सपनाहरु बाँचेको दिन

भू–मध्यसागरसम्मको यात्रा –४ क्षितिजमा लाली पोतिएको थियो । म आँखाले भ्याउञ्जेल सागरका लहरहरु र त्यसको पल्लो छेउमा लागेको बादलको पर्खाल चिर्दै माथि उक्लँदै गरेको घाम हेरिरहेको थएँ । बादलका कारण सिनेमामा देखाए जस्तै पानीबाट निक्लँदो घाम हेर्ने मेरो चाह पुरा नभएपनि म त्यहाँ जीवनले दिएको अनेपेक्षित मौकामा रमाउन खोज्दै थिएँ । कुनै दिन यसरी सागर किनारामा सूर्योदयको प्रतीक्षा गर्दै बसौँला भन्ने सोचेकै थिएन । बाच्नु मात्रै पर्दो रहेछ, जीवनमा नियतीले लुकाएर राखेको अनेकानेक खुशीका पलहरुको कुनै कमी नहुने रहेछ । विहानीको हावाले मनमा ताजापन थप्दै थियो । किनारासँग जिस्किने छालहरुमा गोडा चोपलेर बस्दा बेलाबेला पानी माथि सम्म आइपुग्थ्यो । म कपडा भिज्ला भन्ने डरले बेलाबेला उठथेँ । जाडोले बिहानै पानीमा पस्ने आँट गर्न दिएन । त्यसैले गोडामात्रै चोपेर भएपनि स्पर्श कायम राखेर आँखाले भ्याउञ्जेल हेरिरहेको थिएँ । भोलिलाई सम्झना पनि त थुपार्नु थियो । हातगोडा दरा छउञ्जेल सम्झना बटुल्ने र यी गल्न थाल्दा ति बटुलेका सम्झनाका पाता पल्टाएर रमाउन न हो जीवन । म पछिका दिनलाई सुखद सम्झना पनि मनग...