जंगबहादुरको बेलायती कापी (पुस्तक चर्चा)
वि.सं. २०२० सालतिर रानी जगदम्बाको बम्बे भण्डार सफा गर्ने सिलसिलामा कमल दीक्षितका हातमा परेको जंगबहादुरको वेलायती कपीलाई आधार मानेर २०६२ को दशैँ अंक देखि ‘हिमाल’खबरपत्रिकामा ‘इतिहासमा’ स्तम्भ अन्तर्गत केहि लेखहरु आए । वि.सं. २०६४ मा तिनै स्तम्भमा लेखिएका २४ लेखलाई समावेश गरेर त्यसमा जंगबहादुरको बेलायती कापीका टिपोटहरु पनि हुबहु परिशिष्टमा राखेर पुस्तकाकार दिइएको रहेछ । मौलिक लेखनलाई कमल दिक्षितले थप व्याख्या गरेर पठनीय बनाएका छन् । त्यसैमा पूर्व–पश्चिम पहाडी लोकमार्गको १७० वर्ष अघिको खाका देखि नेपालको वि.सं. १८४६ देखि वि.सं. १८४९ सम्म भएका भोट युद्धका यावत कुराहरु समावेश गरिएको छ । जंगबहादुरले वि.सं. १९११ तिर भोटमा हमला गर्नेबेला बनाएको जंगी ऐनका धेरथोर कुराहरु पनि यसमा समावेश गरिएको छ । जंगबहादुरको शासनकाल १९०३ बाट चलेको मानिन्छ । उनले टिपाएको यो कापीको श्रोत अझै पुरानो हुन सक्छ । इतिहासमा रुचि राख्नेहरुका लागी यो एकदमै राम्रो खुराक सावित हुन सक्छ ।
पुस्तकमा भनिए अनुसार जंगबहादुरकै पालामा काठमाडौँ बाटा बैतडीको झुलाघाट हुँदै बद्री केदार जाने बाटो थियो । त्यहाँ सम्म पुग्न विभिन्न ठाउँमा बास बस्नु पर्दथ्यो । ४२ ठाउँमा बास बसेर कुल २०४ कोस पार गरिसकेपछि बैतडीको झुलाघाट पुगिन्थ्यो । हरिद्वार देखि त त्यसै बेला पनि बस र ट्रेनको व्यवस्था थियो रे । त्यसै गरी पूर्वतर्फको सिमाना पुग्न १११ कोस पार गर्नु पर्दथ्यो । पूर्वको सिमानालाई पुस्तकमा ‘सिवाना तरफको जंगल’ भनेर उल्लेख गरिएको छ । पुस्तकमा नक्शाङ्कन नै गरेर यी बाटाहरु देखाइएका छन् ।
बाटामा लस्कर हिंड्दा कसैको धनदौलत अनाज तर्कारिभाजि कसैले लुट्यो भन्या लुट्न्याबाट लुटियाका मालको दोवर विगो भराई ५ वेद (वेतको लाट्ठी) हान्नु . कसैको स्वास्नी फौजले विगा¥यो भन्या. त्यसलाई १० रुपैयां नगद जरिवाना गरी ३० वेद हान्नु.‘१९४२ मा जङ्गबहादुरका शाखा सन्तानलाई निर्मूल पारी शासनका हर्ता कर्ता बन्न पुगेका वीरशम्शेर र चन्द्र शम्शेरले जङ्गबहादुरलाई इतिहासको खलपात्रका रुपमा स्थापित गर्न विशेष कसरत गरेको इतिहासले देखाउँछ ।’ भन्दै जंगबहादुरको पक्षमा यो पुस्तक उभिएको छ । कैलाली, कञ्चनपुर, बाँके र बर्दिया लाई नेपालमा फर्काउने उनलाई बहादुर शाह पछिको देशको सिमा बढाउने शासकका रुपमा ‘जंगबहादुरको बेलायती कापी’का भुमिकामा उल्लेख गरिएको छ । सोही पुस्तकमा १८४६ देखि १८४८ सम्मको भोट युद्धका क्रममा बहादुर शाहले गरेको खर्च समेतको विवरणको लगायतका अन्य ऐतिहासिक सामग्रीहरु समावेश गरिएको छ ।
पुस्तकको कम्जोरी भनौँ या लेखकको आलस्यता भनाँै, यो एउटा पूर्व प्रकाशित लेखहरुको संगालो भन्दा बढि पनि हुन सक्ने हैसियत राख्दा राख्दै पनि लेखहरुको संगालो मै सिमित भएको छ । हिमालका नियमित पाठक नभएकाले मेरालागी त त्यही पनि पठनीय भयो तर त्यसमा केहि सम्पादन गरेर स्थानाभावका कारण पहिले नलेखिएका कुराहरु पनि समावेश गरिएको भए यो किताब झन उपयोगी बन्न जान्थ्यो । कमल दीक्षितका लागी श्रोतहरुको अभाव हुने कुरै भएन । त्यसैले उनले अलिकति पाठकहरु प्रति र इतिहास प्रति अन्याय पो गरेका हुन् कि भन्ने पनि भयो ।
पुस्तकको गाता त सक्कली डायरीको गाता जस्तै देखिन्छ तर भित्रका पानाका पनि केहि तस्वीरहरु हालिएको भए सायद अझै सुनमा सुगन्ध हुने थियो कि ? डायरी भनिएपनि डायरीबाट हुबहु सारिएका कुराहरु टंकण गरिएका छन् । यदि ती हस्तलिखित थिए भने तिनलाई त्यसै तस्वीरका रुपमा उतारि दिएको भए झन् न्या हुन्थ्यो कि ? ठाउँठाउँमा अन्य सानातिना टंकणका क्रममा भएका गल्तीहरु पनि छन् तर पुस्तकले पस्कने खुराकको तुलनामा ती भुलचुकहरुलाई अन्देखा गर्न सकिन्छ । अनलाईन पुस्तकालयले निःशुल्क रुपमा उपलब्द्ध गराएकाले पुस्तक सबैको सहज पहुँचमा पनि छ । त्यसैले यो पुस्तक इतिहाँस जान्नका लागी एक पटक पढ्नै पर्ने पुस्तक हो ।
Book available at: https://pustakalaya.org/view.php?pid=Pustakalaya:6991
please like my facebook page (https://www.facebook.com/notionsNemotions )and leave your comments
Comments
Post a Comment