एेलानी देखि सरस्वती प्रतीक्षाकाे नथियासम्म


गएको साल वादी जातीको विषयमा दुई पुस्तक लेखिए र दुबै चर्चित पनि भएः एउटा विवेक ओझाको ऐलानी र अर्को सरस्वती प्रतिक्षाको नथिया । झट्ट नाम सुन्दा दुबैको विषय वस्तुका बारेमा अनुमान लाउन सजिलो थिएन । विवेक ओझा ओझेलमै परेका हुनाले पनि उनको पुस्तकले सुरुवाती दिनमा त्यति चर्चा कमाएन । सरस्वती प्रतिक्षा तुलात्मक रुपमा चिनिएकी कवियत्री थिइन् । साहित्य महोत्सवहरुमा कविता वाचन मार्फत धेरै पाठकसँग पुगेकी थिइन् । त्यसैले उनको आख्यान धेरैका लागी चाँसोको विषय रह्यो ।  विस्तारै दुबै पुस्तकको चर्चा सुरु भयो र थाहा भयो दुवै पुस्तकको विषयवस्तु वादी समुदाय हो । 

विवेक ओझाको ऐलानीका सन्दर्भमा यस अघि नै लेखिसकिएको छ (यहाँ) । ऐलानी सुदूरको विषयमा सुदूरकै कलमले लेखेको साहित्य भएकोले छुटाउन चाहेन । ऐलानी पढिसकेपछि नथिया किन पढ्ने भन्ने थियो । तर नथिया एक नारी साहित्यकारले नारीकै विषयमा लेखेको आख्यान थियो । त्यसैले पनि त्यो रोजाइमा प¥यो । अर्को कुरा उनको कविताका कारणले उनका आख्यानप्रति भरपुर अपेक्षाहरु थिए । 

उपन्यास लेखनका लागी गरिएको शोधको धेरै चर्चा भएको थियो । सोही चर्चा अनुरुप थुप्रै नयाँ कुराहरु उपन्यासमा पढ्न पनि पाइए । सबैले बादी जातीको बारेमा भन्थे तर उपन्यास खासमा विभिन्न बहानामा थिचोमिचोमा पारिएका अन्य समुदायको महिलाहरुको कथा पनि समेटिएको थियो । चाहे कुमारी होस्, चाहे देउकी या देउचेली होस्, सबैको बारेमा धेरथोर उल्लेख गरिएको छ । कथाकी मुख्य पात्र सामली बादीले विवाह गरे पछिका उसको पतिले उमाथि गरेको यौनजन्य हिंसा र मानसिक प्रताडनाले त झन् निकै ठूलो ठाउँ ओगटेको छ । क्याप्सुलको बाहिरी खोलको गुलियो सकिएपछि औषधी तितो हुँदै गए जस्तै रुप हेरेर सुरु भएको सम्बन्ध कसरी तितो हुँदै जान्छ भन्ने कुरा पुस्तकमा पढ्न पाइन्छ । 

“विवाह भन्नु शैतानको प्रयोगशाला जस्तो (रहेछ)। मन लाग्दा चाट्यो, चुस्यो । मन नलाग्दा गाली ग¥यो, कुट्यो ।”

लाखे र ढोकापिनी (दिसाबस्न जानुको नेवारी शब्द) को प्रसंग, ज्यापुले लाखेलाई परास्त गरेको प्रसंग, नरदेवीकी स्वेतकालीकी छोरीको लाखेसँगको माया बसेको र सो सम्बन्ध टुटाउन लाखेलाई चरमोत्कर्षमा पुगेको बेला खड्गले काटी मारेपछि विच्छिप्त भएर लाखेको सतमा कुमारी बसेबाट कुमारी प्रथा र कुमारीसँग विहे गर्नु हुँदैन भन्ने चलन सुरु भएको भन्ने प्रसंग, आदि पढ्दै गर्दा वादी इतरका समाजका कथाहरु हाम्रा आस्थाहरुको कम्जोर धरातलको आभास भयो ।

वादीहरु महादेव र इन्द्रको श्रापले धरतीमा झरेका देवलोकका वासिन्दा भएको भनेर वादी जातीसँग जोडिएका किंवदन्तीहरु रोचक छन् । त्यसका अलावा यौनआचार र त्यसमा भएको सामजको राजनीतिको कथा पनि उपन्यासले समेटेको छ । प्राचीन समाजमा वेश्याहरुको सम्मानित स्थान रहेको र ‘गोष्ठी’ र ‘सभा’ शब्दको इतिहाससँगै ती भेलाहरुमा स्वतन्त्र रुपमा हुने वेश्यागमनका कुराहरु पनि रोचक लागे ।

पौराणिक बाहेक पनि वादी जातीको ऐतिहासिक पृष्ठभूमीलाई समेत उपन्यासको पछिल्लो भागमा समेटिएको छ । राजा रजौटाका महलमा गित संगितको लागी भारतबाट आएकाहरु कालान्तरमा सार्वजनिक रुपमा यौन पेशा अपनाउनका लागी बाध्य पारिएको प्रसंग पनि आख्यानमा अटेको छ ।

उपन्यासकी प्रमुख पात्र सामली बादीको जीवनमा चार पुरुषहरुको विशेष स्थान रहन्छ । पहिलो पात्र जय नेपाल आदर्श प्रेम बोकेको प्रेमी हो जसले सामलीलाई अक्षर चिनाउँछ र युक्फुङ कन्दङ्वा सरले सुनाएका इतिहासका कथाहरु सुनाउँछ । 

दोश्रो पात्र रेन्जरले उसलाई सम्मानित जीवनको सपना देखाउँछ तर वास्तविकता एकदमै कठोर हुन्छ । रेन्जर र सामलीको सम्बन्धबाटै असफल वैवाहिक सम्बन्धका अँध्यारा पाटाहरु समेत पाठकले पढ्न पाउँछन् । दिनमै ६–७ पटक सहवास चाहिने, पत्नीले श्रृंगार गर्दा समेत गाली गर्ने, गर्भवतीहुँदा समेत कुट्ने, जाँडेहा, आदि चरित्र देख्दा रेन्जरले सामलीलाई निःशुल्क भोग गर्नका लागी मात्रै विहे गरेको जस्तो भान हुन्छ । हुन पनि उसले विवाहलाई नेपाली समाजका धेरै पुरुषहरुले जस्तै पत्नी माथि मनलागी भोग गर्न छुट दिने संस्थाको रुपमा प्रयोग गर्छ ।

त्यो विसादपूर्ण अध्यायको टुङ्गोसँगै महोम्मद नमका स्वास्नी छुँदै पग्लने अर्को पुरुष पात्र सामलीको जीवनमा आइपुग्छ । उसको भूमिका सामलीलाई रेन्जरबाट फुत्काउने र रेन्जरको अहंलाई थप्पड हान्ने मात्रै हुन्छ ।

चौथो प्रमुख पात्र दिवाकर जयनेपाल जस्तै आदर्श पुरुष जसले जयनेपालले अधुरो छोडेको वादी समुदायको ऐतिहासिक पाटोलाई उपन्यासमा प्रवेश गराउनुका साथसाथै सामलीको जीवनलाई पूर्ण पनि बनाइ दिन्छ ।
कुमारी केटीले लाउने नथिया प्रथम सम्पर्कमा झिकिने परम्पराको द्योतक शब्द नथिया शब्द नै उपन्यासको शीर्षक बनेको छ । नथिया पढ्दै गर्दा कालीप्रसाद रिजालको हामार बेटिको नत्था तोडिदिनुस् भन्ने कविता पनि पटक पटक सुनँे । रिजालले थोरै शब्दमा नथियाको पुरै कथा व्यक्त गरेका छन् । त्यसमाथि वाचनको त झन् के कुरा गर्नु !



“तुइका कपाल भुत्ल्याईकन फाल्दिऊँ कि मु ? हुर्काईकन यत्तो बनायाको यइ दिन देखुँला भनिकन हो ?”

सुरुवाती पानाहरु पढ्दा मजा आउँदै गए पनि बीचको भाग केहि सुस्त अघि बढे जस्तै लाग्यो । पछिल्ला पानामा फेरी गती लियो । पात्रहरुको वहिर्गमनमा अलि ध्यान दिन सकिन्थ्यो कि जस्तोे लाग्यो । महोम्मदका सन्तान पछि कता हराए मैले फेला पार्न सकेन । पुरुष भएकाले होला रेञ्जरको यौन सकृयताको राज जान्न मन लाग्यो । दिनमा ६–७ पटकको संभोगका लागी पक्कै यार्सागुम्बाको नास्ता खाँदो हो । मोहम्मदको निष्कृयता फेरी त्यस्तै अपत्यारिलो लाग्यो । फेरी आख्यानका काल्पनिक पात्रको यौन व्यवहारमा पनि केको खसखस भन्ने लाग्यो ।
त्यसैगरी सोधबाट संकलित जानकारीहरुलाई निबन्धात्मक शैलीमा उपन्यासमा समावेश छ । पात्रहरुको संवादमा या कथा बाचाकका मार्फत ती जानकारी आएको भए गज्जब हुने थियो । संवादमा प्रयुक्त स्थानीय भाषामा बेलाबेला सुधार गर्न सकिने ठाउँहरु देखिन्थ्यो । विशेष गरी खस् भाषा या डोटेली भाषाका विभिन्न भाषिकाहरु बोल्नेहरुले त्यस्तो महशुस गर्न सक्छन् । तर भाषाको विवाद यसअघि नै पनि धेरै भइसकेकाले त्यसमा धेरै लेख्न चाहन्न । यी धेरथोर कम्जोरहीहरुलाई ठूलो मन गरेर छेउमा राख्ने हो भने नथिया पढ्न लायक कृत हो ।

ऐलानी र नथियामा तुलना गर्नु पर्दा दुबैमा आफ्नै विशेषताहरु छन् । एउटा पढे अर्को पल्टाउनै नपर्ने भने छैन । शैलीगत भिन्नता छ । दृष्टिकोण पनि फरक छ । प्रकाशनका हिसाबले ऐलानी जेठो हो । ऐलानीकी प्रमुख पात्रको नाम त्यति शसक्त लाग्दैन तर सामलीलाई विर्सन गह्रो हुन्छ । ऐलानीकी प्रमुख पात्रले आफ्नै आमासँग ओछ्यान साँटेको र सम्भवतः आफ्नै बाबु पर्ने व्यक्तिसित माया लाउँछे । सामलीका लागी दिवाकर बाहेकसँगको यौनमा आनन्द मिल्दैन । स्थानीय भाषा तुलनात्मक रुपमा ऐलानीमा राम्रो छ । ओझाको मातृभाषा अछामी भएका कारणले पनि त्यस्तो भएको हुनसक्छ । 

मान्टोको एउटा सानो क्लीप यूट्युबमा हेरेको थिएँ । मान्टोले आफ्ना आलोचकलाई उसले उनको लेखन प्रति राखेको विचार उसको नितान्त नीजि भएको र त्यसलाई सबैको बिचार भनेर सामान्यीकरण नगर्न सचेत गराएका थिए । यो उपन्यास प्रतिको यहाँ व्यक्त धारणा पनि त्यस्तै नितान्त नीजि हुन् । अन्य पाठकले पनि यस्तै अनुभव गर्न पर्छ भन्ने छैन । सबैले खोजेकै कुरा भेट्ने हुन् । गल्तीहरु मात्रै देखाउन पढ्यो भने नकारात्मकता तिर मात्रै धेरै ध्यान जाने र दिमागै नकारात्मक बन्ने हुनाले सकेसम्म सकारात्मक रुपमा पढ्ने र उपन्यास सम्बन्धी टिप्पणी गर्ने कोशिश गरेको छु । अागे पाठककाे र्इक्षा । 




Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला