हिजो आजका कुराः बजेट, मधेस, समान नागरिकता


मलाई अहिलेको सरकारको काम कार्वाहीको धेरै विरोध गर्न मन छैन । प्रधानमन्त्रीको नाम फेरिएर केहि हुने वाला छैन । यदि कसैसँग यसभन्दा राम्रा सपना छन् र कार्ययोजनाहरु छन् भने अघि ल्याउन र सपनाहरुको प्रतिस्पर्धा होस् । होइन भने यो क्रम चलिरहोस् । मानिसहरु आशाबादी हुनुले पनि देशको विकासमा सघाउ पु¥याउँछ । अर्थतन्त्रमा पूँजी भित्र्याउँदा त्यसले गुणनात्मक प्रभाव पार्छः मान्छेसँ पैसा आउँछ, पैसाले उपभोग बढ्छ, बढेको उपभोगले उत्पादकलाई उत्पादन बढाउन प्रोत्साहन गर्छ । यस्तै नहोला तर यस्तो पनि हुन सक्छ । आँखिर अर्थशास्त्रका नियमहरु अन्य कुरा स्थिर रहेमा (सेटेरिस पेरिबस) भन्ने मान्यतामा बनेका हुन्छन् । त्यसैले कुनै पनि नियमले यसै हुन्छ भनि भन्न सक्दैन बरु यसो हुन सक्छ है भन्न चाहिँ सक्छ ।
सरकार र बजेटको अलावा मेरो दिमागमा थप अरु कुराहरुले पनि आँधि हुरी चलायो । संयोगले ब्राम्हण परिवारमा जन्मिएँ । अलि जान्ने भइसकेपछि कसैमाथि जातकै कारणले विभेद गरिएन । हासो ठट्टाका लागी एक अर्कालाई गिल्याउने कुराहरु आफ्ना ठाउँमा छन् । सहरी परिवेशमा हुर्केकाले गाउँको नियमका बारेमा उति जानकार छैन । एकपटक डडेल्धुराको कैलपालमाण्डौँ गाविस स्थित पुख्र्यौली घर जाँदा बाटामा भेटिने सबैले ‘ज्यू’ गरेका थिए । बदलामा मैले पनि त्यसै गरि ‘ज्यू’ फर्काएको थिएँ । पछि त्यहि घटनाले गाउँमा खुब चर्चा पायो । उच्च जातकाले त्यसरी प्राय ‘ज्यू’ फर्काउँदैनन् । त्यसैले यो जातीय उत्पिडनका कुराहरु आउँदा कान ताता हुन्छन् । मैमाथि आरोप लाए जस्छै हुन्छ । अनि किन किन आफ्नो पक्षबाट सफाइ लेख्न मन लाग्छ ।
मधेसी चरित्रहरुमा हास्यकलाकारहरुले आफ्ना अभिनय मार्फत पहाडलाई मधेस चिनाएको र पहाडीले ती पात्रहरु मन पराएको कुरालाई एक जनाले मधेसको प्रतिनिधित्व गलत ढंगमा गरिएको भनि लेख्न भ्याए । मलाई यो कुरा पूर्वाग्रही भएर आए झैँ लाग्यो । मधेसी पात्र मन पराइनुमा उनीहरुप्रतिको हेय दृष्टि भन्दा पनि उनीहरुको फरक लबज हो जस्तै लाग्छ । विदेशीले नेपाली बोल्दा मान्छेले चाख लिएर सुने जस्तै मधेसी, नेवारी, शेर्पा, आदि ठेट लबजले नेपाली बोल्दा केहि फरक सुनिन्छ । त्यसैलाई व्यंग्यात्मक प्रस्तुती गर्दा मानिसहरुलाई मनपर्ने पात्र जन्मन्छन् । त्यसरी उभ्याइएका पात्रले मधेसीलाई अनपढ, असभ्य, फोहोरी, भनेर देखाउन खोजेको हो जस्तो मलाई लाग्दैन । बरु हरेक कुरालाई जातीय चश्माले हेर्ने अहिलेको प्रवृत्तिले त्यसो देखिएको हो जस्तो लाग्छ ।

त्यसो त सुदुर पश्चिमको पनि उति धेरै प्रतिनिधित्व हुन सकेको छैन । होस्टेल, होस्टेल रिटर्नस्, भद्रगोल, आदिमा भएको प्रतिनिधित्व पनि कमसल चरित्रहरु मार्फत नै भएको छ । कतिपय पूर्वका साथीहरु मेरै बोलीमा पनि हास्ने गर्छन् । यी कुराहरु महशुस गर्दा केहि नरमाइलो महशुस गरे पनि अधिकांस सुदूरपश्चिमेलीहरु उचित शिक्षा दिक्षा र अवसरका अभावले पूर्व भन्दा पछाडि नै छन् । यहाँ पनि रुढिबादी, गरीवी र अशिक्षाले जरो गाडेको छ । त्यसैले यहाँको छबि उति राम्रो छैन । त्यसका अलावा यहाँको भाषा पनि शुद्ध नेपाली भाषाभन्दा निकै फरक छ । अझै जिल्लै पिच्छे फरक भाषा छ भन्दा पनि फरक पर्दैन । त्यस हिसाबमा नेपाली भाषा लादेको आरोप सम्पूर्ण पहाडी समुदायमा लाग्दा समेत बेला बेला आफूलाई असह्य हुन्छ । कार्यालय प्रयोजनमा आएको नेपाली भाषा कसैको पनि मातृ भाषा हो जस्तो मलाई लाग्दैन । कुनै भाषासँग नजिक र टाढा हुने कुरा आफ्नो ठाउँमा छ । त्यसै भाषागत भिन्नतालाई भजाएर सजिलै व्यंग्यात्मक प्रस्तुती गर्न सकिन्छ । सायद मधेसका हकमा पनि त्यो लागु हुन्छ । मधेस भनेको तराईका सिमित सहरी भाग मात्रै हैन न मधेसी भनेका तराईका सम्पन्न ठाकुर र यादबहरु मात्रै हुन् । त्यहाँ देहात पनि छ । एक्काइसौँ सताब्दीमा आएर पनि जातीय छुवाछुतको चरम अभ्यास त्यहाँ देखिन्छ । दाइजो प्रथाले अझै पनि मधेसी समाजमा जरा गाडेको छ । अरु पनि थुप्रै रुढिबादीहरुले ग्रस्त छ यो समाज । तिनकै छन् मधेसको प्रतिनिधित्वमा पनि झल्कन्छ ।
पर्दामा मधेसी र जनजातीको (समग्रमा भन्नुपर्दा उपत्यका बाहिरको) उतिसारो भिड जम्मा हुन नसक्नुमा अवसरको कमी पक्कै हो । अनि पर्दामा भएको प्रतिनिधित्वमा निहुँ खोज्नु चाहिँ संकिर्ण सोच भन्दा बाहेक केहि पनि होइन । नत्र भने पर्दामा चर्चा कमाएका मुन्द्रे, माग्ने, जिग्री, आदि फट्याँइका लागी चिनिएका पात्रहरुले कुन समुदायको प्रतिनिधित्व गर्छन् ? अहिलेका सिनेमामा देशले मन पराएका दयाहाङ्ग राई कुन समुदायका हुन् ? त्यसैले यसरी जातीय रंग दिएर हरेक कुरालाई अप्ठ्यारो नबनाइदिन सबैलाई अनुरोध छ ।
उच्च शिक्षा अध्ययनार्थ विदेश पसेको चार बर्ष भयो । स्नातकको दोश्रो उपाधी कमाइयो अनि केहि देश घुमीयो । यस बाहेक खासै उपलब्द्धि भएन । न कुनै ठूलो सम्पत्ती जोड्न सकियो न कुनै नाम राख्ने काम नै गर्न सकियो । अबको पाँच वर्ष पछि मेरो के हुन्छ भन्ने मैलाई भन्न गाह्रो छ । देशमा बा छोरो विद्यावारिधी गर्दैछ भन्छन् रे ! ढिलो चाँडो पिताको बचन पनि साँचो तुल्याउने छु । त्यसका अलावा अर्थपूर्ण जीवन जिउने ठूलो इक्षा छ । आफ्ना लागी मात्रै नभएर अरुका लागी पनि केहि गरेर मर्ने रहर छ । देशमा आएका परिवर्तनले देश फिर्ने आशा र विश्वास बढाएको छ । अरु भन्दा पनि नेपालमा बस्दा बुढो भएपछि के गर्ला भन्ने चिन्ताले सताउँछ । मेरो वृद्धावस्तासम्म परम्परागत संयुक्त परिवार सायदै रहला । अनि जिन्दगी भरी मनमौजी भएर बाँचेपछि बाँकि रहने बुढेसकालमा कसले हेर्ला जस्तै लाग्छ ।
परदेशमा भएपछि साँझ विहान हातमुखै जोर्न लाई पनि खटिनै पर्छ । बास र विमाको रकम नै सबै भन्दा बढि हुन्छ । त्यही जुटाउने गोरखधन्दाले अस्त व्यस्ता पारेको दिनचर्याबाट धेरै दिन पछि लेख्ने जाँगर चल्यो । भन्न मन लागेका धेरै कुरा भएपनि सबैलाई एकै लेखमा खुम्च्याउन बाध्य भएँ । यसो नगर्दा केहि पनि भन्न नसकिने हो कि भयो । त्यसैको परिणाम स्वरुप यो लेख बन्यो ।
अन्तमा, समान नागरिकताको हकको विषयलाई लिएर अभियान चलाइ रहेकी मञ्जुश्री थापाको नाम पनि यसपाली बढि नै चर्चामा आयो । उनले नेपाली व्यवस्थासँगको लडाइमा आत्मसमर्पण गरेर नागरिकता परित्याग गरिन् । कति खुशी भए कति निराश भए होलान् । धेरै कुरा त थाहा छैन तर विदेश पशेका नेपालीहरुले विदेशी नागरिकता लिने एउटा सजिलो तरिकामा विदेशी महिलासँगको विवाह पनि हो । विकसित देशहरुले पनि यो व्यवस्था उपलब्द्ध गराएका छन् । हो यस्ता प्रकृयाले लिने नागरिकताका हकमा नियमन कडा हुन्छ अनि यो व्यवस्थाको दुरुपयोग पनि निक्कैले गरेका छन् तर त्यो कतै नभएको व्यवस्था भने होइन । हरेक कुराको सकारात्मक र नकारात्मक पक्ष त भइ हाल्छ । त्यसैले एकतर्फी रुपमा उनको खेदो खनीनु पनि पूर्वाग्रही मानसिकताको उपज हो । अस्तु !
Comments
Post a Comment