बाबुरामलाई चिठी
सुरुमा मुस्ताङ्ग चढेर अनि आफ्नो बौद्धिक छविका कारण बढि चर्चामा आएका डा. बाबुराम भट्टराइले देशका लागि केही गर्लान् भन्ने थुप्रैले आश बोकेका थिए । शान्ती प्रकृयाका साथसाथै देशमा शुसासनका कार्यक्रमहरु पनि सँगसँगै लैजाने र देशमा सुव्यवस्थाका लागि तल्लीन हुने बाचा बाँधेका बाबुरामबाट नेपाली जनताले सायद अलि बढि नै अपेक्षा राखेकाले हुन सक्छ हाल आएर जनताले उनको आलोचनाहरु गर्न सुरु गरि सकेका छन् ।
देशमा सुसासन ल्याउँछु भन्नेले अनि देशमा अनियमितता रोकी मितव्ययीता भित्र्याउँछु भन्नेले परिवारमै मितव्ययीता र परिवारकै सदस्यहरुले गरेका अनियमितता रोक्न नसक्दा पनि आलोचित हुनु प¥यो । त्यस्तै उनको नेतृत्वमा गठित जम्बो मन्त्री मण्डलले पार्टी भित्रको मतभेदलाई अन्त गर्न अनि सत्तामा टिकीरहनका लागि जनभावनामा गरिएको कुठाराघात अनि जनआस्थासँग गरिएको खेलबाडको संज्ञा पायो । त्यसै गरी काँग्रेसका पछिल्ला सभापति स्व. गिरिजाप्रसादको पुत्री मोहको घोर भ्रत्सना गर्ने पार्टीका अध्यक्ष क. प्रचण्डको पुत्रमोह तुष्टीका लागि सरकारी ढुकुटीबाट दुई करोड पाति गराउँदा उनको मितव्ययीताको नारा ढोङ्ग मात्रै भएको भनि सबैले आलोचना गरे । प्रचण्ड आफै पनि लाजिम्पाट स्थित साठी करोडको भव्य महलमा सर्दा गरेका अनेकन नाटकहरुले पनि बाबुरामको प्रधानमन्त्री हुनु अघिको छविलाई धमिल्यायो ।
उनी सत्तामा रहँदै गर्दा त्रिचन्द्र अघिको हत्या, बबर महलमा बम विष्फोट, आदि जस्ता घटनाले देशको सुरक्षा स्थिति अझै उस्तै रहेको संकेत गरिरह्यो । शिक्षक आन्दोलनले कक्षा ८ को परीक्षा सर्नुले विगतका सम्झौताहरुलाई उनको सरकारले समेत वेवास्ता गरेको प्रष्ट पा¥यो । त्यसैगरी पेट्रोलियम पदार्थमा भएको पटकपटकको मुल्यवृद्धिका बाबजुद सहज रुपमा जनताले तिनको उपभोग गर्न नपाउनुले उनले जनताका लागि ल्याउँछु भनेका राहतका कार्यक्रमका नाराले हावा खायो । झण्डै एक महिनासम्म ग्यासको आपूर्ती सहज नहुँदा ग्यासमा कालोबाजारी गर्नेहरुले मनग्गे धन कमाए । अनियमितता जाँतका लागि गएको मन्त्रीसहितको टोलीले समातेका अभियुक्तहरु सत्ता बाहिरका प्रतिपक्षीदलका समर्थक मज्दुर युनियनको दबाबमा विना कारवाही पचास हजारको धरौटीमा रिहा गरिए । चुलीँदो महँगी र लोडसेडिङ्गको अन्तहीन मार यसपटक पनि केही कम भएन ।
यिनी परिवेशहरुका बीच कक्षा आठको अंग्रेजी विषयको परीक्षामा १० अंकभार भएको एउटा चिठी समावेश गरिएको थियो । सो चिठीमा देशमा व्याप्त असुरक्षा र लोडसेडिङ्गका बारेमा प्रधानमन्त्रीलाई चिठी लेख्न निर्देशन दिइएको थियो । यस पटकका प्रधानमन्त्रीले विगतका प्रधानमन्त्रीको तुलनामा केही बढि नै जनतासँग नजिकिने प्रयासहरु नगरेका होइनन् । हेलो सरकार र इमेल मार्फत उनले जनतासँगको एक किसिमको सम्बन्ध स्थापित गर्न खोजेकै हुन् । त्यसको प्रभावकारिता जे जस्तो भएको भएपनि प्रयास भएकै हो भन्ने कुरामा कसैको दुईमत छैन होला । त्यसैले पनि होला यसपालीको परीक्षामा प्रधानमन्त्रीलाई देशमा व्याप्त समस्याहको बारेमा अनुरोध गर्नका लागि विद्यार्थीहरुलाई चिठी लेख्न अनुरोध गरिएको । अब ती चिठीहरु बाबुरामले पढेर बस्ने त कुरै भएन । त्यसैले मैले ती चिठीहरुमा भएका कुराहरुलाई पाठकहरु समक्ष ल्याउने प्रयास स्वरुप यो लेख तयार पारेको हुँ ।
प्रधानमन्त्रीलाई चिठी लेख्न बानी नपरेका विद्यार्थीहरुले प्रधानमन्त्रीलाई पनि साथीलाई गर्ने सम्बोधन गरेछन् । हुन त जनताकै हाराहारीमा उभ्याउन चाहने प्रधानमन्त्रीका लागि सम्बोधन जाबोले उति फरक नपार्ला । सम्बोधन पछिको विषय वस्तुमा प्रधानमन्त्रीलाई सुरक्षा र लोडसेडिङ्गका विषयमा जानकारी गराउनु थियो । त्यसका बारेमा विद्यार्थीहरुले अन्य कुरा जे जस्तो भए पनि परीक्षाको बेलामा विद्यार्थीहरुलाई मार पर्ने किसिमले लोसेडिङ्ग नगरियोस भनि आवाज उठाएका थिए । विद्यार्थीहरुका लागि फलामे ढोका मानिने एसएलसी र कक्षा आठको जिल्ला स्तरीय परीक्षा संचालन भइरहँदा पनि विद्यार्थीहरुको पढ्ने बेलामा बत्ती नहुनुले विद्यार्थीहरुलाई खुबै मार परेको कुरा कसैले लेख्न छुटाएका थिएनन् । त्यसैगरी सुरक्षा स्थितिमा सुधारका हकमा धेरै जस्ता विद्यार्थीहरुले बबर महलको बमकाण्ड दोहोरिनु नहुने कुरा उल्लेख गरेका थिए । सो बमकाण्डले जनतामा परेको त्रासको आभास उनीहरुका शब्द मार्फत सजिलै गर्न सकिन्थ्यो । केही विद्यार्थीले दिनदिनै बढ्दो चोरी र हत्याहरुका बारेमा पनि प्रधानमन्त्रीलाई झकझक्याएका थिए । असुरक्षाका कारण देशको छविमा परेको नकारात्मक असरका बरेमा पनि विद्यार्थीहरुले आफ्ना चिन्ता प्रकट गरेका थिए । बुद्धको देशमा अशान्ती भयो भन्ने जस्ता कुराहरु उल्लेख गर्नुले उनीहरुमा देशमो विग्रिएको छविका प्रतिको चिन्ता प्रष्ट हुन्थ्यो ।
उनीहरुको कपी जाँच गरिहँदा देशका किशोरहरुमा पनि त्यस किसिमको चेतना रहेछ भन्ने जान्न पाइयो । अवसर पाउँदा उनीहरुले पनि आफ्ना बिचार पोख्न सक्दा रहेछन् । देशको समस्याका बारेमा कहिँ कतै उनीहरुले निराशा पोखेको देख्दा केही नरमाइलो पनि अवश्यै लाग्यो । प्रधानमन्त्रीले त ती सबै चिठीहरु पढ्न भ्याउन्न होला । तर ती चिठीहरुको सार उनीसम्म पु¥याउन सके उनले पनि आफूले गरेका बाचाहरु दुश्यन्तले शकुन्तलाको औँठी देख्ने बित्तिकै आफ्ना बाचाहरु सम्झे जस्तै गरी सम्झन्थे कि ? यत्ति भइ दिए मेरो प्रयास सार्थक सिद्ध भएको मान्ने थिएँ । नभए नेपाली जनताहरु समक्ष नै पनि यी आवाजहरु पुगिदिए मलाई खुशी मिल्ने थियो ।
Comments
Post a Comment