युफोरियाको अंश छुट्याएको छ । सजधज यस्तो कि हातमा किताब पर्दा पनि कुनै ठूलै चिज हात पारे जस्तो लाग्छ । फाइनप्रिन्टको युट्युबको विज्ञापन र वेवसाइट हेरेपश्चात त्यो जस्तो वजारमुखी प्रकाशन कोहि छैन होला जस्तै लागेको थियो । मिस्टिका हात पर्दा भने हैन कि भन्ने लाग्यो । पुस्तकमा एकदम ठूलो लगानी छ । प्रकाशकले ठूलै दाउ खेलेका छन् । चल्तिका लेखकका लागी पनि त्यत्तिको छुट, त्यत्तिको सजधज, त्यत्तिको स्वछन्दता दिन प्रकाशकहरु हिच्किचाउँदा हुन् । नगरकोटी भाग्यमानी हुन् । जे लेखे पनि छापिन्छ । अझै भव्य पाराले छापिन्छ । मुर्धन्य साहित्यकार त उनको पुस्तक हातमा पर्दा र त्यसको साज सज्जा देखेरै आरीस मान्दा हुन् । कस्सम त्यस्तो आरीस गर्न मन लाग्ने पुस्तक छ ।


अचेल नेपालमा कोहि पुग्यो कि ‘आउँदा पुस्तक ल्याउन नबिर्स है’ भन्ने बानी छ । सजिलै नेपाली पुस्तक पढ्नका लागी नपाइने हुँदा पनि त्यस्तो आइ लागेको हो । हुन त काठमाडौँका त्यत्तिका पुस्तक पसले मध्ये जो सुकैले पनि गोस्वारा हुँलाकबाट त्यहाँको इएमएस् सेवा वा सामान्य अन्तर्राष्ट्रिय हुलाक सेवा मार्फत विदेश पुस्तक पठाइदिने व्यवस्था मिलाइ दिएका भए अरुलाई दुःख दिनै पर्दैनथ्यो । फेरी इएमएसले हुलाकको खर्च पनि १० गुणा कम गथ्र्यो । सरकारी सेवाको पनि उपयोग र एक किसिमको प्रोत्साहन हुन्थ्यो । या नेपाली पुस्तकहरु पनि किन्डलमा पढ्न मिल्ने गरी समेत प्रकाशित भइदिए हुन्थ्यो । जे होस् त्यो कुनै दिन होला भन्ने आशा गरौँ अहिलेलाई पुस्तक हात कसरी प¥यो भन्ने कथा तर्फ फर्किऔँ । त्यही ‘आउँदा पुस्तक ल्याउन नबिर्स है’ भनेर भनौँ भन्दा अघि नै नेपाल पुगेकी सञ्जिता बहिनीले सामाजिक सञ्जालमा मिस्टिका सहितका पुस्तकहरुको तस्वीर राखिन् । अक्षरगंजमा रुमल्लिई रहेको बेला प¥यो । मिस्टिका आफ्नो लागी पहिले नै सुरक्षित राख्ने आग्रह गरेँ ।



कुहिरोको दाना बेच्ने कुहिरिली स्त्रीले एकडालो कुहिरो परेवामाझ छरिदिई । हु¥र्याइदिई । कुहिरोको चारा टिपिरहेका परेवाका बचेराहरु तर्सेर उडे ।


‘कुहिरो बेचेको कुरा पढे देखि पढ्नै मन लागेन ।’ पुस्तक आफू सम्म ल्याइदिने प्रेमिकाले सुनाइ । पहिले करले पढ्थी अचेल तानातान हुन्छ । कहिले पछि पढ्ने पालो आउँदा ठाकठुक पनि पर्छ । अरु कुरामा ठाकठुक भन्दा किताब कसले पहिले पढ्ने भन्ने कुराको ठाकठुक रामै्र हो ।

मैले भने कुहिरो बेचेकै लाइन छुटाएर पढेछु । या पढे पनि खास ध्यान दिएनछु । कुहिरो बेचेकोमा नगरकोटीसँग आपत्ति जनाउन थालियो भने नगरकोटी पढेर खाइन्न भन्ने थाहा भएकोले पनि त्यसो भएको हुनुपर्छ । त्यसपछि पनि कुहिरो बेच्ने काम थुप्रै भए । अक्षरगंजमा धेरथोर उप्काइएका प्रसंगहरु पनि आए । स्मृति र काल्पनिकताका छ्यासमिस पुस्तकको अन्तिम अंश सम्म जारी रह्यो । २०० पाना पछि सिल्भिया शाक्यको भूमिका खेल्ने मिस्टिका भेटिन्छे ।

सिल्भिया डोल्पामा नगरकोटीसँग झ्यालिन्चा माग्ने वालसखाको नाम हो जसलाई उनले उनको पहिलो कथासंग्रहको कुमारीको विषयवस्तुमा आधारित कथाको शीर्षक बनाएका छन् । अक्षरगंजमा तिनै बाल्यकालकी साथी सिल्भियाले पुस्तकमा हस्ताक्षर माग्दाको एउटा सानो प्रसंग र कथाको पात्र खोज्ने क्रममा मातिएर लडेको अवस्थामा खोरमा ल्याइएको प्रसंग पनि पढेको थिएँ । त्यसमा ‘नाथे पात्र’का लागी त्यत्रो कष्ट भन्ने उद्गारपछि नगरकोटीले अलि लामै गुनासो पनि पोखेका थिए । त्यसपछि लेखकका काम मन परे पनि मन नपरे पनि उपेक्षा नै गर्नु उचित होइन भन्ने भान भयो । कति हण्डर र ठक्कर खाएर त्यो लेखिएको हुन्छ भन्ने लेख्नेलाई नै थाहा हुन्छ । मिस्टिकाका बारेमा प्रतिकृया लेख्दा पनि ती कुराहरु प्रति सजग हुन प्रयास गरेको छु । एउटा पाठक प्रतिकृया लेख्नै पनि ३ महिना जस्तो लाग्नु त्यसैको परिणाम होला ।


मिस्टिका प्रतिको मेरो बुझाइ

पट्यार लाग्दा दिन, अस्लील किशोरहरु, केसरी सपना, र वैजनी ज्ञान उनको उपन्यासका खण्डहरुको भाषानुवाद या भावानुवाद हो । पट्यार लाग्दा दिनमा कुहिरो बेच्ने देखि लिएर, कारपेन्टर, कार पेन्टर, टाइपराइटर, टेलिफोन, हाउ इज द डे उर्फ हाउडे, लगायतका पात्रहरु भेटिन्छन् । अस्लील किशोरहरुमा कुमार कौमार्य गुमाएका कारणले कुमार रहँदैनन् । नेपालगञ्जमा अस्मिता लुटाउँदाको उनको स्मृतिका कुरा त्यहाँ पसेको जस्तो लाग्यो । त्यसै गरी केसरी सपनाको अंश र वैजनी ज्ञानको अंशमा कथा अघि बढेको छ । वैजनी रंगले आत्मानुभूतिको सुफी÷रहस्यमयी साँधलाई जनाउने भएकाले त्यो अंशमा सबै कथाहरु टुङ्गयाइएको छ । त्यसपछिको कालो रंगको पानाले लेखकको कुरा समेटेको छ ।


मिस्टिकामा धेरै उपकथा र प्रसंगहरु पनि छन्, जसमध्ये केहि पहिले कतै पढेका जस्ता पनि लाग्छन् । अफ्रिकन राजाको कथा अकबर र विरबलको कथासँग मेलखाएको हो कि हो कि जस्तै पनि लाग्यो । ‘जो गर्छन् भगवान असलै गर्छन्’ भन्ने एउटा कथा छ जसमा ठ्याक्कै त्यस्तै हुन्छ । साह्रै बिर्सिने बानीले भ्रम हो कि भन्ने पनि लागेको छ । इला राजाको कथासँग कारपेन्टरको कथा धेरथोर मेल खान्छ । विरालोको व्यापक प्रयोगले मिस्टिकामा एडगर एलन पो को द ब्ल्याक क्याट र मुराकामीको प्रभाव परेको हो कि भन्ने पनि लागी रह्यो ।


त्यसबाहेक मिस्टिका लाई रसियन मिस्टिक मिखायल दानोविचको पुनर्जन्भ भएको भनेर नगरकोटीले रोजा लक्जम्बर्ग र कार्ल लिबक्नेस्टको इतिहाससँग जोडेका छन् । रोजा लक्जम्बर्गलाई पूर्वी जर्मनीको उग्र वामपन्थी खेमाले देवत्वकरण गरेको पात्रको रुपमा पनि चिनिन्छ । दोश्रो विश्वयुद्धको हार पश्चात पूर्व र पश्चिममा बाँडिएको जर्मनीमा पूर्व तिर कम्युनिस्ट व्यवस्था लागु थियो भने पश्चिममा पूँजीवादी व्यवस्था लागु गरिएको थियो । एकता पश्चातको हालको जर्मनीमा वामपन्थीहरु कम्जोर खेमामाका रुपमा चिनिन्छन् । हालैको चुनावमा २० प्रतिशत मत बटुल्न सफल भएको जर्मनीको दोश्रो ठूलो पार्टी एसपेडे (समाजवादी प्रजातान्त्रिक पार्टी)को तात्कालीन सदस्यका रुपमा रहेका रोजा लक्जम्बर्ग र कार्ल लिबक्नेस्टले सन् १९१५ मा एसपेडेले विश्वयुद्धको समर्थन गरे पश्चात पार्टी परित्याग गरेर स्पार्टाकस मुभमेन्ट हुुँदै जर्मनीको प्रतिबन्धित उग्र बामपन्थी कम्युनिस्ट पार्टी केपेडेको स्थापना सम्म गर्न पुगेका थिए । त्यही उग्र बामपन्थी आन्दोलन दबाउनका लागी नै लक्जम्बर्ग र लिबक्नेस्टले परित्याग गरेकै एसपेडे पार्टीका लक्जम्बर्गकै राजनैतिक चेला फ्रिडरीस एबेर्टले फ्राइकोप्र्स (प्रथम विश्वयुद्धमा सहभागी सेना समेत संलग्न भएको समूह) लगाएर उनीहरुको हत्या गराएका थिए । १५ जनवरीमा गिरफ्तार गरी बर्लीनको एडेन होटेलमा ल्याएर थुप्रै यातना दिने देखि लिएर अनेक केरकार गरिएको । लक्जम्बर्गलाई बन्दुकको कुन्दाले हिर्काउनुका साथै अनेक यातना दिए पश्चात गोली हानिएको थियो र अन्तमा उनको शरीर वर्लीन स्थित लान्डेस्वेरकानाल ( एक नहर) मा मिल्काइएको थियो । लिबक्नेस्टलाई भने ठाउँ सार्ने क्रममा गाडी बाट ओरालेर हिन्दी सिनेमामा जस्तै पछाडिबाट गोली हानेर मारिएको थियो । आधिकारिक रुपमा लिबक्नेस्ट भाग्न खोज्दा मारिएको भनिएको थियो । यो प्रसंग नगरकोटीले फरक प्रस्तुत गरेका छन् र पनि लक्जम्बर्गको चर्चा मार्फत इतिहासमा लुकेको पात्र प्रतिको जिज्ञासा बढाउन भने सफल भएका छन् । नत्र अहिलेको साहित्यले लक्जम्बर्ग र लिबक्नेस्टलाई सम्झने चेस्टा नै पो गर्दैन ।

सर्वहारा वर्गको अधिनायकवादको (न कि बोल्सेभिकको) बारम्बार उल्लेख गरिरहने लक्जम्बर्गले बोल्सेभिक क्रान्तीको आलोचना गर्ने क्रममा ‘स्वनन्त्रता भनेकै जहिले पनि फरक सोच्नेहरुको स्वतन्त्रता हो ।...। सिमित स्वतन्त्रता भएका देशको जनजीवन प्रजातन्त्रको निषेधका कारण भावनात्मक विकास र समृद्धिको श्रोत नै विच्छिन्न हुने भएकोले गरीवी–ग्रस्त, दुःखपूर्ण, एकदमै कट्टर र उपलब्द्धीहीन हुन्छ ।’ लगायतका विचारहरु व्यक्त गरेकी छिन् । लक्जम्बर्गले प्रथम विश्वयुद्धको विरोध गरेकी थिइन र त्यसै क्रममा जेल समेत परेकी थिइन् । प्रथम विश्वयुद्ध पश्चातको सन् १९१८–१९१९ को जर्मन आन्दोलन दबाउने क्रममो उनको हत्या गरिएको हो ।
त्यसबाहेक मिस्टिकामा नेपाली राजनीतिका कुरा पनि अटेको छ । केहि जिवित पात्रहरु पनि अटेका छन् । 

अतियथार्थवाद या सरियलिज्म

पाठक भन्छन् नगरकोटीको कथा बुझ्न गाह्रो हुन्छ । नगरकोटी भन्छन्, ‘म अतियथार्थवादी कुरा लेख्छु । शब्दमार्फत चित्र कोर्छु । मन परेका जुनसुकै भाषाको शब्द पनि चोर्छु ।’ त्यसैले अतियथार्थवादका बारेमा केहि खोजी गरेँ । प्राप्त भएका दुई तस्वीरले अतियथार्थवादको बारेमा बुझ्न मद्दत गर्छन् ।



 यो चित्र रेने मग्रीटको पाइपको चित्र हो । त्यसको शीर्षक नै ‘यो पाइप होइन’ छ । चित्रकारको भनाइमा पाइप भनिने चित्र पाइप होइन त्यसको प्रतिक मात्रै हो । त्यो पाइप हो भनी लेख्नु बरु गलत हुन्थ्यो ।



यो चित्र साल्भाडोर डालीको हो । धेरैले पग्लीएको घडिलाई आइन्स्टाइको सापेक्षेताको सिद्धान्तसँग जाडेर हेरे । त्यसलाई कुनै ठूलै कलात्मक टिप्पणी हुनुपर्छ भनेर अनुमान लाए  । डालीले भने त्यसलाई पग्लँदो चिज (Cheese)को अतियथार्थवादी अभिव्यक्ति भने ।


सन् १९२४ मा आन्डे« ब्रिटनले प्यारिसबाट सुरु गरेको अतियथार्थवादमा सहज ग्रहण गर्न नसकिने, असंगतीपूर्ण र तर्कले नभ्याइने चित्रण या लेखन हुन्छ । यसलाई चलनचल्तीको पारामा बुझ्न खोज्नु गलत हुन्छ । नगरकोटीको अतियथार्थवादी लेखनले पनि सायद यही नियतीको सिकार हुनु परेको छ । सबैले चलनचल्तीको साहित्यकै जसरी बुझ्न खोज्दा नगरकोटी नबुझिने भइदिन्छन् ।


अन्तमा

नगरकोटी पढ्नु पछाडिको मेरो कारण भनेको उनको अध्ययनशील जीवनका छिटा उनको लेखनीमा पनि परेको हुन्छ भनेर हो । अनेकन पुस्तकहरुको प्रसंग ल्याइ दिने, अनेकन पात्रहरु कथामा भित्र्याइदिने, वास्तविक जीवनका पात्रहरुलाई पनि प्रसंग मिलाएर कथामा छिराइदिने, आदि कुराहरुले नगरकोटी पढ्न मन लाग्छ । अक्षरगंज हालसम्मका पढेका नगरकोटीका रचनामा मन पर्ने रचना हो । त्यो अलि कम सरियलिस्ट छ । उनको व्यक्तिगत जीवनी पनि त्यसमा समावेश छ । अक्षरगंजले नेपाली साहित्यमा कलम चलाउने धेरैर्लाइ उनीहरुको कृति सहित चिनाउन सहयोग पनि गरेको छ । गोविन्द वर्तमानको हरियो साइकल देखि केहि महिना अघि दिवंगत हुनुभएकी प्रेमा शाहको पहेँलो गुलाफको प्रसंग त्यसैमा छ । नगरकोटीले दुःखका कुराहरु पनि हास्यरसमै डुबाएर प्रस्तुत गर्छन् । त्यसरी पढ्दा विसाद भन्दा पनि अर्कै भावना मनमा पलाउँछ । उनको लेखनको मनपर्ने पाटो त्यो पनि हो ।


श्रोतः

https://en.wikipedia.org/wiki/Rosa_Luxemburg
https://en.wikipedia.org/wiki/Karl_Liebknecht

Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

सुधीर शर्माकाे प्रयोगशाला

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी