नयनराज पाण्डेको सल्लीपिर


मनोज दाइले पढ्न दिएका चार पुस्तक, खबुज, फोसिल, अक्षरगंज र सल्लीपिर, मध्ये सल्लीपिरको पालो अन्तिममा आयो । आकार र चर्चाका हिसाबले पुस्तकको क्रम त्यस्तै प¥यो । त्यसमाथि सल्लीपिर एकजना साथीलाई पढ्न दिएको थिएँ । त्यत्रो पुस्तक पढ्दा पनि एउटा पुस्तक पनि नदिएको भन्ने गुनासो थियो । पुस्तक उसले लगी र उसको प्रेमीले पढेर भ्याउँदा पनि उसले चाहिँ पढ्न भ्याइन ।

‘यस्तो पुस्तक तिमीले के बुझ्लौ ?’ लामा दाई (म त्यसरी नै सम्बोधन गर्छु) अर्थात उसको प्रेमीले पुस्तक पढिसके पछिको प्रतिकृया दिएका थिए ।

क्यान्सर प्रतिरोधी कोषका बारेमा स्नातकोत्तरको सोधपत्र लेख्दै गरेकी साथीले पछि समय अभाव हुने देखेपछि ‘ल भैगो’ भनेर मैलाई फर्काई । त्यसपछि मेरो पालो आयो ।

नबोल्दा नबोल्दै बोल्नै बिर्सेको  त हो नि हामीले
फर्केर नहेर्दा नहेर्दै आफैँलाई यात्राहरुमा,
आफैँलाई चिन्न बिर्सेको त हो नि हामीले ।
भेडाको  हुलमा मिसियौ र भेडा नै भयौ
चौरीको हुलमा मिसियौ र चौरी नै भयौ,

‘सल्लीपिर’ को कथानक सोलुमा जन्मेकी पेमाको पुस्तकसँगको सम्बन्धको वरपर घुमेको छ । त्यो कथाको बहानामा लेखकले सोलुखुम्बु र त्यहाँको शेर्पाहरुको जीवन र परिवेश लेखेका छन् । एक हिसाबले भन्नु पर्दा यो हिमालको प्रतिनिधि कथा हो ।‘सल्लीपिर’मा शेर्पा भाषा र शेर्पा संस्कृतिलाई बडो कलात्मक ढंगले नेपाली भाषीहरुमाझ ल्याइएको छ । एकै देशका भएर पनि भाषिक कारणले टाढिएको समाजलाई नजिक ल्याउने प्रयासका रुपमा सल्लीपिरलाई मान्नु पर्छ ।

उसले सोधेकी थिई –‘तपाईंहरु सिगात्चिपा हो ?’
हो, उनीहरु कति दिनदेखि हिँडेर तिब्बतको सिगात्सेबाट आएका व्यापारी थिए । त्यतातिर बाट आएकालाई सिगात्चिपा भन्थे सबै ।

मैले हालसालै पढेका ध्रुबचन्द्र गौतमको अलिखित, रामलाल जोशीको ऐना, उपेन्द्र सुब्बाको लाटो पहाड सबैमा फरक भाषीका कथाहरु छन् । तर त्यहाँ जुन तरिकाले त्यो फरक भाषालाई बुझ्ने बनाउन कोशिस गरिएको छ, त्यो सबै भन्दा सजिलो र कलात्मक प्रयास सल्लीपिरमा छ । गौतमले त एउटा पात्रलाई अनुवादककै रुपमा राखेका छन् जसले संवादहरु उल्था गरेर बुझाइ दिन्छ । तर सम्बादहरु दोहोरिँदा बेलाबेला केहि फरक शैलीमै पनि संवाद नदोहो¥याइ प्रसंग बुझ्ने बनाउन सकिन्थ्यो कि भन्ने मनमनै सोचेको थिएँ । ‘सल्लीपिर’मा लेखकले त्यही गरेर देखाएका छन् । 

भाषा बाहेक सोलुको राजनीतिक इतिहास पनि सल्लीपिरले धेरथोर समेट्ने जमर्को गरेको छ । टिम्बुरबोटे काण्ड देखि लिएर राजनीतिक दलका नेताहरुले दिएको धोका, माओवादी जनयुद्धका कारण भोग्नु परेको कष्ट, लगायतका कुराहरु पुस्तकमा छन् । राजनीतिक दलका नेताको प्रतिनीधि पात्र दलबहादुर कांग्रेसका बलबहादुर हुन कि भन्ने पनि पढ्दै गर्दा लागेको थियो । सोलुका सांसद उनै हुन् नाम पनि मिले मिले जस्तो भएको संयोगले मात्रै त नहोला ।

सल्लीपिरमा टिम्बुरबोटे काण्डका बारेमा पढेपछि केहि थप जानकारी बटुल्ने मन भयो । वि.सं. २०३१ सालमा सरकारले केहि आन्दोलन कारीले ओखलढुङ्गाको सदरमुकाम कब्जा गर्न लागेको सुचना पाएपछि सेनाद्वारा त्यसको प्रतिकारका गरिएको थियो । सोहि घटनामा राम–लखन लगायतका केहि युवाहरु मारिएका थिए । पक्राउ गरिएका क्याप्टेन यज्ञबहादुर थापा र भिमनारायण श्रेष्ठलाई वि.सं. २०३३ सालमा मृत्युदण्ड दिइएको थियो । यो सबै घटनालाई टिम्बुरबोटे काण्डको रुपमा चिनिन्छ । यो काण्डले नेपाली कांग्रेसको सशस्त्र आन्दोलनकारी पाटोको थोरै भएपनि उजागर गरेको छ । नेपाली राजनीतिमा कम्युनिष्ट(माले)ले झापा आन्दोलन (ओली त्यसै आन्दोलनका क्रममा ज्यान मारेको अभियोगमा १४ वर्ष जेल बसेका हुन्) गरे भने माओवादीले झापा आन्दोलनकै विस्तारित रुप दश वर्षे जनयुद्ध चलाए । अहिलेको पुस्ताले यी सबै इतिहास थाहा पाउने कुनै बाटो छैन । सल्लीपिरले थोरै भएपनि ती कुराहरु पस्केको छ । माओवादी जनयुद्ध त अलि ताजै भयो तर पुराना सशस्    त्र आन्दोलनका किस्साहरु अहिलेको पुस्ताले थाहा पाउने कुनै बाटो छैन । सल्लीपिरले थोरै भएपनि त्यो कालखण्डलाई ताजा बनाउने प्रयास गरेको छ । त्यस हिसाबले पनि सल्लीपिर महत्वपूर्ण लाग्यो ।

सल्लीपिर पढ्दै गर्दा काठमाडौँमा नीजि विद्यालयमा पढाउँदाका शेर्पा छात्रहरुको अनुहार पनि झलझली याद आयो । छिरिङ, मेरी सोनाम, पासाङ फुटि, पेम्बा, गेली, आदि थुप्रै शेर्पा अनुहार झनै प्यारा भए । साहित्यले फरक समुदायका कथाहरु प्रकाशमा ल्याएर आत्मियता थपिदिन्छ भन्नेकुराको अनुभुति भयो ।





शेर्पा संस्कृति र ‘खस–आर्य’ संस्कृतिको बीचको केहि समानताहरु पनि भेटियो । हिन्दु संस्कृतिमा जमरा छैन । भारतमा दशैं मान्दैनन् । शेर्पा संस्कृतिमा जमरा छ । त्यही जमरा ‘खस–आर्य’ हरुले अपनाएर छुट्टै नेपाली संस्कृति बनेको हो कि भन्ने अनुमान भयो । सल्लीपिरमा नसमेटिएको भएपनि देउसी–भैलो पनि किराती संस्कृतिबाट आएको भन्ने कताकता पढेको झैँ लागेको थियो । त्यस्तै ल्होसारमा चन्द्र, सूर्य र अरु ग्रह नक्षत्रहरु दक्षिणबाट उत्तरतिर फर्कन्छन् भन्ने प्रसंगले पहाडी समुदाय माझ मनाइने माघेको पनि सम्झना आयो । त्यो चाढ पनि उत्तरायणको (सूर्य उत्तर लाग्ने) प्रारम्भको रुपमा मनाइने चाड हो ।

खर्कमा बन्देज, किपटको कुरा, चौरीको विद्रोह, रेन्जरले मह काट्न नदिएको, काठमाडौँलाई याम्बु भनेर चिनिनु, आदि कुराले राज्य र हाम्रा विविध समुदायबीचको दुरी र गुनासाहरुको प्रतिनीधित्व गर्छ । उपेन्द्र सुब्बाको ‘लाटो पहाड’मा च्याब्रुङ्ग बनाउन रुख काट्दा जरिवाना लागेको प्रसंगलाई ‘बाहुन क्षेत्रीले बनाएको कानुनले बारीको रुख काट्दा पनि जरिवाना लाग्ने’ भनेर लेखिएको पढ्दा ज्यादै नरमाइलो लागेको थियो । सुब्बाको जस्तो घोचपेचको भाषा नभए पनि सल्लीपिरले सोलु र शेर्पाको गुनासा भने प्रष्टै सुनाएका छन् । यो पनि सल्लीपिर पढ्नु पर्ने कारणहरु मध्येको एक कारण हो ।

यति धेरै सबल पक्षहरु भए तापनि पुस्तकमा केहि कम्जोरीहरु पनि छन् कि जस्तै लागे । पहिलो भनेको कथानकमा जुन घनत्व लू मा थियो त्यो ‘सल्लीपिर’मा छैन । उपन्यासको पछिल्लो भाग अलि खुकुलो लाग्छ । अर्को दोष भनेको समयको हिसाब नमिल्नु हो । दलबहादुरले चुनाब जितेको वर्ष दावासँग पेमाको विहे हुनु, त्यसै वर्ष बाबु हुनु (पृ ७९), छोरो फुर्वा नजन्मदै सगरमाथा आरोहीको भरियाको काम गर्न जाँदा माओवादीका कारण काम पातलिएको गुनासो देखिइनु (पृ ८२), विहेको १२ वर्षमा फुर्वा १० वर्षको पुग्नु (पृ.९८, ९९), त्यतिबेला सम्म पनि जनयुद्ध जारी रहनु, त्यसपछि सल्लेरीको घटना घट्नु, आदि प्रसंगहरुको समयकाल अलि नमिलेको हो कि जस्तो लाग्छ । २०५२ सालमा सुरु भएको जनयुद्ध १० वर्ष चल्यो तर जनयुद्ध २०४८ सालको चुनावको ४ वर्ष पछि सुरु भएको हो । सल्लेरी घटना चाहिँ २०५८ मंसिर तिरको घटना हो । फुर्वा जन्म पूर्व नै माओवादी समस्याको प्रसंग नराख्दा र सम्बन्धका १२ वर्षमा फुर्वा १० वर्षको भएको भन्ने कुरा हटाउँदा हिसाब धेरै हदसम्म मिल्छ । धेरै पाठकले यस्ता हिसाब केलाएर नबस्ने हुँदा यो नखड्किन सक्छ । त्यस बाहेक अन्य त्यस्ता कम्जोरी खासै केहि लागने ।

अन्तमा, ‘लू’बाट मधेस चिनए जस्तै सल्लीपिर मार्फत हिमाल चिनाइ दिएकोमा लेखक प्रति धन्यवाद ।

एउटा अनुरोधः किन्डलमा पढ्न मिल्ने संस्करणहरु बेलैमा उपलब्द्ध हुने भए बाहिरका पाठकका लागी पनि नेपाली साहित्यको स्वाद लिन सजिलो हुन्थ्यो । पाण्डुलीपि बुक्स मार्फत त्यसको प्रयास त भएको छ तर पाण्डुलीपिका किताब किन्डलमा खुल्दैनन् । हुन त लेखकलाई आफ्नो लाभांश गुम्ने डरले किण्डल संस्करण ननिकालिएको हुन सक्छ तर मलाई लाग्छ पुराना कृतिहरु यदि गैह्र कानुनी तरिकाले बाँडिए नै भए पनि नयाँ कृतिको लागी थप पाठक बढाउँथ्यो । फेरी बाँड्नेले त भौतिक पुस्तक नै पनि बाँडेर पढि रहेकै छन् ।

Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला