कान्छा महारानीः अनुवाद सगुना शाह






कान्छा महारानीबाट आश र त्रास दुबै थियो । आश इतिहासको एक महत्वपूर्ण अध्याय महिलाबाटै रचित, महिलाबाटै अनुवादित र महिलाकै दृष्टिबिन्दुबाट व्यक्त गरिएको प्रति थियो भने त्रास केहि गरि मन परेन भने के गर्ने भन्ने थियो । शिवा शाहको द अदर क्वीन को नेपाली अनुवाद कान्छा महारानी पढिसकेपछि मिश्रित अनुभव भयो । इतिहासका कतिपय नजानिएका पाटाहरु यो किताबमा भेटियो । इतिहास बारे थप जान्ने तलतल किताबले दियो । यसैमा उल्लेख कुराहरुको बारेमा थप खोज्ने क्रममा पर्सिभल ल्यानडनको नेपाल किताब सम्म हात प¥यो । (यो महत्वपूर्ण किताब छ पाएसम्म एक प्रति संग्रह नै गर्न अनुरोध छ ।) त्यस्तै नेपाल हुँदा धुमधुमती खोजेको डोरबहादुर विष्टको भाग्यवाद र विकास किताब पनि अन्तिममा आफ्नै ल्यापटपमा भेटियो । त्यसैले पनि यो कितबको पठन उपलब्द्धिमुलक नै रह्यो ।

कान्छा महारानी उपन्यासले साम्राज्यलक्ष्मीको दृष्टिविन्दुबाट सुगौली सन्धी पछि र जंगबहादुरको उदय पूर्वको कथा बोकेको छ । यस अघिका इतिहासका पुस्तकहरुमा खासै महत्व नदिइएका घटनाहरुलाई पनि विस्तारमा उल्लेख गरेर त्यसको एक काल्पिनिक चित्र पाठकका मनमा छोड्न पुस्तक सफल भएको छ । जस्तो जंगबहादुरले हात्तीसँग लडेको र कुवामा हाम फालेको भन्ने भनाइ रहेको इतिहासमा रुचि हुनेले सुनेकै विषय हो । ती घटना यसरी नै घटे होलान् भन्ने कल्पना यो पुस्तकले पस्केको छ । त्यस्तै साम्राज्यलक्ष्मीको तात्कालिन काजी गगनसिंह खवाससँगको सम्बन्धको बारेमा संकेत वा आशंका मात्रै गरिएको त धेरै पुस्तक थिए तर यसमा हनुमान ढोका छोडेर गगनसिंहलाई भेट्न जाँदाको बाटाको वर्णन समेत छ । यस्तै यस्तै थुप्रै कुराले यो पुस्तक अरुभन्दा फरक पनि भएको छ । घटनाहरुको विवरण मात्रै भन्दा पनि पात्र र परिवेशका लागि पनि थुप्रै मिहिनेत गरिएकोले पठन पट्यारलाग्दो हुँदैन ।  

किताबलाई आख्यान भनिएकाले त्यसमा व्यक्त सबै कुरालाई यथार्थ मान्नु भुल होला । तर आख्यान पनि यथार्थको ऐना मानिन्छ । त्यस उसले यो पुस्तकले पनि भिमसेनको पतन पछि देखि जंगबहादुरको उदय सम्मको समयकालको बारेमा थोरै भए पनि पोखेको छ । त्यो भनेको १९ औँ शताब्दिीको ३० को दशकको उत्तरार्ध देखि ४० को दशकको पूर्वार्धको समय हो । करीब १८० वर्ष पुरानो समयको कथा यो उपन्यासमा समावेश गरिएको छ  । राजेन्द्रलक्ष्मीको दरवार प्रवेश पछिको कथा देखि लिएर उनको वहिर्गमन सम्मको घटनाक्रमहरु राजेन्द्रलक्ष्मीकै माध्यमबाट व्यक्त गरिएको छ । त्यो क्रममा कोरिएको समाजको आधा अधुरो चित्रले समेत केहि सोच्न बाध्य बनाएको थियो ।

यसमा भएको हर्क गुरुङको कथामा दरवारमा दिशा बस्न पनि चाँदीको कोपरा हुने गरेको प्रसंगले खुब छोएको थियो । एकातिर खेतबारीमा बिष्ट्याउने जनता अर्कातिर चाँदिको कोपरा चाहिने शासक । त्यो कोपराको मोल चाहिँ खेतबारीमा खन्याएको पसिनाले तिर्नुपर्ने ! त्यस्तै दरबारका दासीको गर्भ रहँदा सो तुहाउन गरिने कसरत, सुरेन्द्रले मनोरञ्जनका लागि दासहरु मारेको र राज्यलक्ष्मीको आदेशमा विना बहस र छलफल जंगबहादुकोभ भतिजा देवीवहादुर मारिएको प्रसंगले तात्कालीन दरबारको क्रुरता देखाउँछ । मन्त्रीहरुसँगको भाषाले समेत बेलाबेला सोधिने र खोजिने परिवर्तनको उत्तर दिन्थ्यो । सत्ता र शक्ति प्राप्तिको रगतले पोतिएको बाटोले त्यो समयको क्रुरता झल्काउँथ्यो । प्रधानमन्त्री जसतो व्यक्ति दरबारमै मारिने, मन्त्रीहरु सेरिने घटनाहरु पढ्दा राजनीतिको हालको किचलो कहाँ हो कहाँ सभ्य र संस्कृत लाग्छ ।

किताबप्रति केहि गुनासा पनि अवश्यै छन् । राजेन्द्रलक्ष्मीको दृष्टिविन्दुबाट कथाबाचन भनेपछि इतिहासको विनिर्माणको आशा गरेको थिएँ । उनीमाथि लागेको आरोपको खण्डनको आशा थियो तर त्यस्तो भन्दा बरु उनले आफैलाई गलत भएको स्वीकारेको पाउँदा अलि चित्त बुझेको थिएन । जस्तो हर्क गुरुङको कथाबाट ‘पतिलाई धोका दिने श्रीमतिको गतिका’ बारेमा उल्लेख गरेर राजेन्द्रलक्ष्मीको भविष्यको बारेमा पाठकलाई संकेत गरिएको थियो । पतिलाई धोका दिनु भनेको अर्कोसँगको प्रेम । तर फेरि त्यहि दरबरामा राजालाई भने नवयोनी पुजा गर्न देखि लिएर मनलाग्दी स्वास्नी विहे गर्न छुट हुनु चाहिँ पत्नी प्रतिको धोका नहुने । मलाई यो किताबले प्रतापसिंह साहको नवयोनी पुजा देखि लिएर रणबहादुरको वाल विधवा व्राह्मणीसँग विहे गर्न नियमले नदिने व्यक्तिलाई राज्यसत्ता सुम्पिएको र स्वयं राजेन्द्रले गरेका बहु विवाहलाई देखाएर राजेन्द्रलक्ष्मीले आफ्नो सम्बन्धलाई सहि भएको दलील गर्छिन् कि भन्ने थियो । त्यो खास अर्थमा इतिहासको पुनःलेखन हुन्थ्यो । त्यो खास अर्थमा इतिहासको विनिर्माण हुन्थ्यो ।

रानीको दृष्टिविन्दुमा कथाबाचन भनेपछि ‘मैसाबले घाइते दिलमा आरा चलाईस्यो’ शैलीको भाषा पढ्न पाइएला भन्ने थियो तर त्यसको ठीक विपरित कतिपय ठाउँमा निकै तल्लो स्तरको शब्दहरु प्रयोग गरिएका संवादहरु पनि समावेश भएको देखियो । हुन त त्यसले दरवारको कुरुपता एक हद सम्म उदाङ्गो पारेको छ तर फेरि आख्यान भनिसकेपछि त्यो कुरुपता किन जरुरी थियो भन्ने प्रश्न पनि पढ्दा खड्कि रहन्छ । त्यस्तै संवादमा बारम्बार प्रयोग भएको ‘गरि प्रभु’ भन्ने अंशको अर्थ अन्तिम सम्म पनि अनुमान लाउन सकिएन । यसै किताबका कारण हेरिएको डायमण्ड समशेरको उपन्यासमा आधारित वसन्तीमा प्रयोग गरिएको ‘गरिव प्रवर’ कै अपभ्रंश हो कि झैँ भने लागेको थियो ।



भिमसेन थापा प्रतिको धारणा धेरै पटक फेरिएको छ । प्रथम प्रधानमन्त्री भनेर सामाजिक शिक्षा किताबमा पढिएका व्यक्ति प्रतिको धारणा बाबुराम आचार्यको अब यस्तो कहिल्यै नहोस् पढे देखि फेरिएको थियो । भिनसेन थापाले शक्तिमा आउन वाल विधवा कान्तीवती झा विहे गरेका रणबहादुरलाई सन् १८०५ मा आफ्नी भतिजी (भाइ नैनसिंह थापाकी छोरी र माथवरसिंह थापाकी  बहिनी) ललितत्रिपुरा सुन्दरीसँग बिहे गराएका थिए । त्यसको २ वर्ष पछि भिमसेन थापाले नै आयोजना गरेको एक सभामा रणबहादुरका सौतेला भाइ शेरबहादुर शाहले रणबहादुरलाई काटेका थिए । त्यो लगत्तै रणबहादुरका दुई पत्नीहरु राजराजेश्वरी र सुवर्णप्रभालाई सति जान बाध्य बनाइ आफ्नी भतिजीलाई सन् १७९९ मै बिति सकेकी कान्तीवती झाका छोरा गिर्वाणयुद्धको नायव बनाएर भिमसेनले आफ्नो हातमा शक्ति लिएका थिए । त्यसपछि पनि आफ्ना विरोधीहरु दबाउने काममा उनी पछि परेनन् । उनको ताकत सन् १८३२ मा भतिजी रानी ललितत्रिपुरा सुन्दरीको मृत्यु नहुँदा सम्म रह्यो । यो सब हेर्दा भिमसेन थापाको कमिजमा पनि धेरै रगता टाँटा देखिन्छन् ।

यसको अर्थ उनमा गुण केहि थिएन भन्ने हैन । धेरै सुधारका कामहरु पनि उनीबाट भए । तात्कालीन वृटिश रेसिडेन्सीका ब्रायन हडसनले समेत उनको मृत्युका बेला उनको तारिफ गरेको कुरा पावेल ल्यान्सफोल्डको नेपाल किताबमा पढ्न पाइन्छ । त्यसै किताबले बाबुराम आचार्यले लेखेको भिमसेन थापाको दर्दनाक मृत्युको बारेमा पनि लेखेको छ । श्रिमतीलाई नाङ्गै घुमाएको प्रमाण नभए पनि भिमसेनलाई भने सो कुरा सुनाएको थियो भन्ने उल्लेख छ । आफ्नै खुकुरीले आत्महत्या गरेको ९ दिनमा मरेका र उनको शरीर पनि सहि तरिकाले दाह संस्कार नगरी स्याल र गिद्धलाई खानलाई छोडिएको भन्ने छ । उनको शरीर फ्याँकिएकै विष्णुमती किनारमा भिमसेनथान बनाइएको भनेर त बाबुराम आचार्यको पुस्तकमा पनि पाइन्छ । साम्राज्यलक्ष्मी आफ्नी दिदीले पाणेहरुलाई काखी च्यापेको कारण भिमसेन प्रति नरम थिइन् । त्यसैले पनि भिमसेनप्रति सदासयता सहितको चित्र किताबमा भेटिन्छ । त्यो सन्तुलित  चित्र भने हैन ।

त्यस्तै जंगबहादुरलाई गरिएको चित्रणमा प्रति पनि फरक मत रहेको थियो । वीर नरसिंह कुँवर उर्फ जंगबहादुरलाई जंगे नाम उनकै मामा माथवरसिंह थापाले दिए । पछि जंगेले उनैलाई मारेर सत्ताको सिंडि उक्लियो । जंगबहादुरका पिता वालनरसिंह कुवर तिनै व्यक्ति हुन् जसले रणबहादुरलाई काट्ने रणबहादुरकै सौतेला भाइ शेरबहादुर शाहलाई सभामै काटेका थिए । त्यसै बापत काजी पद पनि पाएका थिए । त्यस्तै जंगबहादुरका बुढा बाजे रामकृष्ण कुँवर पनि पृथ्वीनारायणको फौँजमा जनरल थिए । बाजे रणजित कुँवर काजी (मन्त्री सरह) थिए ।

मावली नाता हेर्ने हो भने त उनको बुढो मावली पाणेपरिवारसँग जोडिएको छ भने आमा गणेशकुमारी, प्रधानमन्त्री सम्म भएका माथवरसिंह थापा र रणबहादुर शाहकी पत्नी ललितत्रिपुरा सुन्दरी (जो भिमसेन थापाको ३० वर्षे शासनको आधार थियो) भाइबहिनी हुन् । त्यसो हेर्दा राजपरिवार त कुटुम्ब नै भए । अनि यस्ता जंगबहादुरलाई किताबमा बारम्बार थापा परिवारको भनिँदा कस्तो कस्तो लागेको थियो । जंगबहादुरको आफ्नै परिवारको इतिहास पनि उसको परिचयको लागि काफी थियो । फेरि जंगबहादुर नेपाली इतिहास र राजनीतिमा रुचिभएकाहरुलाई परिचय गराइ रहनुपर्ने पात्र नै पनि होइनन् ।
 
उपन्यासको सुरु तिरैको एक प्रसंगमा सिपाहीहरुका अघि राजेन्द्रले गरेको सम्बोधनलाई तिलस्मी तरिकाले बयान गरिएको छ । जुन २१, सन् १८४० को सो घटना उल्लेख गरेर राजा प्रतिको अगाध श्रद्धा र सम्मानको उदाहरण देखाउन खोजिए झैँ भान हुन्छ । खासमा रानी राज्यलक्ष्मी र रणजंग पाण्डेले भारत सरकारको आदेशमा सेनाको तलब घटाउने भन्ने हल्ला फैलाइएको थियो जसको विरोधमा ६००० बढि सैनिक परेडमा निस्किएका थिए । राजाका मुखबाट तलबका हकमा सम्बोधन नभएसम्म विद्रोह शान्त नहुने भन्ने थियो । राजाप्रतिको श्रद्धा त छँदै छ तर खासमा तलब कटौती नहुने आश्वासनको लागि राजाको सम्बोधन माग गरिएको थियो ।   

कहिँ भाइ त कहिँ भतिजा भनिएका देविवहादुरको मृत्युको घटना पनि यसमा फरक किसिमले प्रस्तुत गरिएको छ । इतिहासका अन्य कुनै किताबमा पनि यस्तो पाइन्न । कल्पनाको प्रचुर मात्रामा प्रयोग भएको लाग्छ । त्यसबाहेक पनि ठाउँठाउँमा इतिहासको समयानुक्रम विग्रने गरि घटनाहरु प्रस्तुत छन् । भानुभक्तको कविताको प्रसंग, सन् १८४४ मै नयाँ मुलुकमा सिकार खेल्न गएको प्रसंग, गगनसिंह खबास भन्दा अघि जंगबहादुर बलियो भएका प्रसंगहरु आदिले इतिहासको पूर्वज्ञान सहितको पठनलाई अलि असहज बनाउँछ । ईतिहासको घटना र पात्रहरुलाई लिएर लेखिएको आख्यान नै भए पनि यो किसिमले समयानुक्रम भंग गरिनुले इतिहास र नयाँ पाठकका लागि त उस्तो अर्थ नराख्ला तर यसलाई सन्दर्भ ग्रन्थ मानेर इतिहासको जानकारी बटुल्न खोज्नेको लागि भने अन्याय हुन्छ ।

अन्त्यमा किताबको अनुवाद गरेर नेपाली पाठकका लागि सहज बनाइ दिनुभएकोमा अनुवादकलाई धन्यवाद । किताबले इतिहासमा चाँसो हुनेहरुका लागि खोजको थुप्रै कुराहरु दिन्छ । कल्पनाशीलता खोज्नेहरुको लागि त झनै दरिलो खुराक नै भइगयो । माथि औँल्याइएका कुराहरुलाई आगामी संस्करणमा ध्यान दिइयो भने यो किताब महत्वपूर्ण ऐतिहासिक आख्यान हुनेमा शंका छैन । नगरकोटीले भने जस्तै सगुना शाहले अनुवादमा बाँधिने भन्दा पनि आफ्नै रचनाका लागि कलम चलाउनुपर्ने अनुभुती चाहिँ मलाई पनि भएको हो । करीव ३०० पानाको अनुवाद गर्नु चानचुने कुरा हैन । त्यसका लागि शुभकामना । अनि पाठकहरुलाई चाहिँ पठन सुखद रहोस् भनियो । 

Perceval Landon-Nepal:

https://archive.org/details/in.ernet.dli.2015.81087/page/n123/mode/2up



Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला