आगोका फुलहरु हुन्, आगोका फुलहरु हैनन्: ईश्वर बल्लभ





 २०२९ को मदनपुरस्कार पाएको कृति भनेर पढेको । नाम पनि रोचक लागेको थियो । पढ्न निकै समय लाग्यो । के पढियो खासै मेसो पाइएन । दिमाग बुच्चो हुॅदै गएको पो हो कि ! खै केहि थाहा भएन ।

***

थपथाप:

मैले साँच्चिकै नबुझेरै यहाँ त्यस्तो भनेको हो । रवि रोदन र दिलिप ज्ञवालीजीले दिएको सूचनाले गज्जबको सहयोग गऱ्यो । लिंक पोष्ट गर्ने राईजीलाई पनि धन्यवाद।


"मेरी आमाले आत्महत्या गरेको देश" कविताको पृष्ठभूमी बल्लभकी आमाले खुकुरीले गला काटेको घटना हो भन्ने जान्दा कविताप्रति एकदमै फरक दृष्टिकोण बन्दो रहेछ । पति जेल पर्दा जुद्धशम्सेरसँग गुहार गरेर छुटाएकी पत्नीमाथि सौता हाल्दा विवादको चरम त्यहाँसम्म पुगेको रहेछ । 


तर एउटा प्रश्न फेरि उठ्यो: कविता बुझाउन अर्को निवन्ध लेख्नपरे सो कवितालाई राम्रो भन्न मिल्ला ?  कविता आफैमा पूर्ण हुनुपर्ने हैन र ? आमा प्रतिको अन्याय खुलाई दिएको भए कविता महिला हिंसा विरुद्धको कविता बन्थ्यो होला । २६ कथाको संग्रहमा १ त बुझियो । बाँकि २५ बुझ्न अझै कतिवटा निबन्ध पढ्ने होला ? 


"पागल" कविता पनि सन्दर्भ सहित पढ्दा मजा आउँछ तर सन्दर्भ रहित पढ्दा पनि मजा नै आउँछ । बल्लभ आफ्ना कवितामा जोखी जोखी पोखिइएको लाग्यो ।


प्रतिकृया: 

#ईश्वरबल्लभले घटनामाथि  लेखेका कविताले 

किन हाम्रो ध्यान खिच्छ??

 

०००००००००००००००००००००००००००००

                                              - रवि रोदन


नेपाली साहित्यमा  तेस्रो अायम स्थापित  गर्ने तीन मुर्द्यन्य साहित्यकारहरु  इन्द्रबहादुर राई (इबरा), बैराँगी काईँला (तिल विक्रम नेवाङ लिम्बू)  र ईश्वरबल्लभ हुन्। अायेमली कविता लेखनमा ईश्वरवल्लभले छुट्टै काम गरे।

कुनै घटनाले पनि कविहरुलाई कविता लेख्न उतप्रेरित गरेको हुन्छ। 

कविहरुले लेखेको कविताभित्रका अाख्यान वास्तविक हुन्छन्। परिकल्पनाको गोता लाउँदै लेखिएका कविताहरुले खासै स्पेस बनाउन सक्दैन। 

कविताको कन्टेन्टलाई पढ्दा यस्तो लागोस् कविले झूट बोलेको छैन।

अाफुले भोगेको देखेको विषयलाई कवितामा कोर्दा पाठकहरुको मन त्यस्ता कविताहरुले जित्दै अाएको छ।

कविले यस्ता कविताबाट अवश्य Attention Seek गरेका छन् र Popularity नि पाएका छन्।

कविता राम्रो लेख्ने कविहरुले पाठकको ध्यान अाकर्षण गर्नु

कविले फरक काम गरेको बुझिन्छ। भीडमा त्यो कवि चिनिन्छ पनि त्यो उसले पाएको प्रसिद्धि हो। 


#ईश्वरबल्लभले -

मेरो अामाले अात्महत्या गरेको देश कविता घटनामाथि लेखेका थिए।


#ईश्वरबल्लभका पिताजी पण्डित थिए। कतै पनि पुराणवाचन  गर्न जाँदा उनको त्यस वाचन सुनेपछि नारीहरु मन्त्रमुग्ध हुन्थे।

ईश्वरबल्लभ कि अामा नेवारनीकी छोरी थिइन। यिनी पनि पण्डित मुरलीधरको वाचनको मोहनीले तानिएर उनको दोस्रो स्वास्नी बनेर अाइन्। बाजेले पनि त्यसरी स्वास्नी ल्याएको कुरा छोरा ईश्वरवल्लभलाई  बताउँथे पण्डित हरिहर।

केही राजनैतिक उग्रताको कारण उनलाई अाठ सालको जेल भयो। लोग्नेलाई छाडिदिने गुहार अामाले जुद्धशमशेरलाई गरिरहन्थिन्। अाठ सालपछि पण्डित हरिहर रिहाई भएर अाएपछि घरमा खुशी छायो।

ईश्वरका बाबु पण्डित फेरि पुराणवाचनतिर लागे र हेर्दा हेर्दा एक दिन अर्कै अामा घर भित्राए।


ईश्वरबल्लभको घरमा ट्रज्याडी छायो। अाठ वर्षपछि छुटेर अाएको लोग्ने अब त जिन्दगीभरि साथ रहन्छ भन्ने कुरा सोचेकि स्वास्नीको लागि यो एउटा ठूलो घात थियो।

सौता घरमा भित्रिनु, सानी अामा बाबुसित अाउनुले यो घरको कथा अब नरमाईलो भएको थियो।

ती खुशीका अाँसुहरु बगेका समय क्रुर बनेको थियो। पण्डित हरिहर र राममाया बिच खटपट हुन लाग्यो। 

यो झगडा सामन्य थिएन। 

ईश्वरको बाल मनले अामा रिसाएकी छ भन्ने सोचेको हो।

तर एकदिन अामा र बाबुको खटपट लामो भयो र केहिछिनमा कसैले नसोचेको घटना भयो।

अाफ्नो सौतासित समझौता गरेर बस्न रुचाइनन् अामाले।

लाग्ने खुकुरीको धारमा अामाले अाफ्नो गर्दन राखि र रेटी। 

अामाले अात्महत्या गरिन।

अामाको शरीर रगतैसरि ढलेको देख्यो ईश्वरवल्लभले।

अनि पछि उनले एउटा कविता लेखे ।

ईश्वरको कवितामा खास कथा लुकेको रहेछ।

त्यही कथा सहित उनको कविता यहाँ राखे ।


 ईश्वरबल्लभ भट्टराई आफैँमा रोचक सुनिने नाम । 

यहाँ उनको चर्चित कविता 


०००

#मेरी_आमाले_आत्महत्या_गरेको_देश

----------------------------------------------

                           - ईश्वरबल्लभ


म बिहान उठेर एउटा सिङ्गो आकाशलाई जब हेर्छु,

त्यसको वरिपरि रातो दाग लागेका हुन्छन्;

थुप्रै सूर्यहरू अस्ताउन आँटेका हुन्छन्,

मेरा अग्लिएका हात पाखुराहरू तिनलाई भेटाउन खोज्छन्

उम्किदै गइरहेका आभास भएर,

उम्किदै गइरहेका क्यानभासहरू भएर,

आफ्ना सत्यहरू भएर,

तिमीले कहिले काहीँ देखेका छौ

परको आकाशलाई अझै परको क्षितिजलाई,

अझै परको रातो रङ्गलाई भने – त्यो मेरो आमा हो ।


हुन त मेरी आमालाई तिमीले मार्‍यौ भने भनेको छैन,

उसले घाँटीभरि अल्झाएका खुकुरीको घाउमा मैले

रगत थुप्रै बगे भनेर भनेको छैन,

मैले चिच्याएको छैन,

हुन त मेरो घरको एउटा कोठामा

जब पस्छु – त्यो मेरो आमा हुन्छ,

सबैले वरिपरि बसेर कुरा गरिरहेका हुन्छन्,

ठूलो षड्यन्त्र भैरहेको हुन्छ,

ब्यङ्ग्य गरेर हाँसिरहेका पनि हुन्छन्

कि यसको आमाले यसकै देशमा आत्महत्या गर्यो भन्दै,

र फलस्वरूप म त्यो खुकुरी धोइरहेको हुन्छु ।

मेरो आमाले आफुलाई काटिसकेपछि मेरो निम्ति

यही खुकुरी धुनलाई ‘दिनु भएको छ’

मलाई थाहा छैन, अरूका आमाहरू यस देशमा त्यसो गर्छन् गर्दैनन्

मलाई थाहा छैन मेरो पुस्ताले खुकुरीहरू पाए कि पाएनन्,

जब यौटाले आत्महत्या गर्छ

उसले नै गर्छ –

उसले भाग्छ

ऊ काथर पनि हो – त्यो काथर मेरो आमा हो ।


वीरता ती विशाल महलहरूमा सम्पूर्ण सुरक्षासहित बसेकाहरूलाई

जीवन ती स्वप्नद्रष्टाहरूलाई

देश ती शासकहरूलाई

खोला, ती सन्तहरूलाई, व्यापारीहरूलाई

देवता, ती धर्मीहरूलाई

खुकुरी, मलाई

किनभने मैले यसलाई मेरी आमाको रगतदेखिन्

                            मुक्त गर्नु छ

                            मात्र फलाम बाँकी रहोस् भनेर,

रगत मलाई

किन भने मैले यसलाई मेरी आमाको

                            कायरतादेखिन् मुक्त गर्नु छ

                            मात्र शान्ति बाँकी रहोस् भनेर,

अरूले सास फेर्न पाउन् भन्दै

ठूलो सन्तुष्टीसहित, ठूलो महत्तासहित,

                            ठूलो फाँट र आलुबखडाको रुखसहित,

मेरा खुम्चिरहेका यी निधारका छालाहरूमा

अरूको निम्ति फक्रिरहेका फूल त छैनन्, छैनन्

तर ती कल्पना पनि छैनन्,

र ती व्याख्यानहरू छैनन् कितापका कागजमा गर्ने

र ती चनाखा दृष्टिहरू छैनन्, नियालेर परसम्म हेर्ने

र ती रगतहरू छन्,

र ती रगतहरूसित तिमी डराउनेछौ

र ती रगतहरूलाई मैले मेरो हातले पुलिसको लागि पुछेको छु ।

भाग्दै गरेको त्यो मानिस,

एक्लै गएर कहीँ बास बस्न खोज्छ

त्यसका हातभरि अझै रगतका टाटा छन्,

ती हात मेरै हुन् ।


म यिनै हातले सेता कागजहरूमा

हस्ताक्षर गर्नेछु ।

भन्नेछु तिम्री आमा पल्लो कोठामा

गइन् अब एउटा आवाज आउने छ ।

यौटा ठूलो ढिलो भैसकेपछि तिमी भन्नेछौ

यो मेरी आमाले आत्महत्या गरेको देश

यहाँ सधैँ त्यसै भैरहने छ ।

तिम्री आमाले आत्महत्या गरेको देश

मेरी आमाले आत्महत्या गरेको देश

सबैकी आमाले आत्महत्या गरेको देश,

यो मेरो देश

यो तिम्रो देश ।

कुनै कचौराको रक्सीमा एउटा प्रतिबिम्ब छ, भने

गहिरो सागर तलसम्म पुगेको हुन्छ,

त्यहाँ आँखाहरू देखिनेछन् निस्तब्ध भएका

त्यो घाउ छरिएको हुनेछ,

सबै अवयवलाई चारैतिर फ्याँकेर

सिलिङ्गमा !

भित्तामा !

दराजमा !

भूईँमा !


चलमलाउने छन् ब्यूँझनलाई,

चलमलाउने छन् जिउनलाई

यी सबै सङ्घर्षहरूसित एउटा ठूलो ब्यङ्ग्य गर्दै

ती परका एक जमात भोज खाने मानिसहरूलाई

देश छोडेर चराचुरुङ्गीहरू अज्ञात दिशातिर भाग्न थाल्छन्

बासस्थान छोडेर सबै आकारहरू बरालिन थाल्छन्

जङ्गलका बतासहरू जस्तै रूखहरूमा हराउन थाल्छन् ।


डर लाग्दा बिरालाहरू कोठाभित्र आएर रगत चाटिरहन्छन्,

मानिसको रगत पहिलोपालि मीठो मानेर उसका गिजाभरि

स्वादिलो किसिमले लागेको छ,

मैले धपाउन नसकेको बिरालो त्यही थियो,

र उसले मेरो आमाको भूईँमा पोखिएको रगत खाइरहन्छ,

मृत्यु यौटा व्यक्ति भए पनि

आत्महत्या सबै व्यक्तिको हुनेछ ।


अहिलेसम्म इतिहासमा कहीँ पनि कसैले नदिएको पुरस्कार

तिमीले मलाई दिएका छौ

बिरालो मलाई दिएका छौ

र दिएका छौ मलाई यौटा देश,

जहाँ मेरी आमाले आत्महत्या गरेकी छ ।


आत्महत्या, कहिले फूलको कोपिला जस्तो फूल भएर फक्रिन चाहन्छ

आत्महत्या, कहिले विशाल गगनचुम्बी भवनहरू भएर उभिन चाहन्छ

आत्महत्या, कहिले ठूलो पैह्रो भएर जान चाहन्छ

आत्महत्या, कहिले सडकभरि ओच्छिन चाहन्छ

आत्महत्या, कहिले ठूलो डढेलो भएर जान चाहन्छ,

आत्महत्या, क्यानभासमा रातो भएर पोतिन चाहन्छ,

आत्महत्या, महान लहर भएर सागरमा बहकिन चाहन्छ

आत्महत्या, यहाँ जसले पनि जहिले पनि हुन चाहन्छ

आत्महत्या, तिम्रो बुइँगलको सिलिङ्मा कहीँ सिउरिएको छ ।


लाग्ने हतियार भएर ब्यूँझनेछ ।

गएर हेर, कसैले खुकुरी लुकाएको त छैन,

                       (सायद तिम्री आमाले लुकाएको होली)

पल्लो कोठाबाट आवाज आउन्जेल नपर्खिनू

त्यसबेला तिम्री आमा मरिसकेकी हुन्छे,

उसले आत्महत्या गरिसकेकी हुन्छे,

त्यहाँपछि तिमीले खाली कोठा मात्र पाउने छौ

कहीँ केही भएको हुने छैन,

छाल पनि हुने छैन लहर पनि

निर्वैयक्तिक परिवेशमा लामो सास फेरिरहेको मृत्युले

                                            (कहीँ केही भएको हुने छैन)

लामो सर्प त्यहीँ भैरहेको हुनेछ

निल्दै बसिरहेको अग्लो रुख र ढुङ्गाहरूलाई

केही भैरव, केही रुद्र र केही दैत्यहरू हुनेछन्

रगतमा मुछिएका आवासहरू

र, अरू सभ्यहरू यो बाटो नहिँडेर परबाट

जानेछन्

कुनै पुराणको कथा जस्तो हुनेछ,

यो मेरी आमाले आत्महत्या गरेको देश ।



प्रति

Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला